हेटौंडा। हेटौंडा–९, लामसुरेस्थित प्रगति माविले विद्यार्थीको घरघरै पुगेर पाठ्यपुस्तक वितरण गरेको छ । कक्षा १ देखि १० कक्षासम्मका विद्यार्थीलाई घरघरै पुगेर पाठ्यपुस्तक वितरण गरिएको विद्यालयका सहायक प्रधानाध्यापक किशोर पराजुलीले जानकारी दिनुभएको छ । विद्यार्थीलाई आवश्यक सम्पुर्ण पाठ्यपुस्तक १० दिन लगाएर वितरण गरिएको विद्यालयले जनाएको छ ।
घरघरै पुग्दा पनि सबै विद्यार्थीलाई पाठ्यपुस्तक पुर्याउन नपाएको सहायक प्रधानाध्यापक पराजुलीको भनाइ छ । लकडाउनका कारण कतिपय विद्यार्थी गाउँ गएकाले उनीहरुलाई पाठ्यपुस्तक उपलब्ध गराउन नसकिएको उहाँले जानकारी दिनुभयो । प्रगति माविले इन्टरनेटको पहूँच भएका बालबालिकाहरुलाई अनलाइन कक्षा सञ्चालन गरिरहेको छ । ईन्टरनेटको सुविधा नभएका विद्यार्थीलाई गृहकार्यहरु दिई पठनपाठनको कार्य भैरहेको विद्यालयले जनाएको छ ।
हेटौँडा । मकवानपुरका ९ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष ०७७/७८ को लागि अनुमानित बजेट, वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।
हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र ७ वटा गाउँपालिकाले हिजो बुधबार अनुमानित बजेट , नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । बागमती गाउँपालिकाले भने असार २० गते मात्रै सार्वजनिक गर्ने गाउँपालिकाका अध्यक्ष सर्केश घलानले जानकारी दिएका छन् ।

आगामी आवको लागि हेटौँडा उपमहानगरपालिकाले सबैभन्दा धेरै २ अर्ब ८ करोड ६६ लाख ३३ हजारको बजेट सार्वजनिक गरेको छ भने सबैभन्दा कम कैलाश गाउँपालिकाले ४३ करोड ७२ लाख ५९ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको हकमा भने सबैभन्दा धेरै मनहरी गाउँपालिकाले ७६ करोड १६ लाख ३५ हजारको बजेट सार्वजनिक गरको छ ।
नीति तथा कार्यक्रम मिल्दाजुल्दा
९ वटै स्थानीय तहले सार्वजनिक गरेको नीति तथा कार्यक्रम मिल्दाजुल्दा छन् । कृषककालागि कृषि उत्पादन तथा पशुपालनमा प्रोत्साहन गरिने, आधुनिक कृषि औजार तथा उपकरण वितरण गरिने, मल तथा विउविजन उपलब्ध गराइने, कृषि अनुदान वितरण गरिने र उत्पादित कृषि उपजका लागि बजार व्यवस्थापन गरिनेलगायतका योजना मिल्दाजुल्दा छन् ।
भौतिक पूर्वाधार विकासको कार्यक्रमलाई स्थानीय तहले प्राथमिकता दिएका छन् । सडक सञ्जालको विस्तार, सडक मर्मत, स्ल्याब ढलान, कालोपत्रे, कुल कुलेशो, ढल, विभिन्न प्रयोजनका भवन निर्माण गरिने भएको छ । त्यसैगरी पर्यटन प्रवद्र्धनका कार्यक्रम, घरघरमा खानेपानी धारा जडान गरिने, ग्रामिण विद्युतिकरण जस्ता कार्यक्रमलाई स्थानीय तहले प्राथमिकता दिएका छन् । सामाजिक क्षेत्रमा पनि विशेष बजेट व्यवस्थापन गरिएको छ ।
