- कुमारी स्याङ्बो / पत्रकार
म कोरोना भाइरस (कोभिड १९) संक्रमित कुमारी स्याङ्बो । कोरोना भाइरसको संक्रमण लगत्तै मलाई साउन ३१ गते आइसोलेसन वार्डमा लगियो । त्यहाँ भदौ १५ गतेसम्म बसे । १५ गते कोरोनालाई जितेर आफनो घरमा फर्के । कोरोना भाइरसको डर त्रासमा परिहरनु भएका सम्पुर्ण साथीहरुलाई धैर्य धारणा गर्न र आत्मबल बलियो बनाएर रोगको बिरुद्ध लड्न सबै सबैमा हार्दिक अपिल गर्दछु । विश्व्यापी रुपमा फैलिएको कोरोना भाइरसको तथ्यांक हेर्ने हो भने अहिले अधिकांश देशमा फैलिसकेका छन् । उपचाररत रहेका सम्पुर्ण बिरामीहरुको स्वास्थ्य लाभको कामना गर्दछु । कोरोना संक्रमणका कारण ज्यान गुमाउनु भएका साथीहरुलाई भावपुर्ण श्रद्धान्जली अर्पण गर्दछु । साथै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।
म पेशाले पत्रकारीता गर्छु । जुनदिनबाट नेपालमा पनि कोरोना भाइरसको महामारी भित्रियो, उक्तदिनबाट नै उचित सावधानी सामाजिक दुरी, माक्स, सेनिटाइजर, साबुन पानीलगायतका हरसम्भव प्रयोग गरि हिडेँका थिएँ । तर जति नै सावधानी अपनाउदा अपनाउँदै पनि दुर्घटना हुन सक्छ भन्ने कुरा प्रमाणित भएको छ । यद्यपी यो जति नै हल्ला र भ्रमहरु फैलाइएको छ त्यस्तो चै पटक्कै होइन रहेछ भन्ने मेरो १७ दिनको आइसोसन बसाईको अनुभव हो । मलाई फोन, म्यासेज मार्फत मेरो स्वास्थ्य अवस्था बुझ्नु हुने, अनि भेट्न आउनुहुने सम्पुर्णमा धेरै धेरै धन्यवाद छ ।
तपाईहरुको यो हौसला मलाई पक्कै पनि कुनै प्राण घातक रोगको निदान गर्ने ओखतीभन्दा कम प्रभावकारी भएको छैन । तपाईहरुको साथ सहयोगले गर्दा आज मैले कोरोना जितेर घर फर्कन पाए ।
मलाई कोरोनाले कसरी आक्रमण ग-यो त ? कस्तो हुँदा रहेछ सत्य कति रहेछ र हल्ला, भ्रम कस्तो छ ? के साच्चिकै कोरोना संक्रमण हुने बित्तिकै अरुले हल्ला गरेकै जस्तो गरि मरिहालिने नि हो त ? भन्ने धेरैले प्रश्न गर्नुभएको छ तर म भन्छु कोरोना भनेको सामान्य रोग हो । जुन मान्छेहरुलाई दीर्घकालिन रोग जस्तै निमोनिया, क्यान्सर, ग्यास्टिक, प्रेसर, दम जस्ता रोगले सताइरहेका हुन्छन् त्यस्तै मान्छेहरुले उपचार नपाएर ज्यान गुमाएका हुन नभए कोरोना लागेर मर्ने नेपालमा एकजना पनि छैन । गत साउन महिनाको २२ गते राति अकस्मात उच्च तापक्रमको ज्वरो आउने, छाती दुख्ने, कफ काम्ने, टाउको दुख्ने, घाटी दुख्ने, शरीरको जोर्नीहरु दुख्ने, सुख्खा खोकी लाग्ने आदि लक्षणहरु देखा पर्दै गएका थिए । म सँगै कोठामा बस्ने मेरो सानो बहिनी थिइन् । बहिनीलाई संक्रमण हुन सक्ने खतरा थियो । मेरो बहिनीलाई मलाई कोरोना पुष्टि भए लगत्तै ८ दिनपछि उसलाई पीसीआर जाँच गराए । रिपोर्ट ६ दिनमा नेगटिभ आयो ।
धेरै खुशी लाग्यो । संधै सोच्थे, मलाई लागेता पनि मेरो बहिनीलाई कोरोना नलागोस् । मनमा एउटा कुरा पनि उत्पन्न भयो कोरोना सगैं सुत्दैमा, संगै खादैमा लाग्ने रोग होइन रहेछ । जुन मान्छे कमजोर छ उसैलाई कोरोना लाग्ने सम्भावना बढि रहेको हुन्छ । गत साउन २९ गते पीसीआर टेस्ट गर्दा ३० गते रिपोर्ट आयो । मलाई सबैले घरमा बस्न उचित वातावरण नभए आइसोलेसन वार्डमा जानु पर्छ भनि कल म्यासेज आउन थाल्यो त्यति नै मलाई तनाव बढ्यो । ३१ गते बिहानै मलाई लिन एक्बुलेन्स लिन आयो । मसँग मेरो सानो बहिनी थिए । बहिनी एकलै भएको कारण मेरो मन भक्कानिन थाल्यो । म हेटौंडा १० आनन्दटोलमा विगत लामो समयदेखि डेरामा बस्दै आएका हुन् ।
