मकवानपुर । बागमती प्रदेश प्रहरीले नजिकिदै गरेको बडा दशै, शुभ दिपावली र छठलगायत चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएको छ ।
बुधबार प्रत्यक्ष एवं भर्चुअल माध्यमबाट उपस्थित मातहत कार्यालय प्रमुख समेतको उपस्थितिमा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यद्वारा विशेष सुरक्षा योजना सार्वजनिक गरिएको हो । चाडपर्वको समयमा हुने अपराधिक गतिविधिहरुलाई न्युनिकरण एवं नियन्त्रण गरी बागमती प्रदेश अन्तर्गतका आम नागरिकले सुरक्षित रुपमा चाडपर्व मनाउने बातावरण तयार गर्ने अभिप्रायले विशेष सुरक्षा योजना तयार गरी बुधबारबाट लागु गरिएको प्रदेश प्रहरीले जनाएको छ ।
चाडपर्व लक्षित विशेष सुरक्षा योजना अनुरुप बागमती प्रदेश अन्तर्गतका १० वटा जिल्लाहरुमा प्रभावकारी सुरक्षा व्यवस्थापनका निमित्त अन्तराष्ट्रिय एवं प्रदेश प्रवेश गर्ने सिमा नाकामा तालिम प्राप्त प्रहरी कुकुर सहित नियमित तथा सरप्राईज चेकजाँचको व्यवस्था मिलाउने भएको छ ।
यसैगरी नियमित नियमित मोवाईल गस्ति परिचालन गर्ने, नियमित पिकेट डिउटीमा थप परिचालन गर्ने, प्रमुख धार्मिक स्थल, बैंकिङ तथा वित्तिय संस्थामा प्रहरी परिचालन गर्ने, जिल्ला प्रशासन कार्यालयसंगको समन्वयमा कालो बजारी तथा कृतिम अभाव सिर्जना गर्नेलाई नियन्त्रण गर्न बजार अनुगमनको व्यवस्था मिलाइने छ ।
चाडपर्वको बेलामा हुनसक्ने झैझगडा तथा जुवातास एवं घरेलु मदिरा नियन्त्रण गर्ने, लागु पदार्थ तथा मादक पदार्थ सेवन सम्बन्धित चेकजाँचको व्यवस्था मिलाउने, बसपार्कमा महिला प्रहरी र ट्राफिक प्रहरी सहितको यात्रु सहायता कक्ष स्थापना गरी २४ औं घण्टा प्रहरी परिचालन गर्ने तयारी भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक दिपक रेग्मीले बताए ।
सवारी दुर्घटना न्यूनिकरणका लागि नियमित राजमार्ग गस्ति परिचालन गर्ने, सवारी साधनहरुका गति नियन्त्रणका लागि राडरगन सहितको विशेष ट्राफिक चेकिङ गर्ने, प्रमुख राजमार्गहरुमा रात्रीकालिन वेश स्थापना गर्ने, साथै सुरक्षा योजना अनुसार मातहत कार्यालयबाट काम कारवाही भए नभएको सम्बन्धमा प्रदेश प्रहरी कार्यालयबाट नियमित अनुगमन एवं सुपरिवेक्षणको व्यवस्था मिलाइने रेग्मीले बताए । चाडपर्व लक्षित सुरक्षा योजना अनुरुप जनपद, ट्राफिक तथा सादा पोशाकमा समेत गरी जम्मा ५ हजार ३ सय ३२ जना प्रहरी टोली परिचालित हुनेछन ।
यसै कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले विशेष सुरक्षा योजनामा उल्लेख गरिएका गतिविधिहरुलाई प्रभावकारी कार्यान्वयन गर्नुका साथै चाडपर्वको समयमा हुन सक्ने संभावित अपराधहरुको न्युनिकरणमा आ–आफ्नो कार्यालयले तोकिएको संख्यामा प्रहरी परिचालनको लागि आवश्यक निर्देशन दिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई प्रमाणीकरण नगरेपछि विधेयक स्वतः निश्कृय भएको छ । संसदले दोस्रो पटक पारित गरेर स्वीकृतिको लागि सो विधेयक राष्ट्रपति समक्ष पठाएको थियो ।
राष्ट्रपतिले मंगलबार राती १२ बजेसम्म पनि सो विधेयक प्रमाणीकरण नगरेपछि विधेयक स्वतः निश्कृय भएको हो । संसद्बाट पारित भएर दोस्रोपटक आएको विधेयकलाई १५ दिन भित्र प्रमाणीकरण गर्नुपर्ने कानुनी व्यवस्था भएपनि राष्ट्रपतिले भने सो विधेयक राष्ट्रिय स्वाभिमान विपरित रहेको भन्दै प्रमाणीकरण गर्न अस्वीकार गरेकी हुन् ।
