मकवानपुर । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाताकाे अन्तिम नामावली प्रकाशित गरिएकाे छ । स्वीकृत निर्वाचन कार्यक्रम अनुसार आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आइतबार ७ वटै प्रदेशकाे अन्तिम मतदाता नामावली प्रकाशन गरिएको हाे।
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनकाे लागि प्रदेश सभाका सदस्यको प्रति मतदाता मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको प्रति मतदाता मतभार १९ कायम गरेकाे छ । उक्त मतभार अनुसार माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि प्रदेश सभा सदस्यको कूल मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कूल मतभार २८ हजार ४ सय ६२ गरी जम्मा ५७ हजार ५ सय ५९ मतभार कायम हुनेछ।
निर्वाचन आयोगका अनुसार प्रकाशित अन्तिम नामावली अनुसार बागमती प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता सङ्ख्या १ सय १० तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या २ सय ३७ गरी जम्मा ३ सय ४७ जना मतदाता कायम भएका छन्। प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ५ हजार ८ सय ३० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ४ हजार ५ सय ३ गरी जम्मा १० हजार ३ सय ३३ मतभार कायम हुने भएकाे छ।
यसैगरी कोशी प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता सङ्ख्या ९३ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या २ सय ७४ गरी जम्मा ३ सय ६७ जना मतदाता कायम भएका छन्। कोशी प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ४ हजार ९ सय २९ कायम भएकाे छ । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ५ हजार २ सय ६ गरी कायम भइ जम्मा १० हजार १ सय ३५ मतभार कायम हुने भएकाे निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए ।

लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता सङ्ख्या ८७ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या २ सय १८ गरी जम्मा ३ सय ५ जना मतदाता कायम भएका छन्। प्रदेशमा प्रदेश सभा सदस्यको मतभार ४ हजार ६ सय ११ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ४ हजार १ सय ४२ गरी जम्मा ८ हजार ७ सय ५३ मतभार कायम हुने भएकाे पौडेलले बताए ।
यसैगरी कर्णाली प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता सङ्ख्या ४० तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या १ सय ५६ गरी जम्मा १ सय ९६ जना मतदाता कायम भएका छन्। प्रदेशमा प्रदेश सभा सदस्यको मतभार २ हजार १ सय २० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार २ हजार ९ सय ६४ गरी जम्मा ५ हजार ८४ मतभार कायम भएकाे छ ।
सुदूरपश्चिम प्रदेशमा प्रदेश सभा सदस्य तर्फको मतदाता सङ्ख्या ५२ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतदाता सङ्ख्या १७६ गरी जम्मा २२८ जना मतदाता कायम भएका छन्। प्रदेशमा प्रदेश सभा सदस्यको मतभार २ हजार ७ सय ५६ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तर्फको मतभार ३ हजार ३ सय ४४ गरी जम्मा ६ हजार १ सय मतभार कायम हुने भएकाे निर्वाचन आयोगले जानकारी दिएकाे हाे ।
मकवानपुर । राष्ट्रसेवक वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौंडाको २४ औं बार्षिक साधारणसभा शनिबार भएको छ ।
