प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो कार्यकालका लागि प्रधानमन्त्रीमा दावी नगर्न नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले आलोपालो प्रधानमन्त्री हुने र दोस्रो कार्यकाल प्रचण्डलाई छोड्नेगरी सर्त अघि सारेका छन् ।
तर, प्रचण्डले भने ‘पहिलो कार्यकाल आफैं प्रधानमन्त्री हुनुपर्ने’ पुरानै अडान दोहो¥याएपछि कुरा मिल्न नसकेको स्रोत बताउँछ । पछिल्ला केही दिनदेखि देउवा र प्रचण्डबीच प्रधानमन्त्री विषयमा लगातार छलफल जारी रहे पनि ‘पहिलो कार्यकाल को प्रधानमन्त्री हुने ?’ भन्नेमा विवाद हुँदै आएको छ । सोही कारण ‘प्रधानमन्त्री’ विषय पेचिलो बन्दै गएको छ ।
संसदीय दलको नेता निर्वाचित भएकोमा ‘बधाई’ दिन बिहीबार बालुवाटार पुगेका नेपाल समाजवादी पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईसँगको भेटमा समेत कांग्रेस सभापति शेरबहादुर देउवाले ‘अहिले कांग्रेसले प्रधानमन्त्री छाड्न सक्ने अवस्था नरहेकाले प्रचण्डलाई सम्झाइदिन’ आग्रह गरेका थिए ।
प्रचण्ड भने निकटस्थसँग ‘प्रधानमन्त्री नपाए गठबन्धन नै तोडिन सक्ने’ भन्दै देउवालाई गलाउन खोजिरहेको बताइन्छ । कांग्रेस उच्चस्रोतका अनुसार देउवाले दोस्रो कार्यकालको प्रधानमन्त्री प्रचण्डलाई दिन आफू तयार रहेको र ‘अहिले आफ्नो बाध्यता बुझिदिन’ भन्दै भट्टराईसँग प्रचण्डलाई सन्देश पठाएका थिए । पहिलो दुई वर्ष नभई पछिल्लो तीन वर्ष प्रचण्डलाई प्रधानमन्त्री दिन तयार रहेको जनाउ देउवाले दिएका थिए ।
सो कुरा प्रचण्डकहाँ पुगिसकेको तर उनले ‘आफू जुनसुकै उपाय लगाएर भए पनि प्रधानमन्त्री बन्ने’ भन्दै देउवालाई मनाउन आफैं बालुवाटार नियमित आउजाउ गरिरहेका छन् । प्रतिनिधिसभा निर्वाचनमा पहिलो दल बनेको नेपाली कांग्रेसभित्र सरकारको नेतृत्व आफैंले गर्नुपर्नेमा सबै कांग्रेसका नेता तथा सांसद एकमत छन् । ‘सबैभन्दा ठुलो दल भएकाले तेस्रो दलको व्यक्तिलाई सुरुमै प्रधानमन्त्री छोड्दा गलत सन्देश जान सक्ने’ भन्दै कांग्रेसभित्र पहिलो कार्यकाल कुनै हालतमा पनि प्रधानमन्त्री छोड्न नहुने मत बलियो छ ।
कांग्रेसभित्र संस्थापन र संस्थापनइतर दुवै समूहले सरकारको नेतृत्व कांग्रेसले लिनुपर्ने सामान धारणा राखिरहेका छन् । कांग्रेस महामन्त्री गगन थापाले ‘आलोपालो प्रधानमन्त्रीको कुनै पनि गोप्य सहमति कांग्रेसका लागि मान्य नहुने र कांग्रेसकै नेतृत्वमा सरकार गठन हुनुपर्ने’ बताउँदै आएका छन् । बुधबार संसदीय दलको नेतामा पराजित भएपछि कांग्रेस महामन्त्री थापाले ‘अँध्यारो कोठामा हुने आलोपालो निर्णय नमान्ने’ चेतावनी दिएका थिए ।
