आगामी ४ मंसिरमा तय प्रतिनिधि सभा निर्वाचन प्रत्यक्षतर्फको १ सय ६५ सिटमा सय सिट हात पर्नेगरी माग दाबी गर्न कांग्रेस नेतृत्वमाथि दबाब बढेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सय सिट हात पर्नेगरी गठबन्धनमा आबद्ध दलबीच तालमेलसहित अघि बढ्न सुझाइएको छ ।
– १६५ मा १०० सिटमा दाबी
– विपक्षी रणनीति बुझ्दै कांग्रेस
– लोसपासँग पनि सहकार्य प्रयास
‘चुनावी तालमेल गर्दा पार्टीको स्थिति विश्लेषण हुनुपर्छ, आमनेताकार्यकर्ताको भावनाअनुसार हुनुपर्छ, हामीले सभापतिलाई स्पष्ट भनेका छौं, सय सिट माग दाबी कांग्रेसले राख्नुपर्छ,’ एक पदाधिकारीले बैठकमा भएको छलफल’को जानकारी दिँदै राजधानीसँग भने ।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले भने ‘पार्टीका नेताका सुझाव र गठबन्धनमा आबद्ध दलका नेतासँग छलफल गरेर सिट बाँडफाँटको निर्णय हुने’ जानकारी गराएका छन् । त्यसक्रममा देउवाले ‘विपक्षी दलको रणनीतिसमेत आधार बनाएर सिट बाँडफाँट निर्णय हुने’ जवाफ दिएका छन् ।
‘पार्टी नेताका सुझाव र गठबन्धनमा आबद्ध दलका नेतासँग छलफल गरेर सिट बाँडफाँट निर्णय हुन्छ भन्ने सभापतिको धारणा छ,’ ती नेताले भने, ‘मुख्य कुरा विपक्षी दलको रणनीतिसमेत आधार बनाएर सिट बाँडफाँटको निर्णय हुने सभापतिको दृष्टिकोण देखियो ।’
बैठकमा कांग्रेस सभापति देउवा गठबन्धनभित्रका शक्ति जोगाएर र बढीभन्दा बढी सिट जित्नेगरी सिट बाँडफाँट गर्नेगरी प्रस्तुत भए । कार्यदलको पहिलो बैठक बस्नुअघि नै देउवाले पदाधिकारी र पूर्वपदाधिकारीसँग सिट बाँडफाँट’ धारणा बुझेका हुन् ।
कांग्रेस महामन्त्री गगनकुमार थापाका अनुसार बैठकमा नेताहरूले आ–आफ्ना धारणा सुनाएको र थप छलफल हुँदै जानेछन् । ‘बैठकमा नेताका आफ्ना धारणा आएको छ, थप छलफल हुँदै जान्छ,’ थापाले भने ।
बैठकमा कांग्रेस एक्लै चुनाव लड्दा पनि ८० देखि ८५ सिट जित्ने आँकलन’ प्रधानमन्त्रीसमेत रहेका देउवालाई नेताहरूले पुनः ‘ब्रिफिङ’ गरेका थिए ।
बैठकमा नेता विलेन्द्र निधिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पनि सत्तारूढ गठबन्धनमा ल्याउनुपर्ने राय राखेका थिए । सो विषयमा प्रधानमन्त्री देउवा पनि सकारात्मक रहँदै आएका छन् ।
आइतबार मात्रै देउवाले लोसपा अध्यक्ष महन्थ ठमाकुरसहितका शीर्षनेतालाई सरकारी निवास बालुवाटार बोलाएर भेट वार्ता गरेका थिए ।
सोक्रममा गठबन्धनमा आबद्ध पाँच दलको निर्णयबाटै ‘लोसपालाई गठबन्धनभित्र जोड्ने’ वचन प्रधानमन्त्री देउवाले लोकपा नेतालाई दिएको बताइएको छ । सो विषयमा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमणबाट फर्किएपछि छलफल अघि बढाउने देउवाले लोसपाका नेतालाई भनेका छन् ।
गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत सरकारले आगामी ४ मंसिरमा १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा ‘एकै दिन एकै चरण’मा निर्वाचन गर्ने निर्णय गरेको थियो ।
मिति घोषणा भएको भोलिपल्टै शुक्रबार बसेको पाँच दलीय बैठकले ‘गठबन्धनभित्र सिट बाँडफाँट’का लागि ११ सदस्यीय कार्यदलसमेत बनाएको थियो । राजधानी दैनिकबाट
मकवानपुर । नेकपा एकिकृत समाजवादीका नेतृ मुनु सिग्देलले जिल्ला प्रहरी कार्यालय मातहत रहेका महिला प्रहरीका लागि सेनेटरी प्याड सहयोग गरेकी छिन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सेवामा रहेको महिला प्रहरीलाई महिनावारीको समयमा समस्या भएपछि सिग्देलले प्याड सहयोग गरेकी हुन् ।
बागमती प्रदेश सभा सदस्य समेत रहेकी सिग्देलले जिल्ला प्रहरी कार्यालय पुगेर महिला सेल प्रमुख प्रहरी निरीक्षक चुडाकुमारी खड्कालाई मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बामदेब गौतमको उपस्थितीमा ४ बोरा सेनेटरी प्याड हस्तान्तरण गरेकी हुन् ।
