मकवानपुर । राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा गठित मूल्य निर्धारण समितिले लागतको आधारमा प्रशोधित दूधको विक्रि मूल्य वृद्धी गर्न गरेकाे सिफारिस कार्यान्वयन नभएकाे भन्दै डेरी उद्योग संघ र नेपाल डेरी एशोसिएसनले ध्यानाकर्षण गराएकाे छ । संघ र एशाेसिएसनले पत्रकार सम्मेलन गरी वृद्धि गरिएकाे प्रशाेधित दूधको मूल्य वृद्धी परिमार्जन गर्न भनेकाे छ ।
बोर्डको संयोजकत्वमा गठित मूल्य निर्धारण समितिले प्रशाेधित दुधकाे मूल्य प्रति लिटर १० रुपैयाँ वृद्धि गर्न सिफारिस गरेकाेमा साेही अनुसार विक्रि मूल्य कायम गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले दुग्ध विकास संस्थानलाई (डिडिसी) निर्देशन दिएको थियो । ‘दुग्ध विकास संस्थानबाट मूल्य निर्धारण समिति र मन्त्रालायको निर्देशनको अवज्ञा गरी नीजि क्षेत्रका डेरी उद्योगहरु धरासायी बनाउने मनसायले ९ रुपैया प्रति लिटर वृद्धि गरी शुक्रबारबाट प्रशोधित दूध प्रति प्याकेटको ४२ रुपैया पचास पैसा कायम गरिएको प्रति हामी सम्पूर्ण नीजि क्षेत्रको असहमति प्रकट गर्दछौं संघ र एशाेसिएसनले पत्रकार सम्मेलनमा जारी विज्ञप्तीमा भनिएकाे छ ।
पछिल्लो पटक २०७६ भाद्र २१ गते दूधको मूल्य परिमार्जन पश्चात दुग्ध उत्पादन, संकलन, ढुवानी, प्रशोधन र बजारीकरणमा पशु आहार, इन्धन, विद्युत, ज्याला, ढुवानी खर्च लगायतकाे पटक पटक मूल्य वृद्धि हुन गई कृषक तथा उद्यमीहरु मारमा परेकाेले नेपाल सरकारका विभिन्न निकायमा किसान लगायत उद्यमीहरुले समय सापेक्ष रुपमा दूधको खरिद तथा विक्रि मूल्य परिमार्जन गर्न अनुरोध गरेकाे थियो ।
नेपाल सरकार मन्त्रिपरिषदको निर्णय अनुसार कच्चा दूधको मूल्य प्रति लिटर ६ रुपैया ५२ पैसा वृद्धि गरि कच्चा दूधको न्युनतम् मूल्य ५६ रुपैयाँ ४ पैसा (४ प्रतिशत फ्याट, ८ प्रतिशत एसएनएफ) निर्धारण भएकाे थियाे । यसरी नीजि क्षेत्रले किसानबाट दूध खरिद गर्दा दुग्ध विकास संस्थानकाे भन्दा बढि नै रहेको र फाल्गुण १ गते देखि लागू हुने गरी किसानहरुबाट खरिद गरिने कच्चा दूधको न्यनतम् मूल्य सहकारी संस्थाहरु समेतको गरि ५३ रुपैया ४५ पैसाबाट (४ प्रतिशत फ्याट, ८ प्रतिशत एसएनएफ) वृद्धि गरि ६२ रुपैया चितवन जिल्लाको हकमा कायम गरिएको नेपाल डेरी एसाेसियसनका अध्यक्ष राधाकृष्ण सापकाेटाले जनाकारी दिए ।
हालै वृद्धि गरिएको दुधकाे मूल्य ६२ रुपैयामा समायोजन गरिने छ । त्यसैगरि दुरीको आधारमा अन्य क्षेत्र वा जिल्लाको मूल्य निर्धारण गरिने छ । ३ प्रतिशत फ्याट, ८ प्रतिशत एसएनएफ वृद्धि पश्चात उपभोक्ता विक्रि मुल्य ८६ रुपैया प्रति लिटर कायम गरिएको छ । याे खरिद तथा विक्रि मुल्य फाल्गुन १ गते देखि लागु गरिने भएकाे हाे ।