उनीबाट सार्वजनिक भए पनि सत्ता साझेदारीमा पार्टीभित्र संस्थागत र पारदर्शी निर्णय हुनुपर्नेमा अर्का महामन्त्री विश्वप्रकाश शर्माको पनि समान धारणा छ । गगनले सार्वजनिक रूपमै दिइरहेको चुनौती तथा पार्टीका अन्य नेताले समेत ‘माओवादीलाई सरकारको नेतृत्व दिन नहुने’ बताउँदा देउवा स्वयंमा पनि पहिलो कार्यकाल प्रचण्डलाई प्रधानमन्त्री नदिन दृढ देखिँदै आएका छन् ।
स्रोतका अनुसार पार्टीको औपचारिक निर्णयविपरीत जान पनि देउवालाई अप्ठ्यारो छ । गठबन्धनमा आफ्नो पार्टीको संसदीय दलको निर्वाचनपछि ‘पावर सेयरिङ’’bout छलफल गर्ने प्रस्ताव गरेका देउवाले गत ३ पुसमा कार्यसम्पादन समिति बैठक राखेर सरकारको नेतृत्व कांग्रेसले लिने निर्णय गराएका थिए ।
पार्टीको निर्णय देखाएर देउवाले सरकारको नेतृत्व छाड्न नसक्ने बताउने गरेका छन् । ‘कांग्रेसले संविधान व्यवस्थाबमोजिम सरकारको नेतृत्व दावी गर्नु स्वाभाविक हुन्छ । यसर्थ, नेपाली कांग्रेस पार्टीको नेतृत्वमा आगामी सरकार गठन गर्नका लागि गठबन्धनमा रहेका दललगायतसँग आवश्यक संवाद, वार्ता र छलफल प्रक्रिया प्रारम्भ गर्ने यो बैठक निर्णय गर्दछ,’ गत ३ पुसमा बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकको १ नम्बर निर्णयमा भनिएको छ ।
सोही निर्णयका आधारमा कांग्रेस नेता पहिलो कार्यकालको प्रधानमन्त्री नछोड्ने अडानमा रहेका हुन् । देउवानिकट स्रोतका अनुसार प्रचण्डलाई गठबन्धन छाड्न पनि नदिने र प्रधानमन्त्री पनि दिई नहाल्ने रणनीतिमा देउवा छन् । देउवा र प्रचण्ड दुवै आ– आफ्नो अडानबाट टसमस भएका छैनन् । ‘दुवै नेताबीच छलफलबाटै टुंगो लाग्छ,’ एक कांग्रेसले नेता भने ।
यद्यपि, प्रचण्ड कुनै पनि बेला एमालेसँग नजिकिन सक्छन् भन्ने भय र आशंकामा रहेका देउवाले प्रचण्डलाई एमालेमा मिल्न नजानेगरी थप रणनीति बनाइरहेको स्रोत बताउँछ । स्रोतका अनु्सार प्रत्यक्षतर्फ तीन गुणाभन्दा कम सिट जितेको माओवादीलाई सरकारको नेतृत्व सुम्पिनु अहिलेको जनमतको अपमान हुने कांग्रेसको संस्थागत पक्षको विश्लेषण छ ।
कांग्रेसले ५७ सिट जित्दा माओवादीले त्योभन्दा ३९ सिट कम अर्थात् १८ मात्र जितेको छ । जुन निकै न्यून हो । कांग्रेसका अधिकांश नेता १८ सिट भएको पार्टीलाई प्रधानमन्त्रीको किस्ती सुम्पिएर ‘पछि कांग्रेस कुन मुख देखाएर जनतामा जान मिल्छ ?’ भनेर नेतृत्वसँग प्रश्न गरिरहेका छन् । संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपतिले सरकार गठनका लागि दिएको समय भोलि आइतबार साँझ ५ बजे सकिँदै छ ।
त्यतिबेलासम्म प्रधानमन्त्री दावी पेस गरिसक्नुपर्नेछ । त्यस्तो दावी कसैले पेस गर्न नसकेमा राष्ट्रपतिबाट ७६ (३) अनुसारको सरकार गठन गर्न आह्वान हुनेछ । ७ ६ ( ३ ) अनुसार प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य रहेको दलको संसदीय दलको नेता प्रधानमन्त्री चुनिन सक्ने व्यवस्था छ । त्यो प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्नेछ । सोअनुसार सरकार गठनका लागि आह्वान भए कांग्रेसका लागि सहज हुने बताइन्छ । राजधानी दैनिकबाट