जसमा ३ हजार ८४० पिस सेनेटरी प्याड रहेको खड्काले बताइन्। सामग्री हस्तान्तरण गर्दै नेतृ सिग्देलले आफैले बाहिरी जिल्लामा प्याडको अभावका कारण भोगेको समस्या जिल्लामा पनि लागु नहोस् भन्नका लागि हस्तान्तरण गरेको बताइन् ।
माहिनावारीको समयमा आकस्मिक रुपमा आवश्यकता पर्दा प्रयोग गर्न सकिने र काममा सहजता हुने भएकाले महिलाहरुको समस्यालाई बुझेर सामग्री हस्तान्तरण गरेको उनले जानकारी दिइन्।
स्थानिय तह अन्तरगत कार्यरत प्रहरी महिलाहरुको लागि पनि यस्तो सहयोग आवश्यक भएको प्रहरी उपरिक्षक गौतमले बताए । महिला प्रहरीलाई यस्ता खालका सहयोगले मनोबैज्ञानिक रुपमा काम गर्न सहज हुने उनले बताए ।
प्रतिनिधिसभाको आजको बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई ‘महाअभियोग सिफारिस समिति’ मा पठाउने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।
बैठकले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६२ बमोजिम गठित समितिमा सो प्रस्ताव पठाएको हो । आजको बैठकको छलफलमा सहभागी हुँदै सांसद अमरेशकुमार सिंहले नेपालमा मात्रै नभएर विश्वका अरु विभिन्न देशमा पनि महाअभियोगको प्रयोग भइरहेको भन्दै न्यायपालिकासँगै कार्यपालिका र समग्र क्षेत्रमा रहेका विकृति हटाउन आवश्यक रहेको बताए ।
सांसद प्रमिला राईले न्यायपालिकामा ढिलासुस्ती र पहुँचका आधारमा न्याय भएकाले अनियमितता हटाउन र सबैको पहुँच स्थापित गराउन संविधानको भावनाअनुरूप स्वतन्त्र र समावेशी न्यायालय आवश्यक रहेको औँल्याए । सांसद छक्कबहादुर लामाले सत्तापक्ष र विपक्षका लागि सत्य फरक–फरक हुँदा बिचौलिया र चलखेल गर्नेहरू जन्मेर जनताले दुःख पाउने हुँदा व्यवस्थापिकाको सुशासन कायम गराउन लाग्नुपर्ने बताए ।
सांसद मीना सुब्बाले न्यायको तराजु बोक्ने व्यक्तिले श्रीमती टुक्रा–टुक्रा काट्नेलाई उन्मुक्ति दिने, भवनमा भ्रष्टाचार गर्ने र बिचौलिया राखेकाले प्रस्ताव सबै मिलेर पास गर्न अनुरोध गरे । सांसद सरलाकुमारी यादवले पदीय मर्यादाविपरीत काम गरेकाले कार्यक्षमता कमी भएको र इमान्दारीपूर्वक काम नगरेकाले महाअभियोग प्रस्ताव दर्ता भएको उल्लेख गरे । सांसद मीनेन्द्रप्रसाद रिजालले महाअभियोगको विषयले संसद्माथि पनि प्रश्न उठेको र जनतालाई उत्तर दिनुपर्ने बताए । प्रतिनिधिसभाको अर्काे बैठक आगामी मङ्गलबार (साउन २४ गते) बिहान ११ बजे बस्नेछ । राजधानीडेली डटकमबाट
मकवानपुर । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेशसभाको चुनाव घोषणा गरे सगै दल दर्ताको लागि आव्हान गरेको छ । आगामी चुनावमा चुनावी तालमेल गर्ने दलहरुले एउटै चुनाव चिन्ह लिएर चुनाव लड्न पाउने भएका छन।
निर्वाचनमा चुनावी तालमेल गरेका दलले एउटै निर्वाचन चिन्हबाट निर्वाचन लड्न खोजेमा त्यस्तो सुविधा पाउने निर्वाचन आयोगले जनाएको छ।
संयुक्त रुपमा उम्मेदवारी दिँदा सम्बन्धित उम्मेदवार कुन दलमा आबद्ध हो भन्ने चाहिँ खुलाउनुपर्नेछ । तर यसरी संयुक्त उम्मेदवारि बाट निर्वाचनमा गएपछि सबैभन्दा बढी सिट प्राप्त गर्ने दलकै सांसद मानिनेछन् ।
तालमेलमा जादा निर्वाचन आयोगलाई दल दर्ता गर्दा नै जानकारी गराउनुपर्नेछ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ मा दुई वा त्यो भन्दा बढी दलहरू एकल निर्वाचन चिन्ह लिई निर्वाचनमा भाग लिन पाउने व्यवस्था छ ।
मकवानपुर । नेपालमा थप ९ सय १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी ६ हजार ४ सय ९१ जनाको नमुना परीक्षण गर्दा ९ सय १२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार साेही अवधिमा ३ सय ७० जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण १ जनाको ज्यान गएको छ । अहिले नेपालमा ४ हजार ७ सय ६० जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।