मकवानपुर । आमनिर्वाचन मतपरिणाम पूर्ण रूपमा आइसकेपछि राजनीतिक दल समानुपातिक उम्मेदवार टुंगो लगाउने सकसमा छन् । समानुपातिक उम्मेदवारको नामावली टुंगो लगाउने क्रममा व्यापक चलखेलसमेत भइरहेको बुझिएको छ । शक्ति र पैसाको बलमा समानुपातिक सांसद बन्न उम्मेदवार शीर्षनेताका घरदैलो धाउन व्यस्त छन् ।
निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँट गरेर ‘दलहरूलाई समावेशी क्लस्टरअनुसार नाम बुझाउन’ पत्राचार गरेपछि शीर्षनेताका घरदेखि पार्टी कार्यालयसम्म दौडधुप बढेको हो । समानुपातिक उम्मेदवार रहेका नेता अहिले राजनीतिक दलका शीर्षनेता एवं घरमा पुगेर ‘सांसद सुनिश्चितता’का लागि दबाब दिइरहेका छन् ।
आयोगले आज शनिबारसम्ममा ३३ प्रतिशत महिला तथा अपांगता भएका व्यक्ति, अल्पसंख्यक र पिछडिएको क्षेत्रसमेतको प्रतिनिधित्व हुनेगरी ‘समावेशी समूह’अनुसार बन्दसूचीबाट नाम माग गरेको हो । संविधानले सुनिश्चित गरेको समानुपातिक समावेशी सिद्धान्तअनुसार दलहरूले पाएको सिट ६ वटा समावेशी समूहमा बाँडेर प्रतिनिधित्व गराउनुपर्छ ।
खस–आर्य ३१.२५ प्रतिशत, आदिवासी जनजाति २८.७५ प्रतिशत, थारू ६.६५ प्रतिशत, दलित १३.८५ प्रतिशत, मधेसी १५.३५ प्रतिशत र मुस्लिम ४.४५ प्रतिशत प्रतिनिधित्व गराउनुपर्छ । तर, महिला छनोट गर्दा कुनै निश्चित ‘क्लस्टर’बाट यति नै पु¥याउनुपर्छ भन्ने बाध्यकारी व्यवस्था नभएकाले राजनीतिक दलले ‘चलखेल गर्न पाउने’ अवस्था रहन्छ ।
संघीय संसद्मा एकतिहाइ महिला सुनिश्चित हुनुपर्ने संवैधानिक व्यवस्था छ, तर समानुपातिकबाट महिला छान्दा ‘कुन क्लस्टरबाट कति ल्याउने ?’ भन्ने किटान नभएकाले दलहरूलाई खेल्ने ठाउँ रहेको छ । ‘कुन क्लस्टरबाट कति महिला छनोट हुने हो ?’ त्यसको असर अन्य क्लस्टरमा पनि पर्छ। त्यसैले समानुपातिकतर्फ बन्दसूचीमा रहेका नेताको दौडधुप भइरहेको छ ।
आयोगका अनुसार ‘समावेशी समूहअनुरुप नामावली पठाउन’ भनिए पनि संविधानले सुनिश्चित गरेको एकतिहाइ महिला, अपांगता भएका व्यक्ति, अल्पसंख्यक र पिछडिएको क्षेत्रको प्रतिनिधित्वका हकमा दललाई विशेषाधिकार छ । यही टेकेर नेतृत्वले खेल्न पाउने भएपछि बन्दसूची माथिल्लो क्रममा रहेका उम्मेदवारले ‘आफू सांसद बन्न दलभित्र लबिङ’ थालेका हुन् । कतिपय दलका उम्मेदवारले सार्वजनिक रूपमै असन्तुष्टि पोख्दै नेतृत्वलाई खबरदारीसमेत गरेका छन् ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया दलहरूलाई ‘खेल्ने ठाउँ भए पनि बढीभन्दा बढी समावेशी प्रतिनिधित्व होस्’ भन्नेमा आयोगको जोड रहेको बताउ“छन्। ‘कुन क्लस्टरबाट कति संख्या आउने ? भन्ने कुन क्लस्टरबाट कसलाई छनोट गर्छन्, त्यसले निर्धारण गर्छ । दलहरूलाई बन्दसूचीमा खेल्ने यही ठाउँ हो । तर, आयोगको चाहना बढीभन्दा बढी समावेशी प्रतिनिधित्व गरुन् भन्ने हो ।’
जनमतको टुंगियो
