मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
आइतबार कास्की जिल्ला अदालतमा भएको थुनछेक बहसपछि उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको हो । म्याद दिएसँगै प्रहरीले अनुसन्धान कार्य अघि बढाउनेछ । जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न भन्दै म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा शुक्रबार काठमाडौँबाट पक्राउ परेको उनलाई सोही राति पोखरा पुर्याइएको थियाे । उनी पक्राउ परेसँगै पार्टी नेता कार्यकर्ता भने आक्रोशित बन्दै सडकमा उत्रिएका छन् । आइतबार पनि पोखरामा दिनभर रास्वपाका कार्यकर्ताले प्रदर्शन गरेका थिए । प्रदर्शनका कारण पोखरामा निशेधाज्ञा समेत जारी गरिएकाे थियाे ।
यसैबीच पार्टी सभापति लामिछाने पक्राउको विरूद्धमा पार्टीका नेता तथा कार्यकर्ताले ७७ वटै जिल्लाबाट सरकारलाई ज्ञापनपत्र दिने भएको छ । लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको आरोप लगाउँदै प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउन लागिएको रास्वपाले जनाएकाे छ ।
मकवानपुर । नेकपा (एमाले) ले ३ जना नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले उनीहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको पार्टीले जनाएकाे छ ।
नेता भीम रावलसहितका स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हाे ।
उनीहरूलाई एमाले केन्द्रीय कार्यालयको भवन निर्माणका सम्बन्धमा पार्टी निर्णय विपरित अभिव्यक्ति दिएको भन्दै पार्टीले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
मकवानपुर । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको छ ।
जसको प्रभावले कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
हाल कोशी, मधेस, बागमती र कर्णाली प्रदेशको थोरै स्थानहरू तथा गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ ।
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेस, बागमती लगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
मकवानपुर । हेटौंडा भिमफेदी-सिस्नेरी-काठमाडौ तथा हेटौंडा भिमफेदी-फाखेल-काठमाडौ सडक ३ दिन बन्द हुने भएको छ ।
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ सिमखोला स्थित बाटोको मर्मत तथा ह्युम पाइप हाल्ने काम भइ रहेकोले हेटौंडा-सिस्नेरी-काठमाडौ तथा फाखेल-काठमाडौ सडक ३ दिन बन्द हुने भएको हो ।
मर्मत गर्न ३ दिन लाग्ने भएकोले हेटौंडाबाट कुलेखानी फाखेल र सिस्नेरी हुँदै काठमाडौ जाने सडक बन्द हुने जिल्ला।प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार उक्त मार्ग भएर काठमाडौबाट हेटौंडा आउने सवारी भने रोकिने छैन ।
उक्त मार्ग बन्द भएको समयमा हेटौंडा-भैसे-पालुङ हुँदै काठमाडौं र कान्तिलोकपथ राजमार्ग हेटौंडा ठिगन हुँदै काठमाडौ रुट प्रयोग गर्न समेत जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुरोध गरेको छ ।
मकवानपुर । हाल देशभर पश्चिमी वायुको प्रभाव रहेको छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा स्थानीय वायुको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पश्चिमी र स्थानीय वायुको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
शुक्रबार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।
शुक्रबार राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना समेत रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।