मकवानपुर । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रले मकवानपुरले उम्मेदवारहरु चयनको लागि प्रदेश कमिटिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
जिल्ला पार्टी कार्यालय हेटौडामा आज बसेको बैठकले प्रत्यक्ष तर्फ मकवानपुरको दुई प्रतिनिधि सभा क्षेत्रमा ४ जना र प्रदेश सभा ४ वटा क्षेत्रमा १० जनाको नाम सिफारिसको लागि प्रदेश कमिटिलाई पठाउने निर्णय गरेको हो ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा संबिधान सभाका सदस्य समेत भएका पार्टी केन्द्रिय सदस्य प्रल्हाद लामिछाने र जीवन गोलेको नाम सिफारिस गरेको छ । प्रदेश सभा तर्फ क्षेत्र नम्बर १ को क र ख का लागि ५ जनाको नाम सिफारिस गरेको छ । पार्टीका अनुसार १ को क मा पार्टी प्रदेश कमिटि उपाध्यक्ष प्रेमबहादुर पुलामी मगर, केन्द्रिय सदस्य बिजय गौतम र जिल्ला समन्वय सचिब भिमबहादुर पाख्रिनको नाम सिफारिस भएको छ ।
यसैगरी ख का लागि हेटौडा उपमहानगर पार्टी अध्यक्ष तिर्थबहादुर थापा मगर र ज्ञानेन्द्र लामिछानेको नाम सिफारिस भएको छ ।
यसैगरी प्रतिनिधि सभा क्षेत्र नम्बर २ को लागि बैठकले दुई जनाको नाम सिफारिस गरेको छ । पोलिटब्युरो सदस्य समेत रहेका पार्टीको मकवानपुर जिल्ला इन्चार्ज कुमारी मोक्तान र केन्द्रिय सदस्य रामनारायण बिडारीलाई सिफारिस गरेको छ ।
प्रदेश सभाको लागि क्षेत्र नम्बर २ को क र ख मा ५ जनाको नाम सिफारिस गरेको छ । २ को क को लागि पोलिटब्युरो सदस्य कुमारी मोक्तान, उपत्यका बिशेष प्रदेश कमिटि उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे प्रलोक र प्रदेश कमिटि सदस्य लब्शेर बिष्टको नाम सिफारिस गरिएको छ ।
क्षेत्र नम्बर २ को ख का लागि प्रदेश कमिटि सदस्य ओमबहादुर ग्लान, मनहरी गाउँपालिका पार्टी अध्यक्ष रामप्रसाद कालाखेतीको नाम सिफारिस गरेको पार्टी जिल्ला समन्वय समिति सचिब भिमबहादुर पाख्रिनले बताए ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्री समेत रहेकी कुमारी मोक्तानको नाम २ ठाउँमा सिफारीस गरिएको हो ।
निर्वाचन आयोगले २०७४ सालको निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको कार्यकाल अब १२ दिन मात्रै बाँकी रहेको प्रस्ट पारेको छ ।
सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल बढाउनेगरी संघीय संसदमा विधेयक पेस गरेपछि आयोगले निर्वाचन मिति घोषणा भइसकेको र उम्मेदवारको मनोनयन दर्ताका लागिसमेत तयारी भइसकेको अवस्थामा मनोनयन दर्ताको अघिल्लो दिन नै कार्यकाल सकिने स्पष्ट पारेको हो ।
आयोगले ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची पेस गर्न २ र ३ असोजको मिति तोकेको छ । सो मितिको अघिल्लो दिन अर्थात् १ असोजसम्म मात्रै वर्तमान प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल कायम हुने आयोगको दाबी छ ।
कानुन संशोधन गरेर समय बढाउनु वाञ्छनीय छैन : आयोग
‘नेपालको संविधानको धारा २९६ को उपधारा (१) मा संविधान सभाबाट व्यवस्थापिका–संसदमा रूपान्तरण भएको सदनको कार्यकाल संवत् २०७४ साल माघ ७ गतेसम्म कायम हुने व्यवस्था गरेको थियो ।