जनमत पार्टीले समानुपातिकमा पाएको सिटमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको नामावली टुंगो लगाएको छ । काठमाडौं कोटेश्वरस्थित होटलमा शुक्रबार बसेको केन्द्रीय समिति बैठकले समानुपातिक सांसदको नाम टुंगो लगाएको हो । बैठकले प्रतिनिधिसभामा पाँच जनाको नाम टुंगो लगाएको छ । निर्वाचन आयोगमा पेस सांसदको क्लस्टरमा चार महिला र एक मुस्लिम समुदायका छन् ।
धनुषाबाट अनितादेवी साह, मोरङबाट सोनु मुर्मु, सिराहाबाट विनिताकुमारी सिंह, महोत्तरीबाट गोमा सापकोटा र बर्दियाबाट अब्दुल खान समानुपातिकतर्फका सांसद बनेका छन् । दुई आदिवासी जनजाति, एक मधेसी, एक खस–आर्य र एक मुस्लिम समुदायको प्रतिनिधित्व रहेको जनमत पार्टीका महासचिव चन्दन सिंहले जानकारी दिए ।
त्यस्तै, केन्द्रीय समिति बैठकले मधेस प्रदेशतर्फ समानुपातिकबाट बाँडफाँट गरी प्राप्त सिटमा नाम टुंगो लगाएको छ । बैठकले निर्वाचन आयोगले गरेको पत्राचारकै आधारमा क्लस्टर छुट्याउँदै सात जनाको नाम टुंगो लगाएको हो । मधेसी महिलाबाट बबिता राउत, अल्पसंख्यकबाट पार्टीका महासचिव चन्दन सिंह, दलितबाट रञ्जुकुमारी खंग (खत्वे), मधेसी महिलामा अनिताकुमारी साह, मधेसी पुरुषमा पार्टीका उपाध्यक्ष वसन्तकुमार कुशवाह, मुस्लिममा हसिना खातुन र आदिवासी जनजातिमा भाग्यश्रीकुमारी चौधरीलाई पठाउने निर्णय भएको छ ।
यसैगरी, लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ पाएको दुई सिटमा खस–आर्यबाट सुमन रायमाझी र आदिवासी जनजातिबाट गीता गुरुङको नाम टुंगो लगाएको छ ।
कांग्रेस, एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपाले आज टुंगो लगाउने
निर्वाचन आयोगको पत्राचारअनुसार जनमत पार्टीले समानुपातिकतर्फको नाम टुंगो लगाए पनि प्रमुख राजनीतिक दल अझै आन्तरिक छलफलमै छन् । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल (जसपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अझै टुंगो लगाउन सकेका छैनन् ।
यी दल आज शनिबारसम्ममा टुंगो लगाउनेगरी आन्तरिक छलफलमा छन् । शनिबार बैठक बसेर नामावली टुंगो लगाउने’bout छलफल हुने जनाएका छन् । कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति, एमालेको केन्द्रीय सचिवालय र जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबार बस्न लागेको हो । माओवादी केन्द्रको बैठकको टुंगो छैन । रास्वपा र राप्रपाले पार्टी बैठकबाटै टुंगो लगाउँने जनाएका छन् ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनपछि पहिलोपटक शनिबार बस्नेगरी केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका छन् । बैठकमा कांग्रेसले समानुपातिकतर्फ प्राप्त ३२ सांसदमा क–कसलाई पठाउने भन्ने’ निर्णय गर्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । कांग्रेसलाई निर्वाचन आयोगले २९ महिला र तीन पुरुष सांसद पठाउन सूचित गरेको छ । त्यस्तै, प्रदेश सांसद’bout पनि सोही बैठकले निर्णय गर्ने भएको छ ।
