मकवानपुर । मकवानपुर जिल्ला फुटबल संघले रेफ्रीमाथि हातपात र अभद्र व्यवहार गर्ने खेलाडी र क्लबलाई कारबाही गरेकाे छ । सोमबार जिल्ला लिग क्वालिफाइ फुटबल प्रतियोगितामा पञ्चसिल र दि रिभाइबल क्लबबीचको खेलमा रेफ्रीमाथि हातपात सहित अभद्र व्यवहार गरिएको भन्दै जिल्ला फुटबल संघले दि रिभाइबल क्लबलाई कारबाही गरेकाे छ ।
यसैगरी क्लबका गोल रक्षक, कप्तान, खेलाडी र टिम म्यानेजरलाई ३ वर्षसम्मको प्रतिबन्धको निर्णय गरेको मकवानपुर जिल्ला फुटबल संघले जनाएकाे छ । खेल सकिएर रेफ्री ग्राउन्ड बाहिर निस्कदा दि रिभाइबल क्लबका खेलाडी, अफिसियल सहित टिम मेनेजरले रेफ्रीमाथि हातपात, अभद्र व्यवहार गरेको जिल्ला फुटबल संघले जनाएको छ ।
संघको मंगलबार बिहान बसेको बैठकले दि रिभाईबल क्लबलाई ३ वर्षको प्रतिबन्ध लगाउने, क्लबका गोलरक्षक तथा कप्तान अनिल लोप्चनलाई २ बर्षको प्रतिबन्ध गर्ने, खेलाडी सुनिल खड्कीलाई ३ वर्षको प्रतिबन्ध लगाउने र क्लबका टिम म्यानेजर कृष्ण बहादुर ठकुरीलाई ३ वर्षको प्रतिबन्ध लगाउने निर्णय गरेको छ । यस्तै घटनामा संलग्न रहेको भन्दै क्लबका ओम गुरुङ कृष्णलाई समेत एक वर्षको प्रतिबन्धको निर्णय गरिएको छ ।
प्रतिबन्धमा परेको खेलाडी तथा अफिसियल एन्फाद्धारा आयोजित फुटबल प्रतियोगिता र एन्फा रेफ्री आबद्ध प्रतियोगितामा सहभागी हुन नपाईने गरि प्रतिबन्ध गरिएको जिल्ला अध्यक्ष टिकाराम लामाले जानकारी दिए ।
मकवानपुर । मकवानपुरको हेटौंडामा बृहत् खेलकुद तथा व्यापार महोत्सव हुदैछ । खेल क्षेत्रको विकासका लागि मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजना पौष ५ गेते देखि १७ गतेसम्म हुने बृहत् खेलकुद तथा व्यापार महोत्सवको लागि मूल आयोजक समिति गठन भएको छ ।
समिति अध्यक्ष वेष खड्गीको अध्यक्षतामा १०१ सदस्यीय महोत्सव मूल आयोजक समिति गठन भएको हो ।खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइरालाको संयोजकत्वमा विभिन्न खेल संघका पदाधिकारी रहने गरी खेलकुद संयोजक समिति गठन गरिएको छ भने पूर्व अध्यक्षहरु रहेको सल्लाहकार समिति निर्माण भएको छ ।
महोत्सवमा राष्ट्रिय, प्रदेश तथा स्थानीय गरी १३ वटा विभिन्न खेलकुद प्रतियोगिता हुनेछ । महोत्सवमा महिलाको राष्ट्रिय उसु प्रतियोगिता, महिलाकै राष्ट्रिय भलिबल, कबड्डीको महिला पुरुष दुवै विधाको प्रदेशस्तरीय प्रतियोगिता हुनेछ ।
यस्तै कराँतेको जिल्लास्तरी प्रतियोगिता, फुलकन्ट्याक्ट कराँतेको जिल्ला स्तरीय, आर्चारीको खेल प्रदर्शन, रेस्लिङको आमन्त्रित र कुस्तीको अन्तर्राष्ट्रिय प्रदर्शन हुनेछ । ब्याड्मिन्टनको खुला प्रतियोगिता, आइटीएफ तेक्वान्दो र हक्कीको प्रदेशस्तरीय प्रतियोगिता र महिलाको लागि ७ ए साइड फुटबल प्रतियोगिता गर्ने आयोजकले जानकारी दिएको छ ।
सबै प्रतियोगिताको विजेता उपविजेताले नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खेलकुद महोत्सवबाट भएको आम्दानीको करिब २५ लाख रुपैयाँ खेलकुद विकास समितिले बचत गर्ने लक्ष्य रहेको अध्यक्ष खड्कीले बताए ।
