मकवानपुर । मकवानपुरको हेटौडा उपमहानगरपालिका ३ नम्बर वडा कार्यालयले ज्येष्ठ नागरिक तथा अपाङ्गता भत्ता प्राप्त गर्नेलाई ब्यान्केट बितरणसहित सम्मान गरेको छ ।
शुक्रबार वडा कार्यालयले ६८ देखि ७० वर्षका ज्येष्ठ नागरिक तथा अपाङ्ग भत्ता प्राप्त गर्ने लाभग्राहीलाई १/१ थान न्यानो कपडा ब्लान्केट वितरण गरि सम्मान समेत गरेको हो । आर्थिक वर्ष २०८०/०८१ को बार्षिक कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मानसहित ब्लान्केट बितरण गरिएको वडा अध्यक्ष ढलक बहादुर थापाले बताए । ज्येष्ठ तथा अपाङ्गता भएका नागरिकलाई राज्यको अनुभूति गराउदै जाडो मौसममा जीवनयापनको सहजताका लागि ब्लान्केट वितरणसहित सम्मान गरिएको उनले बताए ।
सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीमा नामावली समाबेश भएका ६८ देखि ७० वर्ष का १ सय १५ जना जेष्ठ नागरिक, १५ जना पूर्ण अपाङ्गता र ३८ जना आंशिक अपाङ्गता भएकाकोमा शुक्रबार १ सय ५ जनालाइ सम्मान सहित ब्लान्केट वितरण गरिएको वडा सचिव महेन्द्र चापागाईंले जानकारी दिए । शुक्रबारको कार्यक्रममा उपस्थित हुन नसेकेका बाकी लाभग्राहीलाई वडा कार्यालयबाट घरघरमा नै गई वितरण गरिने चापागाईंले बताए ।
वडा सदस्य सबिना बिडारीले प्रथम चरणको ज्येष्ठ नागरिक सम्मान कार्यक्रम पश्चात दोश्रो चरणको कार्यक्रममा वडा भित्रका सुत्केरी महिला तथा आर्थिक एवं सामाजिक रुपले बिपन्न, असहाय तथा गरिबलाई समेत ब्लान्केट वितरणको कार्यक्रम रहेको जानकारी गराइन ।
यस्तै वर्तमान युवा पुस्ताले ज्येष्ठ नागरिकको सम्मान गरे मात्र आउँदो पुस्ताले पनि ज्येष्ठ नागरिकको सम्मान गर्ने, ज्येष्ठ नागरिक समाजका अमूल्य निधि र पथप्रदर्शक हुन् भन्ने भुल्न नहुने, अपाङ्गता भएका व्यक्ति समेतको सम्मान गर्नु राज्यको दायित्व भएको हुँदा यस्ता प्रकारका कार्यक्रमको आगामी दिनमा निरन्तरता पाउनु पर्ने धारणा राखेका थिए ।
३ नम्बर वडा अध्यक्ष ढलक बहादुर थापाको अध्यक्षता तथा ज्येष्ठ नागरिक वडा मंच अध्यक्ष माधव प्रसाद ढकालको आतित्थ्यतामा भएको कार्यक्रममा वडा सदस्यहरु, टोल विकास संस्थाका अध्यक्षहरु, वडा कार्यालयका कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।
३ नं. वडा कार्यालयले गत बर्ष ७० बर्ष देखि माथिका २ सय ६० जना ज्येष्ठ नागरिकलाई सम्मान गर्दै ब्लान्केट वितरण गरेको थियो ।
मकवानपुर । मकवानपुरकाे हेटौडामा ‘सूचना चलखेल र लोकतन्त्र’ विषयमा हेटौंडामा अन्तरक्रिया गरिएको छ । बागमती प्रदेशकाे राजाधानी हेटौडामा शुक्रबार सेन्टर फर मिडिया रिसर्च नेपालले इन्टरनेशनल रिपब्लिकन इन्स्टिच्युटसँगको सहकार्यमा बागमती प्रदेशमा सूचनाको चलखेल र लोकतन्त्रसम्बन्धी अन्तरक्रिया गरेकाे हाे ।
प्रदेशसभासद, राजनीतिक दललगायत सरोकारवालाहरुबीच गरिएकाे अन्तरक्रियामा इन्टरनेशनल रिपब्लिकन इन्स्टिच्युट प्रमुख युवराज आचार्यले सूचना चलखेल र लोकतन्त्र विषयवस्तु प्रस्तुत गरेका थिए । मिथ्या सूचनाबाट पर्ने असरहरु, सूचनामा अन्यौलका कारण पर्ने असरलगायत बताउदै कानूनी प्रावधान बारे उनले कार्यपत्र प्रस्तुत गरेका थिए ।
मिथ्या सूचनाको घटना, मिथ्या सूचना फैलिनबाट रोक्ने उपाय,मिथ्या सूचना फैलिन नदिन सरोकारवाला पक्षको भूमिका र दायित्व विषयक उपस्थित सरोकारवालाहरु बीच छलफल गरिएको थियो । बागमती प्रदेश संसद सरल सहयात्री पौडेलले समाजमा भएको अन्धविश्वासको कारण पनि मिथ्या सूचनाको असर समाजमा पर्ने गरेको बताए । उपस्थित संसद र स्थानीय प्रतिनिधिहरुले मिथ्या सूचनाको कारण परेको समस्या बताउदैँ सत्य तथ्य सूचना मात्र प्रकाशन र प्रसारण गरिदिन समेत मिडियालाई अनुरोध गरे ।
