नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र क्षेत्रको विकास गर्ने हो भने गुटबन्दी त्याग्न आग्रह गरेकी छन् । नेपाली चलचित्रको एक शुभचिन्तक भन्दै सामाजिक सञ्जालमा स्टाटस कोर्दै उनले लेखेकी छन्–‘यदि नेपाली चलचित्रको विकास गर्ने हो भने निर्माताहरूले आफूलाई मै हुँ भन्ने भावना नराखी नवकलाकारप्रति गरिने व्यवहारमा सुधार गर्नुपर्छ । साथै, समूहगत स्वार्थ राखी स्थापित कलाकारप्रति पक्षपाती व्यवहार र गुटबन्दी गरी चलचित्रहरू खेल्न नदिई चलचित्र क्षेत्रबाटै पलायन गराउने षड्यन्त्रबाट मुक्तसमेत हुनुपर्छ ।’
उनले चलचित्र क्षेत्रको सुधार नगर्ने हो भने यसमा करिअर बनाउन खोज्ने पढे लेखेका र योग्य कलाकारको खडेरी हुने साथै स्थापित कलाकारहरू विस्थापित हुने समेत बताएकी छन् । उनले सबैले आ-आफ्नो कमजोरीलाई सुधार गरी अगाडि बढ्नुपर्ने आवश्यकता समेत औल्याएकी छन् ।
साम्राज्ञीले नायक भुवन केसीले लेखेको स्टाटसको समेत जवाफ दिएकी छन् । भुवनले ‘जुन थालमा खायो त्यही थालमा दुलो पार्ने’ भन्दै लेखेको स्टाटसमा साम्राज्ञीले भनेकी छन्–‘कुनै पनि कलाकारले स्वयं उसले गरेको मेहनत र लगनले कुनै स्थानमा पुगेको हुन्छ । कुनै ब्यानरको एक चलचित्र चल्दैमा सोहीलाई बेचेर अन्य अवसर पाएको भन्ने तर्क बिल्कुलै मिल्दैन । नवकलाकारहरूलाई कम पारिश्रमिक दिई तिनीहरूको बढीभन्दा बढी फाइदा लिने चलन कहिलेसम्म हुने हो ? कलाकारहरूले प्राप्त गरेको उचाइ फगत एक अनुग्रह होइन, उसको लगन र मेहनतको फल नै हो ।’
नायक भुवन केसीले आफ्नो प्रतिष्ठामा आघात पुर्याउने काम फेरि पनि चालेमा कानुनी कारबाहीमा जाने बताएका थिए । साम्राज्ञीले यो कुराको जवाफ दिँदै लेखेकी छन्–‘कसैले आफ्नो धारणा व्यक्त गर्न पाउनु उसको संविधान प्रदत्त मौलिक हक हो । यसमा कसैले बाधा अड्चन गरेमा स्वयं कानुनी कारबाहीमा पर्न सक्ने कुराको ज्ञान हुनु जरुरी छ ।’ साम्राज्ञीले आजका नारीहरू कमजोर नभएको पनि स्पष्ट पारेकी छन् । अनलाइनखबरबाट
काठमाडौं । स्थायी कमिटी बैठक पटक–पटक रोकेर सहमतिको प्रयास गरिरहेका नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको वार्ता प्रधानमन्त्री पदमा अड्किएको छ । प्रचण्डले प्रष्टै शब्दमा ओलीलाई प्रधानमन्त्री पद त्यागेमा अध्यक्ष छाड्नु नपर्ने र यसमा माधव नेपालको पनि समर्थन हुने बताएका छन् ।
ओलीले राजीनामा दिएमा वा हटाइएमा कसलाई प्रधानमन्त्री बनाउने भन्नेमा प्रचण्ड र माधव नेपाल पक्षबीच छलफल भइसकेको छैन । तर ओली हटाउने शर्तमा एकजुट भएका नेताहरूले प्रचण्डलाई नै प्रधानमन्त्री स्वीकार गर्ने सम्भावना छ । किनकि, झलनाथ खनाल र वामदेव गौतमहरू प्रचण्डलाई प्रधानमन्त्री बनाउने पक्षमा छन् ।
माधव नेपाल स्वयंले पनि ‘ओलीबाट फुत्काउनुस, मेरो समर्थन हुन्छ’ भन्ने आशय व्यक्त गरिसकेका छन् । ओलीलाई कायमै राख्दा सरकार र पार्टी झनै कमजोर हुने र त्यसले अर्को चुनावमा असर गर्ने भएकाले प्रधानमन्त्री हटाउने मूल्यमा माधव नेपालले प्रचण्डलाई साथ दिएको उनी निकट एक नेताले बताए ।
