मकवानपुर । आगामी चैत ४ गतेदेखि हेटौंडामा दोस्रो अन्तरपालिका जिल्लास्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । आइतबार आयोजक मकवानपुर जिल्ला खेलकुद विकास समितिले खेल तालिका सार्वजनिक गर्दै मकवानपुर अन्तरपालिका फुटबल प्रतियोगिताको जानकारी गराएको हो ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर –५, पिप्लेस्थित क्याम्पा रंगशालामा हुने प्रतियोगिताको चैत ४ गते हुने उद्घाटन खेल कैलाश गाउँपालिका र भीमफेदी गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २ बजे सुरु हुनेछ । चैत ५ गते आइतबार हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकाबीच र राक्सिराङ गाउँपालिका र थाहा नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको सेमिफाइनल खेल चैत ८ गते र चैत ९ गते हुनेछ भने फाइनल खेल चैत ११ गते हुनेछ ।
प्रतियोगिताको विजेता टिमले नगद २ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै उपविजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजनाले जनाएको छ । मकवानपुरका १० वटै स्थानीय तहको सहभागिता रहने प्रतियोगितामा प्रवेश नि:शुल्क गराइने बताइएको छ ।
मकवानपुर । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि आज शुक्रबार उम्मेदवारको मनोनयन पत्र वितरण हुने भएको छ ।
भोलि अर्थात फागुन २७ गते प्रत्यक्षतर्फको उम्मेदवार नामावली प्रकाशन हुनेछ । गत फागुन १९ गतेबाट सुरु भएको निर्वाचन कार्यक्रम अनुसार आज मनोनयन पत्र वितरण कार्यक्रम हुन लागेको हो ।
त्रिभुवन विश्वविद्यालय, स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समितिका अनुसार बिहान ११ बजेदेखि २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फका उम्मेदवारका लागि मनोनय पत्र वितरण गर्ने कार्यक्रम तय भएको हो ।
मकवानपुर । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली तथा देशका बाँकी पहाडी भू– भागमा आंशिक बदली रही अन्य स्थानहरूमा मौसम सामान्यतया सफा रहनेछ।
राति भने बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहनुका साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता महाशाखाले अनुरोध गरेको छ ।
मकवानपुर । राष्ट्रपति चयनको निर्वाचन अन्तर्गत मतदानको कार्य सकिएको छ । बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको हाे । निर्वाचनको मतगणना ४ बजेपछि हुने भएको छ । राष्ट्रपति उमेदवारका प्रतिनिधिहरुसँग निर्वाचन आयोगले गरेको मतगणना सम्बन्धि बैठकमा दिउँसो ४ बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको हो ।
बैठकले मतपेटिका खोल्दा पत्रकारको उपस्थिति खुल्ला गर्ने निर्णय पनि गरेको छ । सम्बन्धित उम्मेद्बारको नाम लेखिएको कोठामा स्वस्तिक छाप लगाउनु पर्ने र त्यस बाहेकको मत संकेत प्रयोग भएकोमा बदर हुने निर्णय बैठकमा भएको छ ।
संघीय संसद र प्रदेश सभाको अलगअलग मतगणना हुने छ भने मतगणनामा उम्मेदवारका निर्वाचन प्रतिनिधि र एकएक जना गणना प्रतिनिधि रहनेछन् । मतगणना पश्चात विजयी उम्मेदवारलाई आजै प्रमाणपत्र बितरण गरिने छ ।
