सप्तरी । एक सातायता बढेको तापक्रमले सप्तरीको जनजीवन निकै प्रभावित भएको छ। दिनभर चर्को घाम लाग्ने, हावा नचल्ने भएपछि सर्वसाधारणकाे दैनिकी निकै कष्टकर बनेकाे हाे । यहाँकाे तापक्रम लगातार तीन दिनदेखि ३६ डिग्री सेन्टिग्रेट छ ।
गर्मीका कारण बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती, दीर्घरोगी बढी प्रभावित भएका छन् । दिनहुँ साइकलमा राजविराज बजारमा घुमेर कपडा बेच्दै आएका कुनौलीका ५० वर्षीय मोहम्मद रहमान गर्मीकै कारण काममा जान सकिरहेका छैनन् । काम नगर्दा घर चलाउन समेत समस्या भएकाे उनले बताए ।
उनी भन्छन्,´गर्मीले घरभित्रै त बसी सक्नु छैन् । घाँममा डुलेर कसरी कपडा बेच्नु ? जीविकोपार्जन गर्ने घौ धौ भइसक्यो ।’ राजविराज नगरपालिका वडा- १ की दुर्गादेवी रजक अर्काको घरमा काम गरेर जीविकोपार्जन गर्दै आएकी थिइन् । तर, गर्मीका कारण एक सातादेखि उनी काममा जान सकेकी छैनन् । उनी भन्छिन्,´बिहान ६ बजेदेखि पोल्ने घाम लाग्छ । घरबाट निस्किन सकिँदैन, कसरी काम गर्नु ? दुई छाक टार्न एकदमै मुस्किल भए पनि पहिले ज्यान अनि जाहान भनेर बसिरहेका छाैं।’
गर्मीले सबैलाई काम गर्न समस्या भइरहेकाे नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्सालीले बताए । उनले भने, ´गर्मीका कारण ज्यानले काम गर्नै मान्दैन् । शरीरले सके न काम गर्ने हो ।’
कलबाट भरेर जग वा जुन भाँडोमा राखे पनि आधाघण्टामै तातो हुने गरेकाे राजविराज-२ की ५० वर्षीया लिलादेवी मण्डलले बताइन् । उनले भनिन्,´पहिले पहिले गर्मी लाग्दा कोठाको भुईमा सिमेन्टमा सुत्थेँ । अहिले त भुई पनि तातेको छ । कसरी सुत्ने ? मनमा भित्रबाटै बिरामी जस्तो महसुस हुन्छ।
गर्मीकै कारण विद्यार्थीहरू विद्यालय बेहोश पर्न थालेपछि राजविराज नगरपालिकाको सामुदायिक विद्यालयहरू २८ असारदेखि २८ साउनसम्म एक महिनाका लागि बन्द भएको छ। समाचार राजधानीबाट
काठमाडौँ / प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आगलागी भएको छ । प्रहरीका अनुसार यहाँस्थित ह्वील चेयरको गोदाममा आगलागी भएको हो ।
अहिले विभिन्न क्षेत्रका दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले केही अघि मात्रै आगलागी भएको र निभाउने कार्य जारी रहेको जानकारी दिए । इकागजबाट
मकवानपुर । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २ सय ९औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । मकवानपुरमा समेत आज भानु बिशेष कार्यक्रम हुदैछ । मकवानपुरमा रहेका साहित्यिक संघ सस्थ र बिधालयले भानुको सम्झनामा कार्यक्रम गर्दैछन् ।
सरल नेपाली भाषामा लेखिएको भावानुवादसहितको ‘रामायण’बाट भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनले लेखेको अयोध्याका राजा रामको जीवनी रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिकरूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत् एकीकरण गरेको बताइन्छ ।
विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएका थिए । उनले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए । ‘वधुशिक्षा’ भानुभक्तको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् ।
कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यलयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए– ‘भोलि भोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली’। नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ ।
त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नात्तकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन् । भानुभक्त भन्दाअघि नै नेपाली भाषामा कविता लेख्ने कवि भएकाले उनलाई आदिकवि भन्न नमिल्ने तर्क पनि उठ्ने गरेका छन् । रामायण ग्रन्थले भाषिक क्षेत्रमा नयाँयुग निर्माण गरेको छ । उनको निधन विसं १९२५ असोजमा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा भाषी धेरै रहेका स्थानमा पनि मनाइन्छ ।
गुरु पूर्णिमा मनाइदै
आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ ।
‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ-
गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर : ।
गुरु: साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नम : ।।
माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ । गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवं सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन् ।
आजै व्यास जयन्ती पनि
आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो ।
व्यासले पुराण र उपपुराणका माध्यमबाट यस्तो सन्देश दिन खोज्नुभएको छ –
अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम् ।
परोपकार पुण्याय, पापाय परपीडनम्’ ।।