ती नेताले भने, अहिले सचिवालयका बहुमत नेता केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन एकजुट छन् । प्रचण्डले प्रधानमन्त्री बन्ने चाहना पनि व्यक्त गरेकाले लौ न त ओलीबाट ल्याउनुस, आफैँ हुनुस् भनेकै हो । अहिले प्रधानमन्त्रीमा माधव कमरेडको दाबी छैन, ओली हटाउने कुरा मुख्य प्राथमिकता हो ।
त्यसो त पूर्वमाओवादी समूहका नेताहरू ओलीलाई प्रधानमन्त्रीबाट हटाएर माधव नेपाललाई बनाउने पक्षमा खुल्न सकेका छैनन् । ओलीलाई हटाएर नेपाललाई प्रधानमन्त्री बनाउने हो भने आफ्नो समर्थन नरहने कतिपय स्थायी कमिटी सदस्यले प्रचण्डलाई बताइसकेका छन् । उनीहरूले ओलीको विकल्प प्रचण्ड मात्र हुन् भनिरहेका छन् ।
शर्त अध्यक्ष होइन, प्रधानमन्त्री
केपी ओली र प्रचण्डबीचका लगातारका वार्ता सहमतिमा नपुग्नुको कारण एउटै हो–प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्न ओली तयार छैनन् । प्रचण्ड पनि ओलीलाई पूरै कार्यकाल प्रधानमन्त्री स्वीकार गर्ने पूर्वसहमतिप्रति पश्चाताप गर्दै बाँकी कार्यकाल आफू प्रधानमन्त्री हुने अन्तिम कसरतमा छन् ।
स्थायी कमिटी बैठकमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनालसहित माधव पक्षधर अधिकांश स्थायी कमिटी सदस्यहरूले ओलीबाट पार्टी र सरकार दुवै नचल्ने भन्दै दुवै पदबाट राजीनामा मागेका थिए । वार्तामा बस्दा भने प्रचण्डले प्रधानमन्त्री छाड्दा ओलीलाई पार्टी अध्यक्षमा कायमै राख्ने बताएका छन् ।
प्रचण्डको भनाइ उद्धृत गर्दै पछिल्लो वार्तामा सहभागी एक नेताले भने, तपाईंबाट पार्टी र सरकार दुवै चलेन र दुवै पदबाट हटाउनुपर्छ भनेर बहुसंख्यक साथीहरू लागेका छन् । स्थायी कमिटीले केही न केही निर्णय गर्नैपर्ने हुन्छ । त्यो हुन नदिन जेठ २ को समझदारीमा फर्कौं, तपाईंले प्रधानमन्त्री त्याग्नुस, यसमै तपाईंको पनि हित छ ।
केपी ओली दुवै पद छाड्न तयार छैनन् र छाड्नुपरे वा हटाउन खोजिए पार्टी फुटाउने चेतावनी दिइरहेका छन् । उनी प्रचण्डसँग मंसिर ४ को सहमतिमा फर्किन आग्रह गरिरहेका छन् । त्यो भनेको प्रचण्डले कार्यकारी अध्यक्षका हिसाबले पार्टी चलाउने र ओलीले पूरै कार्यकाल प्रधानमन्त्री चलाउने ।
त्यसका लागि बरु कुनै लिखित सम्झौता वा कार्यकारी अध्यक्षको परिभाषित जिम्मेवारी तथा सरकार सञ्चालनमा प्रचण्डको पनि भूमिकाका सन्दर्भमा समझदारी गर्न सकिने उनको बटमलाइन छ ।
पार्टी एकता आफूहरू दुईजना भएर गरेकाले दुई अध्यक्षको समझदारीबाहेक अरू विधिमा नजाने अडानमा ओली देखिएका छन् । प्रचण्डले भन्ने गरेको जेठ २ को समझदारी मंसिर ४ मा टुङ्गिसकेकाले आलोपालो प्रधानमन्त्रीको ‘च्याप्टर क्लोज’भइसकेको ओली पक्षधर नेताहरू बताउँछन् ।
२०७५ जेठ २ गते पार्टी एकीकरणका सन्दर्भमा ओली र प्रचण्डबीच भएको गोप्य कागजमा दुवै अध्यक्षले आलोपालो प्रधानमन्त्री चलाउने भन्ने थियो । प्रचण्डले स्थायी कमिटी बैठकको सुरुकै दिन केपी ओलीविरुद्ध बगावत गर्दै गत मंसिर ४ गते आलोपालो प्रधानमन्त्री चलाउने जेठ २ को सम्झौता छाडेर आफूले भूल गरेको भन्दै पश्चाताप व्यक्त गरेका थिए । त्यही दिनबाटै प्रष्ट भइसकेको छ कि ओलीलाई हटाएर प्रचण्ड प्रधानमन्त्री बन्न चाहन्छन् ।
प्रचण्डले पाउलान् दुई वर्ष ?
