मकवानपुर । नेकपा एमालेले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको जिम्मेवारी हेरफेर गरेको छ। एमालेले फरक-फरक भूगोलमा कार्यक्षेत्र रहने गरी जिम्मेवारी हेरफेर गरेको हो।
गत जेठ १९ गते गरेको पार्टी सचिवालयको निर्णयलाई अन्तरपार्टी निर्देशन (अपानि) मार्फत उसले सर्कुलर गरेको हो। एमालेका सात उपाध्यक्षहरूले विभागहरूको कामको संयोजनको जिम्मा पाएका छन्। सचिवहरू प्रदेशको इन्चार्ज तोकिएका छन्।
बाँकी पदाधिकारीहरूले विभागीय प्रमुखको जिम्मेवारी पाइरहँदा स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरूले जिल्लाको इन्चार्जको जिम्मेवारी पाएका छन्। एमालेले यसपटक सह इन्चार्ज हटाएर केन्द्रीय सदस्यहरूलाई महानगर, उपमहानगर, नगर र गाउँपालिकाको इन्चार्जको जिम्मेवारी दिएको छ।
स्थायी कमिटी सदस्य यामलाल कँडेल दैलेखको इन्चार्ज तोकिएका छन्। सीता पौडेल महिला फाँटको इन्चार्ज बनेकी छिन्। बिन्दा पाण्डेले अर्थ तथा योजना विभागको प्रमुखको भूमिका पाउँदा गोरखबहादुर बोगटी सुर्खेतको इन्चार्ज तोकिएका छन्।
कर्णबहादुर थापा युवा खेलकुद विभागको प्रमुख बनेका छन्। थममाया थापा कास्कीको इन्चार्ज बनेकी छिन्। शेरबहादुर तामाङ ललितपुरको इन्चार्ज बनाइएका छन्।
शिवमाया तुम्बाहाङ्फे इलामको इन्चार्ज बनेकी छिन्। हिक्मतकुमार कार्की मोरङको इन्चार्ज चयन भएका छन्। अरुण नेपाल नुवाकोटको इन्चार्ज बन्दा देवी ज्ञवालीलाई मकवानपुरको जिम्मा दिइएको छ भने परशुराम मेघी गुरुङ उदयपुरको इन्चार्ज बनाइएका छन्।
मकवानपुर । समृद्ध हेटौंडा बनाउन मुख्यमन्त्रीलाई सुझाव पत्र बुझाइएको छ ।
नेपाली कांग्रेस मकवानपुरका सचिव भीमसेन महतले हेटौंडा उपमहानगरपालिकाको लागि विकासका बागमती प्रदेश सरकार समक्ष सुझाव पेश गरेका छन् ।
हेटौंडालाई समृद्ध बनाउने उद्देश्यका साथ सचिव महतले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विभिन्न योजनाहरु समेटिएको सुझावपत्र पेश गरेका छन् ।
उनले पर्यटन, धार्मिक, जलचर संरक्षण, विभिन्न जंगली जनावरका फार्महरुका बारेमा, फलफूलको शहर, रमणीय क्षेत्रलगायतका ४० वटा योजनाहरु सुझावका रुपमा जानकारी गराएका छन् ।
सचिव महतले आगामी आर्थिक वर्ष २०८०/०८१ वार्षिक बजेटमा यस विषयलाई समावेश गर्न आग्रह गरे । ‘यस योजनाले हेटौंडाको पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्नेछ, पर्यटकीय क्षेत्रमा आवश्यक भौतिक पूर्वाधार विकास गरेको खण्डमा पक्कै पनि छिमेकी राष्ट्र भारतबाट यहाँ पर्यटक भित्रनेछन’ उनले भने ।
सुझाव पत्र बुझ्दै प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले प्रदेशको राजधानी मकवानपुरलाई विशेष रुपमा विकास गर्न बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए ।
‘हेटौंडाको पर्यटन क्षेत्रमा लागनी गर्न प्रदेश सरकार तयारै रहेको छ, यसका लागि आवश्यक अध्ययन हुन जरुरी छ’ सुझाव पत्रमा भनिएको छ । सुझाव पत्र ग्रहण गर्दै मुख्यमन्त्री जम्कट्टेलले पर्यटन क्षेत्रका लागि आवश्यक पूर्वाधार देखिने गरी विकास गर्ने प्रतिबद्धता जनाए ।
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकास्थित बकैया खोलामा डुबेर १ बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया गाउँपालिका–६, बेसीटोलका ११ वर्षीय सन्देश भोम्जन रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
