मकवानपुर । पछिल्लो २४ घण्टामा देशभर थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३२८ जनाको परीक्षणमा ३५७ जनामा संक्रमण पुष्टि भएको हो ।
१ हजार ८२८ जनाको पीसीआर परीक्षण गर्दा २६८ जना र १ हजार ५०० जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ९८२ पुगेको छ । पछिल्लो २४ घण्टामा ६२ जना संक्रमणमुक्त भएका छन् ।
जसमध्ये १ हजार ८६५ जना होम आइसोलेसनमा रहेका छन् भने ११७ जना संस्थागत आइसोलेसन र १९ जना आईसीयूमा छन् । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २३ हजार १५० पुगेको छ ।
नेपाली कांग्रेसले स्थानीय तहजस्तै आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पनि सत्ता गठबन्धन आबद्ध दलसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ ।
ललितपुर सानेपास्थित पार्टी केन्द्रीय कार्यालय सोमबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकमार्फत कांग्रेसले गठबन्धनआबद्ध दलसँग चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।
‘संविधान रक्षा र लोकतन्त्र थप सुदृढीकरणका गर्दै जनताको समुन्नतिको सपना स्थिर सरकारमार्फत सम्बोधन गर्न केन्द्रीय समिति बैठक सत्ता गठबन्धनमा रहेका दलसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढिने’ कांग्रेस निर्णयमा उल्लेख छ ।
एक केन्द्रीय सदस्यले ‘प्रतिनिधि सभा निर्वाचन क्षेत्रअन्तर्गत १ सय ६५ सिटमा कम्तीमा ९० सिट कांग्रेसले लिनेगरी गठबन्धन आबद्ध दलबीच तालमेल प्रयास गर्नेगरी’ निर्णय गरिएको छ । ‘प्रतिनिधि सभा निर्वाचन क्षेत्रअन्तर्गत १ सय ६५ सिटमा कम्तीमा ९० सिट कांग्रेसले लिनेगरी चुनावी तालमेल गर्नेगरी नेताबाट धारणा आयो,’ बैठकपछि ती केन्द्रीय सदस्यले राजधानीसँग भने, ‘सो विषयमा अब गठबन्धनमा छलफल हुनेछ ।’
कांग्रेसले निर्णयमा तालमेल गर्दा संविधान कार्यान्वयन, आर्थिक सामाजिक रूपान्तरण र वैदेशिक सम्बन्धलगायत विषयमा ‘न्यूनतम साझा धारणा’ निर्माण गर्नुपर्ने उल्लेख गरेको छ ।
‘तालमेल गरिरहँदा कांग्रेसको मुख्य नेतृत्वदायी भूमिका रहेको यथार्थ, सांगठनिक वस्तुस्थिति तथा पार्टी पंक्ति एवं शुभेच्छुकको भावना दृष्टिगत गर्दै गठबन्धनमा रहेका दलसँग संवादमार्फत निष्कर्षमा पुग्ने,’ कांग्रेस निर्णयमा उल्लेख छ ।
गत २७ असारबाट सुरु बैठकले उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति संयोजक पूर्णबहादुर खड्काद्वारा प्रस्तुत स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको प्रतिवेदन र पार्टी प्रवक्ता एवं स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति संयोजक डा. प्रकाशशरण महतद्वारा प्रस्तुत स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिको प्रतिवेदन अनुमोदनसमेत गरेको छ ।
तीन समिति गठन
कांग्रेसले बैठकमार्फत सदस्यता व्यवस्थापन केन्द्रीय समिति, केन्द्रीय अनुशासन समिति र केन्द्रीय लेखा समिति गरी तीनवटा समिति गठन गरेको छ ।
बैठकले महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा सदस्यता व्यवस्थापन केन्द्रीय समिति, केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा केन्द्रीय अनुशासन समिति, केन्द्रीय सदस्य श्यामकुमार घिमिरेको संयोजकत्वमा केन्द्रीय लेखा समिति गठन गर्ने निर्णय गरेको हो ।
