मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा आजबाट थाहा फिल्म फेस्टिभल हुँदैछ । पर्यटन प्रर्वद्धन गर्न तथा थाहा नगर क्षेत्रलाई मिनि फिल्म सिटि बनाउने उदेश्यको साथ पहिलो पल्ट फिल्म फेस्टिभल हुने भएको हो ।
थाहा कला केन्द्रले पर्यटनका लागि फिल्म फेस्टिवल भन्ने नाराका साथ आज मंसिर ९ गतेबाट मंसिर १५ सम्म फिल्म फेस्टिभलको आयोजना गर्न लागेको हो । फेस्टिवलमा चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो, भ्लग लगाएत प्रर्दशन हुने आयोजकले जनाएको छ ।
थाहा नगरमा चलचित्र छायांकनको स्थल विकास तथा प्रचार गर्ने गरि आयोजकले विभिन्न पर्यटकीय स्थलमा चलचित्रकर्मीलाई भ्रमण समेत गराउने छ । थाहा नगरपालिकाको मुख्य पर्यटकीय क्षेत्रहरुको पहिचान गरि फेस्टिभलमा बृत्तचित्र प्रर्दशन गरिने आयोजक थाहा कलाकेन्द्रका सानुबाबु मुक्तानले बताए । चलचित्र छायांकनको लागि उपयुक्त स्थलहरुको बारेमा फेस्टिभलमा आएका चलचित्र निर्माता, निर्देशक तथा कालाकारहरुलाई जानकारी दिनेगरि बृत्तचित्र तयार पारिएको मुक्तानले जानकारी दिए ।
कार्यक्रम अवधिभर थाहाको पर्यटकीय क्षेत्रको अवलोकन गर्ने थाहानगरको पर्यटन बढाउने तस्वीरहरु कार्यक्रम स्थलमा राखी अवलोकन गराइनेछ । यसैगरी चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो, भ्लगलगायतका निर्माता, निर्देशक, कलाकार तथा निर्माण पक्षलाई थाहा नगरपालिकासङ्ग पारस्परिक गराउन प्रयास गर्ने आयोजकले जनाएको छ ।
चलचित्र, लघु चलचित्र, म्युजिक भिडियाको निर्माता, निर्देशक तथा निर्माण समूहसंग विषेश अन्तरक्रिया गराइनेछ । मकवानपुर जिल्लामै पहिलो पटक फिल्म फेस्टिवलको आयोजना हुन लागिरहेकोले फेस्टिवलका विशेष आकर्षक हुने आयोजकको दाबि छ । फेसिटवलमा विभिन्न समूहबाट सहभागि भई आएका सामग्रीहरुबाट छानिएका डकुमेन्ट्रि, फिचर फिल्म र सर्ट फिल्महरुको प्रदर्शनी हुने बताइएको छ । कार्यक्रमको कुल लागत २७ लाख ८० हजार लाग्ने अनुमान गरिएको छ ।
फेस्टिभल अबधिभर सयौँको संख्यामा नेपाली चलचित्रका कलाकार, निर्माता तथा निर्देशकहरु आएर थाहा क्षेत्रको अबलोकन गर्ने विश्वास आयोजकको रहेको छ ।
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।
मनहरी गाउँपालिका ६ खयर घारीगाउबाट अन्दाजी २ कि.मी.दक्षिण तर्फ रहेको राप्ति र लोथर खोलाको मध्यवर्ति क्षेत्र अन्तरगत दोभानमा खर काट्न आएका ४३ बर्षिय हरि पौडेलको ज्यान गएको हो ।
चितवन जिल्ला राप्ति नगरपालिका १ दुबि चौर बस्ने पौडेललाई जंगली बाघले आक्रमणमा परेको कारण ज्यान गएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुरमा दैनिक ६० हजार लिटर दुग्ध संकलन हुँदै आएको छ । करिब ४० हजार लिटर दुुग्ध उत्पादक सहकारी संघले खरिद बिक्रीको व्यवस्थापन गर्दै आएपनि बाँकी करिब २० हजार लिटर दुग्ध बिक्री नहुँदा किसान मारमा परेका छन् ।
यस्ले सातामा दुई दिन मिल्क होलिडेको अवस्था सिर्जना भएको भन्दै किसान समस्यामा परेका छन् । यस्तै समस्या बागमती प्रदेशका अन्य जिल्लाका किसानले समेत भाेग्दै आए पछि ती जिल्लाका दुग्ध सहकारी संघले समस्या समाधानमा चासाे दिएकाे छ । विहीबार प्रदेशका मकवानपुर चितवन र सिन्धुलीका जिल्ला दुग्ध उत्पादक संघका प्रतिनिधिले दुग्ध किसानहरुकाे प्रतिनिधित्व गर्दै कृषि मन्त्रीलाई भेटेर किसानका समस्या राखेका छन् । यसैगरि नागरिक समाजका प्रतिनिधिहरुले बागमती प्रदेशका मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
दुग्ध सहकारी संघका प्रतिनिधिले प्रदेश सरकारलाई किसानका समस्या समाधानकाे लाथि ज्ञापनपत्र बुझाएका छन् । बागमती प्रदेशका जिल्ला दुग्ध सहकारी संघका प्रतिनिधिहरुले प्रदेश कृषि तथा पशुपंक्षी विकास मन्त्री डा.राजेन्द्रमान श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन् ।