डेरी उद्योग संघ र नेपाल डेरी एशोसिएसनले विज्ञप्ती मार्फत भनेकाे छ ‘दुधकाे मूल्य वृद्धिबाट आम उपभोक्ता वर्गमा पर्न गएको असर प्रति क्षमा प्रकट गर्दछाैं । नेपालको दुग्ध उत्पादन, संकलन प्रशोधन व्यवसाय एक विशुद्ध व्यवसाय भएको र यसमा कुनै पनि प्रकारको विचौलिया नभएकोले हालको मूल्य वृद्धिको रकम ७० प्रतिशत भन्दा बढि किसानको हातमा पुग्ने प्रतिवद्धता समेत विज्ञप्तीमा गरिएकाे छ ।
नेपालमा दुग्ध क्षेत्रको अवस्था
हाल दुग्धजन्य क्षेत्रमा ५ लाख कृषक परिवार रोजगारीमा आवद्ध रहेका छन । ३० हजार भन्दा बढी मानिसले उद्योगस्तरमा प्रत्यक्ष रोजगारी पाएका छन् । यसैगरी वार्षिक २ अर्व भन्दा बढी राजश्व डेरी क्षेत्रले सरकारलाई बुझाउँदै आएकाे समेत पत्रकार सम्मेलनमा बताइएकाे छ ।
यसैगरी डेरी क्षेत्रकाे कारण दैनिक ६ करोड भन्दा बढी रकम शहरबाट गाउँ प्रवाह भैरहेको बताइएकाे छ। ३० अर्व भन्दा बढी लगानी दुग्धजन्य उद्योगस्तरमा भएको छ । दुग्ध क्षेत्रको जीडीपीमा ९ प्रतिशत योगदान रहेकाे छ भने दैनिक दुध उत्पादन ६२ लाख लिटर रहेकाे छ । यस मध्ये कृषक स्वयंले ५० प्रतिशत उपभाेग गर्ने छन भने औपचारिक क्षेत्रमा १७ प्रतिशत र अनौपचारिक क्षेत्रमा ३३ प्रतिशत उपभाेग हुने गरेकाे अध्यक्ष सापकाेटाले बताए ।
मकवानपुर । योङ कम्युनिष्ट लिग (वाइसीएल) मकवानपुरको संयोजकमा लवराज ठकुरी चयन भएका छन् । नेकपा माओवादी केन्द्र निकट वाइसीयल बागमती प्रदेश कमिटिको बैठकले ठकुरीलाई मकवानपुर संयोजक चयन गरेको हो ।
यस अघि वाइसीयल मकवानपुरको सचिव रहेका ३८ वर्षीय ठकुरी वाइसीयलको बिभिन्न जिम्मेवारीमा एक दशकदेखि सक्रिय रहदै आएका छन् । संयोजक चयन भएपछि ठकुरीले भ्रष्टाचार र अनियमितताको सुक्ष्म ढंगले नियमन गर्दै यस बिरुद्ध अभियान सञ्चालन गरिने बताए । साथै राजनीतिक र सामाजिक क्षेत्रमा वाइसीएललाई सक्रिय बनाइने उनले बताए ।
वाइसीयल बागमती प्रदेश कमिटिको बैठकले वाइसिएल मकवानपुरको सचिवमा अरुण मोक्तानलाई चयन गरेको छ । त्यस्तै केन्द्रीय कृषि तथा उत्पादन विभागमा सानुबावु मोक्तान, शिक्षा, स्वास्थ्य तथा विज्ञान प्रविधि विभागमा दिनेश बानियाँ, खेलकुद विभागमा आलोक लामा, अनुशासन विभागमा सरोज पाख्रिन, जनमुक्ति सेना विभागमा सुनिल बयलकोटीलाई सिफारिस गरेको छ ।
प्रदेश आयोजक कमिटीमा जिल्ला संयोजक ठकुरीसँगै मकवानपुरका किरण मोक्तान, अबिनाश गजुरेल, शोभासिं ठकुरी घिमिरे, बिष्णु नेगी, प्रकाश थापा, जगदीश दाहाल, बिरध्वाज थिङ, दीपक थिङ, दिपेन्द्र अधिकारी र कमल अर्याललाई चयन गरिएको छ ।
