मकवानपुर । मकवानपुरको हेटौंडाबाट २ नाबालकसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिइएकाे छ । हेटौडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेबाट लागुऔषध सहित ४ जनालाई नियन्त्रणमा लिइएकाे हाे ।
बागमती प्रदेश कार्यालय हेटौडाका अनुसार नियन्त्रणमा लिइएकाहरुमा भारत छोटीपट्टी गाउँ ८ बस्ने ३० बर्षीय मनोज चौधरी र जुडापकडी बस्ने १९ बर्षीय संजिब कुमार तथा १६ बर्षीय र १४ बर्षीय बालक रहेका छन् । काठमाडौं तर्फबाट बिरगंजतर्फ जादै गरेको पिबी १० सि ००१०९ नम्बरको ईन्डियन गाडीलाई पूर्वपश्चिम राजमार्ग अन्तर्गत राताेमाटेमा चेकजाँच गर्दा उनीहरुकाे साथबाट डाईजेपाम ७ एम्पुल, फेनारगन १७ एम्पुल, नुर्फिन–४ एम्पुल फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
गाडीको सिटको कभरको भित्री भागमा लुकाएर राखेको अवस्थामा उक्त लागुऔषध बरामद भएपछि गाडीमा सवार चारै जनालाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएको छ । लागुऔषधसहित नियन्त्रणमा लिइएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुसन्धान गरिरहेकाे प्रदेश प्रहरीले जनाएकाे छ ।
मकवानपुर । मकवानपुरकाे हेटौडामा भएकाे रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् ।
हेटौडा २ स्थित सिद्धार्थ माध्यामिक विद्यालयकाे ४८ औं वार्षिकोत्सव कार्यक्रमकाे अवसर पारेर शुक्रबार रक्तदान कार्यक्रम गरिएकाे हाे । यस्तै सिद्धार्थ माविले आफ्नाे ४८ औं बार्षिकोत्सव बिबिध कार्यक्रम गरी मनाउँदै छ ।
शुक्रबारकाे रक्तदान कार्यक्रममा २० जनाले रगतदान गरेको विद्यालयले जानकारी दिएकाे छ । विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकले रक्तदान गरेकाे थिए ।
वार्षिकोत्सव कार्यक्रम अध्ययनरत विद्यार्थी बिच विभिन्न प्रतियोगितात्मक कार्यक्रम गरी गर्न लागिएको शिक्षक गणेश हुमागाईले बताए । वार्षिकोत्सवकाे कार्यक्रम माघ ८ गतेसम्म सञ्चालन हुने छ ।
मकवानपुर । मकवानपुरकाे हेटौडा उपमहानगरपालिका पदमपाेखरीमा स्वास्थ्य शिविर सञ्चालन गरिएकाे छ । शुक्रबार उपमहानगरपालिकाले पालिका स्तरको अस्पताल उद्घाटनसँगै पदमपोखरीमा निः शुल्क स्वास्थ्य शिबिर सञ्चालन गरिएको हाे ।
शिविरमा २ सय ६६ महिला र १ सय ७१ जना पुरुष गरी ४ सय ३७ जनाले सेवा लिएको सिनियर अहेब शेरबहादुर व्लोनले जानकारी दिए । शिविरमा सेवा लिन आएका मध्य ३ सय ५० जनालाई आँखाको, १ सय ८ जनालाई ल्याव २३ जना मानसिक सेवा प्रदान गरिएको उनले बताए ।
हेटौंडा उपमहानगरपालिका १३ पदमपोखरीमा चिकित्सक डाक्टरको सुबिधा सहित गाउँमै उपचार सेवा प्रदान गर्नका लागि हेटौंडा उपमहानगरपालिकाले अस्पतालको सुरुवात गरेको छ । सुक्रवार हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले अस्पतालको उद्घाटन गरेकी हुन् । चिकित्सक सहितको सुबिधा दिने उद्देश्य सहित पालिकाले नगरको दुई ठाउँमा अस्पताल सञ्चालन गरेको नगर प्रमुख लामाले बताइन् ।