अहिले दुग्धजन्य पदार्थको बिक्रीमा आएको समस्या समाधानको गर्न आग्रहसहित बिभिन्न माग राख्दै मकवानपुर जिल्ला दुग्ध सहकारी संघको नेतृत्वमा ज्ञापन पत्र बुझाईएको हो ।
ज्ञापनपत्रमा बागमती प्रदेशमा दुग्ध उत्पादन क्षेत्रमा कृषकको उत्साह बढेसँगै दुग्ध उत्पादनमा उल्लेख्य वृद्धि भई सिंगो देशलाई दुग्धमा आत्मनिर्भर बनाउन सहयोग पुगेको तथा मुलुकलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन उत्पादित दुग्ध तथा दुग्धजन्य पदार्थ बिक्रीमा राज्यको महत्वपूर्ण भूमिका हुनुपर्ने उल्लेख गरिएको छ ।अहिले दुग्ध उत्पादक किसानहरुमा उत्साह देखिएकोमा यो उत्साह कायम राखी कृषकको समस्या समाधानमा गरिनु पर्ने ज्ञापनपत्रमा भनिएको छ ।
राज्य कृषकहरुको समस्या समाधान तर्फ केन्द्रीत नभएकोले कृषकहरुमा छाएको निराशा हटाउन बागमती प्रदेश सरकारसमक्ष किसानहरुका बिभिन्न मागहरु समाधान गर्न ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराईएको जिल्ला दुग्ध उत्पादक संघ मकवानपुर अध्यक्ष हरि प्रसाद कंडेलले बताए ।
‘उपादित दुग्धजन्य पदार्थको बजारिकरण सुनिश्चित गर्नुपर्ने, नियमित भुक्तानीको ब्यवस्था मिलाउनुपर्ने, उत्पादनमा आधारित अनुदान विगत भन्दा कम नहुने गरी व्यवस्था गर्नुपर्ने, दुग्ध उत्पादक किसान र सहकारीका आवश्यक्ताका आधारमा अनुदानको ब्यवस्था गर्नुपर्ने, दुग्ध उत्पादक सहकारी संघहरु र प्रदेश सरकार एवं सम्बन्धित मन्त्रालयबीच त्रैमासिक रुपमा छलफल, अन्तरक्रिया गरी समस्या पहिचान र समाधान गर्नुपर्ने लगायतका माग ज्ञापन पत्रमा छ ।
ज्ञापनपत्र बुझ्दै बागमती प्रदेश कृषि तथा पशुपंक्षी विकास मन्त्री श्रेष्ठले कृषकहरुको मागको संबोधन गर्नेतर्फ आफ्नो ध्यानाकर्षण भएको र प्रदेश सरकारको लगानीमा हेटौंडा १० मा निर्माण हुदै गरेको पाउडर प्लान्ट संचालन भएपछि दुग्ध क्षेत्रमा आउने समस्या समाधान हुने बताए ।
मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि प्रसाद कंडेल, चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगाले, सिन्धुली जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नवराज गजुरेल, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष अर्जुन देवकोटा, सहायक ब्यवस्थापक दामोदर अधिकारी लगायतको उपस्थितिमा ज्ञापन पत्र बुझाइएको थियो ।

दुग्धको समस्या समाधानमा सघाउन मुख्यमन्त्रीको ध्यानाकर्षण
यसैबीच मकवानपुरका दुग्ध किसानहरुको समस्या समाधानका लागि नागरिक समाजका प्रतिनिधिहरुले विहीबार बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलकाे ध्यानाकर्षण गराएका छन् ।
दुग्ध किसानहरुको समस्या समाधानका लागि जुटेको नागरिक समाजले मुख्यमन्त्रीसंगको भेटमा मकवानपुरमा दैनिक २० हजार लिटर दुग्ध बिक्री नभएकोले किसान समस्यामा परेकोमा ध्यानाकर्षण गराएका छन् । नागरिक समाजका प्रतिनिधीहरु गुञ्जनबहादुर न्यौपाने, सन्दीप कुमार सापकोटा, राममणि न्यौपाने, विकास दुलाल, दामोदर दाहाल लगायतको टोलीले मुख्यमन्त्री जम्कट्टेललाई दुग्ध उत्पालक किसानका समस्याबारे जानकारी गराउदै ध्यानाकर्षण गराएका हुन् ।
उनीहरुले मकवानपुरका किसानले उत्पादन गर्ने गरेका ६० हजार लिटर दुग्ध मध्ये ४० हजार लिटर मात्र विक्री हुँदा मिल्क हाेलीडेकाे मारमा किसान परेकाेले समस्या समाधनमा पहल गरिदिन मुख्यमन्त्रीकाे ध्यानाकर्षण गरेका हुन ।
