बागमती प्रदेश सभा हाल १०४ सदस्यीय रहेको छ । बागमती प्रदेश सभामा सरकार गठनका लागि ५३ प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ । प्रदेश सभमा नेपाली कांग्रेसको ३६ सिट, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को २६, नेकपा एमालेको २५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को १२, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ जना सदस्य छन् ।
मकवानपुर । बागमती प्रदेशमा नेकपा एमालेका किरण थापालाई मुख्यमन्त्रीमा नियुक्तिको लागि दावी पेश गरिएको छ ।
बुधबार नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राप्रपाका गरी ६३ जना प्रदेश सभा सदस्यको समर्थनमा थापालाई मुख्यमन्त्रीमा नियुक्तिको लागि दावी पेश गरिएको हो । यो संगै थापाको नेतृत्वमा नयाँ सरकार गठन हुने निश्चित भएको हो।
बहुमतसहित दाबी पेश गरेपछि प्रदेश प्रमुखले आजै थापालाई मुख्यमन्त्री नियुक्त गर्ने र त्यसलगत्तै शपथ गराउने तयारी गरिएको छ। थापासँगै नेकपाका तर्फबाट एक जनालाई मन्त्रीमा नियुक्ति र सपथ गराउने तयारी गरिएको बताइएको छ । सम्भवत नेकपाबाट सरल सहयात्री पौडेललाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्ति हुनेछन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने तत्काल सरकारमा सहभागी नभई सरकार गठनका लागि समर्थन मात्र गरेको बताएको छ । राप्रपाले केही समयपछि सरकारमा सहभागी हुने गरी छलफल अघि बढाइएको बताइएको छ। बाँकी मन्त्रीहरूको नाम तथा मन्त्रालयको बाँडफाँट भने केही दिनभित्र टुंगो लाग्ने बताइएको छ ।
यसअघि एमाले बागमती प्रदेश संसदीय दलको बैठकले किरण थापालाई मुख्यमन्त्री बनाउने र संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियाविरुद्ध पेश गरिएको अविश्वास प्रस्ताव फिर्ता लिँदै उनलाई दलको नेतामै निरन्तरता दिने निर्णयसमेत गरेको थियो।
एमालेले बागमतीका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँ नेतृत्वको सरकारलाई दिएको समर्थन गत साउन ६ गते फिर्ता लिएको थियो । अल्पमतमा परेका बानियाले गत १ गते राजिनामा दिएपछी प्रदेश प्रमुखले भदौ ४ गते सम्मको समय तोकी मुख्यमन्त्रीमा दावी पेश गर्न आव्हान गरेका थिए ।
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ स्थित बासुदेव खोलाले विद्यालयबाट घर फर्किँदै गरेका ४ जना विद्यार्थीलाई बगाएको छ।
खाेलाले बगाउँदा कक्षा २ मा अध्ययनरत राक्सिराङ–१ की ८ बर्षिया रोशनी स्याङतानको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कक्षा ६ मा अध्ययनरत १३ वर्षीय सिमा बोलनकाे घाइते अवस्थामा उद्धार गरिएकाे छ । यसैगरी कक्षा ५ मा अध्ययनरत ११ बर्षिया सुमित्रा भुलुन र कक्षा ७ मा अध्ययनरत बिनिता भुलुनकाे वेपत्ता छन् । उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
हेटौंडा १९ बस्तिपुरस्थित निर्मल माध्यमिक विद्यालयमा अध्ययनरत उनीहरू मंगलबार पढेर घर फर्किने क्रममा खोलाले बगाएको हो। घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। रात बढ्दै जाँदा खोलाले बगाएको विद्यार्थीको खोजीमा समस्या भएको बताइएकाे छ ।
मुख्य न्यायाधीश, रजिस्ट्रारको ४ जना परिवार सहित ६ जना सवार स्कारपियो भिरबाट खस्यो
मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउपालिका ६ जुरीखेत भिरबाट स्कारपियो खस्दा ६ जना घाइते भएका छन् ।
जसमा एकै परिवारका ४ जना रहेका छन् ।