मेरो घर राक्सिराङ गाउँपालिका वडा नम्बर २ हो । म आफनो काम अनि पढाई गर्दै हेटौडामा बस्दै आएका हुन् । मेरो आमा बुवा गाउँमै बस्नुहुन्छ मसँग मेरो बहिनी बस्छिन् । कोरोना लागेको पुष्टि भएसँगै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा आइसोलेसन वार्ड गौरीटारमा ३१ गते बिहान ५ बजे एम्बुलेन्सले ल्याइयो । आफु बस्ने छेउछाउमा केही नभनि हिड्ने सोच बनाए । किनकी हाम्रो समाज एकदम खराब छ । म त हिँडे तर बहिनीलाई पो नराम्रो गर्छन् कि ? एकक्षण बसेपछि निस्किनु प-यो भनेर हिड्न खोजे । यता एम्बुलेन्सबाट चाडो निस्किनु भनेको छ मन गहुङ्गो भयो । भक्कानिएर आयो आखाँ रसाए । हिम्मत जुटाएर बहिनीसँग बिदा मागेँ ।
मन भारी छ, मनमा डर त्रास छ, के हुने होला भन्ने । तर पनि घरमा आमा बुवालाई फोन गरेर अनि बहिनीको लागि ठुलो आत्मबल दिएर निस्किनुपर्छ । सबैजना कमजोर हुनुहुन्छ भन्ने लागेर ढुङ्गाको मन बनाएर मुसुक्क हाँसेर म गएँ है, छिट्टै निको भएर आउँछु चिन्ता नलिनु कसैले पनि भने ।
सँगै बस्ने मेरो बहिनीलाई नलागोस भनेर जोगाउन म हिँडेको । आमा बुवालाई मेरो चिन्ता नलिन भने । बहिनीले म नउठ्दै मेरो सबै सामान ठिक्क पारेकी थिइन् । अलि पर सम्म पु-याउन आइन् । अनि बहिनीलाई जान्छु भने । मन त त्यो बेला दुख्यो, जब बहिनीसँग गए है भने । बहिनीलाई एकलै छोडेर । अनुहारमा हेरेर बोल्न सकिन । मन सम्हालिएन धन्न बहिनीले देखिनन् । फर्किएर हेरेँ । ४/५ मिनेट हिँडेपछि एम्बुलेन्स हिड्ने बाटोमा पुगेँ । जे होला होला । आत्तिनु हुन्न जस्तो लाग्यो । म भन्दा कमजोरहरुलाई बाँच्न सिकाउनुपर्छ । म अरुको लागि उदाहरण बन्नुपर्छ भन्ने हिम्मत, आँट मनमा जुटाउने कोसिश गर्दै थिए ।
मेरो १७ औं दिनको अनुभवले के भन्छ भने मैले आजभन्दा अगाडि कोरोनाको बारेमा जति जे सुने त्यो सब हाम्रै भ्रम हो । कसैले भन्छ कोरोना लागेर मरिन्छ हाम्रो तुलनामा दीर्घ रोग भएका बिरामीहरुलाई चाही अलिक धेरै कमजोर बनाउँछ । उहाँहरुले पनि आत्मबल एकदम बलियो बनाएर खानपिनमा ध्यान दिनु भएर सुरक्षात्मक उपाय अपनाएर निको हुन समय लाग्दैन ।
यस्सो झोलामा हेरेको औषधी पनि छुटेको रहेछ त्यो अनि अलिकति फलफुल पनि खानु है भनेर बहिनीले ल्याइदिइन् । एक्बुलेन्स मेरो अगाडी आएर रोकियो । मेरो मुटुको चाल रोकिए जस्तै भयो । म एम्बुलेन्समा चँढे । पहिला कहिल्यै नचढेकाले निक्कै डर लागेको थियो । सम्हालिएर बसे । एम्बुलेन्स सिधै गौरीटार आइसोलेसनमा हुँइकियो । म आत्मबल जम्मा गर्दै थिएँ । मोबाइलमा फोन आउन थाल्यो । म खासै बिरामी पनि थिएन । डर पनि कम हुँदै गयो । केहीबेरपछि एम्बुलेन्स सितलमहलचोकमा रोकियो । त्यहाँ मै जस्तो अर्को एकजना साथी पनि चढ्नु भो । उहाँ पनि म जस्तो सामान्य हुनुहुदो रहेछ । हामी दुबै जना सामान्य अवस्थाकै थियौ । आइसोलेशन वार्डमा पुगे एम्बुलेन्स रोकियो । हाम्रो ढोका खुल्यो, सिस्टरले बिस्तारै ओर्लेपछि सिस्टरले शीघ्र स्वास्थ्य लाभको कामना, छिट्टै निको भएर फर्किनुस है भन्दै बिदा गर्नुभयो । हामीले मुस्कुराउदै खुशीको संकेत दियौ ।