तापनि सोही उपधाराको प्रतिबन्धात्मक वाक्यांशले कार्यकाल पूरा हुनुअगावै प्रतिनिधि सभाको निर्वाचन हुने भएमा मनोनयन पत्र दाखिला हुने अघिल्लो दिनसम्म व्यवस्थापिका–संसद् कायम रहने व्यवस्था भएको आधारमा संवत् २०७४ सालमा प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीबमोजिम उम्मेदवारको बन्दसूची पेस हुने अघिल्लो दिनसम्म मात्र व्यवस्थापिका–संसद् कायम रहेको विगतको अनुभव छ ।
यसरी कुनै सभालाई प्रतिस्थापन गर्नेगरी अर्को निर्वाचन हुने अवस्थामा निर्वाचनमा उम्मेदवारी पेस हुने अघिल्लो दिनसम्म मात्र साबिकको सभा कायम रहने सिद्धान्तलाई ग्रहण गरी सोहीबमोजिम विगतमा अभ्याससमेत गरिसकेकाले समान अवस्थामा फरक किसिमको अभ्यास गर्ने कार्य उचित देखिएन,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ ।
सो अवस्थामा आयोगसँग परामर्श नै नगरी कार्यकाल बढाउने गरी कानुन नै संशोधन गरेर अघि बढ्नु वाञ्छनीय नहुने आयोगको भनाइ छ ।
सरकारसमक्ष प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको कार्यकाल गणना गर्ने आधारसमेत खुलाई आयोगले दिएको परामर्शको आधारमा निर्वाचन मिति तोकिएको तथा निर्वाचनको तयारीका काम हुँदै गरेको अवस्थामा कार्यकालका सम्बन्धमा अन्यथा हुनेगरी कानुन संशोधन गर्नु वाञ्छनीय नहुने आयोगले स्पष्ट पारेको हो ।
आयोगले विज्ञप्तिमा संविधानमा भएको व्यवस्था’bout पनि उल्लेख गरेको छ । सो व्यवस्थाको प्रतिबन्धात्मक वाक्यांशले कार्यकाल पूरा हुनुअगावै प्रतिनिधि सभाको निर्वाचन हुने भएमा मनोनयनपत्र दाखिला हुने अघिल्लो दिनसम्म व्यवस्थापिका–संसद् कायम रहने व्यवस्था भएको उल्लेख गरेको छ ।
सो व्यवस्थाअनुसार प्रतिनिधि सभा वा प्रदेश सभाका अन्य सदस्य सोही पदको लागि हुने निर्वाचनका लागि मनोनयन पत्र पेस गर्ने मिति पछि सम्म कायम रहने गरी कानुन संशोधन गर्नु उपयुक्त नदेखिने आयोगको भनाइ छ ।
आयोगले संघीय संसद् तथा प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग समेत परामर्श गरी जारी गरेको निर्वाचन आचार संहिता, २०७९ नेपाल राजपत्रमा समेत प्रकाशन भइसकेको स्मरण गराएको छ । सो आचारसंहितामा माथि उल्लिखित सिद्धान्त, अभ्यास तथा प्रतिनिधि सभा तथा प्रदेश सभाका सभामुख र उपसभामुखको पद बहाल सम्बन्धमा भएको संवैधानिक व्यवस्था समेतको आधारमा संघीय संसद्को सदस्य, प्रदेश सभा सदस्य, गाउँ सभाको सदस्य वा नगरसभाको सदस्य पदमा बहाल रहेको व्यक्ति संघीय संसद्को सदस्य वा प्रदेश सभा सदस्य पदका लागि हुने निर्वाचनमा उम्मेदवार भएमा मनोनयनपत्र दर्ता भएपछि त्यस्तो पदबाट स्वतः पदमुक्त हुने व्यवस्थासमेत गरिएको आयोगको भनाइ छ ।
नेपालको संविधानको धारा २४६ मा निर्वाचन आयोगले संविधान र संघीय कानुनको अधीनमा रही निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने र आयोगको अन्य काम, कर्तव्य र अधिकार तथा कार्यविधि संघीय कानुनबमोजिम हुने प्रावधान रहेको सन्दर्भमा निर्वाचन आयोगसँग सम्बन्धित तथा आयोगबाट कार्यान्वयन हुने कानुन निर्माण तथा संशोधनको प्रक्रियामा आयोगको सहभागिता रहने तथा आयोगसँग परामर्श गर्ने अभ्यास रहँदै आएकोसमेत भनेको छ ।
आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४, प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ लगायतका निर्वाचनसम्बन्धी कानुन निर्माण तथा संशोधनको प्रक्रिया अघि बढाउँदा निर्वाचन आयोगसँग परामर्श र समन्वय गर्नसमेत सरकारसँग भनेको छ । राजधानी दैनिकबाट
