मकवानपुर । मकवानपुरकाे हेटौंडा १८ हर्नामाडीमा रहेको वंशगोपाल बचत तथा ऋण सहकारी संस्थाले शनिबार आफ्नो १५ औं वार्षिक साधारणसभा गरेको छ । साधारण सभामा सहकारीले गत आर्थिक वर्षमा ८२ लाख ३९ हजार नाफा कमाएकाे जानकारी दिइएकाे छ ।
साधारण सभामा अध्यक्ष अरुणकुमार खतिवडाले अध्यक्षको प्रतिवेदन र कोषाध्यक्ष इमान बहादुर थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीकाे प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७९/०८० मा सहकारीले ८२ लाख ३९ हजार ३ सय ८९ रुपैयाँ नाफा कमाएको छ । सहकारीको कुल शेयर रकम ५१ लाख ९९ हजार ६ सय, कुल बचत रकम ५ करोड ९७ लाख ४६ हजार ९ सय ६० , कुल कर्जा लगानी ५ करोड ८३ लाख ९ हजार ५ सय ४ र कुल मौज्दात १ करोड ७७ लाख ९ हजार ८ सय ५ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
साधारण सभमा ऋण उपसमितिका संयोजक माधव नारायण तुलाधरले ऋण उपसमितिको प्रतिवेदन र लेखा समिति संयोजक कपिल प्रसाद पराजुलीले आन्तरिक लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए। सहकारीको चालु आर्थिक बर्षमा ४१ जना सदस्य वृद्धि भएको छ । हाल सहकारीको कुल १ हजार ८६ जना शेयर सदस्य कायम भएको छ । सहकारीले ४ जना सेयर सदस्यका परिवारलाई मृतक राहत कोष वितरण तथा १६ जना जना सदस्यलाई सुत्केरी स्याहार खर्च वितरण गरिएको अध्यक्ष खतिवडाले जानकारी दिए ।
सहकारीले चालुआर्थिक बर्षका लागि नयाँ कार्यक्रम थप गर्दै पुराना कार्यक्रमलाई निरन्तरता दिन योजना बनाएको छ । प्रत्येक शेयर सदस्यको सेयर १५ हजार पुर्याउने र ऋण लिँदा प्रति दुई हजारमा एक कित्ता शेयर अनिवार्य थप गर्दै लैजाने जनाएको छ । चालुआर्थिक बर्षको अन्त्यमा शेयर सदस्य संख्या १४ सय पुर्याउने सहकारीको लक्ष्य छ । आर्थिक मन्दीलाई ध्यानमा राख्दै कर्जा प्रवाह ८ लाख रुपैयाँसम्म प्रदान गरिने सहकारीले जनाएको छ ।
सहकारीले उत्कृष्ट बचतकर्ता बुद्धि बहादुर आले र असल ऋणीतर्फ संगिता पौडेललाई सम्मान गरेको थियो । त्यस्तै सहकारीले एसईई परीक्षामा सामुदायिक विद्यालयतर्फ ३.६५ जीपिए ल्याउने ज्योति माविकी छात्रा पवित्रा तिमल्सिना र संस्थागत विद्यालयतर्फ ३.९० जीपिए ल्याउने तासिर बोर्डिङ स्कुलका मणिराज बराललाई सम्मान गरेको थियो ।
कार्यक्रममा ज्योति माविका विद्यालय ब्यवस्थापन समिति अध्यक्ष एवम् हर्नामाडी कला प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेल, ज्योति सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष रामबाबु खतिवडा, सहकारीका सल्लाहकार केशब पण्डित, सेयर सदस्यका तर्फबाट तुलसी गिरी, रमेश थापालगायतले मन्तव्य राखेका थिए ।
मकवानपुर । पतंजली योग समिति नेपालका सह प्रभारी ललित शंकर योगीले जीवनमा चाहना रहेसम्म मानिस खुसि हुन नसक्ने बताएका छन् । मंसिर २१ गतेदेखि ३ दिनसम्म हेटौंडामा भएको मेडिटेसन प्रेरणात्मक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
गरौ योग, रहौ निरोग भन्ने नाराका साथ पतंजली याेग समिति मकवानपुरकाे आयाेजजनामा भएकाे ३ दिने मेडिटेसन कार्यक्रमको अन्तिम दिन शनिबार याेगी ललित शंकरले जिवनमा ज्ञान, याेग, साधना आरधानाले नै खुसि मिल्ने बताए । ‘मान,पद प्रतिष्ठा, धन र सम्पत्तिले न खुसि मिल्छ न शान्ति’ उनले भने ‘हरेक दिन एक घण्टा मात्रै गिता पढ्नुस जिवनकाे लक्ष्य भेटिन्छ ।’