साधारणसभाको उद्घाटन् गर्दै बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले सहकारीले आफ्नो लगानी उत्पादन र उद्योगमा लगाएर रोजगारीको सृजना गर्नुपर्ने बताए । सहकारीले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नु पर्ने उनकाे भनाइ थियाे । सहकारी मध्ये पनि राष्ट्रसेवक कर्मचारी सदस्य रहेकाे सहकारी भएकाेले अरुले भन्दा फरक ढंगले काम गर्नु पर्ने उनले बताए ।
बार्षिक ११ करोड रुपैयाँको कारोवार गरेको सहकारीको शेयरपुँजी १ करोड २४ लाख २५ हजार रुपैयाँ रहेको छ । २४ वर्षअघी २०५६ साल माघ १३ गते स्थापना भएको सहकारी संस्थामा हाल ५ सय ७१ शेयर सदस्य रहेको संस्थाका अध्यक्ष यादविन्द्र पौडेलले बताए । गत असारसम्म १ सय ५५ जना महिला, ३ सय ९९ जना पुरुष र अन्य संस्थागत ३ गरी सहकारीमा ५ सय ५७ सदस्य रहेका थिए ।
गत आर्थिक वर्षमा सहकारीले ४६ लाख १५ हजार ८७ रुपैया खुद नाफा गरेकाे छ भने १ करोड २४ लाख २५ हजार ३ सय चुक्ता पुँजी रहेकाे छ । सहकारीले गत आर्थिक वर्षको मुनाफाबाट शेयर सदस्यहरुलाई १६ लाख ७६ हजार रुपैयाँ लाभांश व्यवस्था गरेको पौडेलले जानकारी दिए ।
राष्ट्रसेवक वहुउदेशिय सहकारी संस्था लिमिटेड हेटौंडाका अध्यक्ष यादविन्द्र पौडेको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर क्षेत्रनम्बर–२ का सांसद तथा एमाले सचेतक महेश कुमार बर्तौला, पेशागत महासंघका केन्द्रीय अध्यक्ष पुण्यप्रसाद ढकाल, नेपाल निजामती कर्मचारी संगठनका बागमती प्रदेश इन्चार्ज बिष्णु प्रसाद अर्याल, संगठनका केन्द्रीय सदस्यहरु, संगठनका इलाका अध्यक्ष उद्धब भट्टराई लगायतकाको आतिथ्यता रहेको थियो ।
छोरीलाई यातना दिने बाबु पक्राउ
Tags: No Comments
मकवानपुर । आफ्नी ४ वर्षको छोरीलाई निर्मम यातना दिने एकजना बाबुलाई मकवानपुर प्रहरीले हेटौँडाबाट पक्राउ गरेको छ । हेटौडाबाट प्रहरीले महोत्तरी घर भई हेटौँडा ५ सिंचाई टोल डेरा गरि बस्ने २७ वर्षका रामजी मण्डललाई छाेरीलाई यातना दिएकाेमा पक्राउ गरेकाे हाे ।
साढे ४ वर्षकी छोरीको हात, गालामा टोकेर गहिरो घाउँ बनाउने, कान टोक्ने, आँखामा खुर्सानीको धुलो हाल्ने गरेको स्थानीय छिमेकीले देखेपछि सिविन बाल हेल्प लाईनको सहयोगमा मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले बताए ।
मण्डलले नाबालिका छोरीको हात, अनुहार, कानमा टोक्ने, आँखामा खुर्सानीको धुलो हालिदिने गरेको पाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मडण्लले नाबालिका सहित श्रीमतीलाई पनि नियमित यातना दिने गरेको थाहा पाएपछि आफूहरुले उनको डेरामा अनुगमन गर्दा बाबुको यातनाबाट गम्भीर अवस्थामा रहेको नाबालिकालाई उद्धार गरेको सिवन बाल हेल्प लाईन मकवानपुरका प्रवन्धक झविन्द्र ज्ञावलीले बताए ।
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा हुने पाँचौं बकैया कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । पुष २४ गतेबाट बकैया ३ हात्तीसुडेस्थित बकैया रंगशालामा आयोजना हुने प्रतियोगिताको शुक्रबार खेल तालिका सार्वजनिक गरिएको हो ।
आयोजक बकैया गाउँपालिका खेलकुद विकास समितिले शुक्रवार खेल तालिका सार्वजनिक गर्दै उद्घाटन खेल बकैया-३ र बकैया-६ बीच खेल हुने जनाएको छ । प्रतियोगिताको फाइनल खेल पुष २९ गते हुनेछ । प्रतियोगिता १२ वटा टिमको सहभागिता रहेको आयोजकले जनाएको छ।
