सैद्धान्तिक भन्दा पनि व्यक्तिगत अहम् र महत्वाकांक्षाका कारण विभाजित हुने कम्युनिस्ट टुटफुटको अध्यायमा बुधबारबाट फेरि अर्को नयाँ पाठ थपिएको छ । आफूलाई कम्युनिस्ट आन्दोलनको मुलधारको रुपमा दाबी गर्दै आएको ‘एमाले’ औपचारिक रुपमै दुई चिरा परेको छ ।
अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको एमालेबाट विद्रोह गरेर वरिष्ठ नेता माधवकुमार नेपालले एमाले (समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । योसँगै झापा आन्दोनलको धारबाट विकशित हुँदै मुलुकको सबैभन्दा ठूलो र शक्तिशाली कम्युनिस्ट पार्टी बनेको दल दोस्रोपटक टुक्रिएको छ ।
यसअघि महाकाली सन्धीको विषयमा पार्टी भित्र विवाद हुँदा २०५४ सालमा एमाले विभाजित भएको थियो । तर, २०५८ सालमा पुनः एकिकृत हुँदै शक्तिआर्जन गरेको एमाले अहिले शीर्ष नेताहरूको कार्यशैली र अहम् व्यवस्थापनमा चुक्दा फेरी विभाजनमा पुगेको छ ।
विगतमा कम्युनिस्ट पार्टीहरू विभाजित हुँदा जे जस्ता व्यक्तिगत लाञ्छनाहरू र आरोपहरू लाग्थे, ती आरोपहरू यसपटक फेरी दोहोरिएका छन् । यो झगडा सैद्धान्तिकभन्दा बढ्ता व्यक्तिगत छ । तर, अध्यक्ष केपी शर्मा ओली र विद्रोही नेता माधवकुमार नेपाल दुवैले विभाजनलाई सैद्धान्तिक मतभेदका रुपमा विश्लेषण गर्ने कोशिस गरेका छन् ।
ओलीले नेपाललाई यसअघि नै ‘गद्दार’, ‘देशद्रोही’ करार गरिसकेका थिए । पार्टीबाट निष्कासन गर्दै ‘आममाफी’ पनि दिँदै आएका थिए । तर, ओलीले नेपाल पार्टीको नीतिभन्दा बाहिर गएर सिद्धान्तबाटै विचलित हुँदै कांग्रेसको पिछलग्गु बनेको आरोप लगाएका छन् ।
यता नेता नेपालले पनि ओलीले पार्टीका नीति, विचार, सिद्दान्तहरूलाई लत्याएर निरंकुश, तानाशाही बाटोमा हिँडेको आरोप लगाउँदै आएका छन् । उनले बुधबार पार्टी विभाजनको स्पष्टीकरणका लागि जारी गरेको अपिलमा पनि यी कुरा उल्लेख गरेका छन् । अझ उनले कम्युनिस्ट आन्दोलनलाई ओलीले नै विसर्जनको बाटोमा लैजान खोजेकाले पार्टीको मुलधारलाई जोगाउन विद्रोह गरी एमाले पुनगर्ठनको बाटोमा गएको उल्लेख गरेका छन् ।
ओली र नेपालका तत्कालिन राजनीतिक सहयात्री समेत रहेका मालेका महासचिव सिपी मैनाली अहिलेको एमालेको विभाजनलाई ‘व्यक्तिगत स्वार्थ’ कै एक परिणामको भएको बताउँछन् । ‘व्यक्ति र गुटको स्वार्थ, सत्तामा पुग्ने र त्यसको दुरुपयोग गर्ने प्रवृतिले निम्त्याएको संकट हो । जनताको धेरै ठूलो समर्थन पाएपनि त्यसलाई उनीहरूले सदुपयोग गर्न सकेनन्,’ मैनालीले भने ।
पछिल्लो विवाद कसरी चुलियो ?