शिक्षामा सबैको पहुँच पुगोस भन्नका लागि सामुदायिक विद्यालयको स्तरउन्नती गरिने भएको छ । विशेषगरी स्वास्थ्य क्षेत्रमा उल्लेखनिय काम हुने अपेक्षा गरिएको छ । सामुदायिक स्वास्थ्य संस्थाको भनव निर्माणको काम अघि बढीसकेको छ ।
चालु आव ०७६/७७ का पछिल्लो ३ महिना स्थानीय तहले महामारीको रुपमा फैलिरहेको कारोना भाइरस (कोभिड -१९ ) को नियन्त्रण र रोकथामका लागि विभिन्न कामहरु गरेका छन् । हेटौँडा उपमहानगरपालिकामा रहेको हेटौँडा अस्पतालको स्तर उन्नती गरिने र मकवानपुरगढी गाउँपालिकामा २५ शैयाको अस्पताल निर्माण गरिनेसमेतका योजना सार्वजनिक भएका छन् । क्षमता अभिबृद्धि, शुशासन, नेतृत्व विकासलगायतका तालिम तथा गोष्ठीहरु संचालन गरिने योजना अटेका छन् ।
सुरक्षा तथा संरक्षण, युवा तथा खेलकुद, भाषा तथा संस्कृति, लैगिंक समानता तथा सामाजिक समावेशिकरण लगायतका विषयहरु स्थानीय तहको नीति कार्यक्रममा छन् ।
हेटौँडा उपमहानगरपालिका
हेटौँडा उपमहानगरपालिकाले २ अर्ब ८ करोड ६६ लाख ३३ हजारको बजेट सार्वजनिक गरेको छ । उपमहानगरले ढल व्यवस्थापन, सरसफाई, विपद व्यवस्थापनका लागि ४ करोड, ७१ लाख रुपैयाँ, संस्थागत सेवा र सुशासनका लागि ३ करोड ५४ लाख रुपैयाँ विनियोजन गरेको छ । उपमहानगरले कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ २३ करोड १४ लाख रुपैयाँ खर्चको अनुमान गरेको छ ।
त्यसैगरी कृषि प्रवद्र्धनका लागि २ करोड रकम विनियोजन भएको छ । संक्रमण रोग रोकथाम र नियन्त्रण तथा उपचार अन्तर्गत उपमहानगरवासीको कोरोना संक्रमणबाट मृत्यु भएमा उनको परिवारलाई राहत स्वरुप ३ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
त्यसैगरी संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ ८ वटा शीर्षकमा कूल ३ करोड ५४ लाख ४५ हजार २ सय रुपैँया विनियोजन भएको छ । सामाजिक विकासतर्फ ७२ करोड, ७४ लाख, ७९ हजार र पूर्वाधार विकासतर्फ १ अर्ब ३ करोड २६ लाख १० हजार ७ सय रकम विनियोजन गरिएको छ ।

थाहा नगरपालिका
थाहा नगरपालिकाले आगामी आवको लागि ८० करोड ५६ लाख ३३ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ । बुधबार बसेको नगरसभाले वार्षिक नीति तथा कार्यक्रम पारित गरेको नगरपालिकाका प्रमुख लवशेर विष्टले जानकारी दिएका छन् । पर्यटन प्रर्वद्धनलाई प्राथमिकता दिइएको छ भने कृषि उत्पादन तथा पशुपालन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारलगायतका क्षेत्रहरु प्राथमिकतामा परेका छन् ।
उत्पादिन भएका कृषि उपजको बजार व्यवस्थापन गरिने भएको छ । आयात घटाउने र निर्यात बढाउने आत्म निर्भरतासहितको नीति सार्वजनिक गरेको छ ।
थाहानगरमा संघीय सरकारको प्रधानमन्त्री कृषि जोन परियोजना पनि कार्यान्वयनमा रहेको छ । अर्को नगरसभा बैठक असार १९ गते बस्ने र सोही बैठकबाट आगामी आवको बजेट पास हुने नगर प्रमुख विष्टको भनाई छ ।
राक्सिराङ गाउँपालिका
