मकवानपुर । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत जारी मत गणनामा ६ वटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम घोषणा भएको छ । १ सय ६५ निर्वाचन क्षेत्रमध्ये नतिजा घोषणा भएका ६ क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले ३ वटा, नेपाली कांग्रेसले ३ वटा र नेपाली कम्युनिस्ट पार्टीले एउटा क्षेत्रमा जित हासिल गरेका छन् । अहिलेसम्म ३ वटा पार्टीले जित निकाल्दा नेकपा एमालेले भने खाता खोल्न सकेको छैन ।
रास्वपाले काठमाडौं–१, काठमाडौं–६ र काठमाडौं–८ मा जित हासिल गरेको हो । यी निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरू क्रमशः रन्जु दर्शना न्यौपाने, शिशिर खनाल, विराजभक्त श्रेष्ठ निर्वाचित भएका हुन् ।
यस्तै, नेपाली कांग्रेसले मुस्ताङ र मनाङमा जित हासिल गरेको छ । मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली र मनाङमा टेकबहादुर गुरुङ निर्वाचित भएका हुन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।
रास्वपाकी उम्मेदवार रञ्जु दर्शना (न्यौपाने) काठमाडौं १ बाट विजयी भएकी छन् । उनी १५ हजार ४५५ मतसहित विजयी हुँदा कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत तथा राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत प्राप्त गरे ।
कांग्रेसका योगेश गौचनले एमालेका इन्द्र धारा विष्टलाई हराएर विजयी भएका हुन् । गौचनले ३ हजार ३ सय ७ मत ल्याउँदा निकटतम प्रतिश्पर्धी विष्टले १ हजार ८ सय ६ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका अद्वितीय चन्द्र थकालीले ७ सय ५९ मत प्राप्त गरे । मुस्ताङबाट शेरचनले ०७९ को निर्वाचनमा पनि जितेका थिए ।
काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्य रास्वपाका शिशिर खनाल विजयी भए । खनाल २७ हजार ७ सय १९ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६ सय ४७ मत प्राप्त गरे। नेकपा एमालेका अमनकुमार मास्केले ४ हजार ३ सय ७३ मत प्राप्त गरे ।
मनाङबाट कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन् । गुरुङले २ हजार ४१४ मत पाउँदा निकटम प्रतिद्वन्द्वी नेकपाकी उम्मेदवार एशोदा गुरुङ (सुवेदी)ले ४५४ मत पाइन् ।
काठमाडौं क्षेत्र नम्बर ८ मा रास्वपाका विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन् । उनी २४ हजार ५९२ मतका साथ विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुमन सायमीले ३ हजार २१७ मत पाएका छन् । यसैगरी नेपाली कांग्रेसकी सपना राजभण्डारीले २ हजार ८३५ र नेकपा एमालेका राजेश शाक्यले १ हजार ९०९ मत पाएका छन् ।
नेकपा संयोजक प्रचण्ड प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका छन् । उनी रुकुम पूर्वबाट १० हजार २४० मतसहित विजयी भएका हुन् । यससँगै नेकपाले जितको खाता खोलेको छ । यस्तै एमालेका लिलामणि गौतम ३ हजार४६२ तथा कांग्रेसकी कुशुमदेवी थापाले ३ हजार ८१ मत प्राप्त गरे ।
मनाङबाट निर्वाचित गुरुङले सांसद पदको शपथ लिन भने नपाउने बताइएकाे छ । विशेष अदालतबाट भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को जग्गा भाडामा अनियमिततामा भ्रष्टाचारी ठहर भएकाले विजयी भएपनि शपथग्रहण गर्न पाउने छैनन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु दर्शना (न्यौपाने) काठमाडौ क्षेत्र नम्बर १ बाट विजयी भएकी छन् । उनले १५ हजार ४५५ मत प्राप्त गर्दै विजयी भएकी हुन् ।
उनका निकटत प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत पाएका छन् भने राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले ३ हजार ९७२ मत पाएका छन् ।
काे हुन दर्शना ?
