बैंक तथा वित्तीय संस्थाले आफ्ना ऋणीलाई ओभर ड्राफ्ट (ओडी) कर्जाको सुविधा बन्द गर्न दबाब दिन थालेका छन् । नेपाल राष्ट्र बैंकले ओडी कर्जा सुविधा बन्द गर्न आन्तरिक रूपमा निर्देशन दिएको भन्दै अहिले विभिन्न बैंकले उद्योगी व्यवसायीलाई यसअघि लिएको ओडी कर्जा सुविधा समेत बन्द गर्न दबाब दिन थालेको सम्बन्धित व्यवसायीले बताएका छन ।
उनीहरूका अनुसार हाल विभिन्न बैंकले ५० लाख रुपैयाँसम्मको व्यक्तिगत ओडी र व्यावसायिक ओडी दिँदै आएको छ । तर, त्यसरी दिएको ओडी दुरुपयोग भएको निष्कर्षसहित राष्ट्र बैंकले अंकुश लगाउन लागेको हो । सोहीअनुरूप हाल बैंकले पनि आफ्ना ग्राहकलाई ओडी खाता बन्द गर्न दबाब दिन थालेको एक व्यवसायीले जानकारी दिए ।
केही दिनयता बैंकले यसअघि लिएको ओडी कर्जा सुविधा बन्द गर्न भन्दै फोन गर्न थालेको जानकारी गराउँदै एक उद्योगीले भने, ‘अहिले बैंकले राष्ट्र बैंकको निर्देशन भन्दै दैनिकजसो फोन गरेर यसअघि चलाएका ओडी सुविधा भुक्तानी गरेर सो कर्जा खाता नै बन्द गर्न दबाब दिइरहेका छन् ।’
तर, त्यसरी बैंकले राष्ट्र बैंकको निर्देशन भन्दै उद्योगी व्यवसायीलाई यसअघि लिएको ओडी कर्जा सुविधा समेत बन्द गर्न लगाउँदा समस्या उत्पन्न हुने अन्य व्यवसायीले गुनासो गरेका छन् । उद्योगी व्यवसायीले व्यावसायिक कार्यका लागि ओडी कर्जा लिएर लगानी गरेको बताउँदै ती व्यवसायीले भने, ‘अहिले बैंकले राष्ट्र बैंकको निर्देशन भन्दै त्यस्ता कर्जा तुरुन्त तिर्न दबाब दिँदैमा कसले तिर्न सक्छ र ?’ यो व्यवसायीका लागि निकै अन्यायपूर्ण र अव्यावहारिक काम हुने उनीहरूको भनाइ छ ।
हाल विभिन्न बैंकबाट ओडीमा दिएको कर्जा दुरुपयोग भएको निष्कर्षसहित राष्ट्र बैंकले व्यक्तिगत ओडी कर्जाको सिमा घटाउँदै ५० लाख रुपैयाँमा झारेको थियो । तर, त्यसरी प्रदान गरिएको ओडी कर्जा समेत सही सदुपयोग नभएको भन्दै पछिल्लो समय यस्तो सुविधा नै बन्द गर्न लागेको सम्बन्धित व्यवसायीले आफूलाई जानकारी भएको बताएका छन् । राजधानी दैनिक बाट
मकवानपुर । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा एमालेबाट हेटौंडाका मेयर र उपमेयरका उम्मेदवार अनन्त पौडेल र समित्रा काफ्लेले विद्यार्थीका कुरा सुन्ने भएका छन् ।
निर्वाचनमा विजय प्रश्चात हेटौंडा उपमहानगरपालिकालाई कस्तो बनाउने भन्ने योजनाको खोजीमा पौडेल र काफ्लेले विद्यार्थीसँग साक्षात्कार गर्न लागेका हुन् । एमाले मकवानपुरका पुराना नेता पौडेलले १५ वैशाख अर्थात भोली विहीवार विद्यार्थीको नजरमा हेटौंडाको विकासका लागि योजना सुन्ने छन् ।
कार्यक्रममा हेटौंडा नगरलाई कसरी विद्यार्थी मैत्री बनाउने र युवा–विद्यार्थीले खोजेको नगरको परिकल्पना बारे चर्चा हुने अनेरास्ववियु मकवानपुरका सहसचिव प्रमोद फुयाँलले जानकारी दिए । ‘कार्यक्रममा मेयर र उपमेयरका उम्मेदवारले विद्यार्थीहरुसँग साक्षात्कार गर्नुहुन्छ । विद्यार्थीहरुले देखेको नगरभित्र गर्नुपर्ने काम र विद्यार्थी मैत्री बनाउने कसरी भन्नेमा अन्तर्क्रिया केन्द्रित हुनेछ ।,’ फुयाँलले भने ।
‘हेटौंडा नगरलाई विद्यार्थी मैत्री बनाउन मेयर र उपमेयरको योजना के छ ? र विद्यार्थीहरुले हेटौंडाका आगामी मेयर र उपमेयरबाट शिक्षा क्षेत्रमा हेटौंडा नगर कस्तो बनोस भन्ने चाहन्छन्, भन्ने विषयमा जानकारी लिने कार्यक्रम हो ।,’ उनले भने ।
अनेरास्ववियुले नगर भित्रका विभिन्न विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थी प्रतिनिधिहरुलाई सहभागी हुन आग्रहसमेत गरेको छ । ‘आजको अन्तर्क्रियाले भोलीको भविष्य निर्धारण गर्छ । त्यसैले सबैलाई उपस्थित हुन आग्रह गरेका छौं ।,’ फुयाँलले भने ।
सरकारले जेठ १ गतेदेखि सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को वैशाख १३ गते बसेको बैठकले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
बुधबार सरकारका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीले परीक्षणका रूपमा दुई दिन बिदा दिने निर्णय गरिएको बताए।