कांग्रेसले प्रदेशमा १ सय ११ सिट पाएको छ । यसैगरी, एमाले केन्द्रीय सचिवालय बैठक शनिबारका लागि सरेको छ । शुक्रबार बोलाईएको सचिवालय बैठक स्थगित भएको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए । उनले आवश्यक गृहकार्य नपुगेको भन्दै बैठक स्थगित गरिएको जानकारी दिए । शुक्रबारको बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल हुने बताइएको थियो ।
एमालेले ३४ सिट पाएको छ । जसमा उसले १५ पुरुष र बाँकी महिला सांसद पठाउनुपर्ने छ । एमालेले प्रदेशमा ९१ सिट पाएको छ । त्यस्तै, शनिबार बिहान ८ बजे जसपा केन्द्रीय कार्यकारिणी समिति बैठक बस्ने प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले बताए ।
बैठकले समानुपातिकतर्फका सांसद’काे निर्णय गर्ने भएको छ । जसपाले समानुपातिकमा पाँचजना पाएको छ । रास्वपाले १३ र राप्रपाले ७ सिट समानुपातिकमा पाएको छ । राजधानी दैनिकबाट
मकवानपुर । मुक्तक मञ्च मकवानपुरले ३ जनालाई पुरस्कृत गर्ने भएको छ । बिहीबार मुक्तक मञ्च मकवानपुरको तेस्रो बैठकले ३ जनालाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
मञ्चको आगामी पुष १६ गते वार्षिक साधारणसभामा २ जना मुक्तककार र माध्यमिक विद्यालयस्तरीय प्रतियोगिताबाट उत्कृष्ट १ जना गरी ३ जनालाई पुरस्कृत गर्ने भएको छ । मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डीबी बर्तौलाले पिताको सम्झनामा स्थापना गरेको ७ हजार ७ सय ७ रुपैयाँ राशीको ‘बहादुरानन्द स्मृति मुक्तक पुरस्कार’ बाट सिन्धुलीका मुक्तककार लोकेन्द्र डहरे सम्मानित हुने भएका छ्न ।
यस्तै मुक्तक मञ्च मकवानपुरले ‘तारा स्मृति मुक्तक पुरस्कार’ मकवानपुरका अग्रज मुक्तककार देवराज खरेललाई प्रदान गर्ने भएको छ । साहित्यकार किसन पौडेलले स्थापना गरेक सो पुरस्कारको राशी ५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ । त्यस्तै मुक्तककार तथा गजलकार श्रीराम अधिकारीले स्थापना गरेको ‘इन्दिरादेवी अधिकारी मुक्तक पुरस्कार’ मकवानपुरभित्रका माध्यमिक विधालयस्तरीय ९ देखि १२ कक्षाका विद्यार्थीबिच प्रतिस्पर्धा गराई उत्कृष्ट १ जना विद्यार्थीलाई ५ हजार रुपैयाँ प्रदान गरिने भएको हो ।
मञ्च अध्यक्ष बर्तौलाको अध्यक्षतामा सल्लाहकारसहितको कार्यसमितिको बैठकले पुरस्कारको निर्णय गरेको थियो ।
मकवानपुर । मकवानपुर प्रहरीले ३८ किलो गाजाको धुलो सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनहरी गाउँ पालिका ७ का ३५ बर्षिय हरि कृष्ण अधिकारी र ३५ बर्षिय कृष्ण राई रहेको प्रहरीले जनाएको छ ।
मसिर २२ गते विहीबार मनहरी स्थित राष्ट्रिय निकुञ्ज सुरक्षाको लागि खटिएको नेपाली सेनाको गस्तिले निकुञ्ज क्षेत्रमा अधिकारी र राईलाई सामान बोकी शंकास्पदरुपमा हिडिरहेका देखि प्रहरीलाई खबर गरेको थियो ।
सेनाको खबर पछि ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरिक्षक कृणराज ढकाल सहितको टोलीले प्लास्टिकको ३ वटा बोरामा शंकास्पद सामान बोकी हिडेका अधिकारी र राईलाई पक्राउ गरेको हो ।
