मकवानपुर । कमल थापाले शनिबार औपचारिक रुपमा राप्रपा नेपाल पार्टीको घोषणा गरेका छन् । प्रजातन्त्र दिवसको दिन पारेर शनिबार उनले आफ्नै अध्यक्षतामा राप्रपा नेपालको घोषणा गरेका हुन् । केही दिनअघि मात्रै राप्रपा परित्याग गरेका थापाले शनिबार राप्रपा नेपालको घोषणा गरेका हुन् ।
राप्रपा नेपाल घोषणा गरेका कमल थापाले विगतमा धेरै गल्ती गरेको भन्दै माफी मागेका छन् । उनले राप्रपा नेपालको घोषणा गर्दै आफुहरुले पाँच वर्षयता बाटो बिराएको र धेरै गल्ती गरेको भन्दै माफी मागेका हुन् । उनले पार्टी ठूलो बनाउने नाममा असहज र अस्वाभाविक सम्झौताहरु गर्नु र पटक–पटक सरकारमा जानु गल्ती भएको बताए । उनले भने ‘आज राप्रपा नेपालको अभियान प्रारम्भ गर्दा म माफी माग्न चाहन्छु, विगतमा गरेको गलत सम्झौताको परिणाम भोगिसक्यौं ।’
थापाले आफूले ठीक ढंगले पार्टी चलाउन नसक्दा राष्ट्रिय राजनीतिमा भूमिकाविहीन हुन पुगेको बताए । ‘पार्टीको नेतृत्वको नाताले मैले ठीक ढंगले अघि बढ्न नसक्दा, गलत प्रवृत्तिसँग सम्झौता गर्दा राष्ट्रिय राजनीतिमा भूमिकाविहीन हुन पुग्यौं । यो सम्पूर्ण जिम्मेवारी मेरो हो’ उनले भने ।
मकवानपुर । आज फागुन ७ गते ७२औं राष्ट्रिय प्रजातन्त्र दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । १ सय ४ वर्षको जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा शनिबार ७२औँ राष्ट्रिय प्रजातन्त्र दिवस देशभर सरकारी निकाय र विभिन्न संघसंगठनले फरक–फरक कार्यक्रम गरी यो दिवस मनाउँदै छन् ।
प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था छ । वि.सं. १९०३ मा सुरु भएकाे राणाशासन जनक्रान्तिका २००७ साल फागुन ७ गते अन्त्य भई प्रजातन्त्र स्थापना भएकाे थियाे । प्रजातन्त्र घोषणा भएको गौरवकाे सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ ।
फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले केन्द्रमा प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेषरूपमा यो दिवस मनाउँदै आएको छ । यसका साथै प्रदेश सरकारले समेत याे दिवसलाई औपचारिक रुपमा ३ दिन मनाउँदै आएकाे छ । देशका सबै जिल्लामा पनि प्रजातन्त दिवस मनाइँदै आएको छ ।
प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विक्रम संवत १९९७ माघमा बलिदानी दिए । प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिए । राज्य शक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको सङ्घर्ष तथा वीरवीरांगना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिन्छ ।
नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सुरुवात भएकाे थियाे ।
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रजातन्त्र दिवसकाे शुभकामना
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना दिएकी छिन् । शुभकामना दिदै राष्ट्रपति भण्डारीले लोकतान्त्रिक प्रणालीले मात्र नागरिकलाई एकताको मालामा गाँसेर बलियो राष्ट्र निर्माण गर्ने बताइन् । शुभकामना सँगै प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौं सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेकी छन् ।
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज दिएको शुभकामना सन्देशमा राष्ट्रपतिले जहानियाँ निरङ्कुश शासनविरुद्ध बलिदानीपूर्ण सङ्घर्षको परिणामस्वरूप २००७ सालको आन्दोलन सफल भएर आधारभूत मानवअधिकारको बहाली गराई नेपाली जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानस्वरूप प्रत्येक वर्ष फागुन ७ गते हामी प्रजातन्त्र दिवस मनाउँछौँ भन्दै त्यसपछिको सात दशकभन्दा लामो उतारचढावपूर्ण यात्रामा नेपाली जनताको निरन्तर सङ्घर्षकै प्रतिफलस्वरूप आज हामी लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएको उल्लेख गरेकी छन् ।