राक्सिराङ गाउँपालिकाले आगामी आवको लागि कूल ५१ करोड १५ लाख, २० हजार २ सय ७७ रुपैँयाको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
संघीय सरकारबाट ३६ करोड ७० लाख ९७ हजार २ सय ७७, प्रदेश सरकारबाट ८ करोड २७ लाख ३३ हजार प्राप्त हुने र स्थानीय स्रोतबाट ३ करोड ३२ लाख संकलन हुने अनुमान गरेर आगामी आवको अनुमानित बजेट सार्वजनिक गरिएको प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले बताएका छन् ।

वार्षिक नीति तथा कार्यक्रममा कृषि, खानेपानी, सडक पूर्वाधार, ग्रामिण विद्युतिकरण, शिक्षा, स्वास्थ्य, रोजगार र पर्यटनलगायतका क्षेत्रलाई प्राथमिकता दिइएको छ ।
कैलाश गाउँपालिका
कैलाश गाउँपालिकाले आगामी आवको लागि कूल ४३ करोड ७२ लाख ५९ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिका अध्यक्ष टंक मोक्तानका अनुसार वार्षिक नीति कार्यक्रममा भौतिक पूर्वाधार, खानेपानी, सडक सञ्जाल, आर्थिक विकास, कृषि र स्वरोजगारलाई प्राथमिकता दिइएको छ ।
गाउँपालिकाले किसानलाई मलमा प्रतिकेजी २ रुपैँया अनुदान दिने भएको छ । शिक्षा र स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा दिइने छ ।
भीमफेदी गाउँपालिका
भीमफेदी गाउँपालिकाले आगामी आवको लागि कूल ५६ करोड ८७ लाखको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
पूर्वाधार विकासको लागि १६ करोड, शुशासनतर्फ ६७ लाख, आर्थिक विकासतर्फ ४ करोड ६६ लाख, सामाजिक विकासमा ५ करोड, बन तथा वातावरणमा १ करोड ६४ लाख रुपैँया विनियोजन गरिएको
छ ।
‘महामारीले सबै युवा गाउँघर, बाँझो जमिन बनाऔँ उर्भर’ भन्ने मूल नाराका साथ आगामी आवमा रोजगारी सिर्जना, कृषि, पशुपालन, स्वास्थ्य र भौतिक पूर्वाधारलाई विशेष प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष हिदम लामाले बताका छन् ।
घरघरमा खानेपानी पुर्याइने देखि निशुल्क युरिया मल वितरण गरिने योजना भीमफेदी गाउँपालिकाको छ ।
इन्द्रसरोवर गाउँपालिका
इन्द्रसरोवर गाउँपालिकाले आगामी आवको लागि ५० करोडको हाराहारीमा अनुमानित बजेट सार्वजनिक गरेको जनाएको छ ।
गाउँपालिकाले कृषि र पर्यटनलाई रोजगारसंग जोडेर नीति कार्यक्रम ल्याएको छ । कृषि क्षेत्रमा विभिन्न रोजगारमुखी कार्यक्रम निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष जीवन लामाले जानकारी दिए ।
विभिन्न पकेट क्षेत्र निर्धारण गरेर कृषि उत्पादन बृद्धि गर्ने र वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई स्वरोजगार बनाउने खालको बजेट निर्माण गरिएको अध्यक्ष लामाले जानकारी दिए ।
बकैया गाउँपालिका
बकैया गाउँपालिकाले आगामी आवको लागि कूल ६५ करोड १९ लाख ६९ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ । वार्षिक नीति तथा कार्यक्रममा गाउँपालिका स्तरीय प्रज्ञा प्रतिष्ठान गठन गर्ने प्रस्ताव गरिएको छ ।
