मकवानपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले असार १६ गते मंगलबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य बढाएको हो ।
पेट्रोलमा ९ रुपैयाँ, डिजेल र मट्टितेलमा ७ रुपैयाँ बढाएको निगमले सूचना जारी गरी जनाएकाे छ । निगमले एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १ सय ३० रुपैयाँ घटाएको हो ।
स्वचालित मूल्य प्रणाली लागू गरेको निगमले भारतबाट मूल्य बढेर आएका कारण पेट्रोलियम पदार्थको मूल्य बढाइएको जनाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १ सय ७०, दोस्रो वर्गमा १ सय ७२ र तेस्रो वर्गमा १ सय ७३ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १ सय ५०, दोस्रोमा १ सय ५२ र तेस्रो वर्गमा १ सय ५३ रुपैयाँ कायम भएको छ ।
मूल्य घटेपछि एलपी ग्यास प्रतिसिलिण्डिर १ हजार ६ सय ६० मा पाइने भएको छ ।

मकवानपुर । ५ वर्षीय नाबालिकालाई हत्या गरेर फरार रहेका हेटौंडा–११, सिमलटारका ४५ वर्षीय सोम बहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ । राईलाई घटना भएकाे २० वर्ष पछि ललितपुर जिल्लाको गोदावरी नगरपालिका–१४ बाट पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।
शनिबार जिल्ला प्रहरी कार्यालय मकवानपुर र बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले राईलाई पक्राउ गरिएकाे प्रदेश प्रहरी प्रवक्ता दिपक रेग्मीले जानकारी दिए । २०६० साल असोज १८ गते हेटौंडा–११, सिमलटारका प्रेम बहादुर थापा क्षेत्रीको ५ वर्षीय नाबालिका छोरीलाई राईले जबरजस्ती करणीपछि हत्या गरेका थिए । नाबालिकाको शव भोलिपल्ट हेटौंडा–१० स्थित राप्ती खोलामा ढुङ्गाले च्यापिएको अवस्थामा फेला परेको थियो ।
राईलाई जिल्ला अदालत मकवानपुरबाट ६ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुरको हेटौंडा बजार क्षत्रमा राजमार्ग विस्तारको लागि भोलीबाट डोजर चलाइने भनिए पनि तत्कालको लागि यो कार्य रोकिएको छ ।
पीडितहरुले अदालतमा रिट गरेपछि सर्वोच्चले अन्तिम टुङ्गो नदिएको कारण तत्काललाई रोकिएको डिभिजन सडक कार्यालय हेटौंडाले जनाएको छ ।
डिभिजन कार्यालय हेटौंडाका प्रमुख राजेशकुमार यादबले भोलीलाई घर नभत्काउने जानकारी दिए । सर्बोच्च अदालतले दुइ वटा घर मात्र तत्काल नभत्काउनु भनेर आदेश दिएकाले अरु राजमार्गका सबै घरहरु भत्काउने डिभिजन कार्यालयले बताउँदै आएको थियो । अन्तिम अवस्थामा आएका डिभिजन कार्यालय नै पछि हटेको हो ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत् हेटौंडाको राप्तीपुलदेखि रातोमाटेसम्मको सडक विस्तार तत्काललाई रोकिने भएको हो । यहाँका घरधनीले सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएका कारण आफूहरु बाध्य भएर सडक विस्तार गर्न नसक्ने अवस्थामा पुगेको कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख यादबका अनुसार सर्वोच्च अदालतले हेटौंडाको घरधनीको नाममा अन्तरिम आदेश दिएको र मंगलबार छलफलका लागि बोलाएका कारण सडक विस्तार गर्ने कार्य अहिलेलाई रोकिएको हो । महान्याधिवक्ताको कार्यालयसँग परामर्श भइरहेको र त्यसपछि मात्रै कार्य अघि बढाइने यादबले बताए ।
मकवानपुर । मकवानपुरको हेटौंडामा रहेको प्रदेश स्तरको अस्पताल हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग गर्न राजनीतिक दलहरुले आग्रह गरेका छन् ।
अस्पताल र प्रातिष्ठानको छुट्टाछुट्टै गरिमा रहेको भन्दै एक अर्कोमा बिलय गराउने र बिकासमा बाधा सिर्जना गर्ने तयारी भएको भन्दै तत्काल प्रतिष्ठान र अस्पताल अलग गर्न माग गरिएको हो ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एसद्वारा गठित समितिले दुई महिनाको अध्ययनपश्चात् प्रतिष्ठानकाको बागमती प्रदेशबाट पास गरिएको ऐनमा हेटौंडा अस्पतालसँग जोडिएको विषयहरु सबै खारेज गर्न समेत अनुरोध गरेको छ ।