सभापति शेरबहादुर देउवाले बैठकमा यी तीनै समिति संयोजक प्रस्ताव गरेका थिए । ‘आवश्यक परामर्श गरी समितिलाई पूर्णता प्रदान गर्ने’ कांग्रेसले निर्णयमा भनेको छ ।
बैठकले पार्टीको आगामी ‘नीति महाधिवेशन’ सम्बन्धमा आवश्यक तयारी गरी केन्द्रीय कार्यालयले केन्द्रीय कार्यसमितिको आगामी बैठकमा प्रस्ताव गर्नेसमेत निर्णय गरेको छ ।
त्यस्तै, स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिका लागि आचारसंहिता जारी गरी केन्द्रले लागू गर्ने निर्णयसमेत कांग्रेसले केन्द्रीय समितिबाट गरेको छ । राजधानी दैनिकबाट
मकवानपुर । बागमती प्रदेश अन्तरगत मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले विगत ५ वर्षदेखि करारमा काम गर्दै आएका कर्मचारीको करार सम्झौता नविकरण नगर्ने निर्णय गरे लगतै यसै प्रदेशको ललितपुर जिल्लाको अर्को पालिकाले पनि कर्मचारीलाइ सेवाबाट हटाएको छ ।
ललितपुरको बागमती गाउँपालिकाका यस अघि करार सम्झौतामा काम गर्दै आएका ११ जना कर्मचारीलाई सेवामा नविकरण नगर्ने भएको हो । गाउँपालिकाको कार्यपालिका बैठकले करार अवधि नथप्ने निर्णय गरेसँगै ११ जनाले सेवाबाट हट्नु पर्ने भएको छ ।
गाउँपालिकामा ४५ जना करार सेवामा कार्यरत कर्मचारी रहेकोमा ११ जनाको करार थप नभएको हो । कर्मचारीहरूलाई आजै आइतबार मात्रै करार अवधि नथप्नेबारे जानकारी गराइएको थियो ।
गाउँपालिकाको स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारीहरूलाई समेत सेवाबाट हटाइएपछि स्वास्थ्य सेवा प्रभावित हुने भएको छ । स्वासथ्य जस्तो संवेदनशील क्षेत्रमा वर्षौंदेखि काम गरिरहेका र राज्यले प्रसूति सेवालगायतमा तालिम दिएर लगानी गरेका कर्मचारीलाई सेवाबाट हटाइदा राज्यको लगानी समेत खेर गरेको गुनासो गरिएको छ ।
गाउँपालिकाको निर्णयबाट उत्तरी मकवानपुर जिल्लाको दक्षिणभागमा बसोबास गर्ने स्थानीयहरु समेत प्रभावित हुने भएका छन् । ललितपुर जिल्लाको आश्राङ, गिम्दी, प्युटार र ठूलादुर्लुङलगायत ठाउँबाट उपचार गर्न आउने सेवाग्राही प्रभावित हुने भएका छन् । गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर दर्लामीले कर्मचारी धेरै भएर करार थप नभएको बताए । उनले कर्मचारी निकालेर अरू भर्ना गर्ने भन्ने तयारी नभएको दाबि गरे ।
२ दिन अघि मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले डण् जना कर्मचारीलाई सेवा अवधि नथप्ने सूचना जारी गरेको थियो ।
मकवानपुर । प्रतिनिधिसभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित भएकी छन्। भुसालले १४८ मत प्राप्त गरिन्। प्रतिद्वन्द्वी विद्या भट्टराईले ९३ मत ल्याइन्। १ मत तटस्थ रहेको थियो।
प्रतिपक्षी नेकपा एमालेकी उम्मेदवार भट्टराईलाई हराउँदै सत्ता गठबन्धनबाट साँझा उम्मेदवार भुसाल उपसभामुखमा निर्वाचित भएकी हुन्। भुसाल नेपाली कांग्रेसको सचेतक हुन ।
संविधानसभा सदस्यसमेत रहेकी भुसालले संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेकी छन्। भुसाल कानुनविद् पनि हुन्। २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि उपसभामुख पद रिक्त थियो।