तत्कालिन प्रधानमन्त्री ओलीले साविकको नेकपामा हुँदा केही स्वेच्छाचारी प्रवृत्ति देखाए । त्यही कारण पुष्पकमल दाहाल र माधव नेपालको आन्तरिक गठजोड बलियो भयो । ओली पार्टी भित्र कमजोर बने । आफू कमजोर बनेपछि ओलीले शक्ति आर्जन गर्ने सबैखालका हतकण्डा अपनाए । जसको पहिलो सुरुवात विन्दु थियो– गतवर्ष बैशाखमा ओलीले ल्याएको दल विभाजन गर्ने अध्यादेश । उक्त अध्यादेशको विरोधमा नेपाल पनि उभिए । यद्यपी अहिले त्यस्तै ओलीले ल्याएको भन्दा पश्चगामी अध्यादेशको बलमा नेपालले दल विभाजन गरेका छन् ।
पार्टी भित्रको विवाद बढ्दै गएपछि गत पुसमा ओलीले पहिलोपटक प्रतिनिधिसभा विघट्न गरेका थिए । उक्त विघट्नको विरोधमा नेपाल सडक आन्दोलनमै उत्रिए फागुन ११ मा सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघट्न बदर भयो । त्यसपछि अर्को महत्त्वपूर्ण तिथि आयो– फागुन २३ गते । सर्वोच्चले नेकपाको एकिकरणलाई स्वीकारेन । तत्कालिन एमाले र माओवादी केन्द्र आ–आफ्नो पुरानै दलको अवस्थामा पुगे । त्यसपछि एमालेमा झन् ठूलो विभाजनको खाडल देखापर्यो ।
फागुन २८ गते अध्यक्ष ओलीले आफू निकटका नेताहरूको बैठक राखेर सदस्यहरूको थप गरेपछि नेपाल पक्षमा असन्तुष्टी चुलियो । त्यसविरुद्ध चैतको पहिलो साता नेपाल पक्षले राजधानी काठमाडौंमा राष्ट्रिय भेलाको आयोजना गर्दै देशभर समानान्तर कमिटी बनाउने निर्णय गरेको थियो । त्यही समानान्तर गतिविधिको पटाक्षेप बुधवार पार्टी विभाजनको रुपमा भयो । यो विभाजनले पाँच दशकअघि झापा विद्रोहको भ्रुणबाट शुरु भएको एमाले नयाँ चक्रमा प्रवेश गरेको छ ।
कसरी बनेको थियो पार्टी
२०२८ सालमा झापामा वर्ग शत्रुको सफाया आन्दोलनबाट माले हुँदै अहिलेको एमाले बनेको हो । २०३२ जेठमा को–अर्डिनेसन केन्द्र गठन भयो । यसले झापा विद्रोहलाई राजनीतिक आवरण दियो ।
त्यसपछि विभिन्न साना घटकहरू संगठित हुन आए । पूर्वतर्फ सक्रिय को–अर्डिनेसन केन्द्र र पश्चिम नेपालमा सक्रिय रहेको मुक्ति मोर्चासँगको एकीकरण हुँदै २०३५ सालमा नेकपा मालेको गठन भएको थियो । त्यस समयको नेतृत्व सीपी मैनालीले गरेका थिए । केन्द्रको स्थापनादेखि नै नेता माधवकुमार नेपाल पार्टीको शीर्ष नेतृत्वमा रहे, अध्यक्ष ओली भने जेलमा थिए ।
२०३९ सालमा पार्टी स्वतन्त्रता की राजनीतिक स्वतन्त्रताको निकै ठूलो विवाद चर्कियो । पार्टी स्वतन्त्रता पक्षमा रहेका महासचिव मैनालीलाई पार्टीले कारवाही गर्यो । मैनालीले पार्टी विभाजन भने गरेनन्, तर कार्यकर्ताको ठूलो पंक्तिले राजनीति छाडे वा निष्कृय बने । कतिपयले यसलाई मुक्ति मोर्चा र को–अर्डिनेसन केन्द्रबीच शक्ति संघर्षको रुपमा लिने गरेका छन् । तर, नेपाल र झलनाथ खनालसहितका को–अर्डिनेसन केन्द्रका नेताहरूको साथ लिएर मदन भण्डारी र जीवराज आश्रितसहितका नेताहरूले सीपी मैनालीमाथि कारवाही गरेका थिए ।
मैनाली भने एमालेभित्र संगठनात्मक संकटको शुरुवात चालीस वर्षअघिदेखि नै शुरु भएको ठान्दछन् । ‘२०३९ देखि नै नेता तथा कार्यकर्ताहरूको मुल्याकंन गर्न सक्रियता र योगदानभन्दा पनि नेताहरूले आफ्नो निकटता र दुरीको आधारमा अराजनीतिक तरिकाले मूल्याकंन गर्न थाले । त्यसले पछि गएर यो एउटा गुटबन्दीमा पुग्यो,’ मैनालीले भने, ‘गुट र नेताको फाइदाको निम्ती जनता र राष्ट्रको हितमा सम्झौता गर्न थाले । पछि आएर त्यो गुटबन्दी निषेधमा परिणत भयो र अहिलेको समस्यासम्म आइपुगेको हो ।’
