मकवानपुर । प्रतिनिधिसभा निर्वाचनको प्रचार–प्रसार अवधि सकिन लाग्दा नेकपा एमाले मकवानपुरले जिल्लाका दुवै निर्वाचन क्षेत्रमा आफ्नो जित सुनिश्चित भएको दाबी गरेको छ ।
एमालेका जिल्ला नेताहरूका अनुसार घरदैलो, कोणसभा र जनभेटघाटका क्रममा मतदाताबाट उत्साहजनक समर्थन प्राप्त भएको छ । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ र २ दुवैमा पार्टीका उम्मेदवारप्रति जनलहर देखिएको एमाले मकवानपुरका उपाध्यक्ष हिदम लामाले बताए ।
उनका अनुसार दुवै क्षेत्रमा सन्तोषजनक मतान्तरसहित एमालेका उम्मेदवार विजयी हुने अंकगणित देखिएको हो ।
मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार रामेश्वर राना शालिन र सादगी नेता भएकै कारण एमालेको मात्रै नभएर अन्य दलको मत समेत प्राप्त हुने बताइएको छ । तत्कालन जिल्ला विकास समितिको सभापति हुंदा जिल्लामा बसाइएको विकासको जग नै रानाको जित्ने आधार बनेको लामाले बताए ।
यस क्षेत्रमा एमालेले आफ्नो संगठन बलियो रहेको र विकास निर्माणका एजेन्डाले मतदाता आकर्षित गरेको दाबी गरेको छ भने क्षेत्र नम्बर २ मा पनि अघिल्ला निर्वाचनको मतपरिणाम र पछिल्लो राजनीतिक समीकरणका आधारमा आफूहरू अग्रस्थानमा रहेको दाबी गरिएको छ ।
यसअघि ५ दलीय गठबन्धनका उम्मेदवार विरोध खतिवडालाई ४ हजार ५२० मतान्तरले पराजित गर्दै विजयी भएका महेश कुमार बर्तौला मकवानपुर–२ का उम्मेदवार बनेका हुन् ।
जितेर गएपछि निर्वाचन क्षेत्र सहित सिंगो मकवानपुरको समस्या सदनमा उठाउने, सुकुम्बासीलाई लालपुर्जा दिलाउन खेलेको भूमिका र मध्यवर्ती क्षेत्रको समस्या हल गर्न गरिएको पहलकदमीका कारण बर्तौलालाई यस क्षेत्रका मतदाताले रुचाएको एमाले मकवानपुरका नेताहरु बताउँछन् ।
एमाले नेतृत्वले “स्थिर सरकार, विकास र समृद्धि” लाई मुख्य चुनावी नाराका रूपमा अघि सारेको छ । मतदाताले विगतको कामको मूल्याङ्कन गरेर सूर्य चिह्नमा मतदान गर्ने विश्वास व्यक्त गरिएको छ ।
मकवानपुर । अमेरिका र इजरायलले इरानका विभिन्न सैन्य तथा रणनीतिक निशानाहरूमा गरेको संयुक्त हवाई आक्रमणका कारण इरानमा १०८ जना स्कुले बालबालिकाको मृत्यु भएको छ । यो घटनालाई यस युद्धको अहिलेसम्मकै भयावह त्रासदीका रूपमा हेरिएको छ।
इरानी स्थानीय अधिकारीहरूका अनुसार दक्षिणी इरानको मिनाब स्थित एक प्राथमिक विद्यालयमा भएको आक्रमणमा मात्रै कम्तीमा १०८ जनाको मृत्यु भएको छ।
इरानको रेड क्रिसेन्टले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार देशका २४ वटा प्रान्तमा भएका श्रृङ्खलाबद्ध आक्रमणहरूमा हालसम्म २०१ भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। यसैगरी, आक्रमणमा परी कम्तीमा ७४७ जना घाइते भएको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको रेड क्रिसेन्टले जनाएको छ।
