बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका–१ चौकीटोल ओरालोस्थित भवनमा पाँच वटा मन्त्रालयका साइनबार्ड देखिन्छन्। श्रम रोजगार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय एकै भवनमा छन्।
बाहिरबाट हेर्दा ठूलो भवनमा मन्त्रालयहरूका साइनबोर्ड चिटिक्क पारेर राखिएका देखिन्छन्। भवनभित्र भने काम गर्नै नसकिने अवस्था छ। कतिपय मन्त्रालय त केही कोठामा सीमित छन्।
भवन अभावले एउटैमा धेरै मन्त्रालय राख्नुपरेको श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले बताए। एउटै भवनमा एकभन्दा बढी मन्त्रालय राखिएपछि कोठा पनि कम भएको बताउँदै मन्त्री दाहालले भने, “श्रम मन्त्रालय तीन वटा कोठामा सीमित छ र साँघुरो गरी काम गर्नु परिरहेको छ।”
एउटै भवनमा धेरै मन्त्रालय भएपछि सबैलाई कोठा कम भएको छ। जसले गर्दा काम गर्न अप्ठ्यारो भएको कर्मचारी बताउँछन्। श्रम मन्त्रालयका सूचना अधिकारी राज पोखरेल भन्छन्, “मन्त्रालय तीन वटा कोठामा अटाइएको छ, कसरी प्रभावकारी ढङ्गले सेवा दिन सक्नु?”
बागमती प्रदेशमा सात मन्त्रालयलाई टुक्र्याएर १४ वटा बनाइएको छ। जसले गर्दा एउटै भवनमा पाँच मन्त्रालय राख्नुपरेको हो। पछिल्लो पटक मुख्यमन्त्री राजेन्द्र पाण्डेले गठबन्धनमा सहभागी दललाई भाग पुर्याउन आठ मन्त्रालयलाई टुक्र्याएर १४ बनाएका छन्। मुख्यमन्त्री पाण्डेले एउटै मन्त्रालयलाई तीन वटासम्म बनाएका छन्।
नेकपा (एकीकृत समाजवादी)का नेता पाण्डेको नेतृत्वमा बनेको सरकारमा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेस सहभागी छन्।
एमालेबाटै टुक्र्याउने शुरूआत
बागमतीमा चार वर्षअघि नयाँ सरकार गठन हुँदा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित सात मन्त्रालय थिए। डोरमणि पौडेलले राजीनामा दिएसँगै एमाले नेत्री अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री भएपछि मन्त्रालय फुटाउन शुरू भएको थियो।
शाक्यले सामाजिक विकास मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालय पनि बनाएकी थिइन्। त्यसपछि आठ मन्त्रालय भएका थिए।
अहिले मुख्यमन्त्री पाण्डेले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई फुटाएर तीन वटा मन्त्रालय बनाएका छन्। उनले फेरि सामाजिक विकास मन्त्रालय फुटाएका छन्। त्यससँगै भौतिक पूर्वाधार विकास र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पनि फुटाइएका छन्। १५ मंसीरमा बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले आठ मन्त्रालय फुटाएर १४ बनाएको छ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय बनाइएका छन्। यस्तै भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय फुटाएर कृषि तथा पशुपक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय बनाइएका छन्।
भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालय, श्रम, रोजगार तथा यातायात मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय बनाइएका छन्। सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकूद मन्त्रालय र सामाजिक विकास मन्त्रालय बनाइएका छन्।
मन्त्रालयसँगै आर्थिक भार थपियो
बागमती प्रदेशमा मन्त्रालय थपिएपछि आर्थिक भार पनि बढेको छ। मन्त्रालयको व्यवस्थापनमा लाग्ने प्रशासनिक तथा मन्त्रीको सचिवालय, पीए व्यवस्थापन, सल्लाहकार, यातायात, विद्युत्, पानी लगायत विभिन्न सुविधामा खर्च बढेको छ।
आर्थिक भार बढ्ने गरी मुख्यमन्त्री पाण्डे फेरि मन्त्री थप्ने तयारीमा छन्। उनले तीन पटक गरेर ११ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरिसकेका छन्। फेरि तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्ने तयारी भइरहेको एक मन्त्रीले बताए।