उनिहरुले ल्याएको बोरामा ३८ किलो गाँजाको धुलो फेला परेकोमा निजहरुको सम्बन्धमा आबश्यक अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय मनहरीले जानकारी दिएको छ ।
मकवानपुर । नेपालको चर्चित नेपथ्य ब्याण्डले १० बर्षपछि मकवानपुरको हेटौँडामा सांगितिक प्रस्तुति प्रदर्सन गरेको छ । नेपथ्यले हेटौँडा ४ स्थित भुटनदेवी चौरमा मानवताका लागि सागितिक यात्रा प्रस्तुति गरेको हो ।
मानवसेवा आश्रम हेटौंडाको सहयोगको लागि विहीबार बेलुका ६ बजेदेखि निरन्तर २ घण्टा नेपथ्य ब्याण्डका अमृत गुरुङले आफ्नो गीत प्रस्तुत गरेका थिए । गुरुङको प्रस्तुतिले हजारौं हेटौंडेली दर्शकले मनोरञ्जन लिनुका साथै चिसो मौसम तताएकाे थियो ।
यो समेत नेपथ्य हेटौंडामा सातौंपटक प्रस्तुत भएको हो । छैटौं पटक एक दसकअघि ‘शान्तिको लागि शिक्षा’ अभियान अन्तर्गत उसले सन् २०१२ मा हेटौंडामा प्रस्तुत गरेको थियो । दुइपटक ‘सुन्दर, शान्त, नेपाल’ र चारपटक ‘शान्तिको लागि शिक्षा’ अभियानअन्तर्गत आफूलाई प्रस्तुत गरिसकेको नेपथ्यको सर्वाधिक कन्सर्ट गरिएका सहरमध्ये हेटौंडा पनि पर्छ ।
मानवता प्रवर्धनका लागि हेटौँडाको लामसुरेधापमा मुख्य कार्यालय रहेको मानवसेवा आश्रमको बाँकी भवन निर्माण तथा आश्रितको संरक्षण र पालन पोषण सहयोगार्थ भएको सागितिक कार्यक्रममा नेपथ्यका मुख्य गायक गुरुङले लोक/पप गीतहरु प्रस्तुत गर्दा हेटौंडेली दर्शक उत्सहपूर्वक नाचेका थिए । गुरुङले नेपथ्यको छेक्यो छेक्यो देउराली डाडा.. रेशम…शिर फूल शिरैमा..तालको पानी… मै नाचे छमछमी… जोगले हुन्छ भेट.. लगायत दर्जनौ गीत गाउदै माहौल तताएका थिए ।
संगीतका साथसाथै मानवता प्रबर्द्धन उद्देश्यसहित मानवसेवा आश्रमको आयोजनामा यसपटक नेपथ्यले मुलुकभरको यात्रा गर्न लागेको हो । मुलुकका प्रमुख १० शहरमा गर्न लागेको सागितिक कार्यक्रम मकवानपुरको हेटौंडामा तेस्रो हो । यसअघि मंसिर १६ गते विराटनगर र १९ गते वीरगञ्जमा सम्पन्न भइसकेको छ ।
हेटौंडा पछि मंसिर २५ गते भरतपुरको क्याम्पाचौरमा, २९ गते नेपालगञ्जको रङ्गशालामा, पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ रामनगर मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्रमा नेपथ्य गुञ्जिने छ । अन्तिम कार्यक्रमको रुपमा अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात ‘न्यू इयर इभ’ को दिन पौष १६ गते काठमाडौँको भृकुटीमण्डपमा हुनेछ ।
मानवसेवा आश्रमको मुख्य कार्यालयमा हाल मुख्य भवन र लक्ष्मी भवन स्व राज्य थापा स्मृति भवन को निर्माण कार्य सम्पन्न भए पनि बालवालिका आवास, बागबगैँचा, गाइगोठलगायतका कार्यहरु निर्माणको चरणमा नै छन् । हाल मुख्य कार्यालयमा १८ बालक, ३ बालिका, ९४ पुरुष र ७७ जना महिला गरी १९२ व्यक्तिहरु आश्रित छन् ।
संगीतबाट मनोरञ्जन मात्र नभइ लोक कल्याणका हिसाबले पनि नेपथ्यको कार्यक्रम हेटौंडाका लागि महत्वपूर्ण हो,’ मानवसेवा आश्रमको हेटौंडास्थित संयोजक हुमनाथ पौडेलले भने । मानवीयताको बीउ रोपिएको हेटौडाबाटै सडक आश्रित बेसहाराको उद्धार अभियान शुरु भएको थियो । हेटौंडावासीले अत्यन्त उत्साहका साथ सहभागीता जनाएर नेपथ्य संग मानव सेवा अन्तरगतको सागितिक कार्यक्रमलाई भब्य र सभ्य बनाउनु भएको पौडेलले बताए ।