मैनाली २०४९ सालदेखि एमालेमा आएको वैचारिक स्खलनले अहिलेको अवस्थामा पुर्याएको बताउँछन् । जेलबाट छुटेपछि ओली २०४५ सालबाट तत्कालीन मालेको केन्द्रीय सदस्य बनेका थिए । तर, नेता नेपालको हैसियत भने पार्टीमा दोस्रो नेताको थियो ।
राजनीतिशास्त्रका सहप्राध्यापक खगेन्द्र प्रसाईं झापा आन्दोलन र को–अर्डिनेसन केन्द्रबाट शुरु भएको एमालेको ‘फेज’ सकिएको बताउँछन् । नयाँ परिस्थितअनुसारका नीतिहरू लिन नसक्दा अहिलेको समस्या आएको उनको बुझाइ छ ।
‘झापा आन्दोलन र को–अर्डिनेसन केन्द्र बन्दा शुरु भएको एमालेको फेज सकियो । नयाँ परिस्थितमा नयाँ आधारमा पार्टीअघि बढाउन सकेन् । गुटहरूको व्यवस्थापन गर्दै अहिलेसम्म एमाले टिक्दै आएको थियो,’ प्रसाईंले भने, ‘अहिले एमालेका गुटहरू निषेधको चरणमा छन् ।’
ओली– नेपालः संघर्ष र सहकार्य
बहुदलीय व्यवस्था शुरु भएपछि ओली र नेपालबीचको सम्बन्धमा सहकार्य र संघर्ष दुवै देखिन्छ । मदन भण्डारी र जीवराज आश्रितको निधनपछि पार्टी सत्तामा पुगेका नेपाल र ओलीबीच पाँचौ र छैठौं महाधिवशेनमा सहकार्य थियो । एकीकृत महाकाली सन्धि पारित गर्ने समयमा दुवै नेता एकै कित्तामा थिए । एमाले विभाजन भएर माले गठन हुँदा पनि ओली र नेपाल एकैस्थानमा थिए ।
सातौं महाधिवेशनमा ओली र नेपाल दुई विपरित कित्तामा बसे । सातौं महाधिवेशनमा ओलीले पार्टीलाई बहुपदीय संरचनामा लैजाने प्रस्तवा ल्याएका थिए । तर, त्यो प्रस्ताव हलमै प्रवेश पाएन । त्यसबेला शक्तिशाली रहेका नेपाल महासचिव प्रणालीमा बस्नुपर्ने अडानमा थिए । तर, त्यो लामो समयसम्म रहेन ।
आठौं महाधिवेशनमा पार्टी बहुदपीय प्रणालीमा गयो । झलनाथ खनाल र वामदेव गौतमको गठबन्धन बन्यो । त्यसविरुद्ध ओली र नेपाल एक स्थानमा थिए ।
नवौं महाधिवेशनमा आइपुग्दा दुवै नेताहरू फरक समूहको नेतृत्व गर्दै समूहगत रुपमा प्रतिस्पर्धा उत्रिए । महाधिवेशनमै भएको गुटको आधारमा दुवै पक्षले आ–आफ्नो अनुकुल हुने गरी पार्टी भित्र समानान्तर गतिविधि बढाउँदै लगे । ओलीमा महाधिवेशनबाट निर्वाचित अध्यक्ष भएको दम्भ चढ्यो । नेपालले पार्टी भित्र यसअघि एकछत्र १५ वर्ष राज गरेको बिर्सिए, ओलीसंँगको हारलाई आफ्नो प्रतिष्ठाको विषय बनाएर महाधिवेशन बनेको समुहलाई निरन्तरता दिए ।
सहप्राध्यापक प्रसाईं पार्टी सञ्चालन लोकतान्त्रिक रुपमा हुन नसक्दा समस्या आएको ठान्दछन् । ‘पार्टीमा लोकतान्त्रिक विधि भयो भने मेरो कुरा सुनिने छ र मलाई किरानाकृत गरिने छैन भन्ने भयो भने पार्टीमा बस्छन् नत्र छाडेर हिँड्छन्,’ प्रसाईंले भने, ‘स्वार्थको आधारमा बनेको गुट पद, पैसा वा साझेदारीबाट शक्तिहरू बाँडफाँट गरेर व्यवस्थित गर्न सकिन्छ । तर, त्यो पद वा स्रोत बाँड्ने कुरा सिमित हुन्छ । सबै कुरा बाँड्दा लामो समयसम्म टिक्न सक्दैन ।’ इकान्तिपुरबाट साभार
- डा. प्रकाश बुढाथोकी
कलेजोमा हुने सरुवा रोग हेपाटाइटिस प्रायःजसो भाइरस (विषाणु)बाट हुने गर्छ । हेपाटाइटिस रोग लगाउने विभिन्न थरीका भाइरस भए तापनि लक्षण समान प्रकारका देखिन्छन् तर रोग सर्ने तरिका, रोगको असर, व्यापकता, रोगको विज्ञान तथा विकास, रोगको प्रतिरोधकता तथा रोगको रोकथाम र नियन्त्रण गर्ने तरिका फरकफरक हुन्छन् । सामान्य भाषामा यसलाई जन्डिस भनेर चिनिन्छ तर जन्डिस कलेजोमा असर परेको लक्षण वा चिह्न मात्र हो ।
यस्तो भएमा हेपाटाइटिस हुन सक्छ ?
