मकवानपुर । नेकपा एमाले कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन् ।
खतिवडा प्रतिस्पर्धी विनोद ढकाललाई ७३ मतले हराउँदै अध्यक्षमा विजयी भएका हुन् । खतिवडाले ५ सय १२ मतसहित विजयी हुँदा ढकालले ४ सय ३० मत प्राप्त गरेका छन् ।
प्रदेश कमिटीको उपाध्यक्षमा यसअघि उपाध्यक्ष रहेका धनकुटाका टीकाराम चेम्जोङ निर्विरोध भएका छन् ।
यस्तै, सचिवमा पाँचथरका राजकुमार भण्डारी ५ सय २४ मत ल्याएर विजयी भण्डारी विजयी हुँदा अर्का उम्मेदवार उदयपुरका शैलेश लामाले ३ सय ८१ मत प्राप्त गरे ।
यस्तैगरी, उपसचिव २ पदमा झापाकी जलवर्षा राजवंशी ६ सय २८ मत र खोटाङका देवान राई ६ सय १० मत ल्याएर निर्वाचित भएका छन् ।
एमाले कोशी अधिवेशनमा कूल ९ सय ९७ प्रतिनिधि रहेकोमा ९ सय ७७ मत खसेको थियो ।
मकवानपुर । २०७९ सालको मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनलाई प्रदान गरिने भएको छ । यसैगरी जगदम्बा श्री पुरस्कार टेकवीर मुखियालाई दिइने भएको हो ।
आइतबार बसेको मदन पुरस्कार गुठीको बैठकले ऐँठनलाई मदन पुरस्कार र मुखियालाई जगदम्बाश्री पुरस्कार दिने निर्णय गरेको हो । दुवै पुरस्कारको राशि चार लाख रुपैयाँ छ।
अक्षरलाई कलाको आवरण मार्फत पाठकसँग जोड्न तथा स्रष्टालाई मुहारचित्र मार्फत साहित्यानुरागी माझ पुर्याउन महत्त्वपूर्ण योगदान दिएकाले मुखियालाई जगदम्बा-श्री सम्मान अर्पण गर्ने निर्णय गरिएको गुठीले जनाएको छ ।
लामो समय साझा प्रकाशनमा आबद्ध मुखिया ६ दशकदेखि कला क्षेत्रमा सक्रिय छन्।
त्यस्तै, २०७९ सालको मदन पुरस्कार ओझाको ऐंठन उपन्यासलाई प्रदान गर्ने निर्णय भएको छ। विगतमा नेपाल राष्ट्र एवं नेपाली समाजले बेहोरेको द्वन्द्वको दुःस्वप्न र अहिले पनि त्यस दुःस्वप्नले ऐंठनको पीडामा डुबाइरहेको यथार्थलाई स्वप्नलेखनको प्रविधि पनि मिसाई उत्कृष्ट औपन्यासिक कलाको उपयोगद्वारा नवीन किसिमले व्यक्त गरेको हुँदा ओझाको ऐंठनलाई मदन पुरस्कार अर्पण गर्ने निर्णय भएको गुठीले जनाएको छ।
लेखक ओझाको यो तेस्रो पुस्तक हो। यसअघि उनका ऐलानी र एक पाइला आकाशमा पुस्तक प्रकाशित छन्।
यसअघि मदन पुरस्कार गुठीले श्रेष्ठ पाँच पुस्तकको सूची प्रकाशित गरेको थियो। जसमा सुविन भट्टराईको इजोरिया, ओझाको ऐंठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटोको घर पुस्तक समावेश थिए।
२०७९ सालको मदन पुरस्कारका लागि ३सय १३ पुस्तक प्राप्त भएको गुठीले जनाएको छ।
२०७८ सालको जगदम्बा-श्री सम्मान भाषा-साहित्यसेवी दुर्गाप्रसाद श्रेष्ठलाई र मदन पुरस्कार नवराज लम्सालको अग्नि महाकाव्यलाई प्रदान गरिएको थियो। जगदम्बा-श्री २०४५ सालबाट र मदन पुरस्कार २०१३ सालबाट प्रदान गरिंदै आएको छ।
नेपाल तथा नेपाल बाहिरबाट नेपाली भाषामा प्रकाशित पुस्तकमध्ये एक पुस्तकलाई मदन पुरस्कार तथा विभिन्न माध्यमबाट नेपाली भाषा, वाङ्मय र संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई जगदम्बा-श्री सम्मान प्रदान गरिदै आएको छ ।
मकवानपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन बमोजिम निगमले मूल्यवृद्धि फिर्ता लिएको जनाएको छ ।
निगममले मूल्यवृद्धि गर्ने निर्णय आइतबार राति १२ बजेबाट लागू हुने गरी फिर्ता गरेको छ । निगमले जारी गरेकाे सूचनामा भनिएकाे छ, ‘नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि २०८० तथा परिवर्तित मूल्यमा मूल्य अभिवृद्धि करसहित समायोजन गरी मिति २०८०/०६/१४ गतेदेखि पेट्रोलियम पदार्थ तथा ग्यासमा भएको मूल्यबृद्धिबाट नजिकिँदै गरेको चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राखी प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ बाट निर्देशन भएबमोजिम स्वचालित मूल्य प्रणाली यथावत् हुने गरी हाल भएको मूल्य बृद्धिलाई मूल्य स्थिरिकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्यवृद्धि गर्ने निर्णय आजै राति १२:०० बजेबाट लागू हुने गरी फिर्ता गरिएको व्यहोरा जानकारी गराइन्छ ।’
निगमले शनिबार पेट्रोल र डिजलमा प्रतिलिटर ६ रुपैया, मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैया तथा एलपी ग्यासमा प्रतिसिलिण्डर २ सय १५ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।

मकवानपुर । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले शनिबार मध्यराति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
निगमले ग्यासको मूल्य एकैपटक प्रतिसिलिन्डर २१५ रुपैयाँले बढाइएको छ । खाना पकाउने ग्यासको मूल्य एकै पटक ह्वातै बढाएको हो ।
पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाइएको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटिर ६ रुपैयाँले बढाइएको निगमले जनाएको छ ।

मकवानपुर । नेकपा एमाले बागमती प्रदेश अधिवेशनबाट रामेछाप जिल्लाका नेता कैलाश ढुङ्गेल भारी मतान्तर सहित अध्यक्षमा निर्वाचित भएका छन् ।
शुक्रवार राती आएको मत परिणामअनुसार ढुङ्गेलले ६९६ मत ल्याएर विजयी भएका हुन । उनका प्रतिष्पर्धी मकवानपुरका कृष्ण दाहालले ४३९ मत ल्याएका हुन् ।
यसैगरी उपाध्यक्षमा दावादोर्जे लामा विजयी भएका छन् ।
यस्तै सचिव पदमा नवराज सिलवालले १ मतले विजयी भएका छन् । सिलवालले ५६८ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी हस्त पण्डित ५६७ मत ल्याएका हुन् ।
यस्तै उपसचिवमा प्रेम कुमार महर्जन ५९९ र भक्त कुमारी लामा ५३६ मत लिएर विजयी भए ।
शुक्रवार दिउँसोबाट सुरु भएको मतदानमा बेलुकासम्म मतदान भएको थियो । ११७२ जना मतदातामध्ये ११२६ जनाले खसेको थियो भने ४१ जना अनुपस्थित भएको थियो ।
ढुंगेल रामेछापको पार्टी अध्यक्षका रुपमा तीन कार्यकाल काम गरको छन्। प्रतिनिसभामा चारपटक टिकट पाएर पराजित भए पनि २०७४ मा प्रदेशसभा जितेर बागमति प्रदेशको अर्थमन्त्री भएका थिए। ढुंगेललाई प्रदेश अध्यक्षको लागि नेता महेश बस्नेत पक्षले साथ दिएको थियोे ।
अध्यक्ष पदमा ५ जनाको उम्मेदवारी दर्ता भए पनि अन्य तीन जनाले उम्मेदवारी फिर्ता लिएपछि दाहाल र ढुङ्गेल बिच प्रतिष्पर्धा भएको थियो ।