प्रतियोगिताको उपाधि विजेता सिनियर टिमले १ लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, उपाधि विजेता जुनिएर टिमले ५० हजार रुपैयाँ र उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यसैगरी विधागत उत्कृष्ट खेलाडीहरुका लागि समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।
मकवानपुर । जनता समाजवादी पार्टी (जसपा) मकवानपुर संस्थापन पक्ष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मकवानपुरमा समायोजित भएको छ । शुक्रबार हेटौंडामा नेकपा माओवादी केन्द्रले समायोजन कार्यक्रम आयोजना गर्दै जनता समाजवादी पार्टीको संस्थापन पक्षका एक सय २९ जना नेता तथा कार्यकर्तालाई पार्टीमा समायोजन गरेको हो ।
जनता समाजवादी पार्टी बागमती प्रदेशका पूर्व परिषद अध्यक्ष एवं अनुशासन समिति संयोजक शुभरत्न गोले तामाङको नेतृत्वमा एक सय २९ जना नेता, कार्यकर्तालाई नेकपा माओवादी केन्द्रका नेताहरुले पार्टीमा स्वागत गरेका हुन् । कार्यक्रमकी प्रमुख अतिथी तथा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवं प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले रगतसँग साटेर ल्याएको गणतन्त्र जोगाउन एकजुट हुनुको विकल्प नभएको बताईन् ।
‘गणतन्त्र जोगाउने र संस्थागत गर्ने मुख्य जिम्मेवारी माओवादीको हो,’ उनले भनिन्, ‘गणतन्त्र विरुद्ध आवाज उठ्दा जनताको मन दुःखेको छ, सबै शक्ति एकजुट भएर गणतन्त्र जोगाउनुपर्ने बेला आएको छ ।’ प्रदेशको आवश्यक्ता बागमती प्रदेश सरकारले मुख्य रुपमा पुष्टि गरेको भन्दै उनले तामाङ र नेवारको भाषालाई प्रदेशको भाषाको रुपमा राखेर नयाँ आयाम थपेको दाबी गरिन् । पद भन्दा पनि जिम्मेवारी महत्वपूर्ण रहेको जिकिर गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास एकढिक्का भएर गर्नुपर्नेमा जोड दिईन् । विचारको हिसावले सबैभन्दा अग्रगामी विचार र कार्यदिशा भएको पार्टी माओवादी भएकाले देशमै एक नम्बरको जिल्ला कमिटी बनाउनुपर्नेमा जोड दिईन् । हामीले यही देशमा उज्वल भविष्य देख्नुपर्ने भन्दै उनले जिल्लामा एक नम्बरको पार्टी निर्माणमा लाग्न नेता, कार्यकर्तालाई आग्रह गरिन् ।
कार्यक्रमका विशेष अतिथि तथा नेकपा माओवादी केन्द्रका बागमती प्रदेश उपाध्यक्ष एवं बागमती प्रदेश सांसद प्रेम बहादुर पुलामीले समाजवाद हुँदै साम्यवाद ल्याउन सबै राष्ट्रबादी एकजुट हुन मकवानपुरबाट राम्रो सन्देश गएको बताए । परिवर्तनको शुरुवात सानो झिल्कोबाट हुने भन्दै उनले मकवानपुरले देशभर सकारात्मक र एकजुट हुन पहल गरेको दाबी गरे । जनता समाजवादी पार्टी बागमती प्रदेशका पूर्व परिषद अध्यक्ष एवं अनुशासन समिति संयोजक शुभरत्न गोले तामाङले समाजवादको अन्तिम यात्रा तय गर्न माओवादी केन्द्र मात्र विकल्प रहेकाले आफूहरु मातृसंस्था माओवादी केन्द्रमा गोलबन्द भएको बताए । उत्पीडित जाती, वर्गको उत्थानका लागि जसपामा लागेर काम गरेको स्मरण गर्दै विदेशी दलालहरुले नेकपा माओवादी केन्द्रलाई घेराबन्दीमा पारिरहेकाले सिद्धान्त र गन्तव्य एउटै भएकाले समायोजन भएको दाबी गरे ।
नेकपा माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य एवं जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, पार्टीका बागमती प्रदेश सदस्य प्रेम भुजेलले मन्तव्य व्यक्त गरेको कार्यक्रम नेकपा माओवादी केन्द्र मकवानपुरका संयोजक सर्केश घलानको अध्यक्षतामा सम्पन्न भएको थियो ।