हेपाटाइटिस भएमा थकान वा आलस्यपन, खानामा रुचि नहुने, मन्द ज्वरो आउने, स्वाद र बास्नामा फरक महसुस हुने, जिउ वा जोर्नी दुख्ने, वाकवाक लाग्ने, बान्ता हुने, पेटको माथिल्लो भागको दाहिनेतिर दुख्ने, पखाला लाग्ने, दिसा सेतो हुने हुुन्छ । त्यसैगरी पिसाब गाढा हुने, जिउ चिलाउने, आँखा वा छाला पहेंलो हुने (जन्डिस) र धेरैलाई मामुली रुघाखोकी ज्वरो जस्तो हुने गर्छ । यसका साथै, चुरोट र रक्सीको बास्ना बेस्वादिलो हुने, मन नपर्ने र खाना पकाउँदा खासगरी भुटनको बास्ना खप्न नसक्ने हुन्छ ।
हेपाटाइटिस रोग उत्पन्न गर्ने मुख्य भाइरसमा हेपाटाइटिस ‘ए’, ‘बी’, ‘सी’, ‘डी’, ‘इ’ र ‘जी’ छन् र अन्यमा केमिकल्स, (विशेष च्याउ, कार्बन टेट्राक्लोराइड) कलेजोलाई खराब गर्ने औषधि (जस्तै टीबीमा प्रयोग गर्ने), अत्यधिक रक्सी सेवन तथा अन्य भाइरस (साइटो मेगालो, इपस्टन बार, हर्पिस सिम्प्लेक्स र एलो फिवर) पर्छन् । भाइरसबाट हुने हेपाटाइटिसमध्ये नेपालमा हेपाटाइटिस ‘ए’, ‘बी’, नन् बी (‘सी’) तथा नन् ए (‘इ’) को प्रकोप ज्यादा छ । डी र जी भाइरसको प्रकोप नेपालमा छैन । रगतको माध्यमबाट सर्ने बी, सी, डी र जी पर्दछन् भने अन्य भाइरस फिकोओरल अर्थात् दिसाबाट सर्छन् ।
सामान्य भाषामा जन्डिस भनेर चिनिने हेपाटाइटिस रोगले कलेजोमा असर पु-याउँछ
हेपाटाइटिस ‘ए’
हेपाटाइटिस ‘ए’ भाइरसले लगाउने कलेजोसम्बन्धी रोग हेपाटाइटिस ‘ए’ हो । संक्रमित व्यक्तिको दिसामा पाइने विषाणु चर्पी बसिसकेपछि साबुन पानीले हात नधोएमा, हातबाट खाना वा पानी संक्रमित भई अन्यमा सर्छ, सँगै बस्नाले सर्दैन । उपत्यकाका युवामा बढी मात्रामा देखिने हेपाटाइटिस ‘ए’ र ‘इ’बाट २०—२५ वर्षका क्याम्पसका विद्यार्थी शुद्ध पानीको अभाव, घरबाहिर खाने र सामूहिक शौचालयको प्रयोगले पीडित हुन्छन् । विकासशील राष्ट्रका बच्चा तथा युवामा बढी र वयस्कमा कमै मात्रामा देखिने हेपाटाइटिस ‘ए’ रोग प्रदूषित पानी तथा खानाको माध्यमबाट सर्ने गर्छ । मानिसबाट मानिसमा यो रोग दिशाबाट प्रदूषित खाना जस्तै काँचो तथा राम्ररी नपाकेको खाना खानाले सर्छ ।
लक्षण
हेपाटाइटिस ‘ए’ भाइरस शरीरमा प्रवेश गरेको १५ देखि ५० दिनमा औसत चार हप्तामा लक्षण देखिन्छन् । साधारणतया यस रोगको अवधि १ देखि २ हप्तासम्मको भए पनि कहिलेकाहिँ महिनौंसम्म लम्बिन सक्छ ।
पहिलो अवस्थाः
(जन्डिस देखापर्नुभन्दा पहिलेको अवस्था)ः सुरुमा ज्वरो आउने, कमजोरी हुने, खान मन नलाग्ने, शरीर गलेजस्तो हुने, टाउको दुख्ने, वाकवाकी लाग्ने, पेटको दाया भाग दुख्ने, कहिलेकाहीँ वान्ता हुने, पेटमा गडबडी हुने र चुरोटका अम्मलीलाई चुरोट पिउने रुचिसम्म नहुने हुन्छ ।
दोस्रो अवस्था (रोगीको आँखा र शरीर पहेंलो हुने अवस्था):