भन्नलाई दुवै पदबाट ओलीको राजीनामा मागिए पनि प्रचण्ड माधव पक्षको ध्येय ओलीलाई प्रधानमन्त्रीबाट हटाउने हो । ओली प्रधानमन्त्रीमा कायमै रहँदा अझ बढी स्वेच्छाचारी हुँदै जाने, पार्टीभित्रका आफ्ना विरोधीलाई कमजोर बनाउने र शक्तिको दुरुपयोग गर्ने खतरा देखेर उनलाई हटाउन खोजिएको नेताहरूले बताउन थालेका छन् ।
ओलीले प्रधानमन्त्री पद आफैँसँग राखेर अध्यक्ष मात्र छाड्न तयार भए पनि परिस्थिति त्यहाँभन्दा अघि बढिसकेको नेपाल निकट नेताहरू बताउँछन् । तर ओलीले दुवै पद नछाड्ने निश्चित छ । उनी दुवै पद नछाड्ने र त्यसबाहेक अन्य विषयमा छलफल गरेर समझदारीमा जाने बटमलाइनमा छन् । जुन कुराले प्रचण्डको प्रधानमन्त्री बन्ने चाहना पूरा हुँदैन ।
ओली पक्षका एक नेता भन्छन् ‘उहाँहरूले एक व्यक्ति एक पद भनेर ओलीलाई दुईमध्ये एउटा छाड्न दबाब दिइरहनुभएको छ । तर प्रचण्डजीलाई प्रधानमन्त्री बनाउन पनि माधव नेपालहरू तयार छन् । त्यसो भए प्रचण्डले चाहिँ अध्यक्ष छाड्छन् त ? यसबाट प्रष्ट हुन्छ, यो विवाद विधिको होइन, पदको हो र ओलीले छाड्नुपर्ने कारण छैन ।’
प्रचण्डले अन्तिम घडीसम्म प्रधानमन्त्री पदमा ओलीसँग संघर्ष गर्ने निश्चित छ । आमनिर्वाचन भएको मंसिरमा ३ वर्ष पुग्दैछ । ओली प्रधानमन्त्री बनेको फागुनमा ३ वर्ष पुग्नेछ । यदि ओली र प्रचण्डबीच आलोपालोमा सहमति नै भयो भने पनि आजै ओलीले प्रधानमन्त्री छाड्लान् ? त्यो पनि सम्भव देखिँदैन ।
बाँकी दुई वर्ष प्रधानमन्त्री चलाउने गरी प्रचण्डले ओलीसँग मंसिर वा फागुनको उधारो सहमति गर्लान् ? त्यो पनि सम्भव देखिन्न । किनभने, उनी माधव नेपाल पक्षको दबाबमा छन् । यदि सहमति भएन भने स्थायी कमिटीको बहुमतले निर्णय गरेर जाने पक्षमा नेपाल पक्ष खरो उभिएको छ ।
छाड्ने हो भने अहिल्यै उपयुक्त
ओलीका लागि प्रधानमन्त्री पद त्याग्ने नै हो भने अहिले नै उपयुक्त समय हो भन्नेहरू पनि उनका निकटस्थसमेत छन् । अब जति सरकारमा बसे पनि धेरै ठूला काम गर्न सक्ने अवस्था छैन । कोभिड १९ को संक्रमण र यसले आर्थिक तथा मानवीय क्षेत्रमा पार्ने असर अझ भयावह हुँदै जानेछ । त्यसबेला सरकार थप विवादित र बदनाम हुनेछ ।
यदि प्रचण्डसँग ओलीले कुनै विन्दूमा गएर आलोपालो गर्नै पर्ने हो भने, उपयुक्त समय अहिलेनै हुन सक्छ भन्ने तर्क पनि आइरहेका छन् । ओलीले अहिले राजीनामा दिँदा उनलाई व्यक्तिगत रूपमा फाइदा नै हुनेछ र ओरालो लागिरहेको लोकप्रियताको ग्राफ पुनः माथि उठ्न सक्छ भन्नेहरू पनि ओली समूहमै छन् ।
लिम्पियाधुरासहितको नक्सा छापेर भूमि फिर्ता लिने संवैधानिक सुनिश्चिता गरेपछि आफूलाई भारतीय राज्य संयन्त्रले हटाउन लागेको कुरा उनले भनिसकेका छन् । भारतीय मिडियाका कर्कसलाग्दा प्रस्तुति र नक्सा प्रकरणपछि भारतीय सत्ताले वार्ताको सम्भावना खारेज गरेकाले ओलीको तर्क बिक्न सक्छ । यद्यपि प्रचण्डले राजीनामा भारतले होइन, आफूले मागेको बताइसकेका छन् ।
राजीनामा दिएपछि ओलीले यस विषयलाई जनतामा स्थापित गर्न सक्छन् । आफ्नै पार्टीका नेताहरु समेत भारतीय डिजाइनमा लागेर आफूलाई हटाउन लागेपछि पार्टी एकता बचाउन राजीनामा दिएको भनेर जाँदा ओलीले जनता र कार्यकर्ताको सहानुभूति पाउनेछन् । जसले गर्दा पार्टीभित्र उनी सबैभन्दा बलियो र आउने महाधिवेशन तथा चुनावमा उनकै कमाण्ड हुन सक्छ ।
तर, ओलीले भनिसकेका छन् कि अहिले मैले प्रधानमन्त्री पदबाट राजिनामा दिएँ भने नेपालको कुनै पनि शासकले देशको पक्षमा बोल्न र अडान लिन सक्ने छैन । नेपाल आफैंले आफ्नो बारेमा निर्णय लिने क्षमता फेरि गुमाउनेछ । त्यसैले मलाई हटाउने प्रयासहरु सफल हुन दिन्नँ ।
अवश्य पनि भारत ओलीको बहिर्गमन हेर्न आतुर छ । तर, उनलाई हटाउने सामथ्र्य भने नेकपाले मात्र राख्छ । ओलीलाई हटाउने प्रयास पनि अहिले नेकपाभित्रैबाट भइरहेको छ र पार्टीको बहुमत उनलाई हटाउने पक्षमा छ । आफ्नो थैली बलियो राखेमा चोरलाई दोष लाउनुपर्दैन । अझै पार्टीभित्र विश्वास आर्जन गर्न सके ओलीलाई भारतले हटाउन सक्दैन ।
दुई अध्यक्ष नै शक्तिका स्रोत ?
