प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय मधेस दौडाहामा छन् । ओलीको मधेस दौडाहाका क्रममा उनले धमाधम मधेसवादी दलका प्रभावशाली नेतालाई एमालेमा भित्र्याउने कामसमेत गरिरहेका छन् ।
पछिल्लो समय जनता समाजवादी पार्टी नेपाल (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का प्रभावशाली नेता, पूर्वमन्त्री, पूर्वसांसद, पूर्वपालिका प्रमुखसहित जिल्लामा शक्तिशाली मानिएका नेतालाई एमालेमा भित्र्याउन ओली सफल देखिएका छन् ।
मधेस प्रदेशको राजधानी जनकपुरधाममा ओलीको बाक्लो आउजाउ भएको देखिन्छ । शनिबार नै धनुषाको तीन कौरियामा पुगेर उनले लोसपाका निवर्तमान सांसद एवं सचेतक उमाशंकर अरगरियालाई एमालेमा प्रवेश गराए ।
त्यसअघि, उनले लोसपा, जसपाका अन्य प्रभावशाली नेतालाई एमालेमा भित्र्याइसकेका छन् । हृदयेश त्रिपाठीको तत्कालीन ‘स्वतन्त्र राजनीतिक समूह’बाट सांसद भएका वृजेशकुमार गुप्ता, जसपाका सांसदद्वय अमृता अग्रहरी र रुही नाज एमाले प्रवेश गरिसकेको एमाले स्थायी कमिटीका सदस्य प्रभु साहले बताए । ओलीसँगै साहसमेत मधेसवादी दलका नेतालाई एमालेमा भित्र्याउने आन्तरिक रणनीति तय गर्दै अघि बढेको देखिन्छ ।
प्रतिनिधिसभाका निवर्तमान सांसदमध्ये वृजेशकुमार गुप्ता २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सूर्य चिह्न लिएर स्वतन्त्रका तर्फबाट कपिलवस्तु– २ बाट निर्वाचित भएका थिए । यसैगरी, जसपाका केन्द्रीय कार्यकारिणी समितिका सदस्य रहेकी अग्रहरी र रुही नाज समानुपातिकबाट प्रतिनिधिसभाका सदस्य भएका थिए । उता, लोसपाका केन्द्रीय सदस्य तथा मधेस प्रदेशसभाका निवर्तमान सांसद प्रल्हाद गिरीसमेत एमाले प्रवेश गरेका छन् ।
‘त्रिपाठी समूह’बाटै लुम्बिनी प्रदेश संसद्मा कपिलवस्तु– २ ‘ख’बाट जितेका धर्मबहादुर श्रीवास्तव पनि एमालेमै प्रवेश गरिसकेका छन् । जसपाकी मधेस प्रदेश सांसद डा रिना यादव केही समयअघि एमालेमा प्रवेश गरेकी हुन् । प्रदेश विकास संसदीय समिति सभापति भइसकेकी उनी तत्कालीन राजपाबाट समानुपातिक सांसद भएकी थिइन् ।
यसैगरी, जसपाकै लुम्बिनी प्रदेश सांसद विजयबहादुर यादव पनि एमाले प्रवेश गरेका छन् । प्रभावशाली नेतामा जसपाका केन्द्रीय सदस्य मंगलप्रसाद गुप्ता सबैभन्दा पहिले एमालेमा प्रवेश गरेका थिए । त्यसपछि जसपाबाटै वीरगन्ज महानगरका तत्कालीन प्रमुख विजय सरावगी, जसपाका नेता पशुपति दयाल मिश्र, रामकुमार दीक्षित, पूर्वमन्त्री खोभारी राय, संघीय परिषद् सदस्यद्वय भोला मिश्र र अमरेन्द्रकुमार झा, लोसपाका केन्द्रीय सदस्य डा रामबाबु तिवारी, गौरका पूर्वप्रमुख अजयकुमार गुप्ता, माओवादी केन्द्रका नेता तथा पूर्वराज्यमन्त्री रामसिंह यादव र कांग्रेसका पूर्वजिल्ला उपसभापति दिनानाथ साहसहितका नेता एमालेमा प्रवेश गरिसकेका छन् ।
