मकवानपुर / बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यसहित नेवार समुदायका मन्त्रीहरु सम्मानित भएका छन् । नेवाः गुठी खलः मकवानपुरद्वारा शनिबार हेटौंडामा आयोजित विजया दशमीको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रममा बधाई तथा सम्मान गरिएको हो ।
कार्यक्रममा मुख्यमन्त्री शाक्यसहित आन्तरिक मामिला तथा कानून मन्त्री डा. अजयक्रान्ति शाक्य, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सरस्वती बाटी, सामाजिक विकास राज्यमन्त्री जुनेलीमाया श्रेष्ठलाई सम्मानित गरेको थियो । कार्यक्रममा मुख्यमन्त्री शाक्यको प्रमुख आतिथ्य तथा बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको विशेष आतिथ्य रहेको थियो ।
नेवाः गुठी खलः मकवानपुरका अध्यक्ष अनिल खड्गेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सल्लाहकार अशोक शाक्य, नेकपा माओवादी केन्द्रका बागमती प्रदेश समिति सदस्य ललित घलान, नेवाः साँस्कृतिक पुचः मकवानपुरका अध्यक्ष विष्णुगोपाल श्रेष्ठ, नेवाः गुठी खलःका उपाध्यक्ष यज्ञबहादुर श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए । नेपाल बुद्धिचाल संघका अध्यक्ष एकालाल श्रेष्ठ, शिक्षाविद् देवप्रसाद श्रेष्ठ, मकवानपुर जिल्ला भलिबल संघका अध्यक्ष विन्द्रलाल श्रेष्ठ लगायतको आतिथ्य रहेको कार्यक्रममा नेवाः गुठी खलःका महासचिव देवकुमार श्रेष्ठले सहजिकरण गरेका थिए ।
मकवानपुर । नेकपा (एकीकृत समाजवादी) को बागमती प्रदेश कमिटि गठन भएकाे छ । पार्टीकाे बागमती प्रदेश कमिटि भेलाले २ सय ३१ सदस्यीय नयाँ बागमती प्रदेश कमिटी गठन गरेको छ । भेलामा प्रादेशिक इन्चार्ज/सहइन्चार्ज, पदाधिकारीसहितको १७ सदस्यीय सचिवालय गठन गरिएको छ ।
कार्यक्रममा पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले कमिटीका सदस्यलाई शपथ ग्रहण गराएका थिए । प्रदेश इन्चार्ज केदार न्यौपानेले पार्टीकाे कार्ययोजनासम्बन्धी विषय प्रस्तुत गरेकाे भेलामा स्थायी समिति सदस्य जीवनराम श्रेष्ठले कार्यविभाजनसम्बन्धी विषय प्रस्तुत गरेका थिए ।
प्रदेशभित्र सञ्चालन गरिने राजनीतिक गतिविधि, तिनका कार्य विभाजन, नेतालाई आवश्यकतानुसारको जिम्मेवारी प्रदान गर्न छलफल गरिएको छ । सङ्गठनलाई शुद्धीकरण, सुदृढीकरण र विस्तार गर्नेलगायत विषयमा छलफल भएको छ ।
परिवर्तित अवस्थामा पार्टीको केन्द्रीय तहसँग समन्वय र समझदारी गरी प्रभावकारीरूपमा राजनीतिक गतिविधिका साथै सामाजिक कार्यक्रम सञ्चालन गर्ने, जनताका समस्यालाई केन्द्रमा राखेर अगाडि बढ्न सहभागीले भेलामा सुझाव दिएका छन् ।
मकवानपुर / देशभरका ६२ जना बालिका तथा किशोरीहरुले एक दिनका लागि स्थानीय सरकारको प्रमुख, वडा अध्यक्षलगायत विभिन्न पद सम्हाल्ने भएका छन् ।
अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा प्लान इन्टरनेशनल नेपालले गैरसरकारी संस्था ‘हामी दाजुभाइ’ सँगको सहकार्यमा आज भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गरी यो जानकारी दिएको हो । हरेक अक्टोबर ११ मा नेपाल सहित विश्वभर मनाइने अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा प्लान नेपालले ७ जिल्लाको ३१ पालिकाहरुमा बालिका तथा किशोरीहरुलाई पदभार ग्रहण गराउने ‘गल्र्स टेक ओभर’ कार्यक्रम गराउन लागेको हो ।