के ओलीले एकपटक फेरि प्रचण्डसँग प्रधानमन्त्री र अध्यक्ष दुवै पद सुरक्षित हुने गरी कुनै समझदारी गर्लान् ? पार्टीको एकल कमाण्ड चलाउने शर्तमा प्रचण्डले ओलीलाई मौका दिन तयार होलान् ? दुवै नेताबीच एक्ला एक्लै वार्ता भइरहेकाले यी प्रश्न अनुत्तरित छन् । तर एउटा कुराचाहिँ के प्रष्ट छ भने प्रचण्ड प्रतिनिधि सभाको यही कार्यकालमा प्रधानमन्त्री बन्न चाहन्छन् ।
पार्टीभित्र ओलीविरुद्ध यति ठूलो माहोल र दुईतिहाइ बहुमत जुटाएको मौकामा उनले प्रधानमन्त्री पद फुत्काउन सकेनन् भने ओली अझ शक्तिशाली बन्नेछन् । माधव नेपालले पनि अहिले ओलीलाई हटाउन जसरी विनाशर्त प्रचण्डलाई साथ दिएका छन्,त्यो अवस्था नरहन सक्छ ।
यति चाहिँ हो कि ओलीलाई बहुमतबाट हटाउन खोजियो भने नेकपा त्यही दिनबाट विभाजित हुने निश्चित छ । किनकि नेकपा एकीकरणका बेला तत्कालीन दुवै पार्टीमा एकताका फाइदा बेफाइदा र सैद्धान्तिक राजनीतिक विषयमा छलफल नै भएन । दुई अध्यक्षले गरेको निर्णयलाई ताली बजाएर अनुमोदन गरिएको हो ।
उबेला तत्कालीन एमाले र माओवादीका नेताहरूलाई चुनाव जित्नुथियो । दुई अध्यक्षले कुन कुन उद्देश्य र कस्ता भित्री साँठगाँठबाट एकता गरे भनेर पार्टीमा छलफल नै भएन । महाधिवेशनसम्म सहमतिका आधारमा गर्ने भनेर बहुमत र अल्पमतको आधारमा निर्णय गर्ने प्रक्रियामा विधानले नै प्रश्न उठाएको छ ।
नेकपाको विधान र अहिलेसम्मका अभ्यासहरूले दुई अध्यक्षलाई शक्तिको स्रोतका रुपमा स्थापित गरेका छन् । यो बुझेरै प्रचण्ड निकट नेता वर्षमान पुनले आलोपालो गर्ने हो वा अन्य सहमति गर्ने हो, जे गरे पनि दुई अध्यक्षको सहमति नै पार्टी एकता जोगाउने आधार हो भनेका छन् । नेकपामा संख्या निरीह र दुई अध्यक्षको चोचोमोचो नै वैधानिक आधार बनेको सत्य हो ।
दुई अध्यक्षको सहमतिलाई पार्टी कमिटीमा छलफल गराउने र सहमतिको आधारमा निर्णय गर्ने प्रक्रियाबाट बाहिर जानासाथ पार्टी एकता भंग हुने तर्क ओली पक्षले गरिरहेको छ । यदि प्रचण्ड माधव नेपाल पक्षले ओलीको सहमतिविना कुनै निर्णय गरेमा पहिलो वरीयताका अध्यक्ष ओलीले अर्को निर्णय गर्नेछन् ।
नेकपाका मध्यमार्गी नेताहरू यही बुझेर नै अहिले दुई अध्यक्षबीच नै लेनदेनको समझदारी होस् भन्ने चाहन्छन् । उनीहरूले आलोपालोमै फर्किने हो भने पनि ओलीलाई प्रचण्डले मनाऊन् भनिरहेका छन् । यसमा राष्ट्रपतिसँग पनि ओलीलाई सम्झाउन आग्रह गरिरहेकै छन् ।
सहमतिबाहेकको निर्णयले पार्टीमात्र फुट्दैन, संविधान नै धराशायी हुन्छ भन्ने घनश्याम भुसालको विश्लेषण सुन्नेहरू ओली–प्रचण्ड लेनदेन मिलोस् भन्ने कामना गरिरहेका छन् । पार्टी विभाजन नहुने मूल्यमा नेकपाको अहिलेको संकट टार्न अस्थायी युद्धविराम हुन सक्छ । अनलाइनखबरबाट
विश्वका प्रसिद्ध कलेजमध्ये एक हो- ओस्लो विश्वविद्यालय (युआईओ)। यो कलेजमा भर्ना पाउन संसारका विद्यार्थीले प्रयास गरिरहेका हुन्छन्। भर्ना पाइहालेमा आफूलाई भाग्यमानी ठान्छन्। तर, मलाई त्यस्तो कहिल्यै लागेन, सायद पहिलो पटकमै भर्ना पाएर होला।

कलेज थालेकै बेलादेखि खुसी थिएन अनुहार। एक्लो महशुस भएको थियो मन।
‘भाइ नेपाली?’ कानमा गुन्जियो आवाज।
छाती ढक्क फुल्यो। मन उकुसमुकुस भयो। पहिलो पटक दुई शब्दको नेपाली आवाज सुन्न पाएको थिएँ कलेज प्रांगणमा।
कलेजका सुरूआती दिनदेखि नै हो कोही नेपाली भेटिन्छ कि भनेर हेर्न थालेको।
कालो कपाल भएको, नेपाली जस्तो चेहरा देख्दा नेपाली भइदिए पनि हुने लाग्थ्यो।
नेपाल हुँदा त साथीकै पनि महत्व नहुने। विदेश आएपछि थाहा भो, नेपाली हुँ भन्दिने मात्रै कोही भए पनि हुने जस्तो लाग्ने।
त्यस्तै लागेका बेला सुनेको आवाजबाट खुसी छल्काउँदै अत्तालिएर भने, ‘हो त दाइ, म नेपाली। कसरी चिन्नुभयो?’