योगी ललितले भने ‘भगवान हाम्रो हृदयमा हुनुहुन्छ कुनै मन्दिर तथा तिर्थ धाउनु पर्दैन । भगवानसंग प्रेम गर्ने हाे भने संसारका हरेक माेहवाट मुक्त हुनुपर्छ ।’ मानिस आफ्नै विचारले दुखि अनि सुखि हुन्छ । विचार नै ओैषधि भएको उनले बताए । राग द्वेष विना मानिस ज्ञानि वन्न सक्दैन, मानसम्मानकाे माेह, छाेरा छाेरीप्रतिकाे माेह तथा धन सम्पत्ति प्रतिकाे माेह नत्यागी साधक वन्न नसक्ने उनको धारणा थियो ।
मेडिटेसनमा भक्तपुर याेग समितिका अध्यक्ष केदार खड्का, याेग समिति मकवानपुर जिल्ला अध्यक्ष रामकृष्ण थापा, महिला याेग समितिका अध्यक्ष शशिकला थापा लगायतका याेग शिक्षक शिक्षिका तथा साधक साधिकाकाे उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । मकवानपुरको थाहानगरमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
शनिबार बेलुका मकवानपुरको थाहा नगरपालिका ९ चित्लाङ स्थित भित्री सडक खण्डमा बस र मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक थाहा नगरपालिका १० बस्ने ३० वर्षीय मनोज गमाल रहेका छन् ।
काठमाडौंबाट चित्लाङतर्फ आउदै गरेको बा.४ ख ८७७३ नम्बरको बस र बिपरित दिशाबाट आउदै गरेको बा.६५प ४१७३ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक मनोज र थाहा नगरपालिका १० कै शम्भु गमाल घाइते भएका थिए । मनोज गम्भीर घाइते भई उपचारको लागि ट्रमा सेन्टर काठमाण्डौं लगेकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार मोटरसाइकल पछाडी सवार शम्भुको मनमोहन अस्पताल काठमाडौमा उपचार भईरहेको तथा अवस्था सामान्य रहेको छ । मोटरसाइकल, बस र बस चालक ईलाका प्रहरी पालुङको नियन्त्रणमा रहेको छ ।
मकवानपुर । नेपालमा हाल पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार तराईका थोरै स्थानहरूमा भने हुस्स’ र कुहिरो लागेको छ ।
आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी , गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।साथै कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
कोशी प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशभरिको तापक्रममा कमी आउन सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेकाे छ ।
मकवानपुर । मकवानपुरकाे हेटौडामा बसले माेटरसाइकललाई ठक्कर दिंदा १ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा बारा जितपुर सिमरा उपमहानगरपालिका १२ बस्ने ३२ वर्षीय निशा कुमारी रहेकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
शुक्रबार बिहान हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटे स्थित पूर्व पश्चिम सडकखण्डमा पथलैयाबाट भरतपुर तर्फ जान आउदै गरेको ना ४ ख ९५२० नम्बरको बसले सोही दिशा तर्फ आउदै गरेको ना ५३ प ८५२७ नम्बरकाे मोटरसाइकललाई ठक्कर दिई दुर्घटना भएकाे हाे ।
दुर्घटनामा मोटरसाइकल चालक बारा जितपुर सिमरा १२ बस्ने ४३ वर्षीय रोशन कुमार राय तथा रायकी श्रीमति निशा कुमारी घाइते भएका थिए । उनीहरुलाई उपचारकाे लागि हेटौडा अस्पताल ल्याइएकाेमा शुक्रबार बिहान डाक्टरले निशा कुमारीकाे मृत्यु भएकाे घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
घाइते रायकाे अवस्था सामान्य रहेकाे तथा दुर्घटना भएकाे मोटरसाइकल बस तथा बस चालक प्रहरी चौकी रातोमाटेको नियन्त्रणमा रहेकाे छ ।