निर्वाचन कार्यालयका अनुसार संघीय संसद र प्रदेशसभा सदस्य गरी ५१ जनाले मतदान गरेनन् । संघीय संसद र प्रदेशसभा सदस्य मतदाता रहने निर्वाचनमा राप्रपा र नेपाल मजदुर किसान पार्टीका सांसदहरुले मतदान गरेनन् ।
राष्ट्रपति पदका लागि पूर्व सभामुखद्वय नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले)का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् । पौडेल कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार हुन् । नेम्वाङलाई एमालेको साथ छ ।
राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट हुन्छ । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ ३ सय ३२ र प्रदेशसभा सदस्य ५ सय ५० गरी कूल ८ सय ८२ मतदाता थिए । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।
मतदानमा ३ सय १३ सङ्घीय सांसद र ५ सय १८ गरी ८ सय ३१ जनाले मतदान गरे । संघीय संसदका ३ सय ३४ जनामध्ये ३ सय १३ जनाले मतदान गरेका छन् । प्रदेशसभाका ५ सय ५० जनामध्ये ५ सय १८ जनाले मतदान गरेका छन् ।
नेपालको राजनीति अत्यधिक विकृत हुदै गएपछि र लामो समयसम्म अस्थिर हुने सम्भावना देखिएपछि दुई प्रमुख दल नेपाली कांग्रेस र एमाले मिलेर अगाडि बढ्नुपर्ने दबाब दुवै दलका नेतालाई पर्न थालेको छ ।
गत निर्वाचनमा पहिलो ठूलो दल बनेको कांग्रेस र दोस्रो ठूलो बनेको एमाले मिलेरै सरकार बनाउँदा अन्य साना दललाई चलखेल गर्ने ठाउँ बन्द हुने र राजनीति पनि विकृत नहुने भन्दै दुवै दल मिलेर सरकार बनाउन दबाब परेको हो । राष्ट्रपतिको निर्वाचनमा पनि दुवै दल मिल्न सके उपयुक्त हुन सक्ने सुझाव नेतालाई दिइएको छ । एमाले र कांग्रेस मिलेर राजनीतिलाई सही ढंगले हेन्डलिङ गर्नुपर्ने भन्दै नयाँ मोड’bout दुवै दलभित्र बहस सुरु भएको हो । दुवै दल जनआन्दोलन १ र २ तथा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्दाका समेत सहयात्री हुन् ।
विशेषगरी कांग्रेस र एमालेमा रहेका इमानदार र पुराना नेताले अहिलेको राजनीति अत्यधिक विकृत बनेको र अनावश्यक चलखेल बढेको भन्दै त्यसलाई रोक्न पनि एमाले र कांग्रेस मिल्नुको विकल्प नभएको भन्दै नेतृत्वलाई सम्झाउन थालेको स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार दुवै दलले पाँच वर्षसम्म आधा आधा कार्यकाल प्रधानमन्त्री चलाउने र त्यसपछिको निर्वाचनमा मित्रवत् प्रतिस्पर्धा गर्नेगरी आवश्यक गृहकार्य अघि बढाउनु पर्ने विषयमा छलफल सुरु भएको छ । कांग्रेसका केही इमानदार र सुशासन चाहने नेताले राजनीतिक स्थिरताका लागि र राजनीतिमा देखिएको अस्वाभाविक चलखेल र वद्मासी रोक्न पनि एमाले र कांग्रेस मिल्नु पर्ने भन्दै पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकृष्ट गराउन थालेका छन् ।