मकवानपुर । बागमती प्रदेशसभामा नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथग्रहणको मिति प्रस्ताव गरिएको छ ।
आज प्रदेश सभासचिवालयमा बसेको सर्वदलीय बैठकले आगामी १३ र १४ गते सपथ ग्रहण गर्ने कार्यक्रमको लागि प्रदेश प्रमुख समक्ष प्रस्ताव गर्ने निर्णय गरेको छ ।
१३ गते प्रदेश सभा सदस्यहरू मध्येका ज्येष्ठ सदस्य ७२ वर्षिय रामप्रसाद ढुङ्गानाले सपथ गर्ने र १४ गते प्रदेश सभाका अन्य सदस्यहरूले सपथ गर्ने मिति प्रस्ताव गरिएको मुख्यमन्त्री राजेन्द्र पाण्डेले बताए ।
प्रदेशसभा सचिवलायमा बसेको सर्वदलीय बैठकले पुस १७ गते बागमती प्रदेशको पहिलो बैठक बस्नको लागि प्रदेश प्रमुख समक्ष प्रस्ताव गरिने निर्णय समेत गरेकाे मुख्यमन्त्री पाण्डेले जानकारी दिए ।
मकवानपुर । बागमती प्रदेशसभामा नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथग्रहणको मिति र समय निर्धारण गर्ने उद्देश्यले आज सर्वदलीय बैठक बोलाइएको छ ।
आज दिनको ११ बजे प्रदेशसभा सचिवलायमा सर्वदलीय बैठक बस्न लागिएको हो ।
नवनिर्वाचित सदस्यहरूलाई शपथग्रहण गराउन सर्वदलीय बैठक बस्नको लागि प्रदेशसभाका सबै सदस्यहरुलाई सूचनाको सम्प्रेषण गरिएको सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । बागमती प्रदेशसभामा नुवाकोट जिल्लाको क्षेत्र नं २ (१) बाट प्रत्यक्षतर्फ निर्वाचित हुनुभएका ७२ वर्षिय रामप्रसाद ढुङ्गाना वर्तमान प्रदेशसभामा ज्येष्ठ सदस्य पहिचान भएका छन् । उनी नेकपा माओवादी केन्द्रका तर्फबाट प्रदेशसभाको प्रत्यक्षतर्फको विजयी भएका हुन् ।
बागमती प्रदेशसभाको हाल सभामुख र उपसभामुखको निर्वाचन नभइसकेको अवस्थामा प्रदेशसभाको ज्येष्ठ सदस्य ढुङ्गानाले केही दिनभित्रै प्रदेशप्रमुख यादव चन्द्र शर्माबाट शपथग्रहण गराएपछि प्रदेशसभाका बाँकी एक सय नौजना सदस्यहरूलाई सपथ गराउने छन् ।
मकवानपुर । मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका १४ स्थित एक घरमा आगलागी भएको छ ।
स्थानीय ६० बर्षिय सुन कुमार तामाङको घरमा करेन्ट सर्ट भई आगोलागी हुदाँ ७ लाख बराबरको क्षती भएको मकवानपुर प्रहरीले जनाएको छ ।
आगलागीबाट अन्नपात मकै धान र पशुचौपायमा क्षती पुगेको मयुरधाप प्रहरी चेक पोष्टका प्रहरी हवल्दार अबदेश कुमार पाण्डेले बताए।
आगो लागि भएकोदेखि घर धनि सुनकुमार तामाङ बेहोस भई उपचारको लागी हेटौडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुर जिल्लाको विकट राक्सिराङ गाउँपालिकाका विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधारोन्मुख भएको दाबि गरिएको छ ।