त्यससँगै, मन्त्री र मन्त्रालयका लागि ३० वटा सवारी खरीद गर्ने तयारी भइरहेको अर्थ मन्त्रालयले जनाएको छ। त्यसका लागि करीब १८ करोड खर्च हुने अनुमान गरिएको छ। यसअघि नै भौतिक पूर्वाधार मन्त्रालयका लागि दुई वटा सवारी खरीद गर्न एक करोड २० लाख बराबरको स्रोत सुनिश्चित गरिसकेको अर्थ मन्त्रालयले जनाएको छ। हिमालखबर डटकममा प्रकाशित समाचार साभार
मकवानपुर । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटी उपाध्यक्षमा मकवानपुरका प्रेम बहादुर पुलामी(छिन्तु)चयन भएका छन्।
छिन्तुले १ सय ३८ मत पाएर विजयी भएका हुन्। ३ उपाध्यक्षको पदमा ८ जनाको उम्मेदवारी परेकोमा मकवानपुरका छिन्तु,रुपा मर्हजन र रामप्रसाद ढुंगाना निर्वाचित भएका छन् । त्यस्तै नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश समितिको अध्यक्षमा सरल सहयात्री निर्वाचित भएका छन् । उनी अर्का प्रत्यासी दिनानाथ गौतमलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् ।
जम्मा २ सय ६१ भोट खसेको थियो । जसमा उनले १ सय ६२ मत ल्याए । गौतमले ८६ मत ल्याए । अध्यक्षमा सहमति नभएपछि सोमबार निर्वाचन भएको थियो । प्रदेश समिति सदस्यले पदाधिकारी चुन्न मतदान गरेका थिए । त्यस्तै सचिवमा काभ्रेका इन्द्रबहादुर थिङ निर्वाचित भएका छन् । उनले १ सय ४९ मत ल्याए ।
बागमती प्रदेशको मंसिर २५ र २६ गते काठमाडौंमा भएको सम्मेलनमा २७५ जना सदस्य चयन भए पनि पदाधिकारीमा सहमति हुन सकेको थिएन।

मकवानपुर । संघीय सरकारका रक्षामन्त्री डा. मिनेन्द्र रिजालले विहीबार पदबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशमा महामन्त्री पदमा पराजित भएपछि उनले पदबाट राजिनामा दिएका हुन् । रिजालले विहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा बुझाएका छन् ।
डा. रिजालले नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् । यस्तै प्रधानमन्त्री देउवालाई राजिनामा बुझाएपछि रक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गरि मन्त्री पदबाट राजीनामा गरेको जानकारी गराएका छन् । पत्रकार सम्मेलनमा डा. रिजालले लामो राजनीतिक जिवनबाट आर्जन गरेको सम्पत्ति राजनीतिक पूँजी बचाईराख्न रक्षामन्त्री पदबाट राजीनामा गरेको स्पष्ट पारेका छन् ।
आफुले कुनै लेनदेनबाट शेखर कोइरालालाई समर्थन नगरेको पनि उनले दावी गरेका छन् ।
महामन्त्रीमा उम्मेदवारी दिदा पराजित हुनुपरेपनि आफु भन्दा सक्षम र सबैले पत्याएको मान्छे निर्वाचित भएर जानेमा आफु ढुक्क भएको भन्दै उनले पार्टी अझै सक्रियताका साथ अघि बढोस् भन्ने कामना आफ्नो रहेको बताए ।

मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा डा. शेखर कोइरालालाई पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन् ।
१४ औं महाधिवेशनकाे दोस्रो चरणको मतदानमा ४ हजार ६ सय २३ प्रतिनिधिले मतदान गरेका थिए । देउवाले २ हजार ७ सय ३३ मत ल्याएका छन्। सभापतिमा निर्वाचित हुन बहुमत अर्थात २ हजार ३ सय ११ मत चाहिन्थ्यो । यस्तै शेखर कोइरालाले १ हजार ८ सय ५५ मत पाए भने ३५ मत बदर भएको छ ।
कुल ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिमध्ये पहिलो चरणमा ४ हजार ६ सय ६९ जनाले मतदान गरेका थिए । तर सभापतिका ५ उम्मेदवारमध्य कुनै पनि उम्मेदवारले बहुमत ल्याउन सकेनन् ।
सबभन्दा धेरै मत पाएका देउवाले २ हजार २ सय ५८ र शेखरले १ हजार ७ सय २ मत पाएका थिए । प्रकाशमान सिंहले ३ सय ७१, विमलेन्द्र निधिले २ सय ५० र कल्याण गुरुङले २२ मत पाएका थिए । दोस्रो चरणको चुनावमा सिंह, निधि र गुरुङले देउवालाई समर्थन गरेका थिए ।
२०७२ मा भएको कांग्रेसको १३औं महाधिवेशनमा पनि देउवाले दोस्रो चरणमा सभापति जितेका थिए । रामचन्द्र पौडेल र कृष्ण सिटौलासँग प्रतिस्पर्धा गरेका उनलाई पहिलो चरणमा ८ मत पुगेको थिएन् । दोस्रो चरणमा सिटौलाको साथ पाएपछि पौडेललाई हराएर कांग्रेसको सभापति चुनिएका थिए ।
