मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा कार्यकर्ताले ताला लगाईदिएका छन् ।
पार्टी कार्यालयमा नेपाली कांग्रेस हेटौंडा नगर समितिको बैठक बसिरहेको बेला कार्यकर्ताले ताला लगाईदिएका हुन । नेपाल तरूण दल हेटौंडा उपमहानगर समितिको नेतृत्वमा भातृ संगठनहरू समेतको संलग्नतामा ताला लगाईएको हो ।
गठबन्धन गर्दा हेटौंडा उपमहानगरपालिकाको मेयर नेपाली कांग्रेसले पाउनु पर्ने नत्र गठबन्धन नगर्ने निर्णय गर्न कार्यकर्ताको माग छ । बैठकमा नगरका सबै वडाका पार्टी सभापति सहित जिल्ला कार्यसमिति र केन्द्रिय सदस्यहरू समेतको उपस्थिति छ ।
आसन्न स्थानीय तहको निर्वाचनमा सत्तारूढ गठबन्धनमा कांग्रेसलाई सम्मानजनक भाग नहुने छनक पाएपछि दवाब दिन कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाउने सम्मको कदम चाल्नु परेको भन्दै एक कार्यकर्ताले आक्रोश ब्यक्त गरे ।
मकवानपुर । नेकपा (एकीकृत समाजवादी) मकवानपुरले मकवानपुरमा ६ स्थानीय तहमा प्रमुख पदको दावि गरेको छ । मागेजस्तै नपाए समाजवादी एक्लै चुनावि मैदानमा जाने गरी तयारीमा जुटेको बताइएको छ ।
आज सोमबार पार्टीको जिल्ला कमिटी बैठकमा रिपोर्टिङ गर्ने क्रममा भूगोलका इञ्चार्जहरुले ६ वटा स्थानीय तहममा मेयर र अध्यक्ष पाउनु पर्ने गरी पार्टीलाई लबिङ गर्न खबरदारी गरे । पार्टी संगठन राम्रो भएको मनहरी, राक्सिराङ, भीमफेदी, कैलाश, ईन्द्रसरोवर र हेटौँडा उपमहानगरपालिकामा अध्यक्ष र मेयर पाउनु पर्ने गरी गठबन्धनमा छलफल गर्न इञ्चार्जहरुले बैठकमा रिपोर्टिङ गरेका थिए ।
राक्सिराङका इञ्चार्ज कृष्णबहादुर चेपाङ र मनहरीका इञ्चार्ज भूमिनन्द अर्यालले दुवै भूगोलमा गठबन्धनमा सम्मानजनक सहभागिता नभए एक्लै उठ्न पनि पार्टी पंक्ति तयार रहेको रिपोटिङ गरेका छन् ।
यता गठबन्धनले कैलाश र ईन्द्रसरोवर गाउँपालिकामा समाजवादीलाई अध्यक्ष दिन तयार भएको बताइएको छ । हेटौँडा उपमहानगरपालिकामा मेयरसहित ५ वटा वडामा समाजवादीको दाबी छ । गठबन्धनमै जाँदा पनि मेयरसहित ५ वटा वडामा दाबी रहेको पार्टी उपाध्यक्ष एवम् हेटौँडा उपमेयर मीना लामाले बताइन् । पछिल्लो समय पार्टी संगठन सुदृढ भएकाले भीमफेदीमा पनि अध्यक्षको दाबी गर्ने आधार भएको रिपोर्टिङ थियो इञ्चार्ज शिवहरि बर्तौलाको ।
यस्तै, बैठकमा समाजवादीले कम्तीमा उपाध्यक्षसहित सम्मानजनक ढंगले वडाध्यक्षहरु पाउनु पर्ने दाबीमा मकवानपुर गढी र वकैया गाउँपालिका रहेको छ । थाहा नगरपालिका र बागमती गाउँपालिकामा मात्र समाजवादीले तत्काल अध्यक्ष, उपाध्यक्ष या मेयर उपमेयरमा दाबी गरेको छैन । बैठकमा रिपोर्टिङ गर्ने इञ्चार्जहरुले गठबन्धनसँग कम्तीमा वडामा ३९ वटा वडा माग गर्न आग्रह गरेका छन् ।
नेकपा (एकीकृत समाजवादी) मकवानपुरका बैठकमा बैठकको अध्यक्षता गरेका पार्टी अध्यक्ष श्रीधर पोखरेलले मकवानपुरका गठबन्धनका दलहरुसँग भएको बैठकबारे ब्रिफिङ गरेका थिए । उनले गठबन्धनमा सहभागी दलहरुले राखेको अडान, एकीकृत समाजवादीले राखेको अडान र सहमतिका विषयमा पुग्न सकिने आधारहरुबारे बताए ।
मकवानपुर । मकवानपुर जिल्ला बागमती गाउँपालिका वडा न ६ कि एक बालिका बलात्कृत भएकी छिन् ।