समितिले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रतिष्ठानको आफ्नै अस्पताल निर्माण नहुँदासम्म भने हेटौंडा अस्पताललाई शिक्षण अस्पतालको रुपमा प्रयोग गर्न सक्ने तर त्यसपछि भने अलग गर्नै पर्ने सुझाव दिएको हो ।
“संविधानमा गरिएको व्यवस्था अनुसार हेटौंडा अस्पताल जनताका लागि निःशुल्कलगायतका स्वास्थ्य सेवा उपलब्ध गराउने एक मात्र संस्था भएकाले यसको अस्तित्व र सेवामा आँच आउने कुनै पनि कदम चालिनु हुँदैन” पत्रकार सम्मेलनमा कांग्रेस सचिव तथा अध्ययन समिति संयोजक भीमसेन महतले भने ।
हेटौंडा अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा विकास गर्दै विगतमा नेपाल सरकारबाट भएको निर्णय कार्यान्वयन गर्दै तीनसय बेडमा स्तरोन्नति गरी दरबन्दी कायम गर्न समेत समितिले माग गरेको छ । प्रतिष्ठानको उद्देश्य पूरा गर्न समितिले छिट्टोभन्दा छिट्टो आवश्यक जग्गा उपलब्ध गराउन समेत प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।
समितिले प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकास मन्त्री कुमारी मोत्तान र स्वास्थ्य मन्त्री उत्तम जोशीको ध्यानाकर्षण गराउँदै प्रतिष्ठानको सम्पूर्ण क्षमताको अध्यापन नगराउँदासम्म पाँचसय वेडको अस्पताल आवश्यक पर्ने भएकाले सोही क्षमताको अस्पतालको योजना बनाएर तत्काल काम सुरु गर्न अनुरोध गरेको छ ।
‘बागमती प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान दर्ता भइसकेपछि स्थापना भएको मधेशमा एमबीबीएसमा पढाइ सञ्चालन भइसकेको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो उद्देश्य अनुरुपको काम तीब्ररुपमा अगाडि बढाउन जरुरी रहेको नेकपा एस सचिव ध्रुब भुजेलले बताए ।
समितिमा सदस्य तथा माओवादी केन्द्रका सचिव भीम पाख्रिन, नेकपा एस सचिव ध्रुब भुजेल तथा विज्ञ सदस्यको रुपमा हेटौंडा अस्पतालका निवर्तमान अध्यक्ष प्रकाश पौडेल समेतको ्टोलीले अस्पतालको बारेमा अध्ययन गरेको थियो । प्रतिष्ठान अन्तरगत आएपछि हेटौंडा अस्पताल सर्वसाधारणको आर्थिक पहुँचबाट पर भएको निवर्तमान अध्यक्ष पौडेलले बताए ।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा बजेटको व्यवस्था नगर्दा हेटौंडा अस्पतालबाट दुई साता झण्डै २ सय कर्मचारी कटौती भएका छन् ।
मकवानपुर । माइती नेपाल मकवानपुरले मानव वेचविखन विरूद्वको अन्तर्राष्ट्रिय दिवसको अवसरमा घरदैलो सचेतना कार्यक्रम गरेको छ ।
माइती नेपालले हेटौंडा उपमहानगरपालिका वडा १० को न्युरेनी र ११ को सिमल्टार बस्तिमा मानव बेचविखन विरुद्ध सचेतनामुलक जानकारी सहित घरदैलो कार्यक्रम गरेको हो ।

यस अन्तरगत १२१ घरघुरीमा मानव बेचविखन विरुद्धको जानकारी प्रदान गरीको र माइती नेपालद्वारा प्रकाशित बु्रसरहरु वितरण गरिएको कार्यालय प्रमुख माया तामाङले बताइन् ।
यसैगरी संस्थाले साना हालतहरु नेपाल, सामुदायिक सेवा प्रहरीसमेतको उपस्थितीमा हेटौंडा १० बसपार्क क्षेत्रमा ५० जनाको समूहमा छलफल कार्यक्रम गरेको सुपरभाइजर मन लामाले बताइन् ।
छलफलमा मानव बेचविखन विरुद्ध, साइबर क्राइम, बैदेशिक रोगजार, यौन शोषण, शारिरीक शोषणबारे जानकारी र ब्रुसर वितरण गरिएको थियो । छलफल कार्यक्रममा सामुदायिक सेवा उपकेन्द्र बस पार्कको सिता खत्री, सबिना पोखरेल, साना हातहरु नेपालको दीपक रुम्बा, ऐलिशा रुम्बाको समेत उपस्थिती रहेको थियो । संस्थाले सचेतनामुलक स्टीकर गाडीमा पनि टांसिएकाे थियो।