किसानले उत्पादन गरेर पनि बिक्री हुन नसकेको दुग्ध स्टक गर्ने ठाउँ व्यवस्थापन, दुग्ध बिक्री वितरणको व्यवस्थापन गर्न नीजि डेरीलाई सहुलियत ऋण व्यवस्था लगायतका विषयमा प्रदेश सरकारले ध्यान दिएमा अहिलेको दुग्धमा देखा परेको समस्या समाधान हुने दुग्ध उत्पादकहरु बताउँछन् । दुग्ध उत्पादन गरिरहेकाहरुको समस्या समाधानका लागि कोल्ड स्थापना गर्न तथा अन्य विकल्पबाट दुग्धको समस्या समाधान गर्न नागरिक समाजका प्रतिनिधीको टोलीले सरोकारवालासंग छलफल, भेटघाट, ध्यानाकर्षण लगायतका कार्य गर्दै आइरहेको छ ।
यसअघि प्रदेश दुग्ध विकास बोर्ड, जिल्ला प्रशासन कार्यालय, नीजि डेरी लगायतसंग भेटघाट तथा छलफल गरेको टोलीले विहीबारै उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानलाई भेटी अहिले दुग्धमा देखिएको समस्या समाधानमा सहजीकरण गरिदिन आग्रह गरेको छ ।
मकवानपुर । आज हरिबाेधनी एकादशी पर्व मनाइदै छ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गरेकाहरुले आजकाे दिनलाई विशेष पर्वकाे रुपमा मनाउने गर्दछन् । आजकाे दिनलाई तुलसी विवाह पनि भनिन्छ ।
आज मकवानपुरकाे भिमफेदी गाउँपालिकामा रहेकाे त्रिखण्डि मन्दिर, मकवानपुरगढी दरबार परिसरमा रहेकाे बंशगाेपाल मन्दिर, थाहा नगरपालिकामा रहेकाे ऋखेश्वर मन्दिरलगायतमा विशेष मेला लाग्ने गर्दैछ । यि क्षेत्रहरुका आज विहानैबाट भक्तजनहरुकाे भीड सुरु भएकाे छ ।
वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने गरिन्छ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आज ब्युँझने मान्यता अनुसार आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।
हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देव देवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।
आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरुपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।
तुलसीको महत्व
तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलो लगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । मठको वरपर वहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महा औषधि मानिन्छ ।
तुलसीबाट बनेको चिया मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ । कोरोनालगायत भाइरसबाट बच्न तुलसीको चिया नियमित सेवन गर्नाले लाभ मिल्ने आयुर्वेदका चिकित्सक नरदेवी आयुर्वेद अस्पतालका प्रमुख डा. श्यामबाबु यादव बताउँछन् ।
कार्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसी पत्र विष्णुलाई अर्पण गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने विश्वास छ । गरुड पुराणमा उल्लेख भए अनुसार यस महिनामा एउटा तुलसी पत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ ।
आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ । रात्रिमा “गोविन्द उठ्नुस् तपाईँ सुते जगत् सुत्छ, तपार्इँ उठे जगत् उठ्छ” भन्दै शङ्ख, घन्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ । यसको प्रतीकका रुपमा मानवका पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रिय एवम् मन गरी एघार वटालाई जित्न उपयोग गरिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा. रामचन्द्र गौतम बताउँछन् ।
किसानले उखुको बोट मठमा गाड्छन् । आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ ।
कार्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवम् सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग विभिन्न ग्रन्थमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा. देवमणि भट्टराई बताउँछन् ।
आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मका चार महिना विष्णु क्षीर सागरमा सुतेकाले विवाह ब्रतवन्ध जस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढी पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ ।
