बालिकालाई दुर्व्यवहार गर्ने शिक्षक माथि कारबाहीकाे माग
Tags: No Comments
मकवानपुर । मकवानपुरगढीमा रहेकाे शारदा माध्यमिक विद्यालयकाे बालिकालाई यौनजन्य दुर्व्यवहार गर्ने शिक्षकलाई कारवाहीकाे माग गरिएकाे छ । उक्त घटना प्रति ध्यानाकर्षण भएकाे जनाउँदै अनेरास्ववियु मकवानपुरगढी गाउँपालिका कमिटीले घटनामा संलग्नलाई कारवाहीकाे माग गरेकाे हाे ।
बालमैत्री स्थानीय शासन घोषणा भएको गाउँपालिकाकै बालबालिका बिद्यालयमा नै असुरक्षित भएको प्रती सरोकारवालाहरूको ध्यानाकर्षण भएको छ ।
विद्यालयमा कक्षा ८ मा अध्ययनरत बालिकामाथि यौनजन्य दुर्व्यवहारमा संलग्न भएका शिक्षक चन्द्रलाल महर्जनलाई तत्काल सार्वजनिक गरी कानुनी कारवाही हुनुपर्ने उसले माग गरेकाे छ ।
माघ १५ गते कमिटी सचिव पुष्कर घिमिरेद्वारा जारी विज्ञप्तीमा घटना लाई ढाकछोप गर्ने उदेश्यले मिलाउने प्रयास भएकोले दोषी शिक्षक महर्जन उपर तत्काल कानुनी प्रक्रिया अन्तर्गत कारवाहीको लागि जोडदार माग गर्दछौ भनिएकाे छ । अन्यथा अनेरास्ववियु आन्दोलनमा उत्रिने समेत चेतावनी दिइएकाे छ ।
अनेरास्ववियूले आफ्नो स्थापना कालदेखि नै शैक्षिक क्षेत्रमा भएका विकृति, विसंगति, अनियमितता तथा भ्रष्टाचारका विरुद्ध आवाज उठाउँदै जनजीविका र गुणस्तरीय एवम् सर्वसुलभ शिक्षा प्राप्तिका लागि निरन्तर रुपमा दबाव, सुझाव र आवश्यक नीति कार्यान्वयनका लागि सरोकारवाला निकायलाई खबरदारी गर्दै आएको छ समेत विज्ञप्तीमा भनिएकाे छ ।

मकवानपुर । आज माघ १६ गते शहीद दिवस । देश र जनताका लागि वलिदान दिने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रम गरी देशभर दिवस मनाइँदैछ । शहीद दिवस देशका लागि प्राण आहुति दिने शहीदहरूको सम्झना गरिने दिन हो। नेपालमा माघ १६ गते हरेक वर्ष शहीद दिवस मनाइन्छ। राणा शासन बिरूद्ध लडेका शहीद भएका सम्झनामा शहीद दिवस मनाउन थालिएको हो।
मकवानपुरकाे हेटौडामा शहीद सप्ताह अन्तरगत आज मंगलबार प्रभातफेरी, शहीद प्रति सलामी तथा श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार वितरण, प्रवचनलगायतका कार्यक्रम हुने सहिद स्मारक बिकास समितिले जनाएकाे छ ।
वि.सं. १९९७ माघ १० गते निरंकुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि अग्रसर गराउने शुक्रराज शास्त्रीलाई टेकुस्थित खरीको रूखमा झुन्ड्याएर हत्या गरिएको थियो । सोही वर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो । नेपालको पहिलो शहीद भने लखन थापालाई मानिन्छ ।
पछिल्लोसमय दुर्घटनामा ज्यान गुमाएका व्यक्तिलाई दबाबका कारण शहीद घोषणा गर्ने प्रचलन बढ्दै गएकाे छ । यसले वास्तविक शहीद प्रति सम्मान नभएकाे र शहीदले देखाएकाे बाटो विराइएकाे गुनासा बढ्न थालेको छ । शहीदलाई प्रत्येक वर्ष माघ १६ गते १ दिन मात्रै सम्झने गरिएकोले सपना पूरा गर्ने गरी काम नभएको गुनासो यस दिन प्रशस्तै सुनिन्छ ।
सरकारले शहीद दिवस विशेष कार्यक्रमसहित मनाउने घोषणा गरेकाे भएपनि यो वर्ष सार्वजनिक विदा भने दिएको छैन । शहीद दिवसको अवसरमा विगत सार्वजनिक बिदा दिने गरिएकाे थियाे । २०८१ सालदेखि भने शहीद दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय यसअघि नै गरिसकेकाे छ ।
मकवानपुर । हेटौंडा – १७ स्थित अंगारेश्वर टोल विकास संस्थाको प्रथम साधारण सभा भएको छ। शनिबार भएकाे साधारण सभाले संस्थाको तदर्थ समिति अध्यक्ष सिताराम वाइवाको ११ सदस्यीय कार्यसमिति गठन गरेको छ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा रमा खड्का, सचिवमा सन्तोषी खड्का, कोषाध्यक्षमा सीता दाहाल, सह-सचिव शारदा अधिकारी चयन भएका छन् । यसैगरी सदस्यहरूमा बिना दाहाल, वीर बहादुर गोङ्बा, सेती कुमारी गोङ्बा, मनिषा गोङ्बा, अर्चना पुडासैनी र गोमा तिमल्सिना चयन भएका छन् । भेलाले अध्यक्ष सिताराम वाइवा र कोषाध्यक्ष सीता दाहालले प्रस्तुत् गर्नुभएको प्रतिवेदन पारित गरेको छ।