यस अघि गत पुष १७ गतेबाट चिकित्सक सहितको सुबिधा दिन हेटौडा १६ चिसापानीमा अस्पताल सञ्चालनमा आएकाे छ । अस्पतालले आकस्मिक सेवा सहित अन्य सामान्य उपचार सेवा दिदै आएको छ । पालिकाले सञ्चालन गरेको ५ वेडको अस्पतालले स्थानीयलाई आफ्नै गाउँठाउँबाटै स्वास्थ्य सुविधा पुग्ने बताइएकाे छ । हेटौडा १३ र १६ मा रहेकाे स्वास्थ्य चौकीबाट प्रदान गर्दै आएकाे सुबिधालाई केहि बिकसित गर्दै अस्पताल सञ्चालनमा ल्याइएको उपमहानगरपालिकाले जनाएकाे छ ।
१३ नम्बरका वडा अध्यक्ष पेम्बा लामाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका बित्त व्यवस्थापन महाशाखा प्रमुख अनिरुद्र नेपाल, सामाजिक विकास महाशाखाका प्रमुख भिमप्रसाद तिमल्सिना सहित स्थानिय संघ सस्थाका प्रतिनिधी, वडा स्तरीय राजनितिक दलका प्रतिनिधीलगायतकाकाे उपस्थिति रहेकाे थियो ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा ‘प्रबिधिको विकास र डिजिटल पत्रकारिता-चुनौती र सम्भावना’ विषयक दुइदिने कार्यशाला सुरु भएको छ ।
प्रेस चौतारी नेपाल मकवानपुरको आयोजनामा सुरु कार्यशालाको बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्दै समयसापेक्ष रुपमा पत्रकारहरुले आफूलाई तिखार्न जरुरी रहेको बताए । ‘पहिले एउटा समाचार सुन्नका लागि दुई दिन लाग्ने भएपनि अहिले डिजिटल जमाना भएकोले तत्काल सुन्न र हेर्न पाइने अवस्था रहेको छ’ उनले भने ।
व्यावसायीक पत्रकारिता गर्न आग्रह गर्दै पौडेलले पत्रकारहरुले यो वा उ संगठन भनेर मात्रै नहिड् सुझाव दिए । उनले कार्यशालाबाट डिजिटल पत्रकारिताका बारेमा केही सिकाइ लिन र प्रयोग गर्न आग्रह समेत गरे । कार्यशालामा बागमती प्रदेश सञ्चार रजिष्टार रेवती सापकोटाले ‘प्रबिधिको विकास र डिजिटल पत्रकारिता’ को चुनौती र सम्भावनाका विषयमा प्रशिक्षण दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्टले अहिले प्रविधिमा नयाँ पत्रकारको पुस्ता अभ्यस्त भएको बताउदै यस्ता कार्यशालाले पत्रकारिता क्षेत्रको पुराना पुस्ताका अनुभव ज्ञान र नयाँ पुस्ताको क्षमतालाई पत्रकारितामा प्रयोगको निम्ति सकारात्मक हुने बताए ।
कार्यशालामा नेपाल पत्रकार महासङ्घ मकवानपुर उपाध्यक्ष धुर्ब अधिकारी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हरि हुमागाईं, स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष गोकुल अधिकारी लगायतकाले शुभकामना व्यक्त गरेका थिए । कार्यशालामा प्रेस चौतारी नेपाल बागमती प्रदेशका महासचिव प्रकास दाहाल, पूर्व केन्द्रीय सदस्यहरु उज्वल अधिकारी, दिपेन्द्र रोक्का, चौतारीका निवर्तमान अध्यक्ष धर्मेन्द्र दाहाल लगायतकाको आतिथ्यता रहेको थियो ।
चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यशाला माघ ६ गते शनिबारसम्म संचालन हुनेछ । कार्यशालामा मकवानपुरका ४० जना पत्रकारहरुको सहभागिता रहेको बताइएकाे छ ।
मकवानपुर । मकवानपुरको हेटौंडामा बालबालिकासंग वडा अध्यक्ष कार्यक्रम आयोजना गरिएको छ ।
हेटौंडा उपमहानगरपालिका २ नम्बर वडा कार्यालय र बालमैत्री स्थानीय शासन वडा समितिको आयोजनामा सिद्धार्थ माविमा कार्यक्रम गरिएको हो । हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासन युक्त नगर घोषणा गर्ने सन्दर्भमा वडालाई स्थानीय शासन युक्त वडा घोषणा गर्नु पूर्व वडा अध्यक्षसंग बालबालिका कार्यक्रम आयोजना गरिएको हो ।
बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गर्न सरकारले तोकेका विभिन्न ५१ वटा सुचकहरु पूरा गर्नु पर्नेमा उक्त सुचक मध्ये बालबालिकासंग वडा अध्यक्ष कार्यक्रम पनि एक भएको यो कार्यक्रम आयोजना गरिएको २ नम्बर वडाका बालमैत्री फोकल पर्सन तथा वडा सदस्य सुरज बर्तौलाले जानकारी दिए ।
कार्यक्रममा सहभागी बालबालिकाले मनमा लागेको प्रश्न, जिज्ञासा, सुझावहरु राखेका थिए । बालबालिकाले वडा अध्यक्षसंग बिद्यालयमा भएका अभाव, ध्वनी प्रदुषण, १०० मिटर भित्रै सुर्तीजन्य तथा मदिराजन्य पदार्थ बिक्री बितरण भैरहेको बारे ध्यानाकर्षण गराएका थिए । सहभागी बालबालिकाले शिक्षकहरुले समेत गुटखा खाएर कक्षामा प्रवेश गर्नेगरेको समेत गुनासो राखेका थिए । यस्तै सहभागीहरुले बिद्यालयमा सेनिटरी प्याड उपलब्ध भए पनि गुणस्तरीय नभएको बताए ।
सहभागी विद्यार्थीको गुनसो सुने पछि वडा अध्यक्ष विष्णु गोपाल महर्जनले स्यानिटरी प्याडको गुणस्तरका लागि हेटौंडा उपमहानगरपालिकामा समन्वय गर्ने, प्याड डिस्पोज गर्ने मेसिन ल्याउने तथा अभावका विषयमा सकेसम्म पुरागर्ने प्रतिवद्दता ब्यक्त गरे । साथै महर्जनले बिद्यालयका प्रधानाध्यापकलाई बिद्यालयका बिषयमा विद्यार्थीले उठाएको सवालमा गम्भीर भएर लाग्न र सकेको समाधान गर्न निर्देशन समेत दिए ।

‘भर्खरै हामीले बाल समुहका बालबालिका तथा टोलबिकास संस्थाका प्रतिनिधि संग बालमैत्रीको सूचकको सम्बन्धमा वडा स्तरीय अन्तर्कृया कार्यक्रम गर्यौ’ वडा सदस्य सुरज बर्तौलाले भने ‘अब वडामा रहेका बिधालयमा बालबालिका सङ्ग वडा अध्यक्ष कार्यक्रम गर्दैछौ ।’
वडा अध्यक्ष बिष्णु गोपाल महर्जनको सभाध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु सुरज बर्तौला, इन्द्र प्रसाद रिजाल, मैया परियार, सिद्धार्थ माबिका प्रधानाध्यापक मोहन शर्मा, वडाका स्वास्थ शाखा प्रमुख मन्जु गौतम, बालमैत्री सहजकर्ता राहुल शर्मा, बिद्यालयका शिक्षक तथा बिद्यार्थीको सहभागिता रहेको थियो ।
