मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा ट्रकले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका ८ कमाने बस्ने ४५ वर्षीय दिनेश कार्की रहेका छन् ।
शनिबार बेलुका मनहरी ६ नयाँ बजार स्थित पुर्व पश्चिम राजमार्गमा हेटौडाबाट चितवनतर्फ जादै गरेको ना.५ ख ७७२१ नम्बरको ट्रकले बिपरित दिशाबाट आउदै गरेको बा.प्र.-०३-००४ प ६९७३ नम्बरको बुलेट मोमोटरसाइकललाई ठक्कर दिदा मोटर साइकल चालक कार्कीको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा कार्कीको टाउको र शरिरको बिभिन्न भागमा चोट लागि घाइते भएकोमा उपचारको लागि चितवनस्थित नयाँ मेडिकल कलेज लगिएकोमा शनिबार बेलुका डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
ट्रक चालक बारा जितपुर सिमरा उपमहानगरपालिक १ पथलैया बस्ने ४२ वर्षीय सन्तोष धिताल इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेको बताइएको छ ।
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा श्रम क्षेत्र अन्तरगत बालश्रमकाे अनुगमन गरिएकाे छ । श्रम तथा रोजगार कार्यालय हेटौंडाको नेतृत्व, मनहरी गाउँपालिका र सिविन बाल हेल्पलाइन १०९८ को संयुक्त सहकार्यमा बिहीबार मनहरीको ७, ८ र ९ नम्बरमा व्यवसायहरुमा अनुगमन गरिएको हो ।
कार वास सेन्टर, वर्कशप, होटल, किराना तथा फेन्सी स्टोर्सहरुमा अनुगमन गरिएकोमा ७ जना बालश्रमिक काम गरिरहेको अवस्थामा फेला परेकाेले व्यवसाय सञ्चालकलाई स्पष्टीकरण पत्र बुझाइएकाे श्रम तथा रोजगार कार्यालय हेटौंडाका प्रमुख छन्दनारायण श्रेष्ठले बताए । साथै उनीहरुलाई बालश्रम सम्बन्धमा उपस्थित हुन ७ दिनको म्याद दिइएको समेत उनले जानकारी दिए ।
अनुगममा जेके वास सेन्टर मनहरी ९ मा १७ वर्षीय बालक, शाह मोटरसाइकल वर्कशप मनहरी ९ मा १४ वर्षीय बालक, बर्तौला सप्लायर्स मनहरी ७ मनहरी बजारमा १३ वर्षीय बालक, रजैया बाइक वर्कशप मनहरी ८ मा १७ वर्षीय बालक, बर्तौला खाजा घर मनहरीमा १३ वर्षीय बालिका र सरस्वती फेन्सी मनहरी बजारमा १७ वर्षीय बालिका फेला परेका बाल हेल्पलाइन मकवानपुर प्रमुख झबिन्द्र ज्ञवालीले बताए ।
श्रम तथा रोजगार कार्यालय हेटौंडाका प्रमुख छन्दनारायण श्रेष्ठ, नायब सुब्बा भिमप्रसाद शर्मा, मनहरी गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख शिला अधिकारी, इलाका प्रहरी कार्यालय मनहरीका दिनेश थापा क्षेत्री, बाल हेल्पलाइन मकवानपुर प्रमुख झबिन्द्र ज्ञवाली, कार्यक्रम अधिकृत एवम् मनोविमर्शकर्ता सम्झना अधिकारी, मनहरी गाउँपालिकाका बालअधिकार समिति देवकी ढुङ्गाना, बालमैत्री सहजकर्ता सुशिला नेपाली लगायतको टोलीले अनुगमन गरेको थियाे ।
मकवानपुर । नेकपा एमाले मकवानपुरले जिल्लाको १२ औं अधिवेशन तयारीलाई तीव्रता दिइएकाे छ । जेठ १८ र १९ गते हुने अधिवेशन तयारीकाे लागि बिहीबार पार्टी केन्द्रीय नेताहरू समेतकाे उपस्थितिमा बसेको बैठकले प्रतिनिधि चयनको मापदण्ड निर्धारण गरेको छ।
बैठकले जिल्ला अधिवेशनमा अन्य समुदायबाट २० जना बराबर १ जना, महिलाबाट १५ जना बराबर १ जना र पेशागत, मजदुर र दलित समुदायबाट १० जना बराबर १ जना प्रतिनिधि चयन गर्ने निर्णय गरेको छ। त्यसैगरी जनसंगठनहरूबाट पनि प्रतिनिधिहरू चयन गरिने छन्। प्रतिनिधि चयन गर्दा कम्तीमा ३३ प्रतिशत महिला र १५ प्रतिशत युवा अनिवार्य रूपमा समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ। यसैगरी बैठकले महासंघहरु र अनेरास्ववीयु, युवासंघ नेपाल, अनेमसंघवाट २ जना र अन्य जन संगठनवाट एक/एक प्रतिनिधीहरु चयन गरिने व्यवस्था गरेकाे छ । प्रतिनिधी चयन गर्दा ३३ प्रतिशत महिला र १५ प्रथितशत युवा अनियार्य चयन गर्नुपर्ने व्यवस्था समेत भएकाे बताइएकाे छ ।