मकवानपुर । समानुपातिक तर्फकाे मतगणना सकिए लगत्तै निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभातर्फको समानुपातिक सांसद संख्या ताेकेकाे छ । आयाेगले गत ४ मंसिरमा सम्पन्न निर्वाचनबाट प्राप्त समानुपातिक तर्फकाे मत परिणाम अनुसार सदर मतकाे ३ प्रतिशत भन्दा बढी मत प्राप्त गर्ने दलहरुकाे लागि सांसद संख्या बाडफाँड गरेकाे हाे ।
निर्वाचन आयाेगकाे बाडफाँडमा प्रतिनिधि सभा र प्रदेश सभा तर्फ सबैभन्दा धेरै नेकपा एमालेले १ सय ४ सांसद पाएको छ । जसमध्ये ३४ प्रतिनिधि सभातर्फ हो भने ७० प्रदेश सभाको हो । प्रतिनिधि सभामा ३४ सांसद पाएको एमालेले प्रदेश १ मा १५, मधेश प्रदेशमा ८, बागमतीमा १४ गण्डकीमा १०, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ जना सांसद पाएको छ ।
यसैगरी, ९६ सांसदसहित दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले प्रतिनिधि सभामा ३२, प्रदेश १ मा १२, मधेश प्रदेशमा ९, बागमतीमा १२ गण्डकीमा ९, लुम्बिनीमा १०, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ जना सांसद पाएको छ । ४३ सांसदसहित तेस्रो स्थानको नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभामा १४, प्रदेश १ मा ४, मधेश प्रदेशमा ४, बागमतीमा ७, गण्डकीमा ३, लुम्बिनीमा ४, कर्णालीमा ५ र सुदूरपश्चिममा ३ जना सांसद पाएको छ ।
२४ सांसदसहित चौथो स्थानमा रहेको राप्रपाले प्रतिनिधि सभामा ७, प्रदेश १ मा ४, मधेश प्रदेशमा १, बागमतीमा ६, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा १ र सुदूरपश्चिममा १ जना सांसद पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा मात्र १३ सिट पाएको छ ।
नेकपा एकीकृत समाजवादीले प्रतिनिधि सभामा सिट पाएको छैन भने प्रदेश सभामा जम्मा ९ सांसद पाएको छ । उसले प्रदेश १ मा १ मधेस प्रदेशमा ३ बागमती प्रदेशमा २ लुम्विनि प्रदेशमा १ कर्णाली प्रदेशमा १ र सुदुरपश्चिम प्रदेशमा १ गरी ९ सांसद पाएकाे हाे । नेमकिपाले बागमती प्रदेश सभा मात्रै २ सांसद पाएको छ । जनता समाजवादी पार्टीले प्रतिनिधि सभा ५ र प्रदेश सभामा ९ सांसद पाएको छ । जसपाले प्रदेश १ मा १ मधेस प्रदेशमा ७ र लुम्विनी प्रदेशमा १ गरी ९ सांसद पाएकाे हाे ।
जनतम पार्टीले प्रतिनिधि सभामा ५ र प्रदेश सभा ९ सिट पाएको छ । प्रदेश सभा मात्र सिट पाएका लोसपाले मधेस प्रदेशमा २ र लुम्विनी प्रदेशमा १ गरी ३, नेपाल संघीय समाजवादीले मधेस प्रदेशमा १, नागरिक उन्मुक्ति पार्टीले मधेस प्रदेशमा १ लुम्बीनी प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा २ गरी ५, राष्ट्रिय जनमोर्चाले लुम्बिनि प्रदेशमा १, हाम्रो नेपाली पार्टीले बागमती प्रदेशमा मात्रै १ सिट पाएको निर्वाचन आयोगले जनाएको छ ।