कोर इन्टरनेशनल क्यानडाको आर्थिक सहयोग, राक्सिराङ् गाउँपालिकाको समन्वय तथा हिमराइट्स मकवानपुरको आयोजनामा विगत ५ वर्षदेखि नियमित रुपमा बालबालिकालाई शैक्षिकसँगै विविध पाटोमा सहयोग गरेपछि उनीहरुको शैक्षिक गुणस्तरमा सुधार देखिएको हो ।
विहीबार हिमराइट्स मकवानपुरले विद्यार्थीहरुको लागि खाजा वापत प्राप्त हुने पैसाले खाद्यन्न वितरण गरेको छ । ज्याला मजदुरी गरेर जिविका चलाउंदै आएका २५ अभिभावकको सूर्यदय माध्यमिक विद्यालयमा अध्ययनरत २५ बालबालिकालाई सहयोग गर्दै आएको छ ।

विहीबार आयोजित खाद्यन्न वितरण कार्यक्रममा राक्सिराङ गाउँपालिका वडा ३ का वडाअध्यक्ष उत्तम वाइबाले विपन्न परिवारलाई छनौट गरेर गरिएको आर्थिक सहयोगले शिक्षामा सहयोगी भूमिका खेल्ने बताए । संस्थाले गरेको सहयोगलाई अभिभावकले सकारात्मक फल दिनको लागि ध्यान दिनुपर्ने उनले बताए ।
बालबालिकाको शैक्षिक उन्नती तथा उज्यालो भविष्यको लागि सकारात्मक निगरानी आफूले गर्ने उनले बताए । निरन्तर स्कुल आउन र फरक प्रकारको सिर्जनशीलता देखाउन विद्यार्थीलाई पनि वडा अध्यक्ष वाईबाले आग्रह गरे ।
कोर इन्टरनेशनल क्यानडाको आर्थिक सहयोगमा हिमराइट्स मकवानपुरले विद्यार्थीको अध्ययनको लागि शैक्षिक सामग्री, अतिरिक्त शिक्षक, विद्यालय पोशाक समेत सहयोग गर्दै आएको छ ।
कार्यक्रमा विद्यालयमा प्रध्यानाध्यापक सिताराम सुवेदीले सिमान्तकृत समूदायका बालबालिकालाई पढाइमा सुधार पुगेको, सहयोग निरन्तरता दिंदै दीगो आय आर्जनमा समेत ध्यान दिनुपर्ने बताए ।

हिमराइट्सले गरेको लगानीको प्रतिफल दिनको लागि अभिभावकले ध्यान दिनुपर्नेमा प्रध्यानाध्यापक सुबेदीले पनि अनुरोध गरे ।
पाँच वर्ष अघि र अहिले यहाँका विद्यार्थीहरुमा शैक्षिक गुणस्तरसँगै अतिरीक्त क्रियाकलापमा समेत सुधार भएको हिमराइट्सले व्यवस्थापन गरेको अतिरिक्त शिक्षक सबिना भारतीले बताइन् । विद्यालय समयभन्दा बाहेक प्रत्येक दिन भारतीले पाठ्यक्रम र अतिरिक्त ज्ञान हुनेगरी २ घन्टा कक्षा लिने गरेकी छिन् । भारतीलाई हिमराईट्सले नै पारिश्रमिक दिएर अतिरिक्त शिक्षकको व्यवस्था गरेको हो ।
बालबालिकाको सुरक्षा, हिंसाबाट बचावटको लागि पनि ध्यान दिनको लागि हिमराइट्स मकवानपुर प्रमुख कुमारी वाइबाले आग्रह गरिन् । अभिभावकलाई दीगो आर्थिक उपार्जनमा सघाउन बाख्रा पनि वितरण गरेको वाइबाले बताइन् ।
स्थानीय जुनमाया प्रजाले आफूलाई संस्थाले बीउ पूँजिको रुपमा बाख्र सहयोग गरेपछि अरु बाख्रा समेत थपेर व्यवसायिक बन्ने कोशिसमा लागेको बताइन् । उनको छोरी सुसिला प्रजा संस्थाकै सहयोगमा कक्षा १२ पढ्दै छिन ।
विद्यार्थीहरुलाई जाडोको लागि न्यानो कपडा वितरणको तयारी समेत भैरहेको हिमराइट्स मकवानपुरकी इन्दु गोलेले बताइन् ।