उता एमालेका पुराना र इमानदार नेताले पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी राजनीतिक स्थिरता कायम गर्न र अहिले देखिएको फोहोरी खेल रोक्न कांग्रेससँग मिलेर जानुपर्ने प्रस्ताव गर्न थालेका छन् । अध्यक्ष ओलीले पनि यो विषयलाई गम्भीरताका साथ लिएको एमालेका एक नेताले दाबी गरे । ‘कांग्रेस र एमाले मिल्दा अरू कसैले पनि चलखेल गर्न पाउँदैनन्, राजनीति स्थिरतातर्फ अघि बढ्छ, त्यसैले राजनीतिक स्थिरताका लागि हामीले अध्यक्षलाई यो विषयमा पनि छलफल अघि बढाउन आग्रह गरेका छौं ।’ एमालेका एक नेताले राजधानीसँग भने ।
गत प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसले ८९ सिटमा विजयी हासिल गरेको थियो भने एमालेले ७८ सिट जितेको थियो । दुवैको सिट जोड्दा झन्डै दुईतिहाइ नजिक हुने भएकाले उनीहरूले चाहेमा जे जस्ता निर्णय पनि गर्न सक्छन् भने अन्य कुनै पनि दललाई चलखेल गर्ने बाटो पाँच वर्षका लागि बन्द हुन्छ ।
कांग्रेस र एमाले मिलेर सरकार चलाउँदा अन्य कुनै पनि दलले चलखेल गर्न सक्ने अवस्था रहँदैन । अहिले निर्वाचनमा पहिलो र दोस्रो दलभन्दा निकै कम ल्याएर तेस्रो दल बनेको माओवादी केन्द्रले पहिलो दल कांग्रेस र दोस्रो दल एमालेलाई लडाएर प्रधानमन्त्रीको बाजी मारेको भन्दै अब त्यस्तो खेल बन्द गराउनका लागि पनि एमाले र कांग्रेस मिल्नुको विकल्प नरहेको भन्दै एमाले र कांग्रेसभित्र नयाँ छलफल थालिएको हो । यद्यपि, यस्तो प्रयासले सार्थक रूप भने लिन सकेको छैन ।
स्रोतका अनुसार कांग्रेस र एमाले पाँच वर्षसम्म मिल्ने र त्यसपछिको निर्वाचनमा मित्रवत् प्रतिस्पर्धा गर्ने गरि लिखित सहमति भएमा राष्ट्रपतिको विषयमा पनि थप सहमति खोज्न सकिने बताइएको छ ।
पार्टीभन्दा बाहिरको तटस्थ भूमिका खेल्न सक्ने नागरिक समाजका इमानदार अगुवालाई राष्ट्रपति बनाउँदा सकारात्मक सन्देश जाने र राजनीतिमा सुधार आएको देखिने भन्दै त्यस विषयमा पनि आन्तरिक छलफल गर्न दुवै दलका नेतृत्वलाई दबाब परेको स्रोतको दाबी छ । अहिले राजनीति विकृत हुदा र अत्याधिक चलखेल हुँदा दिनदिनै राष्ट्रपति हुने व्यक्तिको नयाँ नयाँ नाम सार्वजनिक हुँदै आएको छ ।
जसका कारण राष्ट्रपति पदको गरिमा नै अत्याधिक रुपमा घट्दै जान थालेको छ । यसका कारण मुलुकको
वेइजत हुन थालेको नागरिक समाजका अगुवाहरुको तर्क छ । नागरिक समाजका केहि अगुवाहरुले पनि कांग्रेस र एमालेका शीर्ष नेताहरुलाई भेट गरि राजनीतिलाई चलखेल र दूषित हुनबाट बचाउन दुवै दल मिलेर अगाडि बढ्न सुझाव दिएको बताइएको छ ।
ओली देउवा दुवै सकारात्मक !
निर्वाचनमा निकै कम सिट ल्याएका दलले बढी चुरीफुरी देखाएको र राजनीतिलाई बढि विकृत बनाउन खोजेकाले एमाले र कांग्रेस मिलेर त्यस्तो विकृति रोक्नुपर्ने सुझाव आएपछि एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा त्यसमा सकरात्मक देखिएको निकटस्थहरूले बताएका छन् ।
कांग्रेसका एक केन्द्रिय सदस्यका अनुसार निर्वाचनमा कम सिट ल्याएकाले कांग्रेस एमालेलाई भिडाएर राजनीतिलाई विकृत बनाएको ’boutमा सभापति देउवा समेत सचेत देखिएका छन् । उता एमालेका अध्यक्ष ओलीले पनि निर्वाचनमा नीकै कम सिट ल्याउने दलहरुले विकृत खेल खेल्न थालेपछि राजनीतिक कोर्स फेर्न सकिने र त्यसका लागि कांग्रेससँग समेत छलफल थाल्न सकिने निकटस्थसँग बताएको स्रोतको दाबी छ । राजधानी दैनिकबाट