मकवानपुर । श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानको अध्यक्षमा सुर्यचन्द्र न्यौपाने चयन भएका छन् ।
प्रतिष्ठानको पाँचौँ साधारणसभा तथा दोस्रो अधिवेशनले न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । १७ सदस्यीय कार्यसमितीमा बाँकी चार सदस्य भने संस्थाको बैठकले मनोनित गर्नेछ ।
सर्वसहमतिमा चयन भएको कार्यसमितिको उपाध्यक्षमा इन्द्रप्रसाद नेपाल र पुरुषोत्तम आचार्य, महासचिव सुवास खनाल, सचिव भरत दुलाल, कोषाध्यक्ष शुभलक्ष्मी विक, सदस्यहरू ऋषिराम पोखरेल, अरुण खतिवडा, अनिता न्यौपाने, सन्तोष पौडेल, शान्ति प्रियवन्दना, रामबहादुर थापा र रामबाबु खतिवडा रहेका छन् ।
साधारण सभामा संस्थाका सचिव सुवास खनालले प्रस्तुत गरेको प्रतिवेदन र कार्यप्रगति प्रतिवेदन, कोषाध्यक्ष रामबहादुर थापाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।
नवनियुक्त अध्यक्ष सूर्यचन्द्र न्यौपानेले आफूले बनावटी ठूला योजना नबनाएको र संस्थाको भेलामा प्रस्तुत योजनाहरूलाई निष्ठापूर्वक अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा केदार न्यौपाने, प्रेम बहादुर पुलामी छिन्तु, मुनु सिग्देल, नेकपा एमाले जिल्ला अध्यक्ष श्रीधर पोखरेल, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० अध्यक्ष फुर्वादोर्जे लामालगायतको आतिथ्यता रहेको थियो ।
मकवानपुर । नेकपा एमालेका सचिव योगेश कुमार भट्टराई मकवानपुर आउने भएका छन्। यही माघ १९ गते शनिबार प्रेस चौतारी नेपाल मकवानपुरको दशौँ अधिवेशनको उद्घाटन गर्न भट्टराई मकवानपुर आउने भएका हुन्।
प्रेस चौतारी नेपाल मकवानपुरको दशौं अधिवेशन शनिबार हेटौंडामा हुँदैछ। सोही कार्यक्रममा प्रमुख आतिथ्यताको भूमिकामा सचिव भट्टराई मकवानपुर आउन लागेको प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले बताए।
यसैबीच प्रेस चाैतारी मकवानपुरले आफ्नाे दशाैं अधिवेशन भव्य र सव्य रुपमा सम्पन्न गर्नकाे लागि सबै तयारी पुरा भएकाे जनाएकाे छ ।
शनिबार हुने अधिवेशनले प्रेस चौतारी मकवानपुरको नयाँ कार्यसमिति चयन गर्नेछ। बिहीबार (आज) बसेको प्रेस चौतारी मकवानपुरको बैठकले अधिवेशन सम्पन्न गर्नका लागि सदस्यहरुलाई जिम्मेवारी दिदै विभिन्न विभाग तोकिएको अध्यक्ष अधिकारीले बताए।
शनिबार गैर सरकारी संस्था महासंघ मकवानपुरको सभाहलमा अधिवेशन हुनेछ। कार्यक्रममा प्रेस चौतारी नेपालका सचिव विष्णु तारुके, महासचिव हिरामान लामालगायत प्रदेश तथा जिल्लास्तरका नेताहरुको उपस्थिति रहनेछ।
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आज विहीबार परेको सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।
“सोनाम ल्होसार २०८१ को अवसरमा बागमती प्रदेश, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण तामाङ समुदायका दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु” देवकोटाको शुभकामना सन्देशमा भनिएको छ ।