साहित्यको उन्नयन र विकासका लागि केन्द्रमा नेपाल प्रज्ञा प्रतिष्ठान रहेजस्तै गाउँपालिका स्तरमा गाउँ प्रज्ञा प्रतिष्ठान गठन गर्ने प्रस्ताव गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीले जानकारी दिएका छन् ।
त्यसैगरी कार्यक्रम तथा बजेटको आय व्यव विवरण सबैले देख्ने गरी सार्वजनिक स्थानमा टाँस गर्ने प्रस्ताव पनि गरिएको छ । खरको छानामुक्त गाउँपालिका निर्माणका लागि विपन्न वर्ग, द्वन्द्वपीडित, सहीद परिवार र सिमान्तकृत परिवारलाई प्राथमिकतामा राखेर जस्ताको छाना छाउने प्रयोजनका लागि अनुदान व्यवस्था गरिएको प्रस्ताव समेत गरिएको उपाध्यक्ष सरला बोलखेले बताईन् ।
बकैया २ धियालमा रहेको यूरेनियम खानीको उत्खनन तथा परिक्षणका लागि प्रदेश र केन्द्र सरकारसँग समन्वयन गरिने प्रस्ताव पनि नीति तथा कार्यक्रममा गरिएको छ ।
गाउँपालिकाभित्र अब निर्माण हुने घर संरचनालाई व्यवस्थित बनाउन भवन संहिता तथा भवन सम्बन्धी मापदंड प्रचलनमा ल्याउने तयारी गरिएको अध्यक्ष दामोदर खनालले जानकारी दिए ।
मनहरी गाउँपालिका
मनहरी गाउँपालिकाले सबैभन्दा धेरै ७६ करोड १६ लाख ३५ हजार ४ सय २० रुपैँयाको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
उक्त विनियोजित रकम खर्च गर्नको लागि नेपाल सरकार वित्तिय समानिकरणबाट रु १२ करोड ५५ लाख, बागमती प्रदेश सरकार वित्तिय समानिकरण अनुदानबाट रु १ करोड ३८ लाख ४ हजार, नेपाल सरकार सशर्त अनुदानबाट १८ करोड ४४ लाख, बागमती प्रदेश सशर्त अनुदानबाट २ करोड ५४ लाख ५५ हजार, राजश्वको स्रोत बाँडफाँडबाट १५ करोड ६३ लाख ९६ हजार ४ सय २० प्राप्त हुने गाउँपालिकाले अनुमान गरेको छ ।
त्यसैगरी बन रोयल्टीबाट ५० लाख, अन्य सशर्त अनुदान, सामाजिक सुरक्षा रकम तथा आन्तरिक राजश्व परिचालनबाट २५ करोड ४५ लाख प्राप्त हुने अनुमान गरीएको छ ।
आगामी आवमा विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणको जोखिमबाट बच्न उच्च प्राथमिकताका साथ स्वास्थ्य क्षेत्रका कामहरु गरिने गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताएका छन् ।
आर्थिक, सामाजिक, भौतिक तथा मानविय विकासका गतिविधिहरु सम्पादन गरी मनहरी गाउँपालिकालार्य सक्षम र समृद्ध बनाइने योजना नीति तथा कार्यक्रममा उल्लेख छ ।
मकवानपुरगढी गाउँपालिका
मकवानपुरगढी गाउँपालिकाले आगामी आवको लागि कूल ५९ करोड ७५ लाख ७ हजार रुपैँयाको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
आयतर्फ संघीय सरकार र प्रदेश सरकार वितिय समानिकरण अनुदान १० करोड ९० लाख ५८ हजार प्राप्त भएको, राजस्व बाँडफाँड तर्फ १६ करोड ११ लाख ५९ हजार प्राप्त हुने अनुमान, अर्कोतर्फ आन्तरिक आयतर्फ २ करोड ९१ लख ३० हजार प्राप्त हुने अनुमान, त्यसैगरि संघीय र प्रदेश सरकार शर्सत अनुदान २२ करोड ५ लाख ६० हजार हुने अनुमान, समपुरक अनुदान ५ करोड, विषेश अनुदान रकम २ करोड ७६ लाख प्राप्त हुने अनुमान सहितको विवरण पेश गरिएको छ ।