‘नेपाली जस्तै लागेर गेस गरेको।’
घर पश्चिम, थर ज्ञवाली। ओस्लो (नर्वेको राजधानी) आएको दुई वर्ष भयो। पढाइ डाटा साइन्स। उमेरचाहिँ त्यस्तै ३५ जति होला। कक्षा छैन आजकाल उनको। थेसिस गर्दै छन्, त्यही कामले पुगेका थिए उनी कलेज।
बेलाबखत फेसबुकमा गफ हुन्थ्यो, कति कतिबेला नेपाल सम्झेर नोस्टाल्जिक हुन्थ्यौं।
नेपालको पेसाबारे हामी फेसबुकमार्फत् परिचित भएका थियौं।
‘तपाईं अधिकृतको जागिर छाडेर किन आउनुभयो दाइ?’ म उहाँलाई प्रश्न गर्थें। उहाँ मलाई उत्तर दिनुको सट्टा मेरो प्रसंगमा ल्याएर कुरो टुंग्यादिनुहुन्थ्यो।
‘तपाईं पनि पत्रकारितामा उदाउँदो मान्छे हुनुहुँदो रहेछ। तपाईंले पत्रकारिता किन छाड्नु भयो भन्नु त?’
‘दाइ म त चाँडै फर्किएर फेरि पत्रकारितामै जम्छु होला।’
म भविष्यको सम्भावित योजना सुनाउँथेँ। उहाँ भविष्यको निश्चित योजना सुनाउँदै भन्नुहुन्थ्यो, ‘भाइ नेपाल गएर लेख्नुस्, म यतैबाट पढिदिउँला नि।’
उहाँलाई बुझ्दै गएँ मैले। इमानदार, लगनशील र विवेकी मान्छेको रूप पाएँ। देशप्रति माया पनि उत्तिकै छ। देशमा केही गर्न नसकेको पछुतो पनि यदाकदा मनमा छ।
लक्ष्य पनि थियो उनमा, सचिवसम्म बन्ने। कुरा गर्दै थाहा लाग्थ्यो सचिव बन्ने क्षमता पनि छ।
तर, किन त्यागे सचिव बन्ने बाटो र हानिए श्रीमतीसहित विदेश?
जान्न मैले धेरै पटक कुरा कोट्याएँ। तर, उनी सम्झिन पनि खोज्थेनन्।
‘पछि कुनै बेला सुनाउँला भाइ,’ यस्तै बहाना देखाएर टार्थे।
तर, म उनले अधिकृतको जागिर किन छाडे भनेर जान्न जहिल्यै उत्सुक हुन्थेँ। म आफैंलाई लाग्थ्यो, ‘अधिकृत हुन पाए त किन देश छोड्न पर्थ्यो?’
गलत रहेछु म। अधिकृतका पनि त आफ्नै बाध्यता रहेछन्। चिनारी नखुलाउने सर्तमा ती पूर्व अधिकृतको कथाले चेत खुलायो।
…
गाउँकाहरू धमाधम लोकसेवा पढेर सरकारी सेवामा होमिए। फलानोको छोरा सुब्बा, अधिकृत भयो रे भनेर सुन्न मात्रै के पाइन्थ्यो, यति लाखको घडेरी किन्यो रे। घर पो बनाइसक्यो रे। यस्तै एकपछि अर्को समाचार तीव्र गतिमा फैलिन्थ्यो। त्यति छिटो प्रगति भएको सुन्दा लाग्थ्यो- लोकसेवा एउटा जागिर होइन, सुनको अन्डा पार्ने कुखुरा हो।
त्यसैले मान्छेहरू दिनरात नभनी पढेर नाम निकाल्छन्। नाम निकालेको केही दिनमै सुनको अन्डा बेचेर घर-घडेरी जोड्छन्।
जागिर त मैले पनि खाएको थिएँ, प्राइभेट स्कुल पढाउने। गाउँलेहरू मलाई भन्थे, ‘फलानोको छोरा कति न ट्यालेन्ट भन्थे, के ट्यालेन्ट हुन्थ्यो। स्कुल पढाएर बसेको छ।’
एकातिर गाउँलेले कुरा काट्ने त छँदैछ। अर्कातिर घरपरिवारको चहाना पनि लोकसेवा नै भिडेर जागिर खावोस् भन्ने। अनि मैले पनि त लोकसेवा भिड्नुको विकल्प देखिएन।
अधिकृतमा नाम निस्केपछि शिक्षकबाट राजीनामा दिएँ। विद्यालय छाड्ने कुरा सुनाउँदा विद्यार्थीले आँखा टम्म बनाए। अभिभावकले आँसु खसाए। सहकर्मीले गह्रौं मन बनाएर बिदाइका हात हल्लाए।
सरकारी अधिकृत! आहा, क्या सम्मान! गाउँलेको नजरमा ठूलै मान्छे बनियो। शिक्षक हुँदा करिब पचास हजार कमाउने छोराको भविष्य उज्ज्वल नदेख्ने आमाबाबु करिब तीस हजारको अधिकृत जागिर खान जाँदा मख्ख।
मेरो नियुक्ति कर कार्यालयमा भयो। अरू कर कार्यालयमा जान मरिहत्ते गर्ने रहेछन्। आफूलाई बेकारमा आइयो कि झैं लाग्थ्यो।
ओहो! कार्यालयमा आउनेको मप्रति सम्मान। अनि तलका कर्मचारीको पनि उस्तै चाप्लुसी। चिया ल्याउने दिदीले त दिक्कै बनाउन थालिन्, ‘सरलाई तातो, चिसो के ल्याइदियौं’ भनेर।
‘सर, सेवामा भर्खर सुरू गर्नु भएको छ। धेरै आत्तिनु पर्दैन। सेवाग्राही कति आउँछन् भन्दा पनि आज मुड कस्तो छ भनेर विचार पुर्याएर काम गर्नुहोला।’