मकवानपुर । “तिनै तहको सरकार मानवबेचविखन विरुद्ध सरोकार” भन्ने मूल नाराका साथ मानवबेचविखन विरुद्धको १६ औ राष्ट्रिय दिवसको अवसरमा मकवानपुरमा विभिन्न कार्यक्रम गरिएको छ ।
यसै बिच मानवबेचविखन विरुद्ध बालबालिकाहरुका लागि मनहरी गाउंपालिकाको प्रजाआधारभुत विद्यालय सिद्धकाली एकदिवसीय अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

मनहरी गाउंपालिका मानवबेविखन ओसारपसार नियन्त्रण वडा नं ३ स्तरीय वडा समितिको आयोजना, मनहरी गाउपालिकासंगको सहकार्य, प्रजाआधारभुत विद्यालयको व्यवस्थापन तथा हिमराइट्स मकवापुर, माइती नेपाल, शान्ति फाउण्डेशनलगायत गैरसरकारी संस्थाहरुको समन्वयमा कार्यक्रम गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक तुलबहादुर सुनारको सभाध्यक्षता तथा मनहरी गाउंपालिकाका उपाध्यक्ष रेखा पुलामी मगरको प्रमुख आतिथ्यतामामा कार्यक्रम भएको थियो । कार्यक्रममा माइती नेपालकी संयोजक माया लामा, हिमराइट्स मकवानपुर संयोजक कुमारी वाइबा, शान्ति फाउण्डेशन जिल्ला अधिकृत सिता गुरुङलगायतले सहजिकरण गरेका थिए ।
कार्यक्रममा कक्षा ६ , ७ र ८ का विद्यार्थी र शिक्षकहरुलाई मानवबेचविखनका अवधारणा, स्वरुपहरु, कारणहरु , कानुनीप्रावधानका बारेमा जानकारी गराइएको हिमराइट्स मकवानपुर संयोजक कुमारी वाइबाले बताइन् ।
मकवानपुर । आसन्न निर्वाचनमा मकवानपुरको प्रतिनिधिसभातर्फका दुई निर्वाचनमा क्षेत्रमा कांग्रेस मकवानपुरले ४ जनाको नाम सिफारीस गरेको छ । यता प्रदेशसभातर्फ ४ जनाकाे लागि २५ जनाकाे नाम सिफारीस गरेकाे पार्टीले जनाएकाे छ ।
काँग्रेस मकवानपुरले दुबै निर्वाचन क्षेत्रमा दुई–दुई जनाको नाम सिफारिस गरेको हो । नेपाली कांग्रेस मकवानपुरको आइतबार बसेको बैठकले नेपाली कांग्रेसकी सहमहामन्त्री एवम् पूर्व जलस्रोत राज्यमन्त्री महालक्ष्मी डिना उपाध्याय, नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् पूर्व गृहराज्य मन्त्री ईन्द्रबहादुर बानियाँ, नेपाली कांग्रेस मकवानपुरका पूर्वसभापति माईकल रामचन्द्र अर्याल र नेता जयराम लामिछानेको नाम सिफारिस गरेको हो ।
प्रतिनिधिसभाको दुबै निर्वाचन क्षेत्रमा यिनै चार जनामध्येबाट दुई जनालाई उम्मेदवार बनाउने गरी जिल्ला समितिले नाम सिफारिस गरेको हो ।
मकवानपुर–१ बाट प्रतिनिसधसभाका लागि समानुपातिकतर्फ १० जनाको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेस मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपाने, पूर्व कार्यवाहक सभापति विष्णुप्रसाद लामिछाने, नेताहरु गोपीलाल विक, नारायण लम्साल, सुवातसिं थिङ, सुदिप बर्तौला, राजकुमार जीएम, राजकुमार वाईबा, नेतृहरु पवित्रा विक, गीता राई र संजिता सिग्देल छन् ।
मकवानपुर–२ बाट प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ भने कांग्रेसले ५ जनाको नाम सिफारिस गरेको छ । जसमा बागमती प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री सन्तबहादुर प्रजा, नेताहरु उदयमोहन श्रेष्ठ, आनन्द कठायत, नेतृहरु उमा दाहाल र गोरीमाया लामा छन् ।
यता प्रदेशसभातर्फको ४ वटा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ चुनाव लड्न कांग्रेसले २५ जनाको नाम सिफारिस गरेको छ । प्रदेशसभाको मकवानपुर–१ क बाट प्रत्यक्षतर्फ चुनाव लड्न कांग्रेसले बागमती गाउँपालिकाका पूर्व अध्यक्ष दामोदर खनाल, नेताहरु मिठाराम दाहाल, भूमिनन्द गौतम र शिवप्रसाद खतिवडाको नाम सिफारिस गरेको छ ।