काठमाडौबाट बिरगंजतर्फ आउदै गरेको उच्च अदालत बिरगंज पर्साको मुख्य न्यायधीश, रजिष्टार र गाडि चालक सहित ६ जना सवार प्रदेश ३-०१-००२ झ ५१८३ नं. को स्कारपियो गाडी अनियन्त्रित भई सडकदेखी अन्दाजी ५०/६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख श्याम खत्रीले बताउनुभयो ।
घाईतेहरुमध्ये एक महिलाको अवस्था गम्भीर रहेको छ । रजिस्ट्रारको श्रीमती अन्दाजी ४९ बर्षिया लक्ष्मी बडुको टाउको र शरिरको विभिन्न भागमा चोट लाग्दा अवस्था गम्भिर रहेको छ ।
अन्यको अवस्था मध्यम रहेको बताइएको छ । घाइतेहुनेहरूमा मुख्य न्यायधिश जिल्ला दाङ तुलसीपुर उ.म.न.पा. ९ बस्ने वर्ष अन्दाजी ५७ को गोकर्ण डाँगीको टाउको र शरिरको विभिन्न भागमा चोटलागेको छ ।
रजिष्टार जिल्ला बैतडी दशरचन्द न.पा. ७ सुर्काल बस्ने वर्ष अन्दाजी ५१ को तारादत्त बडुको शरिरको विभिन्न भागमा चोट लागेको छ ।
रजिस्ट्रार कै छोरा वर्ष अन्दाजि २५ को रितेन्द्र बडुको टाउकोमा चोट लागेको छ । रजिस्ट्रार कै छोरी अन्दाजी ३१ कि रिता बुडको टाउको र शरिरको विभिन्न भागमा चोट लागेको छ ।
चालक दाङ जिल्ला राप्ति न.पा. ८ बस्ने वर्ष अन्दाजी ३२ को छुनिलाल चौधरीको टाउको र शरिरको विभिन्न भागमा चोट लागेको छ ।
उनीहरुको अवस्था मध्यम रहेको बताईएको छ
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालक र रजिष्टारलाई थप उपचारको लागि हेटौडा अस्पताल ल्याईएको र बाँकी ४ जना घाईतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारको लागि छाउनी अस्पताल काठमाडौ पठाएको छ ।
मकवानपुर । बागमती प्रदेशमा नयाँ सरकार गठनको लागि प्रक्रिया सुरु भएको छ । सोमबार प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार गठनका लागि बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई दाबी पेस गर्न आह्वान गरेका छन्।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख देवकोटाले नयाँ सरकार गठनका लागि भदौ ४ गतेभित्र दाबी पेस गर्न आह्वान गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री बानियाँले भदौ १ गतेदेखि लागू हुने गरी दिएको राजीनामा नेपालको संविधानको धारा १६९ (१) (क) बमोजिमवस्वीकृत गरिएको जनाएको छ ।
राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १६८ (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई भदौ ४ गते बिहीबार अपराह्न ४ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन्।
यसअघि मुख्यमन्त्री बानियाँले सोमबार बसेको प्रदेश सभा बैठकमा सम्बोधन पश्चात् राजिनामा दिने घोषणा गरेका थिए । विश्वासको मत लिने कार्यसूची रहे पनि आवश्यक बहुमत जुट्ने सम्भावना नरहेपछि मत विभाजनमा नगई पदबाट राजीनामा दिने घोषणा गरेका थिए। त्यसलगत्तै उनले प्रदेश प्रमुखसमक्ष औपचारिक रूपमा राजीनामा बुझाएका थिए।
प्रदेश प्रमुखको आह्वानसँगै बागमती प्रदेशमा नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। तोकिएको समयभित्र बहुमतसहित दाबी पेस भए प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री नियुक्त गर्नेछन्। यदि बहुमतको दाबी पेस हुन नसके संविधानले व्यवस्था गरेको अर्को प्रक्रियाअनुसार सरकार गठनको पहल अघि बढ्नेछ।
नेपाली कांग्रेस र नेकपा एमालेको साझेदारीमा बानियाँ नेतृत्वको सरकार २०८२ साउन २० गते संविधानको धारा १६८ (२) बमोजिम गठन भएको थियो। एमालेले गत साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो।
३० दिनभित्र विश्वासको मत लिनुपर्ने संविधानमा व्यबस्था रहे पनि मार्ग प्रसस्त गर्न राजिनामा दिएको बानियाँ बताउँछन । यद्यपि बहुमतको लागि प्रदेश सभामा आवश्यक ५३ सांसदको समर्थन जुटाउन नसक्ने अवस्था देखिएपछि मुख्यमन्त्री बानियाँले राजीनामा दिएको बताइएको छ ।