‘मकवानपुर खेल क्षेत्रको उर्वरभूमी हो । आर्थिक अभावकै कारण धेरै खेलाडीले बीचमै खेल छोड्नुपरेको छ । आर्थिक अभावमा उपचार हुन नसकेको अवस्था छ’, अध्यक्ष खड्कीले भने, ‘यो सबै समस्याको समाधानका लागि आर्थिक जोहो गर्ने उद्देश्यले खेलकुद तथा व्यापार महोत्सवको आयोजना गर्न लागेका हौं । हाम्रो उद्देश्य पवित्र छ, तसर्थ सबै संघसंस्था र आम जिल्लाबासीबाट सहयोग प्राप्त हुनेमा विश्वस्त छौं ।’ महोत्सवबाट प्राप्त हुने रकम खेलकुद समितिमै राखेर खेल र खेलाडीको बृत्तिविकासमा लगाउने अध्यक्ष खड्कीले जानकारी दिए ।
महोत्सवमा खेलकुदको स्पर्धासँगै कृषि, पर्यटन, हस्तकला, खेलकुद सामग्री, धार्मिक, सामुदायिक, स्वास्थ्य, जनचेतनामुलक, खानाखाजाका स्टल समेत रहनेछ । यस्तै बाल उद्दान, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, खुला नृत्य प्रतियोगिता र लाइभ दोहोरी समेत आयोजना हुने आयोजकले जानकारी दिएको छ । महोत्सवमा मकवानपुरमा क्रियाशिल खेलकुदसँग सम्बन्धित सबै संघसंस्थाको प्रतिनिधित्व रहने बताइएको छ ।
मकवानपुर । उच्च अदालत पाटन हेटाैडा इजलासका मुख्य न्यायधिस यमुना भट्टराईले मानव अधिकार सम्वन्धी विभिन्न दस्तावेजहरुमा नेपालले पक्ष राष्ट्र भई हस्ताक्षर तथाअनुमाेदन गरेकाे बताएकी छन् ।
राष्ट्रिय मानवअधिकार आयाेग बागमती प्रदेश कार्यालयकाे आयाेजनामा ७५ ओैँ अन्तराष्ट्रिय मानव अधिकार दिवस कार्यक्रममा भट्टराईले लैङ्गिक न्याय, जातिय न्याय अपाङ्ग सम्वन्धि न्याय जस्ता धेरै क्षेत्रमा न्यायपालिकाले महत्त्वपूर्ण भुमिका निर्वाह गरेकाे बताइन् ।
‘म मेराे ठाउमा वसेर मानवअधिकारकाे क्षेत्रमा के काम गर्न सक्छु भनेर स्वमुल्यांकन गर्ने समय हाे याे’ भट्टराईले भनिन् ‘मानव अधिकार उलंघन गर्ने क्षेत्रमा न्याय प्रदान गर्ने र चेतना फैलाउन काम गर्ने तल्लो तहमा गर्नुपर्छ ।’
आयाेगका निमित्त कार्यालय प्रमुख रेवा रेग्मीको सभाध्यक्षता तथा उच्च अदालत पाटन हेटाैडा इजलासका मुख्य न्यायधिस यमुना भट्टराईकाे प्रमुख आतिथ्यतामा भएको ७५ ओैँ अन्तराष्ट्रिय मानव अधिकार दिवस कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेम पुलामी मगर, जिसस प्रमुख ललित घलान, प्रजिअ सुर्य प्रसाद सेडाइ, ईन्सक बागमती प्रदेश संयाेजक गणेश भण्डारीलगायतले मन्तव्य राखेका थिए ।
आयोगमा ६६ वटा उजुरी दर्ता
राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयमा आर्थिक वर्ष २०७९/०८० मा ६६ वटा उजूरीहरु दर्ता भएका छन् । ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा हेटौंडामा आयोजना गरिएको कार्यक्रममा उक्त जानकारी गराइएको हो ।
आयोग बागमती प्रदेशका निमित्त प्रमुख रेवा रेग्मीले सबैभन्दा बढी काठमाडौं जिल्लाबाट कूल ४४ वटा उजूरीहरु दर्ता भएको जानकारी दिइन् । यस्तै मकवानपुर जिल्लाबाट ६, ललितपुर, सिन्धुली, काभ्रेपलाञ्चोक र चितवन जिल्लाबाट दुई-दुई वटा उजुरी दर्ता भएका छन् । भक्तपुर र सिन्धुपाल्चोक जिल्लाबाट ३-३ वटा,दोलखा र रामेछाप जिल्लाबाट एक-एक वटा उजुरी दर्ता भएको रेग्मीले बताइन् ।