यस्तै, प्रदेशसभातर्फको मकवानपुर–१ ख का लागि प्रत्यक्षबाट चुनाव लड्न कांग्रेसले ९ जनाको नाम सिफारिस गरेको छ । जसमा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, सचिव ईश्वरकुमार पाठक, नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिकाका पूर्व सभापति आनन्दराम पराजुली, नेताहरु प्रभात कुमार दाहाल, अशोकराज शाक्य, तारानाथ चौलागाई, होमनाथ गौतम, हेटौंडा–६ का पूर्व वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई र नेतृ अञ्जना उपाध्यायको नाम सिफारीस गरेको छ ।
प्रदेशसभातर्फ मकवनपर–२ क बाट प्रत्यक्षबाट चुनाव लड्न कांग्रेसले ८ जनाको नाम सिफारिस गरेको छ । जसमा नेताहरु भीम लामा, यतिराज सापकोटा, ईश्वरनाथ पौडेल, योगेन्द्रमान श्रेष्ठ, महेन्द्र राउत, ओमबहादुर बस्नेत, रञ्जन कठायत र राज मैनालीको नाम सिफारीस गरेको जिल्ला कमिटीले जनाएको छ ।
मकवानपुर । स्थानीय तह निर्वाचन २०७८ मा गठबन्धनबाट चुनाव जितेर आएपछिको १०० दिनमा भएको प्रगतिको बारेमा जानकारी गराउँन आयोजित कार्यक्रममा हेटौंडा उपमहानगर प्रमुख मिनाकुमारी लामाले गुनासोको बेलीविस्तार लगाइन् ।
नगरप्रमुख भएर आएपछि नगरपालिकाको कार्य प्रगतितर्फभन्दा आफन्तलाई चित्त बुझाउन अग्रसर भएको आरोपप्रत्यारोप खेपिरहेकी लामाले आफैले आयोजना गरेको कार्यक्रममा आफूमाथि लागेको गुनासाहरु आफैं सार्वजनिक गरिन् ।
लामाले भ्रष्टाचारको आरोपमा जनप्रतिनिधिलाई असफल बनाउने खेल भएको आरोप लगाइन् । लामाले अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगमा बेनामी र फर्जी उजुरी हालेर जथाभावी भ्रष्टाचार भएको भन्ने आरोप हेटौंडा उपमहानगरमाथि लगाइएको बताइन् । भ्रष्टाचार भएको प्रमाणित भए आफू हदैसम्मको कारबाही भोग्न तयार रहेको लामाले बताइन् । लामाको नेतृत्व आएपछि मात्रै हेटौंडा उपमहानगरपालिकामा ५० वटाभन्दा बढी उजुरी परिसकेको लामाले बताइन् ।
हेटौंडा उपमहानगरपालिकाले एकसय दिनको प्रगति प्रतिवेदन सार्वजनिक गर्न कार्यक्रम गरेको थियो । उपमहानगरपालिकाले हेटौंडामा पत्रकार सम्मेलन गरेर आफूले अगाडि बढाएको कार्यबारे जानकारी दिएको हो ।
उपमहानगरपालिकाले यसअवधिमा प्रत्येक घरधुरीलाई दश हजार लिटर खानेपानी निः शुल्क वितरण सुरु गरेको, उपमहानगरका अतिविन्न १५४१ परिवारलाई स्वास्थ्य बीमा गरिएको नगरप्रमुख लामाले जानकारी दिइन् । यसैगरी नगरमा तीनपांग्रे सवारी पार्किङ व्यबस्थापनको पहल स्वरुप स्टिकर टास्ने कार्य सुरु लामाले बताइन् ।
नगरपालिकाले हालसम्म मयुरी ३०३ र अटो १ हजार १२२ गरी जम्मा १ हजार ४२५ तीन पांग्रे सवारीमा स्टिकर टाँसेको छ । यसैगरी रेडक्रससंग सम्झौता गरी चालु आर्थिक बर्षमा नगरबासीहरुलाई निःशुल्क रक्तसेवालाई नविकरण गरिएको जनाएको छ ।
यो सेवा अघिल्लो आर्थिक वर्षमा नै निर्णय भएको थियो । लामाको कार्यकाल सुरु भएपछि हटिया र पदमपोखरी स्वास्थ्य चौकीकोस्तर बृद्धि गरी आधारभूत अस्पतालको रुपमा सञ्चालन गरी हाललाई ओपिडि, प्रयोगशाला र स्वास्थ्य बीमाको औषधी वितरण गर्ने प्रयोजनको लागि चिकित्सक भर्ना प्रक्रिया र बीमा सेवा अनुमती प्रकृया अगाडि बढाइएको जनाइएको छ ।