यसैगरी, जसपाका नेता तथा लक्ष्मीपुर पतारी गाउँपालिकाका पूर्व अध्यक्ष रामबलभ साह, एकीकृत समाजवादीका मुस्लिम इत्तेहाद संघका केन्द्रीय सदस्य सेख मोफिद, युवा संघ गौर नगर कमिटीका अध्यक्ष मोहम्मद इमरान र मोहम्मद जियाउल हक एमालेमा प्रवेश गरेका थिए । यसैगरी, लोसपाबाट संविधानसभा सदस्य भएका चन्दन साहसमेत एमाले प्रवेश गर्ने नेता हुन् ।
यस्तै, लोसपा केन्द्रीय सदस्य अरबिन्द साह, सर्लाही जिल्ला समन्वय समितिका पूर्वप्रमुख मेथुर चौधरी र मलंगवा नगरपालिकाका पूर्वनगरप्रमुख निरशल साह, एकीकृत समाजवादीका धनुषा जिल्ला अध्यक्ष सोमप्रसाद शर्मा, नेपाली कांग्रेसबाट गाउँपालिकाका पूर्व उपाध्यक्ष तथा नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि किरणदेवी गुप्ता, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं गाउँपालिकाका पूर्व अध्यक्ष निरराज गिरी पनि एमालेमा प्रवेश गरेका थिए ।
यी नेतासँगै सोही पार्टीका सयौं नेतासमेत एमाले पार्टी प्रवेश गरेको एमाले केन्द्रीय सदस्य एवं कार्यालय सचिव डा भीष्म अधिकारीले बताए । एमालेमा प्रवेशको लहर देखेर अध्यक्ष ओली उत्साहित भएका छन् । विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्न थालेपछि आगामी निर्वाचनमा विपक्षी दलको गठबन्धन निर्माण गरेर सरकार सञ्चालन गर्नेमा अध्यक्ष ओली ढुक्क छन् ।
एमाले पोलिटब्युरो सदस्य एवं प्रचार विभागका उपप्रमुख विष्णु रिजालले पछिल्लो समय विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेको लहर चलेको बताए । जिल्लादेखि केन्द्रीय कार्यालयसम्म दिनहँु पार्टी परिवेशको कार्यक्रम भइरहेको उनले बताए ।
एमालेबाट विद्रोह गरी गठन भएको एकीकृत समाजवादीका नेताहरू एमालेमा प्रवेश गर्न थालेपछि अध्यक्ष ओलीले आगामी चुनावसम्ममा एकीकृत समाजवादीमा कार्यकर्ता नै नरहने ठोकुवा गर्दै आएका छन् ।
गत महिना पोखरामा नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै ओलीले चुनावसम्ममा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल कार्यकर्ताविहीन हुने दाबी गरेका थिए । ‘तपाईंहरूलाई यो भविष्यवाणी मिल्दैन कि भन्ने लाग्यो होला, नोट गरेर राख्नुस् । चुनावसम्ममा माधव नेपालसँग आपूmबाहेक कार्यकर्ता नै रहँदैनन्’ ओलीले भनेका थिए ।
एमालेको ध्यान गठबन्धनतर्फ
विभिन्न पार्टीबाट नेता कार्यकर्ता एमालेमा भित्र्याउँदै एमालेलाई थप शक्तिशाली बनाउने योजनामा ओली छन् ।
आगामी निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनलाई परास्त गर्न एमालेले भित्रभित्रै विपक्षी दलको गठबन्धन निर्माणमा सक्रिय रहेको छ ।
एमालेले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल), जनता प्रगतिशील पार्टी नेपाल (जप्रपा), तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)सहितका दलसँग चुनावी गठबन्धन बनाउने आन्तरिक गृहकार्यमा जुटेको छ ।
सत्तारूढ नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा) र राष्ट्रिय जनमोर्चाको पाँच दलीय गठबन्धन रहेको छ । पाँच दलीय गठबन्धन अहिले सिट बाँडफाँटको आन्तरिक छलफलमा व्यस्त छ ।