कार्यालयको कौसीमा एक घन्टा बसेर घामले तातेपछि सहकर्मीको भनाइमा चकित हुन्थेँ म। फाइल हेरेर काम फत्ते गर्न खोज्दा पनि सहकर्मीले नै अड्काइ दिन्छन्।
एक जना सहकर्मीले भने, ‘यसरी रित्ता फाइलको काम गर्नुभयो भने त जोगी होइन्छ, विचार गनुहोला।’
कार्यालयमा बेलाबेला यस्तै भन्नेहरूको कमी थिएन।
सुरूका दिनमा त सहकर्मीले मात्रै यसो भन्थे। एक, दुई गरेर महिना बित्दै गएपछि त हाकिम सा’बले पनि ‘धेरै कडा बन्न नखोज्नू, मिलाएर काम गर्ने बानी बसाल्नू’ भन्न थाले।
कार्यालयको टर्चर हुन थाल्यो मलाई। अर्कातिर मेरो परिवारको अपेक्षा रहेछ, ‘जागिर खाएसँगै छोराले सहरमा घरघडेरी जोडोस्।’
‘त्यो त पूरा गर्न सकिनस्, अब बिहे त गर’ आमाबुबालेले चहाना प्रकट गर्नुहुन्थ्यो।
मलाई पनि लागेको थियो, अब बिहे चाहिँ गर्नुपर्छ।
कलेज पढ्दादेखि नै विमलासँग लभ परेको थियो। उनी मलाई भन्थिन्, ‘तपाईं किन नेपाल बस्नुभएको, चाँडो विदेश जानु र मलाई पनि उतै बोलाउनू।’
‘नेपालमै केही गरे हुन्न र?’
‘उसो भए सरकारी जागिर खानू नि त। किन यस्तो स्कुल पढाएर बसेको?’
विमलासँग बिहे गर्न कि विदेश जानुपर्ने कि सरकारी जागिर खाएर भविष्य सुरक्षित हुन्छ भनेर देखाउनपर्ने भयो।
घरपरिवारको सल्लाह र सरकारी जागिर खाएर विमलासँग विवाह गर्ने सपना देखेर लोकसेवा तयारीमा लागेको थिएँ। त्यही बेला हो विमलाको बिहे भएको, अस्ट्रेलिया बस्ने केटासँग।
विमलाको बिहे भए पनि सरकारी जागिर भएदेखि नै दिनदिनै विमला जस्ता धेरै केटीको तस्वीर देखाइरहेका छन् मेरा आफन्त। सबै तस्वीर पुलुक्क हेरेर मन परेन भन्दिन्थेँ। मैले हेरेका सबै केटीका तस्वीर रुपवाली थिए। तै पनि मेरो मनमा ती केटी बस्न सकेनन्। किनकि, ती केटी मसँग होइन, मेरो अधिकृत जागिरसँग विवाह गर्न चाहन्थे। मेरा आफन्तले पनि त्यही भनेर तस्वीर मागेर ल्याउँदा रहेछन्।
बिहेको कुरा ल्याउने कतिपय भन्थे, ‘आजकाल राम्री केटी बिहे गर्न तीन वटा कुरा हुनपर्छ रे। काठमाडौंमा घर, कि सरकारी जागिर कि विदेशको पिआर।’
मलाई यी तीन वटा चिजसँग साटिने केटी कस्ता होलान् भन्ने जिज्ञासा लाग्थ्यो।
मेरो कोठा काँडाघारीमा थियो। मेरा एक जना छिमेकीले सधैं नियालेको देख्थेँ। किन यसरी नियालेका होलान् भन्ने लागेर अंकलको साइनो लगाएर बोल्न थालेँ।
तिनै छिमेकी पछि मेरा लमी बने। अनि मलाई सजना नाम गरेकी युवतीको श्रीमान बनाइदिए।
खास ती छिमेकीले पनि मेरो अधिकृत जागिरसँग सजनालाई साट्न ल्याएका थिए। तर, सजना एउटा अधिकृतको जागिरसँग साटिने होइन, आफैं अधिकृत बन्न सक्ने पाएँ। अनि सम्बन्धको बलियो गाँठो कसेँ।
अधिकृत भएर कोठामा बसेको देख्दा सजनालाई नौलो लागेन। कोठाको हाल देख्दा उनले आफ्नो माइतीघरको बिल्डिङ सम्झिनन्।
एउटा मोटरसाइकल चढ्न नसकेकामा पनि पछुतो मानिनन्। मेरा सहकर्मीले मोटरसाइकल, गाडी चढेर हिँडेको इर्ष्या पनि गरिनन्। रहर त पक्कै थियो उनमा पनि। भविष्यको योजना बनाउँदै गर्दा घर, गाडी पनि समावेश हुन्थे उनमा। त्यसैले त उनी भन्थिन्, ‘दुई जना मिलेर गरौंला।’
सजना साइन्सकी विद्यार्थी थिइन्। वन विज्ञानकी छात्रा। एउटा कन्सल्टेन्सीमा काम गर्न थालिन्।
‘हजुर अधिकृत, छोरी पनि काम गर्ने। अब त घडेरी के किन्ने ज्वाइँ सा’प, घरै त हेर्ने होला नि?’ ससुरालीतिरको आवाज बेलाबेलामा आइरहन्थ्यो।
ससुरालीले यति भन्नु नौलो थिएन। मसँगै अधिकृत भएकाहरू अफिसमा लड्डु बोकेर आउँथे, आज गाडी किनेको भन्दै। कहिले ‘फलानो ठाउँमा सानो डिनर अर्गनाइज गरेको छु घडेरी किनेको उपलक्ष्यमा, आउनू’ भन्दै निमन्त्रणा दिन्थे। कोही चाहिँ ‘घर सर्न लागेको, जसरी पनि घरमै पाल्नुपर्छ है’ भनेर मरिहत्ते गर्थे।
तर, मलाई साथीहरूको इर्ष्या लागेन। बरु मन पोल्यो। पछि यो सम्पत्तिले यिनीहरूलाई पक्कै पोल्छ होला भनेर।