केही दिन वा एक साता पछि जन्डिसको लक्षण देखिन्छ । र सातदेखि १० दिनसम्म रहन्छ । यसमा आँखा, नङ पहेंलो हुने, पिसाब गाढा पहेंलो हुने, कसैकसैमा शरीर पहेंलो हुने, शरीर चिलाउने, बान्ता आउने, तौल घट्दै जाने, पेटको माथिल्लो दायाँ भाग दुख्ने, खानाको स्वाद नहुने ज्वरो, जन्डिस र चिलाउने साधारणतया पित्तको नलीमा ढुंगा भएमा पनि देखिने भएकाले झुक्किन सक्छ । चुरोट खानेलाई चुरोट खान पनि मन नलाग्ने । जन्डिस देखिएपछि पहिलो अवस्थाका लक्षण हराउँछन् ।
तेस्रो अवस्था (रोग निको हुन लागेको अवस्था)ः बिरामीले कमजोरीको अलावा केही लक्षण तथा चिह्न देखाउँदैन ।
यसबाट हुने मृत्युदर ०.१—०.३ प्रतिशत बच्चामा हुन्छ भने वयस्क तथा अरू कलेजो रोगीमा १.८ प्रतिशतसम्म पाइएको छ । यो रोगले १० हजारमा ५ देखि ६ जनालाई बेहोसीको अवस्थासम्म पु¥याउन सक्छ । तर, बी र सी जस्तो कलेजोलाई दीर्घकालीन रोगी बनाउँदैन ए र इले । एक्युट लिभर फेलर, जिउ सुन्निने र पेट सुन्निनेबाट ७० प्रतिशतको मृत्यु हुन्छ । त्यसैगरी ब्याक्टेरियाको संक्रमण भई सिरोसिस र क्यान्सर भई मृत्यु हुने पनि पर्याप्त नै हुन्छन् ।
हेपाटाइटिस भएमा आलस्यपन, खानामा अरुचि, मन्द ज्वरो आउने, स्वाद र बास्नामा फरक महसुस हुने, जिउ वा जोर्नी दुख्ने, वाकवाक लाग्ने, बान्ता हुने हुन्छ
यो रोग शिशु तथा बच्चामा साधारण रुघाखोकीजस्तै रोग तथा जन्डिस नदेखिने खालको हुन्छ । एकपटक संक्रमण भइसकेपछि जिन्दगीभर यो रोगबाट बच्ने क्षमता शरीरमा आउँछ तर अर्को खालको हेपाटाइटिस भने नलाग्ला भन्न सकिँदैन । त्यसैले यो रोग नेपालमा त्यति ठूलो समस्याका रूपमा छैन तर विदेशीलाई भने यो रोगको सम्भावना रहन्छ ।
निदान
रोगको पहिचान रगत परीक्षणबाट लक्षण देखिएको र संक्रमण भएको ५—१० दिनमा हुन्छ । लक्षणबाट करिबकरिब निदान हुने यी रोगमा रगत जाँच र अल्ट्रासाउन्ड जरुरी पर्छ । बिरामीको परीक्षणमा आँखाको सेतो भाग पहेंलो, कलेजोको सामान्य सुजन, पेटको माथिल्लो भागमा दुखाइ पाइन्छ । विली रुबिनको साथै लिभर फंसन परीक्षणको जरुरी हुन्छ ।
उपचार
सामान्य अवस्थामा लक्षण २ देखि ३ हप्तासम्म रहन सक्छ भने रोगको अवधि २५ देखि ५५ दिन रहन्छ र त्यसपछि जीवाणु शरीरबाट आफंै बाहिरिन्छन् । रोग भाइरसबाट लाग्ने भएकाले विशेष औषधि उपचार छैन र लक्षणअनुसारको औषधि र उपचार गर्नुपर्छ । राम्रो कार्बोहाइडे«ट बढी र चिल्लो कम भएको खाना नै यसको उपचार हो । उमालेको, नुन बेसार नहालेको खाना खानुपर्दैन जन्डिसको प्रर्याय बनेको गाजर, मुला, काँक्रो मात्र खाँदा शरीरमा पोषण नपुगेर साह्रै कमजोर बन्न सक्छ । बेमौसममा मेवा खोज्दा आर्थिक भार पर्ने, सफा नगरिएको उखुको रसले अन्य रोग निम्त्याउन सक्छ । उखुको रस र ग्लुकोजको सट्टा २५० ग्राम चिनी १ लिटर पानीमा घोलेर खाँदा हुन्छ । दूधदहीले नोक्सान गर्दैन । गुलियो फलफूल भने चाहेजति खान सकिन्छ । सुरुका केही दिन माछामासु नखाने तर महिनौं बार्नुपर्दैन ।
बिरामीलाई आराम दिनुपर्छ । प्रशस्त मात्रामा ग्लुकोज पानी खुवाउनुपर्छ । प्यारासिटामोललगायतका औषधि सेवन गर्नुहु“दैन । आयुर्वेदका अप्रशोधित औषधि र खानामा अत्यधिक परहेजले नोक्सान नै गर्छ । रक्सी तथा रक्सीजन्य पदार्थ ६ महिनासम्म सेवन गर्नुहुँदैन ।