मकवानपुर । मकवानपुर प्रहरीले हराएको स्कुटर प्रहरीले फेला पारी स्कुटर धनीलाई बुझाएकाे छ । हेटौंडा बजारमा हराएको स्कुटर २४ घण्टाभित्र फेला पारी सम्बन्धित धनीलाई प्रहरीले जिम्मा लगाएको छ ।
माघ २५ गते मंगलबार हेटौंडा-२ कुमारी बैंक नजिक रहेको त्रिमुर्ति होटल अगाडी पार्किङ गरेर राखिएको हेटौंडा -५ बस्ने चेत कुमारी सापकोटाको नाममा रहेको ना. ३४ प २३८४ नम्बर रातो रङको होन्डा कम्पनीको स्कुटर हराएको थियाे । स्कुटर हराएकाे सूचना प्रहरी कार्यालयमा मौखिम रुपमा जानकारी लगतै खटि गएको प्रहरी टोलीले हेटौंडा-४ बाट फेला पारी सम्बन्धित धनीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
फेला परेको स्कुटर मकवानपुर प्रहरी प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङले बुधबार सापकोटालाई कार्यालयमै बोलाएर बुझाएका हुन।
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश समितिले सिन्धुली जिल्लाका १ सय ४० परिवारलाई नगदसहित खाद्यान्न सहयोग गरेकाे छ । जंगली हात्तीबाट प्रभावित उक्त परिवारलाई कांग्रेस प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जिल्लाकोे विभिन्न क्षेत्रमा पुगेर बुधबार राहत उपलब्ध गराएका हुन् ।
सिन्धुलीको कमलामाइ नगरपालिका वडा नम्वर १३ र १४ अन्तरगत पर्ने रानीवास चन्दनपुरलगायत क्षेत्रका ७७ परिवार, दूधौली नगरपालिका वडा नम्वर १, २, ३, ६ र ११ को झुगा तीनतले माथिल्लो फुटेपानी, कालापानी, लवा, माथिल्लो पत्रिङ्गालगायतका स्थानका ६३ घरपरिवारलाई राहत उपलब्ध गराइएको हो । उनीहरुलाई प्रति परिवार ५ हजारसहित ब्लाङ्केट, एक बोरा चामल, नुन, तेल, दाललगायत खाद्यान्न सहयोग गरिएको हो ।
राहत वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभापति बानियाँले कांग्रेस जनताको पीर मर्का तथा अप्ठेरो परिस्थितिमा सदैव साथ सहयोग गर्न तत्पर रहेको बताए । उनले प्रदेशवासीको समस्यालाई कांग्रेसले आफ्नो समस्या ठानेको भन्दै त्यसको सम्बोधनमा आफु निरन्तर लागिरहने प्रतिवद्धतासमेत व्यक्त गरे । ‘जंगली हात्तीबाट प्रभावित भएका जतिपनि घर परिवारहरु छन्, हामी प्रदेश सरकारसँग समन्वय गरेर यहाँहरुको भत्किएको घर पुनः निर्माण गरिने म प्रतिवद्धता व्यक्त गर्न चाहान्छु ।’ उनले भने ।
राहत वितरण कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरे, कांग्रेस बागमती प्रदेशका उपसभापतिद्वय मोहन बस्नेत र चन्द्र महर्जन, महामन्त्रीद्वय कञ्चनचन्द्र वादे र राजु श्रेष्ठ सहमहामन्त्रीहरु ऋषिराम घिमिरे, हरिशरण श्रेष्ठ र जीवन डंगोल, सिन्धुली जिल्ला सभापति उज्ज्वल बराललगायत उपस्थित थिए । सिन्धुलीमा जंगली हात्तीले केही दिन अघि स्थानीयको घर भत्काउनुको साथै बालिनालीसमेत नष्ट गरेको थियो ।