मलाई कार्यालयमा कडा कर्मचारीको उपमा दिएका थिए। कतिपय सेवाग्राहीको आँखामा म कसिंगर थिए, जसरी मेरै सहकर्मीले मलाई मानेका थिए।
कडा कर्मचारीको उपमा सजनालाई मन परेको थियो। उनी भन्थिन्, ‘हामी बन्न खोज्दा, देश बिग्रन्छ। देश बिग्रनु भनेको करोडौंले दुःख पाउनु हो। त्यसैले बरु हामी दुःख गरौं। तपाईं आफ्नो ठाउँबाट देश बनाउन लाग्नुस्। तलब बाहेकको एक रुपैयाँ पनि अपारदर्शी पैसो घरमा आएमा तपाईं र मेरो सम्बन्ध राम्रो हुने छैन।’
मैले सजनालाई बिहे गर्नुको कारण पनि यही थियो। र, अहिले साथीहरूको पछि नलाग्नुको कारण पनि सजनाकै बोली हो।
तर, के गर्नु साथीहरूको नजरमा म गलत मान्छे हुँ। त्यसैले त एक दिन मलाई साथीहरूले सम्झाएका थिए, ‘ज्ञवाली जी, तपाईं यति कडा नबन्नुस्। आखिरमा तपाईंको पनि परिवार छ। हजारौं कर्मचारीमा एक हुन नखोज्नू। सबै मिल्नुपर्छ। देश र जनताको काम गरेर हामी पनि जिउनुपर्छ।’
साथीहरूले त भन्थे, एक पटक मलाई हाकिमले नै भने, ‘मिल्नेसम्म काम गरेर पठाउनुहोला। आफूलाई पनि सहज हुनेगरी काम गर्नूस्। तपाईंले गर्दा हामीलाई पनि असहज भइसक्यो।’
यो शब्दले मलाई घोचिरह्यो। डगमगाउनु त परको कुरा, झन् कडा रूपमा प्रस्तुत हुन थालेँ। अरूको शंकास्पद गतिविधि पनि नियाल्न थालेँ।
एक दिन अपराह्न, एउटा नम्बरबाट फोन आयो, ‘सरसँग गैरीधारा तामामा भेटौं है।’
म त्यहाँ पुग्दा दुई जना मान्छे थिए। ‘हामी अख्तियार अनुसन्धान आयोगबाट हो,’ उनीहरूले परिचय दिए।
‘सर, तपाईंमाथि धेरै आरोप आइरहेका छन्। यस्तै गतिविधिमा संलग्नता भइरहने हो भने हामीले जुनबेला पनि रंगेहात पक्रन सक्छौं।’
‘तपाईं देखिँदा इमानदार जस्तो भएर ठूला सेटिङमा संलग्न हुने? यस्ता कर्मचारीलाई हामीले जुनैबेला पनि रंगेहात पक्रिन सक्छौं, होसियार हुनुस्।’
केही भनिनँ मैले, सुनिमात्रै रहेँ। उनीहरू अरू धेरै यस्तै कुरा गरेर केही उदाहरण समेत दिएर बिदा भए।
म बेहोसीमै घर पुगेँ। वृत्तान्त सजनालाई सुनाएँ। उनले भनिन्, ‘अबको केही दिनमै म केही सोच्छु।’
केही गलत पो सोच्लिन् कि भनेर डर लागेको थियो। उनले त विदेश जाने पो सोचिछन्, नर्वे।
मलाई थाहा थियो विदेशमा अधिकृत होइन, वर्तन चम्काउने मान्छे बन्छु भनेर। यो पनि थाहा थियो वर्तन चम्किलो बन्दै गर्दा मेरो मन धमिलो हुनेछ। तर, अधिकृत भएर देशमा बस्दा मैले देशलाई लुट्नै पर्ने भयो। कम्तीमा वर्तन चम्काउँदा देशलाई लुट्नु पर्दैन भन्ने लागेर मैले अधिकृतबाट बिदा लिएँ।
मलाई राष्ट्रसेवाको रहर पुगेको थिएन। देशका लागि के गरौं भनेर नलागेको पनि होइन। मलाई सजनाले पनि त उत्तिकै साथ दिएकी थिइन्। र त मैले सरकारी सेवामा बसेर मेरो पारिश्रमिक भन्दा एक रुपैयाँ बढी बुझिनँ। सजनाले साथ नदिएको भए भ्रष्ट राष्ट्रसेवक बनेर सम्पत्ति कमाउँथेँ। अनि, अख्तियार अनुसन्धान आयोगका मान्छेको पनि मुखमा बुझो लगाउँथेँ होला।
देश आमा हुन्। देश लुट्नु आमा लुटेको जस्तो हो। मलाई यस्तै लागिरहन्थ्यो, अनि मैले आमामाथि अन्याय गर्न सकिनँ। जसले गर्दा विदेश रोज्नपर्यो र आमाको सेवा गर्न चाहना अधुरो रह्यो भन्ने लागिरहन्थ्यो।
फेरि अर्को मनले भन्थ्यो, ‘वर्तन चम्काएरै भए पनि वर्षमा दुई-चार लाख पठाएर देशलाई सहयोग गर्छु। दुई-चार लाख कमाएर सामान्य आवश्यकता पूरा गर्न सक्छु जस्तो लागेको दिन देश फर्केर फेरि सेवा गरौंला।
मैले देशको माटो समाउँदै मलाई नसराप्नू भनेर अनुरोध गरेँ। मैले हुर्काएँ, बढाएँ अनि अधिकृत बनेर मेरो सेवा गर्ने बेला गयो भनेर।
अनि जहाजले काठमाडौंको विमानस्थल छाड्यो। देश छोड्दाको पीडाले होला मेरा आँखामा आँसु बसेर अँध्यारो देखेँ।
..