एमाले अध्यक्ष ओली आफंै गठबन्धन निर्माणका लागि आन्तरिक छलफलमा छन् । एमाले स्रोतका अनुसार अध्यक्ष ओलीले लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जप्रपा अध्यक्ष हृदयेश त्रिपाठी, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतका नेतासँग छुट्टाछुट्टै छलफल गरिरहेका छन् । राजधानी दैनिकबाट
मुलुकको पर्यटकीय सुन्दर नगरी पोखरामा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्ररूपमा अघि बढेको छ । प्रतियोगितालाई भव्यरूपमा सम्पन्न गर्न मूल आयोजक राष्ट्रिय खेलकुद परिषद्, सातै प्रदेशका खेलकुद मन्त्रालय र मातहतका निकायको सक्रियाता बढाइएको युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर शर्माले जानकारी दिए ।
उनले भने, “हामी नवौँ राष्ट्रिय खेलकुदको नजिक आइपुगिसकेका छौँ । प्रतियोगिता सुरु हुन अब २० दिन मात्र बाँकी छ । अब बाँकी तयारीलाई घनिभूतरूपमा पूर्णता दिने, कहीँकतै कमी–कमजोरी देखिए सुधार गर्दै समन्वय र सहकार्यलाई बलियो तुल्याइनेछ ।” प्रतियोगिताका सन्दर्भमा गठन भएका समिति र उपसमितिले आ–आफ्नो कार्य जिम्मेवारीलाई तीव्र तुल्याएको जानकारी दिइएको छ । मन्त्रालयले पनि सरोकारवाला र निजी क्षेत्रसँग छलफल गरी प्रतियोगिताका लागि प्रायोजन गर्ने वातावरण बनाएको छ । राष्ट्रपतिलाई प्रतियोगिता उद्घाटन तथा प्रधानमन्त्रीलाई समारोहमा सरिक हुन मन्त्रालयले केही दिनभित्रै औपचारिकरूपमा अनुरोध गर्नेछ ।
यसबीचमा प्रतियोगिताका लागि तयार गरिएको ‘राष्ट्रिय रनिङ ट्रफी’लाई देशका सातै प्रदेश र विभागीय टिमको मुकाम पु¥याएर देखाउने काम भइरहेको छ । उक्त ट्रफी केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिकीकरण गर्नुभएको थियो । सचिव डा रेग्मी भन्छन, “खेलाडीको नाम दर्ता गराउने प्रक्रिया भइसकेको छ, वास्तविक सङ्ख्या परिषद्बाट केही दिनमै सार्वजनिक हुनेछ । प्रतियोगिताका लागि आवश्यक सामग्री सार्वजनिक खरिद प्रक्रियाअनुसार नै अघि बढिसकेको छ ।” खेलाडी, प्रशिक्षक, अफिसियल र अतिथिसहित करिब १० हजारको सङ्ख्यामा सहभागी हुने व्यक्तिलाई आवास व्यवस्थापनको चुनौतीलाई सहज तुल्याउँदै मन्त्रालयले प्रतियोगितालाई खेलउत्सवका रूपमा व्यवस्थित र ऐतिहासिक तुल्याउने ढङ्गबाट तयारी गरिरहेको छ ।
पहिलोपटक प्रदेशिक आधारमा हुन लागेको प्रतियोगितामा सहभागी ११ वटै टोलीका खेलाडीको सहभागिता बढाएर पदकमाथि प्रभुत्व जमाउने हिसाबले अन्तिम तयारीमा जुटिरहेका छन् । प्रतियोगितामा सात प्रदेशका सात, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल तथा गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को टिमबीच प्रतिस्पर्धा हुनेछ । यसअघिका प्रतियोगितामा पदकमाथि विभागीय टोलीले कब्जा जमाउँदै आएको थियो ।