नियन्त्रण
शुद्ध खानेपानीको अभाव भएको नेपालजस्तो देशमा संक्रमण प्रायःजसो पाँच वर्षको उमेरमै भएको देखिन्छ । त्यसैले खोपको व्यावहारिक प्रयोग भएको देखिँदैन । सर्वसाधारणलाई व्यक्तिगत स्वास्थ्य तथा सरसफाइबारे स्वास्थ्य शिक्षा दिने, पानीको मुहान वरपर दिसापिसाब गर्ने, गराउने बन्द गर्नुपर्छ । बिरामीको स्याहार गर्ने व्यक्तिले नङ काट्ने, राम्रोसँग सफा गर्ने र साबुन पानीले हात धुनुपर्छ । जुठो खाने ख्वाउने चलन हटाउनुपर्दछ । सम्बन्धित निकायबाट ढल निकासको राम्रो व्यवस्था गर्ने गराउने, उमालेर वा किटनाशक औषधि प्रयोग गरी सुरक्षित पानी पिउने, खाना तथा पानीलाई प्रदूषित हुनबाट बचाउने, खाना पकाउनुअघि, शिशुको स्याहार गर्नुअघि तथा बाहिर गएर घर फर्केपछि राम्रोसँग हात धुने, त्यसैगरी रोगीको दिसापिसाबको राम्रो व्यवस्थापन गर्ने, हेपाटाइटिस एविरुद्ध सुई÷खोप लगाउने बिरामी भएको थाहा पाएमा सम्बन्धित स्वास्थ्य संस्थामा जानकारी दिने र परीक्षण गराउनुपर्छ । राजधानी दैनिकबाट साभार
मकवानपुर । नेकपा एमाले माधव नेपाल पक्षले नेकपा एमाले समाजवादी पार्टी दर्ताकाे लागि निवेदन दर्ता गराएकाे छ । माधव कुमार नेपालसहितका नेताहरुले नयाँ दल दर्ताका लागि ९५ जनाको हस्ताक्षरसहित निवेदन दिएका छन् ।
नयाँ पार्टीमा ९५ जना केन्द्रीय सदस्य रहेका छन् । जसमा मकवानपुरका विराेध खतिवडा, मुनु सिग्देल र गोमा विष्ट केन्द्रीय सदस्यमा रहेका छन् । सरकारले दल विभाजनलाई सहज हुने गरी अध्यादेश ल्याएपछि नेपाल दल दर्ता गर्न आयोग पुगेका थिए । नयाँ पार्टीमा नेता नेपाल नै अध्यक्ष रहेका छन् भने झलनाथ खनाल वरिष्ठ नेता रहेका छन् ।
नेकपा एमाले समाजवादीका केन्द्रीय सदस्यहरूकाे नामावली
१. माधव कुमार नेपाल २. झलनाथ खनाल ३. मुकुन्द न्यौपाने ४. प्रदीप नेपाल ५. डा. बेदुराम भुसाल ६.. प्रमेशकुमार हमाल ७. राजेन्द्रप्रसाद पाण्डे ८. डा. विजयकुमार पौडेल ९. डा. गंगालाल तुलाधर १०.प्रकाश ज्वाला ११. नागेन्द्रप्रसाद चौधरी १२. जयन्ती राई १३. तुलबहादुर गुरुङ १४. जगन्नाथ खतिवडा १५. प्रतापलाल श्रेष्ठ १६. जीवनराम श्रेष्ठ १७. धर्मनाथ प्रसाद साह १८. रामप्रित पासवान १९. रामचन्द्र यादव २०. यदुवंश झा २१. रत्नेश्वर गोइत यादव २२. श्रीप्रसाद साह २३. रविन्द्र बैठा धोवी २४. लक्ष्मण पौडेल २५. मदनकुमारी शाह(गरिमा) २६. देवशंकर पौडेल २७. विरोध खतिवडा २८. मेटमणी चौधरी २९. विश्वनाथ प्याकुरेल ३०. प्रेमलकुमार खनाल ३१. विजय गुरुङ ३२. सावित्रा भुसाल ३३. रामकुमारी झाँक्री ३४. गौरा प्रसाईं कोइराला ३५. रामकुमार ज्ञवाली ३६. खगेन्द्र चुडाल ३७. सरलाकुमारी यादव ३८. सुधिरप्रसाद साह ३९. कल्याणीकुमारी खड्का ४०. शत्रुधन महतो ४१. रामचन्द्र साह ४२. दिनेशकुमार राई ४३. हंशबहादुर शाही ४४. शेरबहादुर के.सी. ४५. निरादेवी जैरु ४६. प्रेमबहादुर आले ४७. भागवत नेपाली ४८. चुडामणी वि.