शनिबार दिउँसो ३ बजेको समयमा भोम्जन साथीहरुसँग बकैया खोलामा नुहाउने गएका थिए । नुहाउने क्रममा डुबेका उनकाे मृत्यु भएकाे प्रहरीले जानकारी दिएकाे छ । मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब पार्टीको नेतृत्व गर्ने अवसर युवा पुस्तालाई दिने उद्घोष गरेका छन् ।
शनिबार नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रममा उनले सभापतिको रुपमा यो आफ्नो अन्तिम कार्यकाल रहेको स्पष्ट पारे । उनले भने, ‘पार्टीलाई मजबुत बनाउने हो, मैले पार्टी ठूलो बनाइहालेँ । अब त मैले सहयोग गर्ने हो, पार्टी सभापति हुने होइन ।’
आफूले नेतृत्व लिएर पार्टीलाई र पार्टी निकट भातृ संगठनलाई बलियो बनाएको सभापति देउवाले दाबी गरे । उनले थपे, ‘अहिले सबै ठाउँमा नेविसंघले जितेको छ । यो पनि सत्य कुरा हो । सधैँ हारेको नेविसंघ जितेको छ, सानो पार्टी ठूलो पार्टी भएको छ ।’
नेतृत्वलाई गाली गरे संगठन बलियो नबन्ने बताउँदै देउवाले सबै नेता र कार्यकर्तालाई एकजुट भएर काम गर्न निर्देशन दिए । देउवाले आफ्नो कार्यशैलीप्रति असन्तुष्टलाई लक्षित गर्दै भने, ‘काम गर्नुस् न पार्टी ठूलो बनाउनुस्, बलियो बनाउनुस् । विरोध गरेर पार्टी बन्नेवाला छैन, पार्टी बनाउने जनसम्पर्क नै हो । जनतामा जानुपर्छ ।’
उनले आपसी लडाइँले पार्टी दुर्घटनामा जान सक्ने भएकाले यसतर्फ सचेतसमेत गराएका थिए । राजधानी
मकवानपुर । विश्व वातावरण दिवसको अवसरमा हेटौडामा सम्मान तथा साइकल र्याली कार्यक्रम गरिएकाे छ । टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा शनिबार वातावरणीय सचेतना मुलक साईकल र्यालि तथा सम्मान कार्यक्रम सम्पन्न भएको हाे ।
कार्यक्रममा हेटौंडाको पर्यटन, स्वास्थ्य र साईकल अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने दिपेन्द्र चन्द ठकुरी, संगित श्रेष्ठ, शैलेस मानन्धर, मरणोपरान्त नरेश लाल श्रेष्ठलाई सम्मान गरिएको छ ।
अभियन्तालाई सम्मानअघि शनिबार बिहान वातावरणीय सचेतनामूलक साईकल र्यालीको आयोजना गरिएको थियो । हेटौँडा उपमहानगरपालिका हेटौडा २ कार्यालय परिसरबाट सुरु भएको साइकल र्याली कान्तिराजपथ, नागस्वती, कमाने, हुप्रचौर हुँदै पुनः हेटौँडा उपमहानगरपालिकाको कार्यालय परिसरमै पुगेर समापन भएको थियो । र्यालीमा ६५ जना साइकलयात्रीको सहभागिता रहेको थियो ।
टोल विकास संस्था नगर समन्वय समिति हेटौडाका अध्यक्ष ध्रुव अधिकारीको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाको वातावरण समिति प्रमुख एवम् वडा नम्बर १० का वडा अध्यक्ष फुर्वा दोर्जे लामाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा १४ नम्बर वडा अध्यक्ष दीपक खड्काको पनि उपस्थिति रहेको थियो ।

यसैगरी विश्व वातावरण दिवसकै अवसरमा सामुदायिक विकास तथा सचेतना नेपाल र बालजागृति इंग्लिस सेकेण्डरी स्कुलको आयोजनामा मेरो फोहोर मेरो जिम्मेवारी अभियानको सुरुवात गरिएको छ । कार्यक्रममा विद्यालयको तर्फबाट सचेतना मुलक नाटक र गीत प्रस्तुत गरिएको थियो ।
टोल विकास संस्था नगर समन्वय समितिको समन्वयमा भएकाे अभियानमा विद्यालयका प्रधानाध्यापक विनोद सुवेदीको अध्यक्षता हेटौंडा उपमहानगरपालिका वातवारण तथा विपद् व्यवस्थापन समितिका संयोजक १० नम्बर वडाका अध्यक्ष फुर्वा लामा, सामाजिक विकास महाशाखा प्रमुख भिम प्रसाद तिमल्सीना, टोविसंन समन्वय समिति अध्यक्ष ध्रुव प्रसाद अधिकारी र विद्यालयका सहायक प्रधानाध्यापक अमुल श्रेष्ठ, लगायतको सहभागिता रहेकाे थियो ।