यसैबीच, इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको परिवारमा पनि ठूलो क्षति पुगेको छ। इरानी अर्ध-सरकारी सञ्चारमाध्यम ‘फर्स न्यूज’ ले खामेनीकी छोरी, ज्वाइँ र नातिनीको मृत्यु भएको आधिकारिक पुष्टि गरेको छ। सर्वोच्च नेताको निवासलाई लक्षित गरी गरिएको आक्रमणमा उनको परिवारका सदस्यहरू परेका हुन्।
इरानले पनि इजरायली क्षेत्रलाई लक्षित गरी जवाफी कारबाही सुरु गरेको छ। इजरायली उद्धार टोलीका अनुसार इरानी आक्रमणका कारण तेल अभिव क्षेत्रमा एक महिलाको मृत्यु भएको छ भने कम्तीमा ९० जना सामान्य घाइते भएका छन्।
युद्धको कारण त्यहाँ कार्यरत नेपालीको अवस्था चिन्ताजनक छ । नेपाल सरकारले यो समयमा संवेदनशील र विवेकपुर्ण कदम चाल्नु जरुरी छ ।
निर्वाचन लोकतन्त्रको बलियो आधार हो । जनआधारलाई सम्बोधन गर्ने कडिको रुपमा लिइने निर्वाचनलाई अझै सशक्तता बनाउने आधार मतदाता शिक्षा हो । निर्वाचन प्रक्रियाको सबैभन्दा महत्वपूर्ण पाटो हो मतदान प्रक्रिया । सचेत र जिम्मेवारीपूर्ण मतदाताको सक्रिय सहभागिताले लोकतन्त्रलाई बलियो बनाउँछ । मतदान गरेर मात्रै हुदैन, सही तरिकाले मतदान गर्नु र बदर हुन नदिनु तर्फ सचेत हुनुपर्छ ।
मतदाता शिक्षाले नागरिकलाई मतदानको अधिकार, प्रक्रिया, महत्व र प्रभावबारे स्पष्ट जानकारी दिन्छ, जसले लोकतन्त्रलाई बलियो बनाउँछ। मतदान किन गर्ने, कसलाई मत दिने र मतको दीर्घकालीन असर के हुन्छ भन्ने विषयमा पर्याप्त बुझाइ बिना नै लहरको पछिलाग्ने परिपाटी अझै हावी छ । जानकारीको अभावमा धेरै मतदाता भ्रम, हल्ला, लोभलालच वा दबाबमा परेर मत दिन बाध्य हुन्छन्। यस्तो अवस्थाले योग्य नेतृत्व चयनमा अवरोध पुर्याउँछ र लोकतन्त्र कमजोर बनाउँछ। मतदाता शिक्षाले यस्ता विकृति हटाउन सहयोग पुर्याउँछ।मतदाता शिक्षाले मतदातालाई उम्मेदवारको नीति, विचार, आचरण र विगतको कार्यसम्पादन मूल्याङ्कन गर्न सिकाउँछ। यसले जात, क्षेत्र, पार्टीगत अन्धभक्तिभन्दा माथि उठेर विवेकशील निर्णय गर्न प्रेरित गर्छ।
विशेषगरी नयाँ मतदाता र युवा वर्गलाई सही दिशामा मार्गदर्शन गर्न मतदाता शिक्षाको भूमिका अत्यन्त महत्वपूर्ण छ। मतदाता शिक्षा केवल निर्वाचनको बेला मात्र सीमित हुनु हुँदैन। विद्यालय, समुदाय, सञ्चार माध्यम र नागरिक संस्थामार्फत निरन्तर रूपमा सञ्चालन गरिनुपर्छ। सचेत मतदाता नै स्वस्थ लोकतन्त्रको मेरुदण्ड हुन्।त्यसैले मतदाता शिक्षामा लगानी गर्नु भनेको लोकतन्त्रको भविष्य सुरक्षित गर्नु हो।