फेरि उनी मातृभूमि छोड्दाको समय सम्झेर नोस्टाल्जिक भए। उनले आँखाबाट तप्प आँसु खसालेको देखेपछि मेरा आँखामा पनि आँसु छछल्किए। उनको अनुहार नियाल्दा धमिलो देखेँ। सायद आँखाको डिलमा बसेका आँसुले उनको अनुहार हेर्न छेक्यो मलाई।
setopati.com बाट
हेटौंडा÷नेकपाको पुस्पकमल दाहाल प्रचण्ड र माधबकुमार नेपाल पक्षका युवाहरुले मंगलबार नेकपा पार्टी कार्यालय मकवानपुर घेराउ गरेका छन् ।
नेकपा सम्बद्ध मकवानपुरका युवा तथा विद्यार्थीहरुको पार्टी एकताको लागि दवाव अभियानले नेकपा मकवानपुर मार्फत पार्टीको केन्द्रीय कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ ।
पार्टी एकतालाई मजबुत बनाउँदै नेकपालाई थप शसक्त बनाउनुपर्ने भन्दै अभियानले नेकपा मकवानपुरको कार्यलयमा पुगेर पार्टी सचिव प्रेमबहादुर पुलामी मार्फत केन्द्रीय सदस्य कुमारी मोक्तानलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनत्रपमा पार्टी नेतृत्वमा देखिएको मनमुटावले पार्टीको कार्यकर्तामा निरासा पैदा भएको उल्लेख गरिएको छ । पार्टी सिद्धान्त र सस्थागत ढंगबाट चल्नुपर्ने माग राख्दै अभियानले पुलामी मार्फत मोक्तानलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुका केन्द्रीय सदस्य किशोरकुमार टंडनले पार्टीको नेतृत्वमा देखिएको तिक्तताले आम युवा विद्यार्थीमा असर परेको भन्दै पार्टी एकढिक्का भएर जानुपर्ने बताए । ज्ञापनपत्र ग्रहण गरेपछि प्रतिक्रिया दिँदै सचिव पुलामीले युवा विद्यार्थीको माग अनुसार पार्टीलाई थप एकतावद्ध बनाएर लैजानको लागि नेतृत्व गम्भिर बन्नुपर्ने बताए ।
उनीहरुले फुटवादीहरु होसियारु, व्यक्ति होइन निति प्रधान पाटी निर्माण गरौं, बाहिरको तमासा बन्द गर जस्ता नारा लगाएका थिए । पछिल्लो राजनैतिक घटना क्रममा नेकपा दुई खेमामा विभाजन भएको छ । पूर्वएमालेको अध्यक्ष केपि शर्मा ओली निकट खेमाले सोमबार ओलीको पक्षमा हेटौंडामा ¥याली निकालेपछि रुष्ट पूर्वमाओवादी पक्षधरले मंगलबार पार्टी कार्यालयमा प्रर्दशन गरेको थियो ।
पूर्वएमालेको ओली निकट विद्यार्थी र युवाहरूले उनको समर्थनमा सोमबार हेटौंडाको बुद्धचोकमा ‘कम्युनिष्ट युवा बिद्यार्थी मकवानपुर’ को व्यानरमा प्रदर्शन गरेका थिए भने मंगलबार पूर्वमाओवादी पक्षकाले ‘एकताका लागि दबाब अभियान, मकवानपुर’ को व्यानरमा प्रर्दशन
गरेका छन् ।
हेटौडा/बागमती प्रदेश सभा सचिवालयमा प्रदेश सरकारको तर्फबाट मंगलबार दुई वटा विधेयक दर्ता भएको छ । प्रदेश सचिवालयमा दुई वटा विधेयक दर्ता गरिएको प्रदेश सचिवालयले जानकारी दिएको छ ।
मंगलबार सार्वजनिक सडक तथा परिबहन पूर्वाधारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ र केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७७ गरी दुई विधेयक दर्ता भएको सचिवालयका उप सचिव विनोद अमाथ्यले वताए । दर्ता भएको विधेयक अब बस्ने प्रदेशसभाको बैठकमा छलफलको लागि प्रस्ताब टेबुल गरिने अमात्यले जानकारी दिए ।
गत असार १९ गते बसेको बैठकले अर्थिक वर्ष ०७७÷७८ को लागि विनियोजित बजेट पारित गरी प्रदेश सभा अनिश्चित समयकोलागि स्थगित भएको छ ।