जिल्लाका १० स्थानीय तहका १०२ वटै वडामा जेठ ७ गते र जनसंगठनकाे जेठ ८ गतेका दिन प्रतिनिधि चयन गरिने भएको छ। त्यसैगरी, जेठ १७ गते जिल्लाभर मोटरसाइकल र्याली गरिने छ भने सबै वडा कमिटी, जनवर्गीय कमिटी र तहगत कमिटीले अधिवेशनको ब्यानर राख्नुपर्नेछ समेत निर्णय गरिएकाे छ। पार्टीका संगठित सदस्यहरूलाई फेसबुकमार्फत् अधिवेशनको प्रचार-प्रसार गर्न निर्देशन समेत दिइएको छ।
प्रतिनिधी चयनका लागि हेटौडा उपमहानगरपालिकामा रघुनाथ खुलाल, बागमती गाउँपालिकामा छिरिङ्ग दोर्जे पाख्रीन, बकैया गाउँपालिकामा अणराज जर्घा मगर, मकवानपुरगढी गाउँपालिकामा निर्मला लम्साल, भिमफेदी गाउँपालिकामा भगवती पुडासैनी, ईन्द्रसरोबर गाउँपालिकामा बरिना बल संयाेजक ताेकिएकाे प्रचार प्रसार संयाेजक ध्रुबप्रसाद चौलागाईंले जानकारी दिए । यसैगरी थाहा नगरपालिकामा नारायण रिजाल, कैलाश गाउँपालिकामा बलराम बल, राक्सिराङ्ग गाउँपालिकामा ईन्द्रमान स्याङ्गतान, मनहरी गाउँपालिकामामा एकराज उप्रेती, मजदुर अर्जुन अर्याल, पेशागतमा पदमा पौडेललाई संयोजक तोकिएको चौलागाईले बताए ।
एमाले पोलिटव्युरो सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज देवी ज्ञावलीको प्रमुख आतिथ्यता र पार्टी जिल्ला अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा भएकाे बैठकमा एमाले केन्द्रीय सदस्य रामेश्वर राना, केदार न्यौपाने, प्रदेश सदस्यहरु समेतको उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणाली प्रभाव रहेकाे छ । जसकाे प्रभावले मंगलबार देशका पहाडी भूभागमा आंशिक बदली रहेकाे जल तथा मौसम विज्ञान विभागकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने।
आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा मधेस र बाँकी पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना समेत रहेको छ। मंगलबार राति कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएकाे छ ।
मकवानपुर । बागमती प्रदेशकाे आर्थिक मामिला तथा योजना मन्त्रालयकाे आर्थिक सल्लाहकारमा डा. कपिलदेव सुवेदी नियुक्त भएका छन् । आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले आर्थिक सल्लाहकारमा सुवेदीलाई नियुक्त गरेका हुन्।
मन्त्रालयले सुवेदीलाई बौद्धिक सम्पत्तिको रुपमा प्रयोग गर्ने मन्त्री थपलियाले बताए। अहिले बजेट निर्माणको समय भएकाले मन्त्रालयले सहयोगको अपेक्षा गरेको समेत मन्त्री थपलियाकाे भनाई थियाे । प्राध्यापन पेशामा संलग्न सुवेदी व्यवस्थापन क्षेत्रका समेत जानकार रहेकाे बताइएकाे छ । चितवन निवासी सुवेदीबाट प्रदेशलाई अग्रगामी बनाउन कर्मचारीहरूसँग समन्वय गरेर अगाडि बढ्ने मन्त्री थपलियाले अपेक्षा गरे ।
सल्लाहकारको नियुक्ति भएपछि सुवेदीले आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्ने बताए । अवसर पाउँदा खुसी हुनु स्वाभाविक रहेकाे बताउँदै उनले प्राप्त जिम्मेवारीलाई प्रदेशमा आफ्नाे क्षेत्र अनुसारकाे अनुभवलाई इमान्दारीपूर्वक प्रदेश सरकारको हितमा प्रयाेग गर्ने बताए । जनताको अपेक्षा बमोजिम योजना बनाउने र गुणस्तरीय सेवा प्रदान गर्न सहयोग गर्ने उनकाे भनाई थियाे । मन्त्रालयगत कार्यप्रगतिका लागि हातेमालो गर्ने र सकेसम्म समय दिने उनले प्रतिबद्धता व्यक्त गरे ।