यसैगरी प्रदेश सभा सदस्य रत्नप्रसाद ढकालले मिथ्या सुचना राज्यकै अंग प्रभाव परेको बताउँदै प्रविधिको विकास सँगै मिथ्या सूचना बढ्दो रहेको बताए । हिजोको पत्रकारको लेखाई र बुझाई र अहिलेको लेखाई फरक छ रहेकाले मिथ्या सूचना नियन्त्रण गरिनुपर्ने बताए । कार्यक्रममा प्रदेश सभा सदस्य रमा आले मगर, माया श्रेष्ठ, गीता गुरुङ, प्रदेश सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटा, हेटौंडा वडा ८ अध्यक्ष रामकृष्ण थापा, जिल्ला बार एशोसिएसन अध्यक्ष अप्सरा बस्नेतलगायतकाे उपस्थिति थियाे ।
मकवानपुर । बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले विभिन्न ५ वटा निर्णय गरेकाे छ ।
विहीबारकाे बैठकले समुदायमा आधारित एक वडा एक कृषि उत्पादन कार्यक्रम कार्यान्वयन कार्यविधी स्वीकृत गरेकाे छ । यस्तै, चेपाङ समुदायको उत्थानका लागि “चिउरी र चमेरो संरक्षण कार्यक्रम संचालन निर्देशिका, बागमती प्रदेश स्तरीय ज्येष्ठ नागरिक नीति र शैक्षिक छात्रवृत्ति निर्देशिका स्वीकृत गरेकाे छ ।
यसैगरी बैठकले सञ्चार रजिस्ट्रारको कार्यालयका लागि भवन उपलब्ध गराउन नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेकाे छ ।
बागमती प्रदेश सरकार मन्त्रीपरिषद् बैठकका निर्णयहरू:
१) समुदायमा आधारित एक वडा एक कृषि उत्पादन कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८० स्वीकृत ।
२) चेपाङ समुदायको उत्थानका लागि चिउरी र चमेरो संरक्षण कार्यक्रम सञ्चालन निर्देशिका, २०८० स्वीकृत ।
३) बागमती प्रदेश स्तरीय ज्येष्ठ नागरिक नीति, २०८० स्वीकृत ।
४) शैक्षिक छात्रवृत्ति निर्देशिका, २०८० स्वीकृत
५) सञ्चार रजिस्ट्रारको कार्यालयका लागि भवन उपलब्ध गराउन नेपाल सरकारलाई अनुरोध गर्ने ।
मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाबाट प्रहरीले लागुऔषध गाँजा र नगदसहित १ जनालाई नियन्त्रणमा लिएकाे छ ।
थाहा नगरपालिका ८ गल्छीबाट प्रहरीले धादिङ किरानचोक–४ घर भई हाल गजुरी गाउँपालिका–८ महादेवखर्क बस्ने ४३ वर्षीय सानुकान्छा स्याङ्तानलाई १० किलो लागुऔषध गाँजा र ७५ हजार रुपैयाँसहित नियन्त्रणमा लिइएकाे बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
विशेष सूचनाको आधारमा बुधबार ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी निरीक्षकको टोलीले पैदलयात्री स्याङ्तानलाई जाँच गर्दा उक्त परिमाणकाे लागुऔषध गाँजा र नगद फेला पारेको थियो । स्याङ्तानलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तरगत हेटौंडास्थित भुटनदेवी मावि मतदान केन्द्रमा मतदान जारी रहेको छ । मतदानमामा अहिलेसम्म प्रदेशसभातर्फ प्रदेश तर्फ १ सय र स्थानीय तर्फ २ सय २५ जनाले मतदान गरेका छन् ।
प्रदेशसभातर्फ ११० मतदाता रहेका छन् । स्थानीय तहतर्फ २३७ मतदाता रहेका छन् । बागमतीमा रिक्त हुने ४ पदका लागि १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मतदान विहान ९ बजे सुरु भएकाे छ भने दिउँसाे ३ बजे सम्पन्न हुने छ । निर्वाचन लगत्तै आजै मतगणना गरी नतिजा सार्वजनिक गरिने निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।