त्यस्तै, व्ययतर्फ कुल बजेटको पुजीँगततर्फ ३२ करोड ६९ लाख ४७ हजार ९५४.७१ प्रतिशत र चालुतर्फ २७ करोड ५ लाख ६० हजार ९४५.२९ प्रतिशत गरी ५९ करोड ७५ लाख ७ हजारको अनुमानित आयव्यय पेश गरिएको थियो ।
कृषि क्षेत्रमा २ करोड ६४ लाख, उद्योगमा ६५ लाख, पर्यटनमा १ करोड १४ लाख, सहकारीमा ६६ लाख, जलस्रोत र सिचाईमा २ करोड २२ लाख, पशुपक्षीं विकासमा २ करोड ७४ लाख, भुमि व्यवस्थामा ४५ लाख रकम विनियोजित गरिएको छ ।
कार्यालय सञ्चालन तथा प्रशाशनिक खर्च ५ करोड ८० लाख, पूर्वाधार विकास क्षेत्रको यातायात पूर्वाधारमा १४ करोड ४२ लाख,भवन आवास तथा शहरी विकासमा ८८ लाख ५० हजार, उर्जामा २६ लाख ५५ हजार, सञ्चार तथा सुचनामा ८ लाख, विज्ञान र प्रविधिमा ५ लाख रकम विनियोजित गरिएको छ ।
सामाजिक विकास क्षेत्रमा कुल बजेटको ४३।३० प्रतिशत जुन २५ करोड ८७ लाख ४३ हजार रकम रहनेछ ।
हेटौंडा — हेटौंडा उपमहानगरपालिका–४, कर्राकी सुस्मिता थापाको हत्याको आरोपमा मकवानपुर प्रहरीले सोमबार चार जनालाई सार्वजनिक गरेको छ ।
प्रहरीले आर्थिक, मानसिक र यौनजन्य हिंसापश्चात् सुनियोजित रुपमा परिवारबाटै उक्त हत्या भएको निष्कर्ष निकाल्दै उनीहरुलाई सार्वजनिक गरेको हो । घटनामा संलग्न रहेको आरोपमा मृतक थापाका ५८ वर्षीय ससुरा प्रकाश थापा, ५० वर्षीया सासू तुलसा थापा, २३ वर्षीया नन्द सीता थापा र २७ वर्षीया अमाजू दुर्गा थापालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
सुस्मिता आफ्नै घरको भान्सा कोठामा असार २ गते मृत अवस्थामा भेटिएकी थिइन् । प्रहरीले सुस्मिताको हत्या आरोपमा मृतकका ससुरा र नन्दलाई असार ४ गते नै पक्राउ गरी ज्यानसम्बन्धी कसुर मुद्दामा अनुसन्धन प्रक्रिया सुरु गरेको थियो । प्रहरीले १३ दिनको अनुसन्धानपश्चात् घटनाको टुंगो लगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिं राठौरले जानकारी दिए ।
उनको हत्या असार १ गते राति १० बजेको समयमा नै भएको अनुसन्धानबाट खुलेको छ । ‘भान्सा कोठामा नन्द सीतासँग खाना खाइरहेको अवस्थामा एक्कासि ससुराले पछाडिबाट काठले सुस्मितालाई हानेको देखिन्छ । ससुराले काठले हानेपछि नन्दले लोरोले हानेर उनको हत्या भएको देखिन्छ,’ प्रहरी उपरीक्षक राठौरले नौ महिना अगाडि ससुराली कपिलवस्तुबाट फर्केने क्रममा नवलपरासीको दाउन्नेमा सवारी दुर्घटनामा सुस्मिताका पतिको निधन भएको बताए ।
‘पतिको निधनपश्चात् नियमितजसो सुस्मितालाई परिवारबाटै यातना भइरहेको देखिन्छ,’ प्रहरी उपरीक्षक सिंहका अनुसार सुसराले मृतक बुहारीलाई बाथरुममा जबर्जस्ती करणीसमेत गरेको अनुसन्धानको क्रममा खुलेको छ । ‘आफूले गरेको करणी प्रयास बाहिर आउँदा सामाजिक प्रतिष्ठा जाने र छोराको निधनपश्चात् प्राप्त रकमको विषयलाई लिएर मारेको देखिन्छ,’ राठौरले भने ।
