मकवानपुर । लोकतन्त्र दिवसका अवसरमा बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले देशवासीलाई शुभकामना दिएका छन् ।
प्रदेश प्रमुख शर्माले शुभकामना सन्देश जारी गर्दै लोकतन्त्र प्राप्तिका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूको समेत सम्झना गरेका छन् ।
“आफ्नो देश र संसारभरी जहाँ–जहाँ छरिएर रहे पनि राष्ट्रियताको एकै सूत्रमा बाँधिएर रहेका नेपाली समुदायप्रति सुख,शान्ति र समृद्दिका लागि हार्दिक शुभकामना’ शर्माद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।
प्रमुख शर्माले २०६२/०६३ सालको वसन्त विद्रोहबाट मुलुकमा लोकतन्त्र स्थापना भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रुपमा यो दिवस मनाउँने गरिएको उल्लेख छ । नेपालीहरुले विभिन्न कालखण्डमा गरिएको संघर्षबाटै अधिकार प्राप्त गरेको जनाउँदै शुभकामना सन्देशमा भनिएको छ,‘नेपालीहरुले विभिन्न कालखण्डमा गर्दै आएका संघर्ष तथा बलिदानको उपलब्धि स्वरुप प्राप्त लोकतान्त्रिक व्यवस्थाले उपलब्ध गराएका अधिकारहरुको उपभोग गर्दा हामीले गौरवबोध गर्न सक्नुपर्दछ ।’
सन्देशमा प्रमुख शर्माले राष्ट्रले अवलम्बन गरेको संघीयता,गणतन्त्र,धर्मनिरपेक्षता र समानुपातिक समावेशितासहितको समाजवाद उन्मुख संविधानद्धारा प्रदत्त अधिकारले स्वतन्त्र नागरिक हुने अवसर प्राप्त गरेको उल्लेख गर्दै शोषण, दमन र उत्पीडनविरुद्धको बलिदानपूर्ण संघर्षको जगमा स्थापित लोकतन्त्रको अर्थपूर्ण उपयोगबाट भविष्य निर्माण गर्नु हामी सबैको कर्तव्य रहेको भएको उल्लेख छ ।
सन्देशमा उहाँले भन्नुभएको छ, ‘त्यही वसन्त विद्रोहको राप–तापमा स्थापित लोकतन्त्रले राजनीतिक क्रान्ति सम्पन्न गरिसकेको छ । यस परिप्रेक्ष्यमा सामाजिक रुपान्तरण र आर्थिक क्रान्तिलाई सम्पन्न गर्न हामी सबैले साझा दायित्वको रुपमा ग्रहण गर्नुपर्दछ ।’ शुभकामना सन्देशमा प्रमुख शर्माले आज यो दिवस मनाइँरहँदा देशमा लोकतन्त्रको सुदृढीकरण, दिगो शान्ति, सुशासन, विकास तथा समृद्दि हासिल गर्नका लागि हामी सबैलाई यो दिवसले प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गर्नुभएको छ ।
मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिन बागमती प्रदेशसभा सदस्य केशब स्थापितले राजिनामा दिएका छन् ।
नेकपा ( एमाले) को सचिवालय बैठकले हिजोमात्र स्थापितलाई काठमाडौको मेयर बनाउने निर्णय गरेको थियो । प्रदेशका पुर्वमन्त्री समेत रहेका स्थापितले आइतबार प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठलाई हेटौंडा कार्यालयमा पुगेर राजीनामा दिएका थिए । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने तय भएकोले प्रदेशसभा सदस्यबाट राजीनामा दिएको उहाले बताए। निर्वाचन आयोगले बनाएको आचार संहितामा पनि जनप्रतिनिधिले निर्वाचनमा उम्मेदवार हुन अघि राजीनामा दिनुपर्ने भनिएको छ। काठमाडौको क्षेत्र नम्बर ६ (क)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