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले बकैया गाउँपालिकामा अनुगमन गरेको छ । जिससले मंगलबार बकैया गाउँपालिकाकाे चालु आर्थिक वर्षको योजना, आर्थिक, सामाजिक, पुर्वाधारलगायतको प्रगति, सुशासनको अवस्था, समन्वय तथा सजजिकरणलगायत क्षेत्रमा भएका कार्यहरुको अनुगमन गरेको हो ।
जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलाको नेतृत्वमा गएको अनुगमन टोलीले गाउँपालिकाको चालु आवको प्रगति, बालमैत्री स्थानीय तहको अवस्था, स्थानी तह स्वमुल्याङ्कनका विषयमा समेत जानकारी लिएको थियो । यस्तै टोलीले मौजदात कोषबाट सञ्चालित जुरेली खानेपानी आयोजना, जिससबाट उपलब्ध गराईएको ट्रष्ट ब्रिजलगायत गाउँपालिकाको विभिन्न आयोजनाहरुको स्थलगत अनुगमन गरेको थियो । जुरेली खानेपानी आयोजनाका लागि जिससको मौजदात कोषबाट एक करोड उपलब्ध गराइएको छ भने, ट्रष्टब्रिजमा गाउँपालिकाले थप ७० लाख लागत लगाएर निर्माण गरिरहेको छ ।
अनुगमन टोलीलाई गाउँपालिका उपाध्यक्ष सरला बोलखे, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पुडासैनी, स्वास्थ्य शाखा प्रमुख फणिकमणि प्याकुरेललगायतले समग्र अवस्थाका बारेमा जानकारी गराएका थिए । सो क्रममा गाउँपालिकामा चालु आर्थिक वर्षको करीब ४० प्रतिशत योजना सम्झौता भएर कार्यान्वयनमा रहेको जानकारी दिइएको छ । गाउँपालिकाले आन्तरिक आयबाट सञ्चालन गर्ने योजनाहरुमा स्रोतको अभावमा काम गर्न समस्या रहेको जानकारी दिइएको छ । गाउँपालिकाले आन्तरिक स्रोत मध्ये महत्वपूर्ण नदिजन्य पदार्थको ठेक्का बन्दोबस्ती हुन नपाउँदा समस्या भएको बताएको छ ।
यस्तै गाउँपालिकामा कोरोना बिरुद्धको कुल २८ हजार खोप लगाउने लक्ष्य रहेकोमा पहिलो मात्र २४ हजारलाई र दोस्रो मात्र १८ हजारलाई लगाईएको जनाईएको छ । गाउँपालिकाले खोप केन्द्र तथा टोलटोलमै पुगेर खोप अभियन सञ्चालन गरिहेको समेत जानकारी दिएको छ । त्यस्तै बालमैत्री घोषणा भईसकेको बकैया गाउँपालिकाले हालको परिमार्जित बालमैत्री सुचकमा समेत काम गरिरहेको जनाएको छ । हाल बालमैत्रीका सुचकहरु परिमार्जन भएर ५१ वटा पुगेको र सो सुचकमा काम भईरहेको बताइएकाे छ । आगामी जेष्ठमहिना सम्ममा पूर्ण वालमैत्री सुनिश्चित गर्ने योजनाका साथ काम भईरहेको गाउँपालिकाकाले जनाएकाे छ ।
अनुगमन टोलीमा जिसस उपप्रमुख भगवती पुडासैनी, सदस्य देवराज रिमाल, समन्वय अधिकारी आनन्दराज पोखरेल, नायबसुब्बा उपेन्द्रनाथ पोखरेल, प्रेस संयोजक बिवश अधिकारीलगायतको सहभागिता थियो ।