- रञ्जु दर्शना वैकल्पिक राजनीतिको वकालत गर्दै राजनीतिमा चिनिएको नाम हो । १७ वर्षको उमेरमै उनी २०७० सालमा विवेकशील नेपाली पार्टीमा आवद्ध भएकी थिइन् । साे समयमा नेपाल बन्दको घोषणा हुने गर्थ्यो । उनको सक्रियतामा ‘बन्द बहिष्कार अभियान’ सञ्चालन भएको थियो ।
- उनी समाज सेवामा पनि सक्रिय भइन् । २०७२ सालमा महाभूकम्प गयो । त्यसपछि राहत तथा पुनर्स्थापनाको कार्यमा सक्रिय भइन् । डा. गोविन्द केसीले भ्रष्टाचारविरुद्ध अनसन बस्दा रञ्जु सहयोगी भूमिकामा समेत देखिएकी थिइन् ।
- पार्टीमा उनको बढ्दो प्रभावले २०७४ सालमा स्थानीय तहको निर्वाचन भयो । जसमा उनी काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनिन् । त्यसबेला उनी २२ वर्षकी थिइन् । उक्त निर्वाचनमा उनले २३ हजार ४३९ मत प्राप्त गरिन् र तेस्रो भइन् ।
- २०७८ सालमा विवेकशीलमा आन्तरिक कलह चुलिएपछि रञ्जुले पार्टीबाट राजीनामा दिइन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं-५ बाट ‘सेलरोटी’ चुनाव चिह्नसहित उम्मेदवार बनेकी उनले जम्मा ६०० मत पाएकी थिइन् ।
- २०८१ सालमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश सँगै केन्द्रीय सदस्य भएकी उनले रास्वपाबाटै काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनिन् र चुनाव जितिन् ।
- रञ्जु काठमाडौंको मैतीदेवी क्षेत्रकी स्थायी बासिन्दा हुन् । उनले स्नातक तहसम्मको अध्ययन गरेकी छन् ।
मकवानपुर । शान्तिपुर्ण रुपमा निर्वाचन सम्पन्न भएको मकवानपुर जिल्लामा अबको केही समयमा मत गणना हुनेभएको छ ।
विहिबार मध्यरातमा सबै मतपेटिका संकलन सकिएको छ । २ वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा मतदान सकिएसँगै मतपेटिका संकलनको काम सुरु गरिएको थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सबै स्थानबाट मतपेटिका संकलन गरेर हेटौंडा ४ को भुटान देवि माविमा ल्याउने काम सकिएको छ । कार्यालयले दिएको जानकारी अनुसार आज शुक्रबार बिहान सर्वदलीय बैठक बोलाइएको छ । उक्त, बैठकको निर्णयपछि मात्र मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत गिता श्रेष्ठले जानकारी दिइन ।
मकवानपुरमा रहेका ५९ प्रतिशत मतदाताले हिजो बिहिवार मतदान गरेका थिए । यो अघिल्लो निर्वाचनमा भन्दा शून्य दशमलव २१ प्रतिशतले बढी हो ।
कुल १ लाख ८६ हजारा ५५१ मतदाताले मतदान गरेका छ्न । जसमा महिला ८९ हजार ९१२ पुरुष ९६ हजार ६४३ र अन्य ५ जना रहेका छन् ।
काठमाडौं । मतदानका लागि मतदाता नामावलीमा नाम हुनु आवश्यक छ ।
निर्वाचन आयोगका अनुसार, सकेसम्म मतदाता परिचय पत्र लिएर मतदान गर्न जानुपर्छ । मतदाता परिचयपत्र हराएको वा नष्ट भएको अवस्थामा अन्य सरकारी कागजपत्र देखाएर पनि मतदान गर्न पाइन्छ ।
तर, कसैले अर्को व्यक्तिको मतदाता परिचयपत्र कब्जा गर्ने वा बिगार्ने कार्य गरेको रहेछ भने त्यस्तो कार्य दण्डनीय हुनेछ । निर्वाचन आचासंहिता अनुसार मतदातालाई मतदानबाट बञ्चित गर्न हुँदैन । आयोगका अनुसार, कसैले पनि मतदातालाई मतदान गर्नबाट बञ्चित गर्ने उद्देश्यले मतदाता परिचयपत्र कब्जा गरी राख, बिगार्न वा खरिद गर्न हुँदैन ।
यस्तो कार्य गरेको अवस्थामा त्यस्तो व्यक्तिलाई ६ महिना कैद वा २५ हजार जरिबाना वा दुवै सजाय हुन सक्दछ ।
आगामी बिहीबार मतदान हुँदैछ । कूल मतदाता १ करोड ८९ लाख ३ हजार ६८९ जना रहेका छन् । २७५ सदस्यीय प्रतिनिधिसभा सदस्यहरू १६५ जना प्रत्यक्ष निर्वाचित हुन्छन् भने ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत चुनिन्छन् ।
प्रत्यक्षतर्फ खसेको मतमा बहुमत ल्याउने उम्मेदवार निर्वाचित हुन्छन् । समानुपातिकतर्फ राजनीतिक दलले पाएको मतको आधारमा सांसदहरू चुनिन्छन् ।
मकवानपुर । गृह मन्त्रालयमा आयोजित केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचन हुने दिन भोली हवाई निगरानी निर्णय गरेको छ।
समग्र शान्ति-सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राख्ने निष्कर्ष लिएको मन्त्रालय स्रोतले जनाएको छ।
बैठकबाट मतदानको दिन आकाशमार्गबाट गस्ती परिचालन गर्ने, आवश्यकताअनुसार हेलिकप्टर तयारी अवस्थामा राख्ने तथा संवेदनशील क्षेत्रको निगरानी सुदृढ गर्ने विषयमा सहमति भएको जानकारी दिइएको छ।
सुरक्षा व्यवस्थापनमा कुनै कमी नराख्ने प्रतिबद्धता व्यक्त गर्दै सम्बन्धित निकायलाई समन्वित ढंगले परिचालन गर्ने निर्णय गरिएको छ।
बैठकमा केन्द्रीय सुरक्षा समितिका अध्यक्ष तथा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, विभिन्न सुरक्षा निकायका प्रमुख तथा गृह मन्त्रालयका उच्च अधिकारी सहभागी थिए। छलफलका क्रममा विद्यमान सुरक्षा अवस्था, निर्वाचनको तयारी, सम्भावित जोखिम व्यवस्थापन र शान्ति-सुरक्षासम्बन्धी विषयमा समग्र समीक्षा गरिएको जनाइएको छ।
यसअघि सोही दिन बिहान गृहमन्त्री अर्यालले देशभरका ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल माध्यमबाट संवाद गरी जिल्लागत अवस्था, तयारी र चुनौती बारे जानकारी लिएका थिए।