प्रहरीका अनुसार मृतककी पतिको निधनपश्चात् दुर्घटना, बिमा, सामाजिक सुरक्षा कोष तथा कार्यरत संस्थाबाट करिब ५५ लाख ६० हजार तीन सय २४ रुपैयाँ प्राप्त भएको रकमको विषयलाई लिएर समेत परिवारमा कलह अवस्था सिर्जना भएको थियो । बिमाको रकम दश लाख ६३ हजार नौ सय चौध रुपैयाँ भने ससुराले झिकिसकेको प्रहरीले जनाएको छ ।
हेटौंडा / बागमती प्रदेश कोभिड संकट ब्यबस्थापन समितिले आईसोलेसन बेड थप गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले आईसोलेशन बेडको संख्या २ हजार ४ सय ५० थप्ने निर्णय गरेको हो । हाल प्रदेशले १ हजार २ सय ५८ वटा आईसोलेशन बेड तयारी अबस्थामा राखेको छ ।
समितीले दिएको जानकारी अनुसार १० प्रतिशत महिलाहरुको लागि सुरक्षित थरी उपत्यकाका ३ जिल्लामा १ हजार, चितवन, मकवानपुर, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक र सिन्धुलीमा २÷२ सय, सिन्धुपाल्चोकमा १ सय र दोलखा, रामेछाप र रसुवामा ५० ÷५० वटा आईसोलेशन बेड तयार गरीने छ । यसैगरी बैदेशिक रोजगारमा गई स्वदेश फर्कने नेपाली नागरिकहरुलाई त्रिभुवन विमानस्थल देखि जिल्ला सदरमुकाम सम्म पुग्ने यातायातको व्यवस्था खर्च बैदेशिक रोजगार बोर्डले व्यहोर्नको लागि केन्द्रीय कोरोना संकट व्यवस्थापन केन्द्रलाई अनुरोध गर्ने र सदरमुकाम देखि स्थानीयतह सम्मको यातायातको व्यवस्था खर्च स्थानीय तहले गर्ने निर्णय भएको छ ।
यसैगरी सम्बन्धित मुलुकले नै हवाइ यातायातको व्यवस्था गरी स्वदेश फर्कने नेपाली नागरिकको हकमा त्रिभुवन विमानस्थल देखि सम्बन्धित जिल्ला सदरमुकाम सम्मको यातायात खर्च प्रदेश सरकारले व्यवहोर्ने गरी सम्बन्धित निर्देशिका परिमार्जन गर्न संघीय सरकारसंग अनुरोध गर्ने समितिले निर्णय गरेको छ ।
यसैगरी विदेशबाट आउने बागमती प्रदेशका नागरिकहरुलाई सुरक्षित रुपमा काठमाण्डौमा रहेको होल्डिङ सेन्टर देखि जिल्ला सदरमुकामसम्म पुर्याउन उपत्यकाका ३ जिल्लाका कोभिड संकट ब्यबस्थापन समितिले समन्वय गरी आवश्यक व्यवस्थापन गर्ने जनाइएको छ । कोभिड १९ का संक्रमितको उपचार र संक्रमण रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरू मध्ये केन्द्रबाट प्राप्त हुने औषधी तथा उल्लेख भएका सामाग्रीहरु बाहेक प्रदेशलाई आवश्यक पर्ने सामाग्रीहरुको व्यवस्थापन, प्रदेश स्तरमा पीसीआर टेष्ट र प्रयोगशालाको क्षमता बढाउन सामजिक विकास मन्त्रालयले व्यवस्था मिलाउने पनि समतिको निर्णय छ ।
कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि भौतिक र जग्गा व्यवस्थापनको कार्य जिल्ला कोभिड संकट ब्यबस्थापन समितिले स्थानीयतहसंग समन्वय गर्ने, नयाँ भवन निर्माण गर्नु पर्ने भएमा लागत अनुमान लगाएतका कार्यहरु भौतिक पूर्वाधार विकास मन्त्रालयले व्यवस्था मिलाउने, आइसोलेशन वार्ड संचालनको कार्य जिल्ला कोभिड संकट ब्यबस्थापन समितिलसंगको समन्वयमा सामाजिक विकास मन्त्रालयले व्यवस्था मिलाउने निर्णय गरिएको छ ।