मकवानपुर जिल्लामा कुल मतदानको ४ प्रतिशत मत बदर हुने गरेको विगतको तथ्याङ्क छ । यस्तो बदर मत घटाउन आफूले रोजेको चिन्हमा मतदान गर्ने, मसि नलतपतिने गरी , स्वास्तिक छाप राम्रोसँग सुकेपछि मात्रै मतपत्र पट्याउने, एउटा चिन्हमा मात्रै मत संकेत गर्ने जस्ता सवालमा जानकारी आदनप्रदान गरौं । गोप्यमतदानलाई खेर जान नदिन व्यक्ति, व्यक्तिले पनि आपसमा शिक्षा साझा गरौं ।
मकवानपुर । नेकपा एमाले मकवानपुर क्षेत्र नम्बर-१ का उम्मेदवार रामेश्वर रानाले बकैया गाउँपालिकामा मतदाता भेटघाट तथा घरदैलो अभियान सञ्चालन गरेका छन्। रानासँगकाे घरदैलोमा स्थानीयहरुले पुराना योगदान स्मरण गरे ।
२०५४ सालमा तत्कालीन जिल्ला विकास समितिको सभापति रहँदा रानाले बकैया–६ गवरस्थानमा जनजागृति आधारभूत विद्यालय स्थापना स्वीकृत गराएको योगदान आज पनि उदाहरणीय रूपमा स्मरण गरिन्छ।
विद्यालयका तत्कालीन अध्यक्ष टंक गोलेले जिल्लाको समग्र विकासमा निरन्तर योगदान पुर्याएका इमानदार, कर्मठ र विकासप्रेमी नेता रानालाई २८ वर्षपछि पुनः मतदान गर्न पाउँदा गर्व लागेको बताए। “विकासका काम देखिने गरी गर्ने नेता र पार्टी भनेकै एमाले हो,” गोलेले भने। घरदैलो अभियानका क्रममा रानाले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, कृषि र रोजगारीका विषयमा आफ्ना स्पष्ट योजना सार्वजनिक गरेका छन्।
घरदैलोका क्रममा स्थानीय मतदाताहरूले उत्साहपूर्वक एमाले र सूर्य चिन्हमा मतदान गरी रानालाई विजयी बनाउने प्रतिबद्धता व्यक्त गरे । मंगलबार र बुधबार रानाले बकैयाको सबै वडाहरुमा पुगी मतदातासङ्ग प्रत्यक्ष भेट गरि आफ्नो प्रतिबद्दता सहित मत मागेका हुन् ।
घरदैलो अभियानकै क्रममा बाराको निजगढ हुँदै बकैया–६ गवरस्थान पुगेका उम्मेदवार रानालाई स्थानीयवासीहरूले भव्य स्वागत गरेका थिए । स्थानीयको सहभागितासहित गरिएको स्वागत कार्यक्रमले बकैयामा एमालेप्रतिको जनसमर्थन झनै बलियो बन्दै स्थानीय नेताहरुले बताए ।
स्थानीय विकासमा रानाको ऐतिहासिक योगदानलाई स्मरण गर्दै मतदाताहरूले रानाप्रति दृढ विश्वास व्यक्त गरेका छन्।
एमाले नेतृत्वको सरकारले देशभर ठूला पूर्वाधार, सडक सञ्जाल विस्तार, शिक्षा र स्वास्थ्य संस्थाको विकास, तथा राष्ट्रिय स्वाभिमान र सार्वभौमिकताको रक्षा गर्दै आएको उल्लेख गर्दै उनले बकैयालाई पनि समृद्धिको केन्द्र बनाउने प्रतिबद्धता जनाए।
उनले पछिल्लो समय मुलुकले भोगेको विध्वंस, अस्थिरता र विकास अवरोधपछि अब दृढ नेतृत्वसहित राष्ट्र निर्माणको नयाँ चरण आवश्यक रहेको बताए। “अब नारा होइन, परिणाम चाहिएको छ। एमालेले मात्र स्थायित्व, विकास र राष्ट्रिय हितको रक्षा गर्न सक्छ,” रानाले भने। स्थानीय जनउत्साह, विगतका ठोस उपलब्धि, एमालेको विकासवादी नीति र राष्ट्रियताप्रतिको स्पष्ट अडानका कारण बकैयामा एमालेको जित सुनिश्चित देखिएको स्थानीयवासीहरूको विश्वास छ।