प्रतिनिधि सभामा अहिले २ सय ७१ सांसद छन्। उपसभामुखमा निर्वाचित हुनको लागि संसदमा तत्काल कायम रहेको संख्याको बहुमत अर्थात १३६ मत आवश्यक पर्छ।
सत्ता गठबन्धनमा नेपाली कांग्रेसका ६१, माओवादी केन्द्रका ४०, एकीकृत समाजवादीका २३, जनता समाजवादी पार्टीका २० र राष्ट्रिय जनमोर्चाका सांसद गरेर १५४ जना सांसद रहेका छन्। एमालेसँग ९८ जना सांसद रहेका छन्। १ सांसद भएको राप्रपाले एमालेलाई समर्थन गरेको थियो।
आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तारूढ गठबन्धनबीच चुनावी तालमेल विषयमा नेपाली कांग्रेस एकमतसाथ अघि बढ्ने देखिएको छ ।
यसअघि, स्थानीय तह निर्वाचनमा गठबन्धनबीच चुनावी तालमेल विषयमा फरक मत देखिए पनि आगामी निर्वाचनमा सम्मानजनक सिट बाँडफाँटसहितको तालमेल हुनुपर्ने पक्षमा कांग्रेसभित्र मतैक्यता बन्ने देखिएको हो ।
गत २७ असारबाट सुरु कांग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यले धारणा राख्नेक्रम जारी छ । बैठकमा आगामी निर्वाचनका विषयमा कांग्रेसभित्र रणनीतिक बहस चल्दै छ । कांग्रेसले आगामी निर्वाचनमा तालमेल गरेरै जाने निर्णय यसै बैठकबाट गर्ने सम्भावना छ ।
जारी बैठकमा संस्थापनइतर समूहले पनि निर्वाचनमा गठबन्धन कायम राखेर जाँदा नेता कार्यकर्तालाई न्याय हुन्छ कि हुँदैन भनेर प्रश्न गरिसकेका छन् । यसअघि स्थानीय तहको निर्वाचनमा इतरसमूहले गठबन्धन गर्न नहुने अडान लिएको थियो ।
केन्द्रीय समिति बैठकको पहिलो दिनमा नै इतर समूहको नेतृत्व गरेका डा. शेखर कोइरालाले स्थानीय तह निर्वाचनमा पार्टीको नीति, आदर्श र सिद्धान्तविपरीत गठबन्धन गरिएको भन्दै नेतृत्वको आलोचना गर्दा प्रतिनिधिसभा निर्वाचन र प्रदेशसभा निर्वाचनमा आवश्यकता र औचित्य पुष्टि हुनेगरी तालमेल गर्न पार्टीको धारणा निर्माण गर्नुपर्ने धारणा राखेका छन् ।
बैठकमा सभापति देउवासामु प्रश्न गर्दै उनले भनेका छन्, ‘आगामी निर्वाचनमा व्यक्ति केन्द्रित गठबन्धन गर्दा पार्टीका साथीहरूलाई न्याय गर्न सक्छौं त ?’
कोइराला पक्षकै नेता एवं लुम्बिनी प्रदेशका कांग्रेस सभापति अमरसिंह पुनले पनि जारी बैठकमा आगामी निर्वाचनमा तालमेल हुनुपर्ने धारणा राखे ।
‘स्थानीय तहमा तालमेल गर्नै हुने थिएन, गरिहालियो, अब किन तालमेल नगर्नु र ?’ जारी केन्द्रीय समिति बैठकमा उनले धारणा राख्दै भने ।
जारी केन्द्रीय समिति बैठकमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आफैं पनि आगामी निर्वाचनमा सत्ताधारी दलबीच चुनावी तालमेल कायम रहने प्रस्ट सन्देश दिइसकेका छन् ।
शीर्षस्थ नेताहरू पनि गठबन्धनबीचको तालमेल कायम राखेरै निर्वाचनमा जानुपर्ने पक्षमा छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहलगायतका शीर्ष नेताहरू गठबन्धन कायम गरेर निर्वाचनमा जानुपर्ने पक्षमा छन् ।
स्थानीय तह निर्वाचनमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीचमा गठबन्धन भएको थियो । स्थानीय तहको निर्वाचनको परिणामले तालमेलको विषयमा कांग्रेस झनै हौसिँदै आएको छ । राजधानी दैनिकबाट