यसपटक भने विभागीय टोलीलाई प्रदेश टोलीले चुनौती खडा गर्ने अनुमान गरिएको छ । प्रतियोगिता सञ्चालनका क्रममा प्रस्तुत हुने झाँकीले प्रदेशको पहिचान उजागर गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन योगदान पुर्याउने छ । प्रतियोगितामा तीन हजार छ सय ८५ महिलासहित सात हजार सात सय ९० खेलाडीले विभिन्न ३६ खेल विधामा प्रतिस्पर्धा गर्ने प्रतियोगिता आयोजक कार्यकारिणी समितिका सदस्यसचिव फणिन्द्र पौडेलले जानकारी दिए ।
नेपालको खेलकुदको इतिहासमा पोखरामा ३९ वर्षपछि दोस्रोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेको हो । प्रत्येक टोलीबाट कम्तीमा तीन सय ३५ महिला र तीन सय ७४ पुरुष खेलाडीको सहभागिता रहने छ । प्रतियोगिताका खेल नवौँ राष्ट्रिय खेलकुदमा फुटबल, क्रिकेट, टेनिस, एथलेक्टिस, भारत्तोलन, सुटिङ, ब्याडमिन्टन, टेबल टेनिस, बक्सिङ, भलिबल, बुद्धिचाल, खोःखो, कराँते, जिम्न्याष्टिक, पौडी र कबड्डी खेल समावेश गरिएका छन् ।
त्यस्तै हयाण्डबल, जुडो, कुस्ती, कराते, सफ्टटेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, आइटिएफ तेक्वान्दो, सेपाताक्रोे, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथलन र प्याराग्लाइडिङ पनि प्रतियोगितामा समेटिएका खेल हुन् । प्रतियोगिता धेरैभन्दा धेरै खेलाडीबीच प्रतिस्पर्धा होस् भन्ने हेतुले खेलाडी तयार गर्न प्रत्येक प्रदेशलाई रु ४९ लाखका दरले रकम उपलब्ध गराएको थियो ।
प्रतियोगिताअन्तर्गत व्यक्तिगत प्रतिस्पर्धामा स्वर्ण पदक विजेतालाई रु २५ हजार तथा सामूहिकतर्फका स्वर्णधारीलाई रु १५ हजार पुरस्कार प्रदान गरिने मन्त्रालयले जनाएको छ । चार सय आठ प्रतिस्पर्धा हुने प्रतियोगिताका लागि तीन सय ९३ स्वर्ण, तीन सय ९३ रजत र छ सय कास्य पदकको यसअघि नै तय भइसकेको छ । पोखरा घुम्नका लागि अन्यन्तै अनुकूल मौसम र वातावरणमा हुन लागेको प्रतियोगिताले पोखराको सौन्दर्य प्रवद्र्धन गर्न थप योगदान पुर्याउने छ । राजधानीडेली डटकमबाट
निर्वाचन आयोगले ४ मंसिरका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि कर्मचारी सरुवा नगर्न सरकारलाई निर्देशन दिएको छ ।
आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै ६ असोजदेखि निर्वाचन सम्पन्न नहुन्जेलसम्म आयोगको ‘अनुमति नलिई कुनै पनि कर्मचारी सरुवा नगर्न र नगराउन’ सरकारलाई निर्देशन दिएको हो । ‘जथाभावी कर्मचारी सरुवा गर्दा समग्र निर्वाचन व्यवस्थापनमा प्रतिकूल प्रभाव पर्ने’ उसले जनाएको छ ।
विज्ञप्तिमा ‘५ असोजसम्म सरुवा भइसकेका कर्मचारीका हकमा भने तत्काल रमाना दिई ९ असोजसम्ममा सम्बन्धित कार्यालयमा हाजिर भइसक्ने व्यवस्था गर्न’ सरकारलाई निर्देशन दिइएको छ ।
‘२०७९ मंसिर ४ गते हुने निर्वाचनका लागि यही असोज ६ गतेदेखि अस्थायी मतदाता नामावलीमा कर्मचारीको नाम समावेश गर्ने प्रक्रिया प्रारम्भ भएको छ,’ आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस अवस्थामा विभिन्न तहका सरकार तथा सार्वजनिक निकायले कर्मचारी सरुवा गरिदिँदा अस्थायी मतदाता नामावली संकलनको कार्यमा बाधा उत्पन्न हुने देखिन्छ ।’