क. जंगली४९. घनेन्द्र बस्नेत ५०. राजेन्द्र कुमार राई ५१. बलदेव चौधरी ५२. डा. देउमान सम्बाहाम्फे ५३. भाष्कर काफ्ले ५४. कृष्णप्रसाद खनाल ५५. रविन कोइराला ५६. महम्मद महफुज अन्सारी ५७. केशवलाल श्रेष्ठ ५८. नरेश खरेल ५९. भानुभक्त जैसी ६०. चन्द्रबहादुर शाही ६१. दिलकुमारी पन्त ६२. बलराम बास्कोटा ६३. बसन्तप्रसाद मानन्धर ६४.महेश रेग्मी ६५. श्रीनाथ बराल ६६. सारदाप्रसाद सुवेदी ६७. गोविन्द कोइराला (बाँके) ६८. सुरेश कार्की (उदयपुर) ६९. पुरुषोत्तम पौडेल (बारा) ७०. उर्वादत्त पन्त (कञ्चनपुर) ७१. दलबहादुर सुनार (बाँके) ७२. गणेश काङमाङ (पाँचथर) ७३. प्रभा बज्राचार्य (काठमाडौँ) ७४. मुनु सिग्देल (मकवानपुर) ७५. उषा पोखरेल (सप्तरी) ७६. रमा आले मगर (काठमाडौँ) ७७. रिता रावल (जाजरकोट) ७८. माया भट्ट (वैतडी) ७९. पूर्णा जोशी (डोटी) ८०. सावित्रा सेमी (पोस्टा रिका८१. विद्या चामलिङ (मोरङ) ८२. रेखा थापा बश्याल (तनहुँ) ८३. शर्मीलादेवी पौडेल क्षेत्री (स्यांजा)ना ८४. राजेन्द्रलक्ष्मी गैरे (पाल्पा) ८५. अनारकली मियाँ (दाङ) ८६. देवी ओली (रुकुम) ८७. नन्दा शर्मा चपाईं (सुरखेत) ८८. दुर्गा परियार (उदयपुर) ८९. कौशिला सिंह (बर्दिया) १०. यमुना भुसाल (अर्घाखाँची) ९१. उदया शर्मा (काठमाडौ) ९२. आशा यादव (सिराहा) ९३. गोमा विष्ट (मकवानपुर) ९४. सिता बस्याल (चितवन) ९५. विभा कार्की (पर्सा)
मकवानपुर । नेकपा एमाले नेतृ अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री हुने लगभग पक्का भएको छ । केन्द्रीय राजनीतिमा नेकपा एमाले विभाजन भएसंगै बागमती प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलको नेताबाट राजिनामा दिएपछि शाक्यलाई मुख्यमन्त्री बन्ने बाटो खुल्ला भएको छ ।
बुधबार संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा बसेको संसदीय दलको बैठकमा पौडेल स्वयम्ले नेतृ शाक्यलाई संसदीय दलको नेता चयन गर्न प्रस्ताव गरेका थिए । उनको प्रस्ताव बहुमतले पारित गर्दै नेतृ शाक्यलाई संसदीय दलको नेता चयन गरी प्रदेशसभा सचिवालयमा परिवर्तनको सूचनासमेत पठाएको प्रमुख सचेतक दीपक निरौलाले बताए ।
बुधबार नै मुख्यमन्त्री पौडेलले राजीनामा दिने र प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले शाक्यलाई मुख्यमन्त्री नियुक्त गर्ने समेत तयारी रहेको छ । यसको लागि प्रदेश प्रमुख प्रसाईं गृह जिल्ला झापाबाट बुधबार नै प्रदेश राजधानी हेटौंडा आएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै माधव पक्षले ‘नेकपा एमाले समाजवादी’ दर्ता गरेपछि शाक्यलगायत एमालेका दोस्रो तहका दर्जन नेताहरुले माधव नेपालको साथ छाडेका छन् ।
बागमती प्रदेशमा माधव पक्षको नेतृत्व गरिरहेकी अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेता बनाई मुख्यमन्त्री बनाउने तयारी स्वरुप पौडेलले संसदीय दलको नेताबाट राजिनामा दिएका हुन् । एमालेको माधव पक्ष र ओली पक्ष दलगत हिसाबले एउटै भएकाले पौडेलको सत्ता टिकिरहेको थियो । यसअघि पनि बारम्बार पौडेललाई मुख्यमन्त्रीबाट राजीनामा दिन एमालेकै माधव पक्षका सांसद्हरुले माग गर्दै आएका थिए ।