अर्थात् अरूको उपकार गरे धर्म हुन्छ एवं अरूलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिनुभएको छ । पाँचौँ वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गरेका हुन् ।
श्रीलंकाका राष्ट्रपतिले देश छाडेका छन् । आर्थिक संकटलाई लिएर व्यापक प्रदर्शन भइरहेका बेला राष्ट्रपति गोटाबाया राजापाक्षे बुधबार बिहान सेनाको एउटा विमानमा चढेर देश छाडेका हुन् ।
७३ वर्षीय गोटाबाय स्थानीय समयअनुसार बिहान ३ बजे माल्दिभ्सको राजधानी माले पुगेको बीबीसीले जनाएको छ । उनीसँगै पत्नी र एक जना गार्ड पनि रहेका बताइएको छ ।
राजपाक्षेको प्रस्थानले श्रीलंकामा दशकौंसम्म शासन गर्ने पारिवारिक वंशको अन्त्य गरेको छ । शनिबार उनको निवासमा भीडले आक्रमण गरेपछि उनी लुकेर बसेका थिए ।
राष्ट्रपतिले यसअघि १३ जुलाई अर्थात आज राजीनामा दिने वाचा गरेका थिए । उनका भाइ पूर्वअर्थमन्त्री बसिल राजापाक्षेले पनि देश छाडेको बीबीसीले जनाएको छ । उनी अमेरिका जाँदै गरेको बताइएको छ ।
गोटाबय भागेपछि प्रदर्शनकारीहरूले खुशियाली मनाइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। उनका भाइ पूर्व अर्थमन्त्री बसिल राजापाक्षेले पनि देश छाडेर अमेरिका गएको बताइएको छ।
राजपाक्षे परिवारको कुशासनका कारण देश आर्थिक टाट पल्टेपछि हजारौंको सङ्ख्यामा रहेका प्रदर्शनकारीले राजधानी कोलम्बोमा राजापक्षको राजीनामा माग गर्दै महीनौंदेखि आन्दोलन गर्दै आएका थिए। एजेन्सी
सरकारले आगामी ४ मंसिरमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचन आयोगलाई तयारी गर्न निर्देशन दिएको छ ।
प्रधानमन्त्रीनिकट उच्च स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषको सल्लाहअनुसार ४ मंसिरमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्नेगरी तयारी गर्न अनौपचारिक सन्देश पठाएका हुन् । साउन पहिलो साता निर्वाचन मिति तोक्ने तयारी सरकारको छ ।
आगामी ४ मंसिरमा निर्वाचन तयारी
‘४ मंसिरमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्नेगरी प्रधानमन्त्रीले तयारी गर्न निर्वाचन आयोगलाई निर्देशन गरिसक्नु भएको छ, ज्योतिषलाई हेराएरै मिति तय गरिएको हो,’ बालुवाटार स्रोतले राजधानीसँग भन्यो ।
यसअघि, गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन मितिसमेत ज्योतिषकै रायमा तय भएको बताइन्छ । आयोगले भने गत २२ असारमा प्रदेश र प्रतिनिधि सभा निर्वाचन देशभर ‘एकै दिन एकै चरण’मा गर्नेगरी सरकारसमक्ष आगामी २ मंसिरको मिति प्रस्ताव गरेको छ ।
आयोगले १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा एकै दिन एकै चरणमा निर्वाचन गर्नेगरी २ मंसिरको मिति प्रस्ताव गरेको थियो ।
निर्वाचन आयोग ऐन, २०७३ तथा निर्वाचनसम्बन्धी कानुनले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मिति आयोगको परामर्शमा नेपाल सरकारले तोक्ने व्यवस्था गरेको छ ।
आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले कानुनी व्यवस्थाअनुसार नै सरकारसमक्ष निर्वाचनको मिति प्रस्ताव गरेको जानकारी दिए । ‘आयोगले कानुनी व्यवस्थाअनुसार नै सरकारसमक्ष प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति प्रस्ताव गरेको छ,’ आयोगका प्रमुख आयुक्त थपलियाले राजधानीसँग भने, ‘एकै दिन एकै चरणमा निर्वाचन गर्नेगरी आयोगका तर्फबाट मिति प्रस्ताव गरिएको छ, मिति सरकारकातर्फबाट तय हुने विषय हो ।’
प्रमुख आयुक्त थपलियाले आयोगलाई निर्वाचन तयारीका लागि १ सय २० दिनको समय आवश्यक पर्नेतर्फसमेत प्रधानमन्त्रीलाई आयोगका तर्फबाट ध्यानाकर्षण गराइसकिएको जानकारी दिए ।
आयोगले निर्वाचनको मिति प्रस्ताव गरेसँगै मन्त्रिपरिषद्बाट मिति तोक्न सरकारलाई बाटो खुलिसकेको छ । आयोगले यसअघि २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सबै परिणाम आउन ७४ दिन लागेको भन्दै यसपटक ५८ दिनभित्रैमा सबै परिणाम दिनेसमेत बताएको छ । आयोगले सरकारसमक्ष गरेको प्रस्तावमा २ मंसिरमा निर्वाचन भए पुस मसान्तभित्रै सबै परिमाण आउने भनेको छ ।
आयोगले निर्वाचनका लागि १० अर्ब खर्च हुन सक्ने भन्दै सरकारसमक्ष प्रारम्भिक खर्चको विवरणसमेत बुझाइसकेको छ । २०७४ मा सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालय ७७ र निर्वाचन अधिकृतको कार्यालय १ सय ६५ समेत गरी जम्मा ७ अर्व ८० करोड खर्च भएको थियो ।
हाल तलब, भत्ता, दैनिक भत्ता र भ्रमण खर्च तथा अन्य सुविधामा भएको वृद्धि, मतदाता संख्यामा भएको वृद्धि, मतदानस्थल र मतदानकेन्द्रहरूको बढोत्तरी, सूचना प्रविधिको प्रयोग बढाउनुपर्ने अवस्था, मतदान सामग्री तथा मतदाता शिक्षा सामग्रीको तयारीमा हुने खर्च, हालको बजार मूल्य, ढुवानी खर्च र ज्याला दररेटमा भएको वृद्धि र मुद्रास्फीतिसमेतका कारणबाट खर्च बढ्ने आयोगले जनाएको छ । राजधानी दैनिकबाट