काठमाडौ महानगरको मेयर जितेपछि सबैभन्दा पहिले त्रिचन्द्र कलेजको पुनरोत्थान गर्ने मुख्य योजना रहेको उनले बताए । “काठमाडौको अन्य कलेजहरूको पनि उत्थान गर्ने छु,पहिलो योजना त्रिचन्द्र हुनेछ” उनले भने । “शिक्षा बिना कुन क्षेत्रको विकास संभव छ ?” उनले भने । आयुर्वेद स्वास्थको क्षेत्रमा पनि आफ्नो बिशेष ध्यान रहने उनले बताए ।
प्रदेश सांसदमा रहदा आफूले स्थानीय तहको विकासमा मन बुझ्ने गरि काम गर्न नपाएपछि आफूले स्थानीय तह रोजेको उनले बताए । “म त विद्यार्थी राजनीति देखि नै स्थानीय क्षेत्रको विकास चाहिन्छ भन्ने मान्छे हुँ,प्रदेश किन चाहियो ?” उनले भने । स्थापित बागमती प्रदेशको पुर्व भौतिक पुर्वाधार मन्त्री हुन् ।
अब बागमतीमा एमालेका ४१ जनामात्र प्रदेश सभा सदस्य रहने भएका छन् । प्रदेशमा एमालेका ४३ जना प्रदेश सभा सदस्य रहेकोमा भरतपुरमा मेयरमा उम्मेद्बारी दिन प्रदेश सभा सदस्य बिजय सुबेदीले यस अघि नै राजिनामा दिइसकेका छन् ।
मकवानपुर / आसन्न स्थानीय तह निर्वाचन -२०७९ मा नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकाको मेयरमा अनन्त पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पौडेल सबिधानका पुर्व सदस्य समेत हुन् । पौडेलसंगै अन्तिम समयसम्म टिकटको दाबि गर्दै आएका हाल बहालवाला मेयर हरिबहादुर महत अब टिकटको दौडबाट बाहिरिएका छन् । यसैगरी उपमेयरमा अनेमसंघ मकवानपुर जिल्ला अध्यक्ष सुमित्रा काफ्लेको उम्मेदवारी हुने भएको छ । एमालेको आज बसेको केन्द्रीय सचिवालय बैठकले पौडेल र काफ्लेलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो ।

यस अघि उपमेयरमा अधिकारकर्मी तथा नेतृ आरती पाठकको पनि चर्चा थियो ।
हेटौंडाको मेयर बन्नको लागि ९ जना र उपमेयर बन्नको लागि ७ जनाको दाबि रहदै आएको थियो । “अब पार्टीले आफ्नो नीति र बिधि अनुसार निर्वाचनको लागि मैदानमा प्रतिबद्धता र घोषणापत्र लिएर उत्रनेछ” मेयरका उम्मेदवार पौडेलले भने ।
मकवानपुर । हेटौंडाकी २४ बर्षीया युवतीमाथि छुरा प्रहार गरी फरार रहेका एक युवक २७ दिनपछि प्रहरीको सम्पर्कमा आएका छन् ।
११ चैतमा हेटौंडा–८ कमानेस्थित स्मृति टोलमा महिला अधिकारकर्मी अनिशा राईमाथि छुरा प्रहार गरेर फरार भएका सिर्जन यादव बिहीबार २७ दिनपछि प्रहरीको सम्पर्कमा आएका हुन् ।
अनिशामाथि छुरा प्रहारपछि फरार यादव आफैं जिल्ला प्रहरी कार्यालय मकवानपुरको सम्पर्कमा आएको प्रहरीले जनाएको छ । प्रहरीले खोजी गरिरहेको अवस्थामै यादव प्रहरीको सम्पर्कमा आएको प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए ।
