मकवानपुर । मकवानपुरकाे मकवानपुरगढी गाउँपालिकाले रैथाने बालीलाई प्राेत्साहन गर्दै काेदाे र धानकाेदाे तथा फापर र जुनेलोको मूल्य निर्धारण गरेपछि खरिद संकलन सुरु गरेकाे छ ।
गाउँपालिकाकाे वडा नम्बर ८ स्थित बुढिचौर स्थित एकता स्वाबलम्बन कृषि सहकारी संस्था लिमिटेडले आइतबारबाट कृषकहरुबाट उत्पादित मिठे फापर र तिते फापर खरिद गरि संकलन गर्न शुरुवात गरेको हाे । गाउँपालिकाले प्रति केजी एक सय मूल्य तोकिएकाे फापरमा सहकारी संस्थाले १ सय १० मा खरिद गरिएको हाे । जसमा अनुदान रकम समेत थप गरि प्रति केजी १ सय १६ रुपैंयाको दरले कृषकहरुबाट फापर खरिद गरिएको सहकारीका व्यवस्थापक गुन्जरत्न लुङ्वाले जानकारी दिए।
आइतबारबाट खरिद गर्न सुरु गरिएकाेमा पहिलो दिन २१ जना कृषकहरुबाट २ हजार १ सय ७४ केजी फापर खरिद भएको सहकारीका सचिव अजय योन्जनले बताए। सहकारीका अध्यक्ष बालानन्द तिमल्सिनाले यस वर्षदेखि कृषकहरुबाट फापर संकलन शुरुवात गरेकोमा अनुमानित १० मेट्रिक टन खरिद गर्ने लक्ष्य रहेको जानकारी दिए ।

गत वर्ष कृषकहरुले प्रति केजी ९० रुपैयामा विक्री गरेको फापर यस वर्ष गाउँपालिकाको अनुदान समेत थप गरि प्रति केजी १ सय १६ रुपैया पाएकोमा स्थानीय कृषक चन्द्र बहादुर लुङ्वाले खुशी व्यक्त गरे । फापर विक्री गर्ने कृषकहरु मध्ये बुढिचौरका लुङ्वाले सबैभन्दा बढी २ सय ६८ केजी फापर विक्री गरेका छन् ।
मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान र वडा नं. ८ का वडा अध्यक्ष कुमार सिं घिसिङ, वडा सदस्यद्वय गोकुल प्रसाद देवकोटा, सूर्यमाया दोङको उपस्थितिमा फापर खरिद तथा संकलनको कार्य शुरुवात गरिएको हो । कार्यक्रममा सहकारी संस्थाका पदाधिकारीलगायतकाे उपस्थिति रहेको थियो ।
रैथाने बालीकाे समर्थन मुल्य ताेकेर गाउँपालिकाले दियाे अनुदान
मकवानपुर । मकवानपुरकाे बागमती गाउँपालिका अपाङ्गता भएकाे व्यक्तिकाे घरै नागरिकता पुर्याइएकाे छ । योसँगै १ जना मानसिक तथा शारीरिक अपाङ्गता भएका व्यक्तिले नेपाली भएकाे पहिचान पाएका छन् ।
नागरिकता पाए पछि ती व्यक्तिले सरकारबाट पाउने अन्य सुविधा लिन सहज हुने भएकाे छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले मानसिक तथा शारीरिक अपाङ्गता भएका बागमती गाउँपालिका ४ का १ जना पुरुषकाे घरमै पुगेर नागरिकता प्रदान गरेकाे हाे । बागमती ४ का १७ वर्षीय मानसिकरूपमा पूर्ण अपाङ्ग भएका एक पुरुषलाई उनको घरमै पुगेर नेपाली नागरिकता प्रमाणपत्र प्रदान गरिएकाे मकवानपुरले जनाएकाे छ ।
नागरिकता प्रमाणपत्र लिनकाे लागि ती पुरुषलाई जिल्ला प्रशासन कार्यालय मकवानपुर कार्यालयसम्म ल्याउन नसिकने अवस्था भएकाले उनकाे घरमै पुगेर नागरिकता प्रमाणपत्र प्रदान गरिएको प्रशासकीय अधिकृत सरोज प्रसाद पौडेलले बताए । शनिबार जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत पौडेल, नायब सुब्बा मदन श्रेष्ठ सहितको टोली उनको घरमै पुगेर नेपाली नागरिकताकाे प्रमाणपत्र प्रदान गरेका हुन् ।
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा बगर खेती गर्ने किसानले अनुदान पाउने भएका छन् । बकैया भित्र नदी, खोला किनाराको उकास खेर गएकाे जग्गामा बगर खेती गर्ने किसानलाई अनुदान दिइने भएको छ । बगर खेती गर्ने किसानलाई अनुदान दिने भएको हो ।
पालिकाले स्वीकृत कार्यक्रम अनुसार बगरमा खेती गर्ने किसानलाई अनुदान दिने भएको हाे । प्रति क्लस्टर (५ विघा क्षेत्रफल) मा एक लाख ७५ हजार अनुदान रकम उपलब्ध गराउने बगर खेति कार्यक्रमका लागि प्रस्तावना आव्हानको सूचना प्रकाशित गरी जनाइएकाे छ । प्रस्तावना आव्हानको सूचनामा कृषि व्यवसायमा संलग्न भई खेती गर्न इच्छुक कृषक, कृषक समुह, कृषि सहकारी संस्था, फर्ममार्फत् एक साताभित्र प्रश्तावना पेश गर्न भनिएकाे छ ।
अनुदान वितरण प्रक्रिया प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरित कृषि विकास कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०८० अनुसार गरिने प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठद्वारा हस्ताक्षरित सूचनामा जनाइएकाे छ । आयआर्जनमा वृद्धि गर्ने तथा बकैयाबाट अन्यत्र निर्यात गर्ने लक्ष्य सहित बगर खेतीलाई प्रोत्साहन गर्न कार्यक्रम ल्याइएको बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले बताए । बकैयामा १२ वटा वडा छन् । ती वडाहरुमा अनुमानित १५ प्रतिशत जग्गा नदी उकास रहेको बताइएकाे छ ।