नेपालमा खासगरी मध्य भागको हिमाली, उच्च पहाडी र पहाडी भुभागमा बसोबास गर्ने संस्कृतिका धनी तामाङ समुदायले सोनाम ल्होसार पर्वलाई नाचगान, आफन्त भेटघाट र खानपिन गरेर रमाइलोका साथ मनाउने प्रचलन छ । यो पर्वमा कुलपूजा र प्रकृति पूजा गर्ने परम्परा छ । चेलीबेटी बोलाएर टीका लगाइदिने गरिन्छ । परम्परागत पहिरनले सजिएर एक ठाँउमा भेला भै तामाङ्सेलो नाच प्रस्तुत गरिन्छ ।
घर बस्तिहरू सफा राख्नुका साथै बुद्धका तस्बिर अङ्कित ध्वजापताका टाँगेर भगवान बुद्धप्रति श्रद्धाभाव प्रकट गरिन्छ । गुम्बा, चैत्यहरूमा पूजा गरिन्छ । बौद्ध परम्पराका रितिरिवाजलाई आधार मानी हासीखुसीका साथ ल्होसार मनाइन्छ ।
प्रदेश प्रमुख देवकोटाले चाडपर्वहरू साँस्कृतिक सम्पन्नताका परिचायक भएको उल्लेख गर्नुहुँदै यस्ता पर्वहरूले एकता, मेलमिलाप, शान्ति र सौहार्दता अभिबृद्धिमा सघाउ पुर्याउने सन्देशमा उल्लेख गर्नु भएको छ ।
“हाम्रा चाडपर्वहरू सभ्य, सुखी र समृद्ध जीवनका आधारस्तम्भ हुन्” शुभकामना सन्देशमा भनिएको छ“ सोनाम ल्होसारले तामाङ समुदायलगायत सम्पूर्ण नेपालीमा सकारात्मकता र उल्लास भित्र्याउन सफल रहोस् ।”
मकवानपुर । अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थलमा “श्रीमद् भागवत सप्ताह ज्ञानमहायज्ञ” सञ्चालन हुने भएको छ ।
अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थलको आदर्श वाक्य: आत्मालाई जागृत गरौँ, सनातन सत्यलाई अँगालौँ” भन्ने उदेश्यले ज्ञानमहायज्ञ सञ्चालन गर्ने अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थल हेटौंडा-१७, ठूलोगङ्गटेको विशेष साधारण सभाले निर्णय गरेको हो ।
ज्ञानमहायज्ञ कार्यक्रम आगामी ३० माघ देखि ७ फागुनसम्म सञ्चालन हुने प्रचार समिति संयोजक चुडामणि रुपाखेतीले जानकारी दिएव। महायज्ञ संचालनको लागि अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थलका अध्यक्ष कृष्णदेव भण्डारी संयोजक रहने गरि मूल समारोह समिति गठन गरिएको छ ।
महायज्ञ कार्यक्रम अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थल, अङ्गारेश्वर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, अङ्गारेश्वर टोल विकास संस्था, र अङ्गारेश्वर दूग्ध उत्पादक सहकारी संस्था लिको संयुक्त आयोजना गरिने रुपाखेतीले बताए ।
महायज्ञको लागि ७ वटा समिति गठन गरिएको छ । अर्थ समिति संयोजकमा धर्मराज अर्याल, प्रचार समिति संयोजकमा चुडामणि रुपाखेती, पुजा समिति संयोजकमा केशव भुजेल, अतिथि सत्कार तथा सम्मान समिति संयोजकमा माया राना, सरसफाइ समिति संयोजकमा ओम प्रसाद अधिकारी, समान खरिद समिति संयोजकमा शमशेर पुडासैनी,भण्डारण समिति संयोजक सिताराम वाइबा रहने गठन गरिएको हो ।
नियमित सत्सङ, आध्यात्मिक प्रवाचनको आरम्भ गरी सनातन धर्म, संस्कार संस्कृतिको जगेर्ना गर्ने, मन्दिर परिसरभित्र १० फिट अग्लो आधारस्तम्भमा १० फिट अग्लो महादेवको ध्यानावस्थाको मूर्ति स्थापना गर्ने, मन्दिर परिसरमा भएको सभाहललाई स्थरोन्नति गर्ने,मन्दिरको जग्गामा घेराबारा (पर्खाल) निर्माण गर्ने उदेश्यले महायज्ञ गर्न लागिएको प्रचार समिति संयोजक रुपाखेतीले बताए ।