प्रहरीले आरोपित यादवमाथि अनुसन्धान सुरू गरेको बताएको छ ।
हेटौंडा–२ का २९ वर्षीय यादवले छुरा प्रहार गर्दा युवतीको घाँटीको पछाडि भागमा चोट लागेको थियो । गम्भिर घाइते भएकी राईको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर र मेडेसिटी हस्पिटलमा उपचार गरेपछि केही दिनअघि डिस्चार्ज गरिएको छ । तस्बिर हेडम्बा न्युजबाट
मकवानपुर । नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा मकवानपुर जिल्ला सह- इन्चार्ज कृष्ण दाहालले स्थानीय तहको परिकल्पनाकार नेकपा एमाले भएको बताएका छन् । यसैले पनि स्थानीय क्षेत्रको बिकासमा एमाले जत्तिको चिन्तित अरू पार्टी नभएको दाहालले बताए ।
“नेकपा एमालेले प्रणाली बलियो बनाउछौ, व्यक्ति हैन” दाहालले भने “मतदाताको संरक्षण गर्ने मनोबल बढाउने काममा लागि पर्नुहोस ।” नेपाल कम्युनिस्ट पार्टी एमाले हेटौंडा ५ वडा कमिटीको आयोजना भएको आसन्न स्थानीय तहको निर्वाचन प्रचारप्रसार कार्यक्रम अन्तरगत प्रशिक्षण तथा सपथ ग्रहण कार्यक्रम दाहालले यस्तो बताएका हुन् ।
स्थानीय तहको निर्वाचनको तयारीमा डटेर लाग्न दाहालले आग्रह गरे । “मौन अवधिबाहेकको समयमा निस्कृय नहुनु” उनले भने “हेर्दा हेर्दै एमालेलाई असर पर्ने कुकार्य भएको देख्नु नै भएको छ” उनले भने ।
भुकम्पको क्षेतिपछि एमालेले अवसरको रूपमा लिएर भौतिक प्रगति गरेको दाहालले बताए । प्रगतिसँगै चुनौती पनि भएको उल्लेख गर्दै दाहालले भने “स्थानीय तहको नेतृत्व गर्ने भनेको जनताको सेवक बन्ने हो मालिक हैन र एमालेबाट नेतृत्व गर्नेले कहिल्यै नेतागिरी गर्दैन ।”
पार्टीको बागमती प्रदेश कमिटी सदस्य पद्मा पौडेल,प्रदेश कमिटी सदस्य सम्राट तुम्बाहाम्फे, पार्टी सचीव तथा हेटौंडा ४ को वडा अध्यक्षका उम्मेदवार नविन सिग्देल, पार्टी सचिवालय सदस्य इश्वर ढुङ्गाना, पार्टी जिल्ला कमिटी सदस्य सरस्वती दाहाल, सन्तोष पौडेल, सुधिर थापालगायतले एमालेले हेटौंडा ५ को अवस्था र आवश्यकता अनुसारको नियमित दीर्घकालीन विकासको योजना ल्याएको बताए । लामो संघर्षपछि देशको ब्यवस्था बदलिएको तर अवस्था उस्तै रहेकोले स्थानीय क्षेत्रको थाति रहेका सपनाहरू पुरा गर्नुपर्ने उनीहरूले बताए ।
एमाले बालबालिका, बृद्धबृद्वाहरू, महिलाको हितको लागिको लागि योजना ल्याएको उनीहरूले बताए । कार्यक्रममा एमालेले सुखी ज्येष्ठ नागरिक र खुसी बालबालिका भन्ने कार्यक्रम पार्टी सदस्य पौडेलले बताए । महिलाको आर्थिक जीवनस्तर उकास्न एकघर एक उद्योग कार्यक्रम ल्याउने, रोजगारी सिर्जना गर्ने योजना ल्याएको पौडेलले बताए ।
कार्यक्रममा वडा ५ मा एमालेबाट सदस्य पदका उम्मेदवारहरू ज्ञानबहादुर थापा, रन्जिता सिलवाल, रामबहादुर राई, भगवती बिकको उपस्थिति थियो । कार्यक्रम पार्टी वडा अध्यक्ष पदम बजगाईंको अध्यक्षतामा भएको थियो ।