यसैगरी साधारण सभामा हेटौंडा १७ को खेलकुद विकास समितिकाे आयोजनामा भएकाे ‘प्रथम वडाध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिता – २०८०” मा खेल टिम सहभागी गराउन आर्थिक सहयोग गर्नुहुने व्यक्ति तथा संस्थालाई सम्मान गरेकाे छ । सम्मानित हुनेहरुमा सन्तोष थापामगर, बाबु सिङ्तान लामा, सूर्य बहादुर पाख्रिन , नविन विष्ट, महेश गोङ्बा र बि. एन. के. स्नुकरलाई सम्मान-पत्र प्रदान गरिएकाे थियो।
संस्था अध्यक्ष वाइवाकाे अध्यक्षता तथा हेटौंडा १७ का वडासदस्य कृष्ण बहादुर अधिकारीको प्रमुख आतिथ्यमा भएको साधारण सभमा हेटौंडा उपमहानगरपालिका सामाजिक महाशाखाका प्रतिनिधि, लेखापाल रामचन्द्र बानियाँ, सल्लाहकार कमलबहादुर विष्ट, हटिया सकोसका अध्यक्ष रमेशकुमार राना, टाेल विकास संस्था नगर समन्वय समिति सदस्य देवराज अधिकारी लगायतकाे उपस्थिति थियाे ।
मकवानपुर । शहीद सप्ताह अन्तरगत हेटौडा ११ शहीद स्मारकमा रक्तदान कार्यक्रम गरिएकाे छ । सप्ताहकाे चौथाे दिन आयोजना गरिएकाे रक्तदानमा ३३ जना सहभागी भएका छन् ।
शहीद स्मारक बिकास समितिले सहिद दिवस सप्ताह ब्यापी कार्यक्रम गरि मनाउदैछ । शनिबार भएकाे रक्तदान कार्यक्रमबाट ३३ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक तथा नेपाल रेडक्रस सोसाइटी ११ नम्बरका सचिब अन्जन पौडेलले जानकारी दिए । शहीद सप्ताहकाे पहिलो दिन १० गते बुद्ध, मायादेवी, इन्द्र तथा ब्रम्हाको प्रतिमासहुतको पार्कको उद्घाटन गरिएको थियो । माघ ११ गते कृषि हस्तकला तथा पर्यटकीय वस्तुहरुको प्रबद्र्धन मेलाको शुभारम्भ, विविध सास्कृतिक कार्यक्रम तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम गरिएकाे छ ।
यसैगरी माघ १२ गते वडा स्तरिय नृत्य प्रतियोगिता भएकाे थियाे । आइतबार माघ १४ गते वडा स्तरिय वक्तृत्वकला प्रतियोगिता, माघ १५ गते राष्ट्रिय कलाकारहरुको सास्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण र शिक्षक खुल्ला दौड प्रतियोगिता तथा माघ १६ गते प्रभातफेरी, शहीद प्रति सलामी, श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार वितरण, प्रवचन तथा समापन कार्यक्रम हुने शहीद स्मारक बिकास समितिले जनाएकाे छ ।
मकवानपुर । मकवानपुरका विज्ञान शिक्षकहरुलाई विशिष्टिकरण तालिका तथा मूल्याङ्कनका विषयमा तालिम दिइएको छ ।
विज्ञान शिक्षक समाज मकवानपुरको आयोजनामा जिल्लाभरिका विज्ञान शिक्षकहरूलाई कक्षा १ देखि १० को विज्ञान विषयको विशिष्टिकरण तालिका तथा मूल्याङ्कनका विषयमा अभिमुखीकरण तालिम शुक्रबार हेटौंडामा दिइएको हो । तालिममा विज्ञान शिक्षक समाजका अध्यक्ष खेमराज लामिछानेले कक्षा १ देखि ३ सम्मको मूल्याङ्कन प्रक्रिया र विज्ञान शिक्षक समाजका सचिव सुवास खनालले कक्षा ४ देखि १०सम्मको मूल्याङ्कन तथा विशिष्टीकरण तालिकासम्बन्धी प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका उप्रमुख सानुकाजी लुइँटेलले विज्ञान शिक्षक समाजको अँध्यारोलाई चिर्न र रुढीवाद हटाउन चेतना बाँढ्नसक्ने हुनुपर्ने बताए । कार्यक्रममा पत्रकार सुरेश श्रेष्ठले शिक्षकले चाहेमा समाज रुपान्तरणमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने बताए ।
दुई सत्रमा सञ्चालित अभिमुखीकरण कार्यक्रममा जिल्लाका दशवटै स्थानीय तहका ६३ जना शिक्षकले सहभागिता जनाएका थिए । सहभागी तथा प्रशिक्षकलाई प्रमुख अतिथि तथा विशिष्ट अतिथिले प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा सहभागीका तर्फबाट नवोदय शिशु सदनकी अनुष्का श्रेष्ठ र विज्ञान शिक्षक रामकुमार ठाकुरले मन्तव्य राखेका थिए ।
समाजका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षता, जिल्ला समन्वय समितिका उप्रमुख सानुकाजी लुइँटेल प्रमुख आतिथ्यता तथा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दिनानाथ गौतमको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा सिद्धार्थ माध्यमिक विद्यालयका प्राचार्य मोहनप्रसाद शर्मा र पेन्टागन एकेडेमीका सञ्चालक गोविन्द चौलागाईँको आतिथ्यता रहेको थियो ।
उद्घाटन सत्रको सहजीकरण विज्ञान शिक्षक समाजका जीवन तिमल्सिनाले गरेका थिए ।