बागमती प्रदेशमा कूल ११० जनामध्ये १०९ जना सांसद रहेको बागमती प्रदेशमा सरकार गठन गर्न ५६ जना सांसद चाहिन्छ । नेकपा एमालेको ५६ जना सांसद रहेका छन् । जसमध्ये केपी ओली पक्षका ३४ जना र माधव नेपाल पक्षका २२ जना सांसद रहेका छन् । यद्यपी, माधव पक्षका अर्का प्रभावशाली नेता एवम् बागमती प्रदेशसभा सदस्य राजेन्द्र पाण्डे माधव नेपालले दर्ता गरेको नयाँ दलको केन्द्रीय सदस्यमा रहेका छन् ।
मुख्यमन्त्री डोरमणि पौडेलले अहिले केहीबेरमा नै राजीनामा दिने र नेतृ अष्टलक्ष्मी शाक्यलाई नियुक्त गरिने तयारी भइरहेको बताइएकाे छ । मुख्यमन्त्री डोरमणि पौडेलको राजीनामा स्वीकृत गरी आजै नेतृ शाक्यलाई नियुक्त गर्न प्रदेश प्रमुखकाे कार्यालय तयारी अवस्थामा रहेकाे बताइएकाे छ । केन्द्रमा माधव कुमार नेपालले आफ्नो नेतृत्वमा नेकपा एमाले समाजवादी गठन गरेपछि बागमती प्रदेशमा पौडेल नेतृत्वको सरकार स्पष्ट अल्पमतमा परेको थियो ।
राजीनामा दिनुपूर्व पौडेल अहिले अन्तिम मन्त्रिपरिषद् बैठकमा छन् ।
मकवानपुर । मकवानपुर प्रहरीले ३ जना फरार प्रतिवादी पक्राउ गरेकाे छ । मकवानपुर जिल्ला अदालतकाे विभिन्न मितिमा भएकाे फैसला बमाेजिम कैद र जरिवाना भुक्तान गर्न रहेका फरार प्रतिवादी पक्राउ गरिएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
मकवानपुर जिल्ला अदालत हेटौडाको २०७७ साल साउन ११ गतेको फैसलाले चेक अनादर मुद्दामा १ महिना कैद र ३ हजार जरिवाना भुक्तान गर्न बाँकी रही फरार रहेका हेटाैडा उपमहानगरपालिका १० का ३४ बर्षिय सन्तोष साहलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले भदाै २ गते बुधबार हेटाैडा १० बाट पक्राउ गरी आवश्यक कारवाहिको लागि सम्मानित जिल्ला अदालत मकवानपुरमा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
यसैगरी मकवानपुर जिल्ला अदालतको २०७५ साल असार १० गतेको फैसलाले सवारी ज्यान मुद्दामा १ महिना कैद र २ हजार जरिवाना भुक्तान गर्न बाँकी रही फरार रहेका हेटाैडा १२ का २७ बर्षिय उद्धव तिवारीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले भदाै २ गते बुधबार हेटाैडा १२ बाट पक्राउ गरी आवश्यक कारवाहिको लागी सम्मानित जिल्ला अदालत
मकवानपुरमा उपस्थित गराईएको समेत प्रवक्ता रिमालले बताए ।
यस्तै मकवानपुर जिल्ला अदालतकाे २०७३ साल भदाै १५ गतेको फैसलाले लागुऔषध खैरो हिरोईन मुद्दामा २ महिना ११ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेका हेटाैडा ५ का २६ बर्षिय प्रदिप राज कार्कीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले भदाै २ गते हेटाैडा ५ बाट पक्राउ गरी आवश्यक कारवाहिको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराईएको रिमालले बताए ।