मकवानपुर । मकवानपुरको बकैयामा १ जनाको शव फेला परेको छ । बकैया गाउँपालिका वडा नम्बर २ सरस्वती सामुदायिक वनमा सडेगलेको अवस्थामा शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार बिहान बकैया २ सरस्वती सामुदायिक वनको वतासेडाँडास्थित जंगलको भिरमा ६०/६५ बर्षीय एक पुरुष मृत अवस्थामा फेला परेको हो । उक्त शवको सनाखत भएको छैन ।
उक्त स्थानमा शव भेटिए देखि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सूचना पछि प्रहरीले घटनास्थल पुग्दा दुर्गन्धित अवस्थामा फेला परेको मकवानपुरका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।
उनका अनुसार घटनास्थलको प्रारम्भिक अनुसन्धान गरी शवलाई पोस्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याएको छ । घटनाबारे प्रहरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । हेटौंडा ७ मा रहेको न्युरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समुहको ३३ औं वार्षिक साधारणसभा शनिबार भएको छ । साधारणसभामा अध्यक्ष ज्ञान बहादुर क्षेत्रीले समुहको प्रगति प्रतिवेदन, सचिव शान्ति तिमल्सिनाले समुहको कार्यप्रगतिको प्रतिवेदन र कोषाध्यक्ष तेजप्रसाद मैनालीले समुहको आय व्यय सहितको १४ लाख ६६ हजार ७ सय २१ रुपैयाँको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी ७ नम्बर वडाका अध्यक्ष दामोदर गौतमले समुहले वन संरक्षण र उपभोक्ताको आयआर्जनमा टेवा पुर्याउने कार्यमा उल्लेखनीय कार्य गरेको भन्दै समुहलाई आवश्यक अन्य भौतिक तथा आर्थिक सहायता वडा कार्यालयले गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा डिभिजन वन कार्यालय हेटौंडाका अधिकृत वसन्त राज गौतमले वन संरक्षण र विधमान नीति नियमको बारेमा प्रष्ट्याएका थिए । यस्तै सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष साधुराम चौलागाईंले समुहको सिमानामा अग्निरेखा निर्माणकालागि महासङ्घले आर्थिक सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरे ।
यसैगरी अस्मिता नेपालकी अध्यक्ष आरती पाठकले अस्मिताले समुहका उपभोक्तालाई दुना टपरी बनाउने तालिम प्रदान गरि समुहलाई दुना टपरी बनाउने मेसिन उपलब्ध गराएको भन्दै आगामी बर्ष समुहले उक्त मेसिन संचालनमा ल्याउदै आफ्ना उपभोक्तालाई उधमी बनाउनेतर्फ लाग्न समुहलाई आग्रह गरिन् । कार्यक्रममा पशुपति मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्ण घिमिरे, जनकल्याण सहकारीका सचिव रोम बहादुर न्यौपाने, रानी सामुदायिक वनका अध्यक्ष विष्णु प्रसाद न्यौपाने लगायतले आआफ्नाे धारणा राखेका थिए ।

यस्तै समुहले वन संरक्षणको लागि सञ्चारमाध्यमबाट सहयोग पुर्याउदै आएको भन्दै पत्रकार पुष्पराज अधिकारीलाई नगदसहित दोसल्ला, सम्मानपत्रबाट सम्मान गरेको छ । यस्तै सव–डिभिजन वन रातोमाटेका फरेस्टर यदु प्रसाद घिमिरे, जेष्ठनागरिक तर्फ उपभोक्ता रेमलाल गौतम र डेवकुमारी पोखरेल, कृषि तथा पशुपालनतर्फ सुमित्रा उपाध्यायलाई सम्मान गरिएको छ ।
समुहले विपन्न वर्ग उत्थान कार्यक्रमको लागि २ लाखको घुम्ती कोष बनाई हरेक बर्ष आफ्ना विपन्न उपभोक्ताहरुलाई २० हजारको आर्थिक सहायता गरि उपभोक्ताको आयआर्जनमा टेवा पुर्याउदै आएको छ । वन संरक्षण र सम्बर्द्धनमा महत्त्वपूर्ण भुमिका खेलेको भन्दै समुहले ४ पटक जिल्ला स्तरीय वन संरक्षण पुरस्कार र सर्वमान्य गणेशमान सिंह वन संरक्षण पुरस्कार २०७३ तृतीय बाट समेत सम्मानित भएको थियो ।
२ सय ८७ घरधुरी र ७१।१२ हेक्टर क्षेत्रफल रहेको वनको पुर्वमा हेटौंडा ६ को रानी वन र पश्चिममा हेटौंडा ५ को पिप्लेपोखरा सामुदायिक वन उपभोक्ता समूह रहेको छ । यसैगरी आजै भएको समुहको अधिवेशनले प्रकाश कार्कीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । समुहका अध्यक्ष ज्ञान बहादुर क्षेत्रीको अध्यक्षतमा भएको कार्यक्रममा हेटौंडा ७ का वडा अध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।