राष्ट्रपतिको सो कदम पछि समर्थन र विरोधमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् । पहिलो पटक प्रमाणीकरणका लागि पेस भएको विधेयकलाई राष्ट्रपति भण्डारीले संसदलाई सुझाव सहित पुनर्विचार गर्नका लागि फर्काएकी थिइन् तर संसद्ले राष्ट्रपतिको सुझावलाई पुरै वेवास्ता गर्दै दोस्रोपटक पारित गरी राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पेस गरेको थियो ।
नागरिकता विधेयक प्रमाणीकरणका लागि उनी कहाँ दोस्रोपटक पेस भएको मंगलबार राती १२ बजे १५ दिन नाघेको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले नागरिकता विधेयक राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पेस भएको मंगलबार संविधानले तय गरेको १५ दिन पुगेको जानकारी दिए । राष्ट्रपति कार्यालय स्रोतले सो विधेयक प्रमाणिकरण नभएको जानकारी दियो ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट दोस्रोपटक पारित भएको विधेयक सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पेस भएको थियो । नागरिकता विधेयक राष्ट्रपतिले पुनर्विचार गर्न आवश्यक ठानेर गत साउन २९ गते प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् । उक्त सन्देशसहितको विधेयकमाथि प्रतिनिधिसभामा छलफल भएर जस्ताको तस्तै पारित भएको थियो ।
यस क्रममा राष्ट्रपतिले विभिन्न कानुनविद् तथा नागरिक समाजका अगुवा सँग समेत विधेयकका ’boutमा छलफल गरेकी थिइन् । नागरिक अगुवाहरुले सो विधेयक यही अवस्थामा कुनै हालतमा पनि प्रमाणीकरण नगर्न राष्ट्रपतिलाई सुझाव दिएका थिए ।
राष्ट्रपति भण्डारीले साउन २९ मा नागरिकता विधेयक संसदमा नै फिर्ता गर्दा लेखेको सन्देशमा वैवाहिक अंगीकृत नागरिकता विधेयकको व्यवस्था, प्रादेशिक पहिचान तथा आमाको नामबाट नागरिकता जारी गर्न हुने महिलाको आत्मसम्मानमा चोटका विषय उठान गरेकी थिइन् ।
उनको सबैभन्दा ठुलो असहमति नै वैवाहिक अंगीकृत नागरिकता र आमाको नामबाट नागरिकता लिँदा सरकारी अधिकारीसामू गर्नुपर्ने स्वघोषणाको विषय थियो ।यो विषयलाई पुर्नविचार गर्नुपर्ने सुझाव राष्ट्रपतिको थियो तर संसदले राष्ट्रपतिको सो सुझावलाई पूर्ण रुपमा वेवास्ता गरेको थियो । राजधानी दैनिकबाट
मकवानपुर । हाल मकवानपुर जिल्लाकाे अधिकाश भागमा बर्षा भइरहेकाे छ । बागमती प्रदेशमा सामान्य वदली रहेकाे जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । मकवानपुरमा साेमबार साँझ परेकाे वर्षाकाे कारण त्रिभुवन राजपथ अवरुद्ध भएकाे छ । भिमफेदी १ काे बागझाेरा खाेलामा आएकाे बाढीकाे कारण यातायता अवरुद्ध भएकाे हाे
मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थानको आसपासमा अवस्थित रहेकोले हाल प्रदेश १, मधेश प्रदेशमा समेत सामान्य बदली रहेका तथा बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ।
महाशाखाका अनुसार सोमबार राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाले असोज ४ गते मंगलबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ जनाएकाे छ । प्रदेश १, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
यसैगरी असोज ५ गते बुधबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
माैसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेकाे छ । सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहने साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन समेत महाशाखाले आग्रह गरेकाे छ।
मकवानपुर । नेपाली चलचित्र ‘ऐना झ्यालकाे पुतली’ ओस्कार अवार्डकाे लागि सिफारिस भएकाे छ । मकवानपुरे निर्देशक सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ अमेरिकामा अर्को वर्ष हुने ओस्कार अवार्डको ९५ औं संस्करणका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सिफारिस गर्ने निर्णय गरेको हाे ।
विमल पौडेलको अध्यक्षतामा रहेकाे आठ सदस्यीय इन्टरनेसनल फिचर फिल्म छनोट समितिको सोमबार बसेको बैठकले समितिलाई प्राप्त फिल्ममध्येबाट ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गरेको हो । अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले ओस्करको प्रतिस्पर्धामा सामेल हुन इच्छुक फिल्मकर्मीलाई २०७९ भदौ ३० गतेभित्र फिल्म बुझाउन सूचना प्रकाशित गरेकाे थियाे । नेपालबाट दिनेश राउत निर्देशित प्रकाश, सुवर्ण थापा निर्देशित राधा र बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ले सहभागिताका लागि आवेदन दिएका थिए ।
समितिले प्राप्त तीन फिल्ममध्ये सिनेमाको प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता आदि पक्षलाई ख्याल गरी ‘ऐना झ्यालको पुतली’लाई सिफारिस गर्ने निर्णय गरेको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले विज्ञप्तिमा जनाइएको छ ।
ओस्कर अवार्ड आगामी १२ मार्चमा लस एञ्जल्सको डल्बी थिएटरमा हुनेछ । नेपालमा पौडेलको अध्यक्षतामा इन्टरनेसनल फिचर फिल्म छनोट समिति समितिमा लक्ष्मीनाथ शर्मा, प्रदीपकुमार उपाध्याय, राजेन्द्र शलभ, राजुविक्रम थापा, सामीप्यराज तिमल्सेना, लोकेन्द्र पराजुली ‘कपील’, चिरञ्जीवी गुरागाईं सदस्य रहेका छन् । ऐेना झ्यालकाे पुतली गत भदाै २४ गतेबाट सिनेमा हलहरुमा प्रदर्शनमा आएकाे हाे ।
मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलद्वारा ६ लाख रकमसहति रंगेहात पक्राउ परेका उपसचिव प्रमोद नेपालविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन मन्त्रालयमा कार्यरत उपसचिव नेपाल विरुद्ध ६ लाख रुपैयाँ कायम गरी जरिवानाको सजाय र कैद सजाय मागदावी गरिएको छ ।
प्याराग्लाईडिङ्ग सञ्चालन अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराइदिने भन्दै उनले सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको थियो । उनी चढ्ने गाडी खान तलासी गर्दा थप १६ लाख ५० हजार पनि बराम बरामद गरिएको थियो । अनुसन्धानको सिलसिलामा उप सचिव नेपालले सेवाग्राहीसँग प्याराग्लाईडिङ्ग सञ्चालन गर्न सञ्चालन अनुमतिपत्र (लाईसेन्स) दिने क्रममा घुसररिसवत लिएको पुष्टि भएको अख्तियारको भनाइ छ ।
सोही आधारमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर नेपालले गरेकाे हुँदा उनलाई बिगो ६ लाख रुपैयाँ कायम गरी ऐन अनुसार जरिवानाको सजाय र सोही ऐन अनुसार कैद सजाय मागदावी गरिएको आयोगले जनाएकाे छ ।
श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन महाशाखामा कार्यरत प्राविधिक उप-सचिव प्रमोद नेपाल र बि.बि. एयरवेज प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठ उपर घुस/रिसवत लिई/दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