१४ औं महाधिवेशनमा पनि उनले दोस्रो चरणमा आफूसँग प्रतिस्पर्धा गरेका ३ उम्मेदवारको साथ पाए । प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले समर्थन गर्नासाथ देउवाको जित सुनिश्चित जस्तै बनेको थियो ।
कांग्रेसमा यसपटक नेतृत्व परिवर्तनको मुद्दा उठे पनि त्यसो हुन सकेन । संस्थानपन इतर समूह पहिलो चरणमा तितरबितर हुँदा र दोस्रो चरणमा शेखरबाहेकका अरु नेता देउवातिर उभिंदा दोस्रो चरणमा देउवाको सहज जित भएको हो ।
मकवानपुर/पैरवि वकालत गोष्ठी एव् घरेलु श्रमिक महिलाहरुको जीवनमा आधारित लघु भिडियो सार्वजनिक गरिएको छ ।
कार्यक्रममा घरेलु श्रमबारे समस्यालाई अनौपचारिक श्रम क्षेत्रको रुपमा लिएर सम्बोधन गर्न बागमती प्रदेश सरकार जिम्मेवार भएर नीति निर्माणमा पहल गर्ने मुख्यमन्त्री राजेन्द्र पाण्डेले बताएका छन् । आन्तरिक घरेलु कामको पहिचान, मुल्य र सम्मानका लागि समेत आफू सचेत हुने मुख्यमन्त्री पाण्डेले बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख भगवती पुडासैनीले अबको २१ औ शताब्दिमा पनि महिला हिंसा भइरहनु दुर्भाग्य रहेकोले बताइन् । यसको लागि सरकार र नागरिक समाजको कृयाशिलताको आवश्यक रहेको पुडासैनीले बताइन् ।
लैगिंक हिंसा बिरुद्धको संकलित हस्ताक्षर मुख्यमन्त्रीलाई बुझाइयाे
भिडियो सार्वजनिक कार्यक्रममा प्रदेशको मुख्यमन्त्रीलाई प्रतिवद्धता हस्ताक्षर पनि बुझाइएको छ । लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत घरैबाट सुरु गरौ, महिला हिंसा अन्त्य गरौ भन्ने मुल नाराका साथ संचालित लैगिंक हिंसा बिरुद्धको हस्ताक्षर मुख्यमन्त्री पाण्डेलाई बुझाइएको हो । महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजालका अध्यक्ष डाक्टर रेणु अधिकारी, जिल्ला समन्वय समिती मकवानपुर उपप्रमुख भगवती पुडासैनी मेन ईंगेज एलायन्स मकवानपुरका अध्यक्ष प्रकाश खतिवडा र मानव अधिकार संरक्षण तथा मानव वेचबिखन विरुद्ध जिल्ला संजालको अध्यक्ष आरती पाठकलगायतले संयुक्त रुपमा हस्ताक्षर बुझाएका हुन् ।

म लैगिक हिंसा गर्दिन, गर्न दिन्न र यदिकतै हिंसा भएमा तत्काल प्रतिकार गर्दछु साथै लैगिक हिंसा अन्त्यकालागि सहकार्य समेत गर्दछु भन्ने प्रतिबद्धता सहितको हस्ताक्षर मुख्यमन्त्री पाण्डेलाई बुझाइएको हो ।
महिला मानव अधिकार रक्षक राष्टिय संजाल अध्यक्ष अधिकारिको सभाध्यक्षतामा भएको कार्यक्रममा, मनहरि गाउँपालिकाको उपप्रमुख मनिला बिष्ट, बकैया गाउँपाकिलाको उपप्रमुख सरला बोलखे,महिला मानव अधिकार रक्षक राष्टिय संजाल केन्द्रीय महासचिव राधिका सापकोटालगायत अधिकारकर्मीहरुको उपस्थिती थियो ।
कार्यक्रममा पाण्डेले आफ्नो ध्यान लैगिक हिंसा नियन्त्रण गर्न केन्द्रित रहने बारे आश्वस्तपार्दै बागमती सरकारको नीति तथा कार्यक्रममार्फत लैगिंक हिंसा अन्त्य गर्न विद्यालयतह देखि नै सचेतना जागरणका कार्य गर्ने र पुरुषलाई नै केन्द्रित गरी कार्यक्रम संचालनगर्न पर्ने बताए । प्रदेश सरकारले यसबारे प्रभावकारी कार्यक्रम गर्ने उनले बताए ।
कार्यक्रममा लैगिक हिंसा अन्त्य बीना समाज विकासको रुपान्तरण नहुने हुदा हिंसा उन्मुलन अनिवार्य सर्त रहेको बक्ताहरुले बताका छन् । महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजाल अध्यक्ष डाक्टर रेणु अधिकारिले श्रम क्षेत्रका लैङ्गिक असमानता, असमान ज्याला तथा विभेद, असुरक्षित कार्यस्थल जस्ता विषयहरु समस्या रहेको बताइन् ।

पितृसत्तात्मक समाज र त्यसबाट सिर्जित महिला र पुरुष बिचको असमान शक्ति सम्बन्ध समस्या भएको अधिकारीले बताइन् । कार्यक्रममा मेन ईंगेज एलायन्सका अध्यक्ष खतिवडाले वस्ती एव् ग्रामिण तहदेखिनै समान र सम्मानपूर्ण सोच विकासको लागि कार्य गर्न सरकारी निकायको ध्यान पुग्नु पर्ने बताए । महिलाको घरेलु श्रमलाई मर्यादित श्रमको रुपमा स्थापित गर्ने, नेपालको श्रम कानुन २०७४ द्धारा व्यवस्था गरिएको भएपनि अनौपचारिक क्षेत्रप्रति चासो राखिएको छैन ।