मकवानपुर । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को लागि जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरले स्वास्थ्यकर्मीलाई बिदामा नबस्न र जिल्ला नछोड्न आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको छ ।
बुधबार बसेको समितिको बैठकले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण तयारीका निर्णयहरू सार्वजनिक गर्दै यस्तो अनुरोध गरेको हो । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिदै गर्दा निर्वाचन लक्षित
स्वास्थ्य कार्यको लागि तयारी गरिएको हो ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको अध्यक्षतामा बसेको समितिको बैठकले निर्वाचन अवधिमा सम्भावित विपद् तथा आकष्मिक अवस्थालाई मध्यनजर गर्दै जिल्लाभर स्वास्थ्य सेवा प्रणालीलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको हो।
बैठकले निर्वाचनको समयमा जिल्लाका सबै स्थानीय तहमा तत्काल परिचालन गर्न सकिने
गरी साधन स्रोतसहितको आपतकालीन स्वास्थ्य टोली तयारी अवस्थामा राख्न जनस्वास्थ्य कार्यालय मकवानपुरमार्फत सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको प्रजिअ अधिकारीले बताए । साथै जिल्लाभित्र रहेका सम्पूर्ण स्वास्थ्य संस्थाहरूलाई आवश्यक जनशक्ति तथा उपकरण तयारी अवस्थामा राख्न समेत निर्देशन दिइने भएको छ।
निर्वाचन अवधिलाई ध्यानमा राख्दै हेटौंडा अस्पताललाई पनि आवश्यक साधन स्रोतसहित तयारी अवस्थामा रहन र त्यसको विवरण जिल्ला प्रशासन कार्यालयमा माग गर्ने निर्णय गरिएको छ।
यस्तै, जिल्लाभित्र सञ्चालनमा रहेका दमकल तथा एम्बुलेन्सहरूलाई जुनसुकै समयमा प्रयोग गर्न सकिने गरी पूर्ण रूपमा चालु अवस्थामा राख्न सम्बन्धित निकायहरूलाई लेखी पठाइने भएको छ।
निर्वाचनको संवेदनशीलतालाई ध्यानमा राख्दै सो अवधिमा जिल्लाका सम्पूर्ण स्वास्थ्य जनशक्तिलाई बिदामा नबस्न र जिल्ला नछोड्न आवश्यक व्यवस्था मिलाउन जनस्वास्थ्य कार्यालय मकवानपुरमार्फत सबै स्थानीय तह तथा स्वास्थ्य संस्थाहरूलाई निर्देशन पठाउने निर्णय गरेको छ।
त्यसैगरी, विपद् व्यवस्थापन समिति अन्तर्गतका सबै निकाय तथा पदाधिकारीहरूले निर्वाचन लक्षित सम्भावित विपद्जन्य घटनाको पूर्वतयारी, उद्धार तथा व्यवस्थापनका लागि आवश्यक प्रबन्ध मिलाउने पनि निर्णय भएको छ।
निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन स्वास्थ्य क्षेत्रको तयारी अत्यन्त आवश्यक रहेकोले यस्तो तयारी गरिएको अधिकारीले बताए । “निर्वाचनको समयमा कुनै पनि आकष्मिक अवस्था सिर्जना भएमा तत्काल प्रतिक्रिया दिन सक्ने गरी स्वास्थ्य तथा उद्धार संयन्त्रलाई तयारी अवस्थामा राख्ने निर्णय गरिएको हो” प्रजिअ अधिकारीले भने ।