आयोगले ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत नेपाल सरकार, सातै प्रदेश सरकार र ७ सय ५३ वटै स्थानीय सरकारसहित सबै सार्वजनिक निकाय’लाई यस्तो निर्देशन दिएको हो । समाचार राजधानी दैनिकबाट
मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका ६ जुरीखेतमा विहीबार दिउँसो बस दुर्घटनामा ज्यान गुमाएका २ जनाको अझै पहिचान खुलेका छैन ।
दुर्घटनामा मृतक ७ जना मध्य अहिले सम्म ५ जनाको पहिचान भएको छ । अरु २ जनाको अझै पहिचान खुल्न सकेको छैन । मृतक मध्यमा नुवाकोट घर भएका ३३ वर्षीय रघुराज न्यौपाने, बाराका ३३ बर्षीय अब्दुल्लाहा मिया ठकुराई, बारा जितपुरका २५ बर्षिय शेख अरमान, मकवानपुर गढी–२ का ४३ वर्षीय मदन बिक र विरगंज ३१ पर्साका ४२ वर्षीय हृदय नारायण पंजियार रहेको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए ।
काठमाडौंबाट हेटौंडाका लागि छुटेको ना ३ ख ७८५८ नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको हो । ओरालो बाटोमा माथिल्लो घुम्तिबाट खसेको बस तल्लो घुम्तीमा पुगेर अड्डिएको छ । करीब ६० मिटर तल बस झर्दा बसमा सबार ६ जनाको घटना स्थलमै र एक जनाको उपचारार्थ हेटौंडा ल्याउँदै गर्दा बाटोमा ज्यान गएको थियो ।
दुर्घटना हुँदा बसमा ठोक्किएर बाराबाट काठमाडौं जाँदै गरेको मधेस प्रदेश–०३–००१ ज ०२७१ नम्बरको सुमोमा ठोक्किएको थियो ।
बस दुर्घटनामा घाइते भएका २५ जना मध्यमा १९ पुरुष, ४ महिला र २ बालिका रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा ४ जना गम्भिर अवस्थामा रहेकाहरुलाई पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । अरुको हेटौंडाका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता कागजको खोस्टो मात्र नभएकोले विवाह गरेर ल्याएको भोलिपल्टै नागरिकता दिने कुरामा सहमत हुन नसकिने बताएका छन् ।
चुनाव केन्द्रित कार्यक्रममा गृहजिल्ला मकवानपुरमा ब्यस्त रहेका थापाले मकवानपुरको बकैया गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । “प्रत्येक नेपालीले नागरिकता पाउनुपर्छ, जन्मसिद्ध नेपाली नागरिकका सन्तानले सहजरुपमा नागरिकता पाउनुपर्छ” अध्यक्ष थापाले भने ।
विवाह गरेर ल्याएको भोलिपल्ट विदेशीलाई नागरिकता दिने व्यवस्था भएको विधेयकलाई स्विकार गर्न नसकिने उनले बताए । राजनितीदलहरु तथा युवाहरु राजनीतिक स्वार्थको गोटि बन्न थालेपछि यस्ता सवाल आएको उनले बताए ।
सरकार र दलहरुको मर्यादाहिन व्यवहारको कारण संविधानले सकारात्मक परिवर्तन दिन नसकेको टिप्पणी गर्दै थापाले
लोकतन्त्रको आवरणमा ब्रम्हलुट र सर्वसत्तावादी प्रवृत्ति हावी भएको बताए ।
संविधान पतन हुनबाट जोगाउन दलहरुको व्यवहारमा सुधार अनिवार्य भएको भन्दै थापाले धर्मनिरपेक्षता र प्रदेश तहको खारेजी आवश्यक भएको समेत बताए ।
चुनावि तयारीको लागि मकवानपुर जिल्लाको बकैया गाउँपालिका पुगेका थापाले
पार्टीको गाउँ कमिटीको कार्यालय समेत उद्घाटन गरे ।