प्रेस विज्ञप्ति :- मिति २०७९।०६।०२ गते ।
श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन महाशाखामा कार्यरत प्राविधिक उप-सचिव प्रमोद नेपाल र बि.बि. एयरवेज प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठ उपर घुस/रिसवत लिई/दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन महाशाखाका उप-सचिव प्रमोद नेपालले प्याराग्लाईडिङ्ग सञ्चालनको लागि अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग रु.६,००,०००।– घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज उप-सचिव प्रमोद नेपाललाई सेवाग्राहीसँग रु.६,००,०००।– (छ लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त घुस रकमसहित काठमाडौं महानगरपालिका, वडा नं. १ मनकामना मार्ग स्थित Hotel Aranya को कम्पाउण्डबाट नियन्त्रणमा लिई निजले प्रयोग गरेको गाडी खानतलासी गर्ने क्रममा श्रोत नखुलेको थप रकम रु. १६,५०,०००।– (सोह्र लाख पचास हजार रुपैयाँ) गरी जम्मा रु.२२,५०,०००।- (बाइस लाख पचास हजार रुपैया) बरामद गरिएको थियो ।
अनुसन्धानको सिलसिलामा श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन महाशाखामा कार्यरत प्राविधिक उप-सचिव प्रमोद नेपालले सेवाग्राहीसँग प्याराग्लाईडिङ्ग सञ्चालन गर्न सञ्चालन अनुमतिपत्र (लाईसेन्स) दिने क्रममा घुस/रिसवत माग गरी रु.६,००,०००।– घुस/रिसवत लिएको पुष्टि हुन आएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको हुँदा निज प्रमोद नेपाललाई बिगो रू.६,००,०००।– (अक्षेरुपी छ लाख रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवानाको सजाय र सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम कैद सजाय हुन मागदावी लिइएको छ ।
प्रमोद नेपालले आफू वहाल रहेको पदअनुसार बि.बि. एयरवेज प्रा.लि.को इजाजत नवीकरण सम्बन्धित कार्य सम्पादन गरेकोमा निजले सोही कार्यसम्पादन गरेको बि.बि. एयरवेज प्रा.लि.को प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठसँग रु.१६,५०,०००।–सापटी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५ को उपदफा (१) बमोजिमको कसुर गरेको हुँदा निज प्रमोद नेपाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५ को उपदफा (१) अनुसार कैद सजाय गरी रु.१६,५०,०००।–(अक्षेरुपी सोह्र लाख पचास हजार रुपैयाँ) सोही ऐनको दफा ५(१) बमोजिम जफत गरी पाउनसमेत मागदावी लिइएको छ ।
साथै, बि.बि. एयरवेज प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठले आफू वहाल रहेको बि.बि. एयरवेज प्रा.लि.को इजाजत नवीकरण सम्बन्धित कार्यसम्पादन गरेका प्रमोद नेपाललाई रु.१६,५०,०००।- सापटी दिई निजलाई लाभ पुर्याउने कार्य गरी निज प्रमोद नेपालले गरेको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५ को उपदफा (१) बमोजिमको कसुरमा ऐ.ऐनको दफा २२ बमोजिम मतियारको भूमिका निर्वाह गरेको हुँदा बि.बि. एयरवेज प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठ उपर सोही ऐनको दफा ५ को उपदफा (१) ले हुने सजायमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धत्माक वाक्यांशबमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।
प्रवक्ता
श्याम प्रसाद भण्डारी