यसवर्ष बालिका तथा किशोरीहरुको लागि अनलाइन सुरक्षासँग सम्बन्धित रहेर ‘डिजिटल जेनेरेसन, आवर जेनेरेसन’ भन्ने नारासहित गल्स टेक ओभर कार्यक्रम हुन लागेको हो । यो कार्यक्रमले बालिका तथा किशोरीमा आत्मविश्वास बढाउनुका साथै सम्बन्धित निकायलाई पनि अनलाइनको महत्व, जोखिम, सदुपयोगका बारेमा काम गर्न दबाब पुग्ने आयोजकको भनाइ छ ।
आजदेखि शुरु भएर अक्टोबर ११ सम्म ‘गल्स टेक ओभर’ कार्यक्रम हुने प्लान इन्टरनेशनल नेपालका निर्देशक प्रसेन खातीले जानकारी दिइन । उनले भनिन् “यो कार्यक्रमका लागि बालिका तथा किशोरीहरुलाई पाँच दिनको तालिम दिएर तयार पारेका छौँ, उहाँहरु त्यो भूमिकामा हुँदा नेतृत्वको भूमिका बारेमा अनुभव लिन्छन्, महत्व बुझ्छन् र आगामी दिनमा जनप्रतिनिधिसँग मिलेर काम गर्न उहाँहरुलाई अझ सहज हुनेछ ।”
मकवानपुरलगायत सुनसरी, सिन्धुली, बाँके, बर्दिया, जुम्ला, र कालीकोट जिल्लाका ३१ स्थानीय तहको विभिन्न पदमा रहेर किशोरी तथा बालिकाहरुले पद ग्रहण गर्नेछन् । यसक्रममा उनीहरुले अनलाइनबाट बालिका तथा किशोरीहरुमा हुनसक्ने जोखिम, अनलाइनका फाइदा–बेफाइदा र सदुपयोगबारे छलफल गर्नेछन् । यसरी पद ग्रहण गर्नेहरुलाई प्लानले अभिमुखीकरण गरेको जानकारी पत्रकार सम्मेलनमा दिइयो ।
शुक्रबार सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ७ को वडाध्यक्षको जिम्मेवारी १८ वर्षीय सुमित्रा अछामीले सम्हाल्नेछिन् । ‘आज भएको भर्चुअल पत्रकार सम्मेलनमा उनले भनिन्, ‘अहिले तयारीमा छु । एक दिनको लागि वडाध्यक्ष भएर अनलाइनले किशोरी तथा बालिकामा पारेको प्रभावका विषयमा छलफल गरेर यसबारेमा संवेदनशील हुन सबै जनप्रतिनिधिलाई आग्रह गर्नेछु ।’
बालिका, किशोरीको अनलाइन प्रयोग बारेको प्रतिवेदन सार्वजनिक
आजै प्लान इन्टरनेशनल नेपालले बालिका र किशोरीको अनलाइन प्रयोग बारेको अध्ययन प्रतिवेदन पनि सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार किशोरी तथा बालिकाहरुले कोभिड १९, यौन तथा प्रजनन स्वास्थ्य जस्ता विषयमा जानकारी लिन अनलाइन प्रयोग गर्ने गरेको पाइएको छ ।
यो अध्ययन २६ देशका २६ हजारभन्दा बढी किशोरी र बालिकाहरुसँग गरिएको प्लानले जनाएको छ । अध्ययनमा सहभागी किशोरी, बालिका मध्ये ५५ प्रतिशतले ७ घन्टा अनलाइनमा बिताउने गरेको पाइएको छ । उनीहरुले विभिन्न सामाजिक सञ्जालबाट गलत र भ्रामक सूचना पाइने, नचिनेका व्यक्तिहरुले सामाजिक सञ्जालहरुमा रिक्वेस्ट पठाउने र कुरा गरेर तनाव दिने जस्ता कार्य हुँदा व्यक्तिगत जीवनमा प्रभाव परेको बताएका छन् ।
अध्ययन प्रतिवेदन अनुसार यस्ता गलत सूचना फेसबुकबाट ६५ प्रतिशत, टिकटकबाट २७ प्रतिशत, ह्वाट्स एपबाट २७ प्रतिशत र युट्युबबाट २७ प्रतिशत हुने गरेको प्रतिवेदनमा उल्लेख छ। अनलाइन सुरक्षाका लागि डिजिटल साक्षरता सम्बन्धी शिक्षा आवश्यक रहेको भन्दै सरकारसँग डिजिटल सुरक्षाको माग पनि गरिएको छ ।
मकवानपुर । असाेज १४ गते विहीबार देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना छ। हाल देशको आधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली भई एक/दई स्थानमा हल्का वर्षा भईरहेको जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ। भारतको झारखण्ड र आसपास बनेको न्यून चापिय क्षेत्रको नेपालमा सामान्य प्रभाव परेकोले वर्षाकाे सम्भावना रहेकाे हाे ।
विहीबार प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।
देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु समेत महाशाखाले अनुरोध गरेकाे छ।