गत आर्थिक वर्षमा रसुवा, नुवाकोट र धादिङ जिल्लाबाट कुनै पनि उजूरी दर्ता भएनन् । गत आर्थिक वर्षमा वक्यौता रहेका ५ सय ९६ वटाअ उजूरी विचाराधीन रहेको उनले बताइन् ।
आयोगको प्रदेश कार्यालयमा आव २०७९/०८० मा नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी ३० वटा, आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार सम्बन्धी ७ वटा, यातना र दुर्व्यवहार सम्बन्धी ९ वटा, महिला अधिकार सम्बन्धी ४ वटा उजुरी दर्ता भएका छन् ।
यसैगरी बाल अधिकार सम्बन्धी ६ वटा, बेपत्ता र जेष्ठ नागरिक सम्बन्धी एक एक वटा, अपाङ्गता सम्बन्धी ३ वटा, वातावरण सम्बन्धी एक वटा तथा आदिवासी जनजातिको अधिकार सम्बन्धी २ वटा र व्यक्ति हराएको तथा दुव्र्यवहार भएको २ जना गरी कूल ६६ वटा उजूरीहरु दर्ता भएको रेग्मीले जानकारी दिइन् ।
‘उजूरीहरुको प्रकृति हेर्दा जीवनको अधिकार, न्याय प्रशासन, शान्तिपूर्ण रुपमा भेला हुन पाउने तथा सभा सम्मेलन गर्न पाउने अधिकार, स्वास्थ्य तथा रोजगारी, महिला अधिकार, घरेलु हिंसा, बाल अधिकार, अपाङ्गता भएका व्यक्तिहरुको जेष्ठ नागरिकको अधिकार लगायतका विषयसँग सम्बन्धित धेरै छन् ।’ रेग्मीले भनिन् ।
यस आवमा आयोगको कार्यालय मार्फत १ सय १० वटा परामर्श सेवा उपलब्ध गराएको बताइएको छ । बागमती प्रदेश कार्यालय स्थापना भएपश्चात १३ वटा जिल्लाहरुमा मानव अधिकार संरक्षण, सम्वद्र्धनको लागि उजूरी लिने, अनुगमन र अनुसन्धान गर्नेदेखि उजूरीलाई निर्णायार्थ आयोगमा पेश गर्ने लगायतका कार्यहरु निरन्तर भईरहेको पुराना वक्यौता उजूरी अनुसन्धानलाई प्रदेश कार्यालयले उच्च प्राथमिकतामा राखेको रेग्मीले बताइन् ।
मकवानपुर । मकवानपुरकाे मनहरीमा आफन्तकाेमा पाहुँना लाग्न गएकी एक युवतीकाे मृत्यु भएकाे छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ हटियाबाट मनहरी गाउँपालिका वडा नम्बर ३ स्थित निर्मला बस्तीमा पाहुना लाग्न गएकी अन्दाजी २० बर्षीया कान्छी (बोलाउने नाम) प्रजा मृत भेटिएको हाे ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार उनी निर्मलाबस्तीस्थित आफन्त शान्ती प्रजाको घरमा गएकी थिइन् । शनिबार बेलुका खाना खाएर एक्लै कोठामा सुतेकी कान्छी आइतबार बिहान मृत अवस्थामा फेला परेकाे प्रहरीले जनाएको छ । बागमती प्रदेश प्रहरीका अनुसार मृतक युवतीको शरिरमा चोटपटक देखिएको छैन । शव पोष्टमाटमका लागि हेटौंडा अस्पतालमा राखिएकाे छ ।
मकवानपुर । मकवानपुरमा ध्वनी प्रदुषण नियन्त्रण गर्न ध्यानाकर्षण गराईएको छ ।
जनसरोकार केन्द्र मकवानपुरले आइतबार प्रमुख जिल्ला अधिकारीलाई ध्वनी प्रदुषण नियन्त्रणका लागि ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराइएको हो ।
जनसरोकार केन्द्र मकवानपुर संयोजक धुर्ब प्रसाद चौलागाईले प्रजिअ सूर्य प्रसाद सेडाईलाई ज्ञापनपत्र बुझाउँदै बढ्दो ध्वनी प्रदुषण नियन्त्रण गर्न आग्रह गरे ।
ध्वनी प्रदुषणका कारण मकवानपुरका नागरिक समस्यामा परेकोले केन्द्रले प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका अन्य सरकारी निकाय एवम् विभिन्न राजनीतिक दलहरुलाई पनि ध्यानाकर्षण गराएको थियो ।