कोभिड १९ बाट बढी मानिसहरु संक्रमण भएका जिल्लाका कोभिड संकट ब्यबस्थापन समितीले पूर्ण बन्दाबन्दी गर्न सिफारिस गरेमा संघीय सरकारको कोभिड संकट ब्यबस्थापन समितिको परामर्शमा प्रदेश सरकारले पूर्ण बन्दाबन्दी घोषणा गर्न सक्ने व्यवस्था भएकोले यस्तो अवस्था आइपरेमा सम्बन्धित जिल्लाको कोभिड संकट ब्यबस्थापन समितिले प्रदेशमा सिफारिस गर्न निर्देशन दिने निर्णय गरिएको छ ।
बागमती प्रदेश कोरोना कोषमा जम्मा ४३ करोड १९ लाख २९ हजार ९ सय २ रुपैयाँ संकलन भएको छ भने १ सय १९ वटा स्थानीय तहमा १३ करोड ७ लाख र १२ जिल्ला प्रशासन कार्यालयहरुमा ६० लाख निकासा गरिएको छ । कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि बागमती प्रदेश सरकारबाट सामाजिक विकास मन्त्रालयमार्फत विभिन्न स्वास्थ्य निकायहरुमा रु १६ करोड ३१ लाख ५१ हजार र संघीय शसर्त अनुदानबाट प्राप्त बजेट २ करोड ७० लाख गरी जम्मा १९ करोड १ लाख ५१ हजार रुपैयाँ निकासा भएको छ ।
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको सबै वडाहरुमा आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराइएको छ । स्थानीय नागरिकलाई आफ्नै टोलमा स्वास्थ्य सेवा दिने उदेस्यले स्वास्थ्य संस्था स्थापना गरी सेवा दिन सुरु गरिएको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमण झाले वताए। नगरमा स्वास्थ्य सेवा विस्तार गर्ने नीति अनुरुप चालु आर्थिक वर्षमा हेटौंडाको वडा नम्बर २,४,५,१०,१२,१६ र १९ मा सेवा बिस्तार भई काम सुरु गरिएको छ । अरु वडामा भने अघिल्लो आर्थिक वर्षबाट स्वास्थ्य सेवा दिन सुरु गरिएको थियो ।
अहिले उपमहानगरपालिकाका सबै वडाहरुमा स्वास्थ्य संस्था संचालन गरिएको र स्थानीयलाई स्वास्थ्य सेवा लिन सहज भएको मेय महतले वताउनुभयो । स्वास्थ्य संस्थाबाट प्रबाह गरिने सेवा विस्तार गर्न, प्रभावकारी र दिगो बनाउन स्वास्थ्य संस्थाहरुको छुट्टै भवन निर्माणको कार्य अघि बढाइएको झाले वताए । हेटौंडाको वडा नंम्बर १, १२, १४, १६, १८ र १९ मा स्वास्थ्य संस्थाहरुको निर्माण कार्य चालु बर्ष भित्र नै सम्पन्न हुने अवस्थामा रहेको वताइएकाे छ ।
विभिन्न किसिमका दीर्घ रोगबाट थलिएर बसेका बिरामीहरुलाई नियमित रुपमा घरदैलोमा गई स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने कार्यक्रम प्यालिएटिभ केयर संचालन गर्न पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसंग सम्झौता भई हालै प्रतिष्ठानबाट यस उपमहानगरपालिकाका ४ जना स्वास्थ्यकर्मीले आवश्यक तालीम लिएर आएको र तत्कालै सेवा सञ्चालनको लागि आवश्यक तयारी भैरहेको छ ।