‘लोकतन्त्रलाई सार्थक बनाउन तदनुकूलको राजनीतिक व्यवस्था केवल साधन मात्र हो, साध्य होइन । राजनीतिक प्रणालीले तयार गरेको जगमा उभिएर राष्ट्रिय जीवनका हरेक पक्षले उच्च लोकतान्त्रिक आचरण, पारस्परिक विश्वास र सहयोगी भावना अभिवृद्धि गर्नु अत्यन्त आवश्यक छ । जनताको जागरुकताले मात्र लोकतन्त्र निरन्तर विकसित हुँदै जान्छ । र, अन्ततोगत्वा लोकतन्त्र हाम्रो जीवन पद्धति बन्न सक्दछ’, सन्देशमा भनिएको छ ।
प्रजातन्त्र दिवसको यस अवसरले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई संवैधानिक मूल्य एवं मान्यताहरू कार्यान्वयन गर्न अभिप्रेरित गर्ने अपेक्षा राष्ट्रपतिले गरेकी छन् । नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रको रक्षार्थ भएका विभिन्न आन्दोलनहरूमा योगदान गर्नुहुने सबैप्रति सम्मान प्रकट गर्दै प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न सबैमा नयाँ उत्साह प्रदान गर्न सकोस् भन्ने कामना पनि राष्ट्रपतिले सन्देशमा गरेकी छन् ।
मकवानपुर । साहित्य सङ्गम मकवानपुरकाे आयाेजनामा कविता वाचन कार्यक्रम हुने भएकाे छ । हाल मकवानपुरे कवि जेनन नेपालले प्रायाेजन गरेकाे कविता वाचन कार्यक्रम फागुन ७ गते शनिबार हेटाैडाकाे माेटल एभाेकाडाेमा हुने भएकाे हाे ।
मकवानपुरसहित माेरङ र बाग्लुङ जिल्लाका ३ जना समकक्षी कविका २१ कविता कार्यक्रममा प्रस्तुत हुने साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्याैपानेले बताइन् । मकवानपुरका कवि निमेष निखिल, माेरङका कवि ज्याेति जङ्गल र बाग्लुङका कवि भूपिनले आफ्ना ७/७ कविता कार्यक्रममा वाचन गर्ने भएका हुन ।
मकवानपुर । ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् । शुक्रबार राप्रपा केन्द्रीय कार्यालय, धुम्बाराहीमा आयोजित कार्यक्रममा सामाजिक अभियन्ता भनेर चिनिएका शाही पार्टी प्रवेश गरेका हुन् । यससँगै शाहीले नेतृत्व गरेको ‘हाम्रो नेपाल हामी नेपाली अभियान’ राप्रपामा समाहित भएको छ ।
उनलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले झण्डा दिएर पार्टीमा स्वागत गरेका थिए । पार्टी प्रवेश भएसँगै शाहीलाई राप्रपाको प्रवक्ताको जिम्मेवारी दिईएको छ । योसँगै राप्रपामा ५ जना प्रवक्ता भएका छन् । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले समान विचार भएका व्यक्ति, समूह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने पार्टीको नीति रहेकोले शाहीलाई पार्टीमा ल्याइएको बताए ।
मकवानपुर । निर्वाचन आयोगले विहीबारदेखि दल दर्ता आह्वान गरेको छ । स्थानीय तह निर्वाचन प्रयोजनका लागि विहीबारदेखि फागुन १५ सम्म दल दर्ता गर्न सकिने छ । यस अघी आयोगमा १ सय ६ वटा दल दर्ता भएका छन् ।
दर्ता भएका दलहरुले फेरि निर्वाचनको लागि दर्ता गर्न आयोगले आह्वान गरेको हो । दल दर्ताको लागि निवेदन दिँदा राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको केन्द्रीय कार्यालय रहेको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल र वेबसाइटको विवरण खुलाउनु पर्ने हुन्छ ।
त्यस्तै दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्यासमेत निवेदनमा खुलाउनु पर्ने हुन्छ । यसभन्दा अघिको स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको निर्वाचन चिह्नको सट्टा अर्को निर्वाचन चिह्न लिन चाहने दलले आफूले प्राप्त गर्न चाहेको तीन वटा निर्वाचन चिह्न प्राथमिकता क्रमअनुसार उल्लेख गर्नु पर्ने हुन्छ ।
निर्वाचन प्रयोजनको लागि दल दर्ता गर्न केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि, दलको विधान, नियमावली तथा घोषणापत्र, निर्वाचन चिह्नको नमूना समेत आयोगमा दल दर्ताको क्रममा पेस गर्नु पर्ने हुन्छ ।