सरकारले कार्यालय समय पनि एक घण्टा बढाएको छ। सरकारको निर्णय सार्वजनिक गर्दै कार्कीले भने, “हाललाई परीक्षणका रूपमा २०७९ जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९:३० बजेदेखि साँझ ५:३० बजेसम्म कार्यालय समय कायम गर्ने, शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक बिदा दिनेछ।’
हेटौंडा । आसन्न स्थानीय तह निर्वाचन (२०७९ प्रचारप्रसारको क्रममा नेकपा एमाले हेटौंडा ५ वडा कमिटीले आज वडाको विभिन्न टोलमा घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रम गरेको छ ।
पार्टी जिल्ला कमिटी सचिवालय सदस्य इश्वर ढुङ्गाना समेत वडाका उम्मेदवारहरूले टोलटोलमा घरघरमा मतदाता शिक्षा कार्यक्रम सहित कार्यकर्ता भेटघाट गरेको वडा अध्यक्षका उम्मेदवार सुशिल घिमिरेले बताए । टोल टोलको विकासलेमात्रै समग्र वडाको विकास संभव भएको बताउंदै उम्मेदवारहरूले सुर्य चिन्हमा मतदान गर्दै विकासलाई सुनिश्चितता गर्न आग्रह गरे । हेटौंडा ५ को मनकामना चोक, सिचाईटोल, बनस्खण्डि टोल, भित्ता टोल हुंदै राईटोलसम्म बिहान घरदैलो गरिएको वडा सदस्यको उम्मेदवार रन्जिता सिलवालले बताइन् ।

कार्यक्रममा पार्टी जिल्ला कमिटी सदस्य सुधिर थापा, वडा अध्यक्ष पदम बजगाईं, सचिव सुरेश लामिछाने, वडा सदस्यका उम्मेदवारहरू ज्ञानु थापा, रामबहादुर राईलगायतको उपस्थिति रहेको थियो ।
वडाका उम्मेदवार सुशिल घिमिरेले वडामा भौगोलिक अवस्था हेरेर आवश्यक पुर्वाधार विकास गरिने, युवा तथा खेलकुद क्षेत्रमा प्रतिभा प्रस्फुटनको अवसरलाई सधैं प्राथमिकता दिने बताए ।
मकवानपुर । अघिल्लो सरकारले नियुक्त गरेको ब्यक्ति हटाउने शिलशिलाको शिकार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. विश्वराज जोशी पनि भएका छन् ।
प्रा.डा जोशीलाई बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रतिष्ठानको उपकुलपति जोशीलाई निलम्बन गरेका हुन् । उनीमाथि छानविन गर्न समिति गठन गरिएसँगै जोशी निलम्बित भएको बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव यमलाल भूसालले जानकारी दिए । जोशीलाई केहि समय अघिबाटै पदबाट हट्न दबाब आईरहेको थियो ।
मुख्यमन्त्री पाण्डेले छानविन समिति गठन गरेसँगै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को उपदफा (३) बमोजिम उपकुलपति स्वतः निलम्बित भएको सचिव भुसालले अताए । सचिव भुसालले मंगलबार उपकुलपति प्रा.डा. जोशीलाई सम्बोधन गरेर निलम्बन गरिएको पत्र तयार पठाएका थिए ।
उपकुलपति प्रा.डा. जोशीले पदीय जिम्मेवारी पूरा नगरेको लगायतका आधार उल्लेख गरी प्रतिष्ठानको सभाका एकचौथाई सदस्यले लिखित निवेदन दिएकोले प्रतिष्ठानका कुलपति एवम् मुख्यमन्त्री पाण्डेले सो सम्बन्धमा छानविन गर्न समिति गठन गरेको बताइएको छ ।
यता प्रा.डा. जोशीले भने निलम्बनको खबरले पत्रकारमार्फत मात्रै जानकारी भएको र निलम्बनको पत्र बुझेपछि के गर्ने भन्ने योजना बनाउने बताए । गत फागुन अन्तिम साता मुख्यमन्त्री पाण्डेले पत्र नै काटेर आफूलाई पदबाट हट्न आग्रह गरेको उल्लेख गर्नु प्रा.डा. जोशीले भने, ‘एउटा योजनासहित काम गर्दै गर्दा बीचमै छाड्नु उचित नलागेर काम गरिरहेको थिएँ । एक्कासी निलम्बनको कुरा सुनेँ । निलम्बनको पत्र हात परेपछि के गर्ने भन्ने निर्णय लिनेछु ।’
प्रा.डा. जोशीलाई बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले २०७७ साल साउन १६ गते ४ बर्षे कार्यकालका लागि नियुक्त गरेका थिए । पाण्डे नेतृत्वको सरकारले अघिल्लो सरकारले नियुक्त गरेको व्यक्ति हटाउने श्रीखलाबद्व योजना रहेको र यो गलत भएको नेकपा एमालेले बताउंदै आएको छ ।
यसअघि प्रदेश खेलकुद विकास परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईलाई पनि पदबाट हटाईएको थियो । यद्यपि चौलागाईंले कानुनीबाटो रोजेपछि अहिले अदालतको आदेश अनुसार उनी पुनः पद बाहल छन् ।