८ वर्षीया बालिका आफन्त पर्नेबाटै लामो समयदेखि बलात्कृत हुँदै आएको भन्ने जाहेरी परेपछि आरोपितलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ । बालिकाको स्वास्थ्य तथा मानसिका अवस्था जटिल बन्दै आएपछि परिवारले घटना बारे थाहा पाएका थिए ।
पीडित बालिकाको आमाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा किटानी जाहेरी दिएपछि आरोपितलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । बालिकाको अहिले स्वास्थ्य उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आरोपितमाथि प्रहरीले अनुसन्धान सुरु गरेको बताएको छ ।
केही समय अघि यसै गाउँपालिको जनता माविका छात्राहरुले आफूहरुमाथि यौन दुर्व्यवहार भएको भन्दै ३ जना शिक्षक विरुद्ध जाहेरी दिएका थिए । प्रहरीको नियन्त्रणमा रहेका ३ जना शिक्षकहरुमाथि हाल अनुसन्धान जारी छ ।
मकवानपुर । मकवानपुरमा चुनावि मैदानमा गठबन्धनबाट कुन पालिका कुन पार्टीले पाउने भन्नेमा भने अझै सहमति हुन सकेको छैन ।
यद्यपि जिल्लाको हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकामा काँग्रेस र माओवादीले आसन्न स्थानीय तहको लागि उम्मेदवार सिफरिस गरेको छ । गठबन्धन गर्दा कुन पालिका कसले पाउने टुङ्गो नलाग्दै पार्टीहरुले आ आफ्नो पार्टीको तर्फबाट उम्मेरदवार सिफारीस गरेका हुन् ।
आगामी ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि हेटौंडानगर प्रमुखमा नेपाली काँग्रेसले १ महिला सहित ३ जनाको नाम सिफारिस गरिएको छ थाहा नगरपालिकामा माओवादीले ३ जना पुरुषको नाम सिफरीस गरेको छ ।
नेपाली काँग्रेस मकवानपुरले हेटौंडा उपमहानगरपालिकामा मेयरको उम्मेदवारको रुपमा आनन्दराम पराजुली,उत्सव इटेनी र लक्ष्मी श्रेष्ठको नाम सिफारिस गरेको छ । यसैगरी काँग्रेसले हेटौंडा उपमहानगरको लागि उपप्रमुखमा ३ महिलाको नाम सिफारिस गरिएको छ।
अमृता थापा, इन्दिरा न्यौपाने र तारा राई कार्कीलाई उपमेयरमा सिफारीस गरेको हो ।
नगर कार्य समितिले प्रमुख र उपप्रमुखको नाम कांग्रेस मकवानपुरको क्षेत्रीय कार्य समिति र जिल्ला कार्य समितिलाई सिफारिस गरिएको कांग्रेस हेटौंडानगर सभापति उत्सव इटेनीले बताए ।
नगर प्रमुखमा सिफारिस भएका पराजुली २०७४ को स्थानीय तहको निर्वाचन अन्तर्गत हेटौंडानगर प्रमुखमा झिनो मतान्तरले पराजित भएका थिए। पराजुली हेटौंडानगर निवर्तमान सभापतिका साथै प्रभावशाली नेताका रुपमा चिनिन्छन्।
साथै नगर कार्य समितिको बैठकले हेटौंडा उपमहानगरको प्रमुखको नेतृत्व कांग्रेसले पाउनुपर्ने निर्णय समेत गरेको छ।
यता मकवानपुरको पर्यटकीय नगर थाहा नगरपालिकामा माओबादीले थाहाका सबै वडाहरुसहित मेयरका लागि तीन जनाको नाम सिफारिस गरेको छ । नेकपा माओबादी केन्द्रले आशन्न स्थानीय निर्वाचनका लागि माओबादी नगर कमिटीको बैठकले अरुण रायमाझी, बिष्णु बिष्ट र राजेश केसीको नाम सिफारिस गरेको हो ।
रायमाझी र विष्टको सम्भावना बलियो छ । रायमाझी तत्कालीन जनमोर्चा नेपालबाट एकतापछि माओबादीमा समाहित भएका हुन् भने विष्ट माओबादी भूमिगत राजनीतिबाट नै सक्रिय भएका हुन् । अर्का उमेदवार केसी ३ नम्बर वडाका वर्तमान अध्यक्ष हुन् ।
उपप्रमुखमा भने आज कुनै छलफल भएन । सत्ता साझेदार दलहरुबीचको गठबन्धनको टुङ्गो नलाग्नाले उपप्रमुखमा कुनै छलफल नभएको बताइएको छ ।