आजका दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेष नारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्दछ । यहाँ जान नसक्नेले काठमाडौँको उत्तरी भेगमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ ।
वर्षमा एक दिनअर्थात् आजका दिन यी चार नारायण मन्दिरमा धेरै दर्शनार्थीले पूजा आराधना गर्न आउने गरेकाले चारै मन्दिरमा विशेष व्यवस्था गरिएको जनाइएको छ ।
मकवानपुर । सामाजिक सूचना व्यवस्थापन प्रणाली (सिम्स) को मानव बेचबिखन मोड्युलसम्बन्धी दुई दिने तालीम हेटौंडामा गरिएको छ ।
मानव बेचबिखन तथा ओसारपसार विरुद्ध तथ्यांक व्यवस्थित गर्दै कार्य प्रक्रियालाई सहज बनाउने उदेश्यले बनाइएको सिम्स कार्यान्वयनमा ल्याइएकोमा यसको प्राबिधिक पाटोमा तालीम दिइएको हो ।
सिम्स कार्यान्वयनको क्रममा देशभरकै स्थानीय तहमा एकीकृत रूपमा सूचना व्यवस्थापन गर्नको लागि सरोकारवालालाई कार्यक्षमता विकासको लागि तालीम दिइएको आयोजकले जनाएको छ ।
युएसएडको आर्थिक सहयोगमा वीन रक इन्टरनेशनद्वारा संचालित र हाम्रो सम्मान परियोजना र संघीय सरकार महिला बालबालिका तथा ज्येष्ठ मन्त्रालयको सयुक्त प्राविधिक सहयोग र शान्ति फाउन्डेसनको समन्वयमा सिम्स निर्माण गरिएको हो ।
कार्यक्रममा संघीय सरकार ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव रामहरि गैरे, वीन रक परियोजनाका रत्नकाजी श्रेष्ठ, दिपेन्द्र शर्मा,तिर्थ न्यौपाने, प्रोफेसनल कम्प्युटर सिस्टम ९पिसिएस० का प्रतिनिधिहरू लिड सफ्टवेयर इन्जिनियर प्रेरिका लक्ष्मी प्रधान र संजित थारु चौधरीले सहजीकरण गरेका थिए ।
कार्यक्रममा मकवानपुर जिल्लाको मनहरी र बकैया गाउपालिका, हेटौंडा उपमहानगरपालिका, काठमाडौ जिल्लाको काठमाडौ महानगरपालिका, बुढानिलकण्ठ नगरपालिका, टोखा नगरपालिका, सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका, पांचपोखरी थम्पाल र भोटेकोसी गाउँपालिका गरि ९ वटा स्थानीय तहका सूचना अधिकृत र महिला बालबालिका शाखाका कर्मचारीलाई तालीम प्रदान गरिएको शान्ति फाउन्डेसन मकवानपुर जिल्ला अधिकृत सीता गुरुङले बताइन् ।
यसैगरी बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको महिला बालबालिका शाखा प्रमुख र प्रतिनिधि, शान्ति फाउन्डेसन सिन्धुपाल्चोकको जिल्ला अधिकृत श्याम गोले, मकवानपुर जिल्ला प्रतिनिधि देबकी ढुङ्गाना, माइती नेपाल मकवानपुर, हिरण्य नेपाल, सिविन बाल हेल्प लाइन साना हातहरू नेपाललागयत सामाजिक संस्थाहरुकाे प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
तालिममा प्राबिधिक सहयोग प्रोफेसनल कम्प्युटर सिस्टमले गरेको थियो । जिल्लाको वडातह, स्थानीय तहदेखी संघीय स्तरसम्म सिम्स मार्फत एकीकृत गर्ने प्रणालीको लागी देशको झण्डै ३ सय स्थानीय तहले सिम्स प्रणालीलाई अपनत्व गरेको उपसचिव गैरेले बताए ।
सिम्स प्रणाली मार्फत तथ्याङ्क व्यवस्थापन गर्दा सबै स्तरको तथ्यांकहरू एकीकृत रूपमा रहने र अन्य कार्यमा समेत सहज हुने भएकोले सबै तहको सरकारले अपनत्व गर्नु आवश्यक रहेको शान्ति फाउन्डेसनकि अधिकृत गुरुङले बताइन् ।
कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले गरेकी थिइन् । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको प्रदेश स्तरीय संरक्षण नीतिलाई प्रदेश सभाबाट सक्दो चाडो पास गर्ने र यस्तो नीतिगत सवालमा काम गर्न सहज हुने मन्त्री मोक्तानले बताइन् ।
सिम्स प्रणाली स्थानीय तहमा कार्यान्वयनमा देखिएको समस्या बारे, प्राबिधिक सहयोग, ज्ञान, निर्देशिका बारे जानकारी पर्याप्तता वा अभाव बारे सहभागीहरूसंग छलफल र प्रतिक्रिया आदनप्रदान समेत गरिएको थियोे ।