यसैगरी, थाहाको वडा नम्बर १, २, ९, ११ र १२ मा सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । वडा नम्बर १ मा हेरमान गोपाली, २ मा बमबहादुर सिन्तान, ९ मा राजकुमार बलामी, ११ मा दिनेश बल र १२ मा हिरामान लामाको नाम सर्वसम्मत सिफारिस गरेको हो । १, ३ र १२ का उमेदवारहरु पुरानै अनुहार हुन् ।
यसैगरी वडा नम्बर ३ मा हिरेन्द्र रायमाझी, लक्ष्मण बिष्ट, राजिव स्याङ्दान, वडा नम्बर ४ मा जमिन दियाली र नारायण बहादुर लामा, ५ नम्बरमा मुकेश गोले र मान सिं दोङ, ६ नम्बरमा दामोदर सुवेदी र इन्द्रबहादुर श्रेष्ठ, ७ नम्बरमा दिपक लामा र बिनायक गोले, ८ नम्बरमा सुमन कार्की र टिकाराम रुम्बा, १० नम्बरमा मङ्गलाल गोपाली र सुशिला गोपालीको नास सिफारिस भएको छ ।
मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी एमाले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ कमिटी स्थानीय तहको निर्वाचनको तयारी तथा प्रचारप्रसारमा लागेको छ ।
आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट वडाको लागि सर्वसम्मत उम्मेदवार भएको टिमले चुनावी प्रचारप्रसार सुरू गरेको हो । एमालेबाट हेटौंडा ५ को वडा अध्यक्षको उम्मेदवारको रूपमा सुशिल घिमिरे यस अघि नै निर्विरोध चयन भएका छन् । सदस्यहरूमा ज्ञानबहादुर थापा, रामबहादुर राई, रन्जिता सिलवाल र पार्वती बिक चयन भएका छन् ।
वडा समितिले उक्त टिमलाई जिताउन प्रचारप्रसारका लागि वडाको बिभिन्न टोल टोलमा पुग्ने कार्य तालिका समेत तय गरेको छ । वडा समितिले मंगलबार बिहानबाट आगामी १० गतेसम्म पार्टीको प्रचारप्रसार तथा सम्पर्क कार्यालय खोल्ने छ । यस अन्तर्गत प्रत्येक टोल टोलमा वा संयुक्तरूपमा कार्यालय खोलिने छन् । वडाको विभिन्न ५ वटा टोलमा सम्पर्क तथा प्रचारप्रसार कार्यालय खोलिसकेको छ । अब १० वटा यस्ता कार्यालय खोलिने छन् जसबाट मतदातालाई सम्पर्क गर्न गतिविधिबारे जानकारी लिन समेत सहज हुनेछ ।
एमालेले वडामा गठन गरेको विभिन्न टोल कमिटीहरूमा आवद्वहरूलाई १० गते दिउँसो चुनावी प्रशिक्षणात्मक कार्यक्रम सहित सपथ ग्रहण गराउने छ । वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता कार्यक्रमपछि १३ गतेबाट टोल टोलमा ब्यवस्थित रूपमा घरदैलो कार्यक्रम गरिने पार्टीका वडा अध्यक्षका उम्मेदवार सुशिल घिमिरेले बताए ।
“यो बिचमा वडाका सामाजिक व्यक्तित्वहरूको सहकार्यमा वडाको सुन्दर भबिष्य निर्माणका निम्ति कार्य योजनाहरू बनाइने काम पनि जारी छ” अध्यक्षका उम्मेदवार घिमिरेले भने । टोलको बिकास निर्माण, आर्थिक समृद्धि तथा सामाजिक परिवर्तनको लागि एमालेको स्पष्ट दृष्टिकोण रहेको र त्यसै अनुरूप पार्टीको घोषणापत्र र उम्मेदवारको तर्फबाट स्थानीय तहको प्रतिबद्धता पत्र आउने उनले बताए ।
चुनावी तयारी स्वरूप विभिन्न उपसमिति समेत तय भएको र सबै समितिले आफ्नो काम थालेको पार्टी वडा अध्यक्ष पदमबहादुर बजगाईंले बताए । स्थानीय क्षेत्रको आवश्यकतालाई सम्बोधन गर्नेगरि स्थानीयवासीकै सल्लाह तथा समन्वयमा नेकपा एमालेले पांच बर्षे योजनाहरू बनाएको नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा नगर सह इन्चार्ज ईश्वर ढुङ्गानाले बताए । “वडाको समृद्धिको लागि हामीले धेरै मेहनत गरेर योजनाहरू बनाइ रहेका छौ, जसलाई एमालेको टिमले पुरा गरेर देखाउने छ” वडा ५ का स्थानीयवासी समेत रहेका पार्टी सचिवालय सदस्य ढुङ्गानाले भने ।