दोस्रो तल्लाको २ सय ९ नम्बर कोठामा गए । बेडमा पल्टिए, एकछिन् सोचेँ । खाजा खाने समय भएको रहेछ । खाजामा एउटा जेरी दुईओटा फुलाउरा रहेछ । म खाजा लिएर आएँ । पानी तताएर खाए । एकिछनपछि तल झर्न मन लाग्यो । कम्पाउण्डमा तारबार गरेको रहेछ । सायद बिरामीहरु भाग्छन् भनेर होला । बस्ने ठाँउ राम्रो थियो । मन आनन्दित भयो । घरमा कसैलाई मेरो चिन्ता नहोस् भनेर फोन गरेर सबैलाई खबर गराए । नयाँ साथीहरुसँग बोलचाल भयो, चिन्जान गरे । संक्रमितहरु बढ्दै गए । बिहान दिउँसो बेलुका सधै नाचगान गरिन्थ्यौ । रमाइलो गरिन्थ्यो । कसैलाई केही भएमा इन्चार्ज सागर काफलेलाई फोन गरेर भन्थ्यौ । उहाँले आवश्यक सल्लाह सहित औषधि दिनुहुन्थ्यो।
मेरो १७ औं दिनको अनुभवले के भन्छ भने मैले आजभन्दा अगाडि कोरोनाको बारेमा जति जे सुने त्यो सब हाम्रै भ्रम हो । कसैले भन्छ कोरोना लागेर मरिन्छ हाम्रो तुलनामा दीर्घ रोग भएका बिरामीहरुलाई चाही अलिक धेरै कमजोर बनाउँछ । उहाँहरुले पनि आत्मबल एकदम बलियो बनाएर खानपिनमा ध्यान दिनु भएर सुरक्षात्मक उपाय अपनाएर निको हुन समय लाग्दैन । सुरक्षित बानीव्यावहार अपनाए कोरोनालाई सजिल्लै परास्त गर्न सकिन्छ । कोरोना जितेर आज म आफ्नो कार्यक्षेत्रमा आएको छु । सबैमा यही सन्देश दिन चाहन्छु ।
मकवानपुर । मकवानपुरको हेटौंडामा आजबाट फुड बैंक (खाद्यान्न आदानप्रदान कार्यक्रम ) संचालन भएकाे छ । मदन भण्डारी फाउण्डेशन मकवानपुरले कोरोना माहामारीका कारण दैनिक गुजारा चलाउन नसकेका व्यक्तीहरुलाइ लक्षित गरी फुड बैङ सचालनमा ल्याएकाे हाे ।
सोमबारबाट सुरु भएको खाद्यान्न आदानप्रदान कार्यक्रमको उद्टघान फाउण्डेशनका अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले गरेका थिए। खाद्यान्न आदानप्रदान कार्यक्रमको सुरुवात गर्दै प्रमुख खुलालले अहिलेकाे विषम परिस्थितिमा काम गर्न नपाएर कोही पनि भोकै बस्नु नपरोस् भनी सामाजिक उत्तरदायित्व स्वरुप यस्तो अभियान सञ्चालन गरेकाे बताए ।

फाउण्डेशनले “हुनेले दिएर जाऔं नहुनेले लिएर जाऔं” भन्ने अभियान सुरु गरेको फाउन्डेसनका जिल्ला सदस्य रमिला सापकाेटाले जानकारी दिइन । फाउण्डेशनले हेटौंडाको कपुर कमप्लेक्स (अटोल्याण्ड) चोकमा फुड बैंक सञ्चालन गरेको हो । फुड बैंकमा हुनेले खाद्यान्न सहयोग गर्ने नहुनेले त्यहाँ राखेको खाद्यान्न लिएर जान सक्ने सापकाेटाले बताइन् ।
फुड बैंक बिहान ७ बजे देखि ९ बजेसम्म खुल्ने छ । आज २५ जनाले कार्यक्रमबाट लाभान्वित भएको सापकाेटाले जानकारी दिइन । यसका साथै अभियानले आवश्यक्ताका आधारमा जिल्लामा सञ्चालनमा रहेका आइसोलेसन, क्वारेन्टाईनहरुमा समेत सहयोग गर्ने प्रमुख खुलालले बताए ।
मकवानपुरका स्थानीय तहमा लगाइएको निषेधाज्ञा भदाै १६ बाट हटाउने
Tags: No Comments
मकवानपुर । मकवानपुरका स्थानीय तहमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले लगाएको निशेधाज्ञा भोलीबाट निरन्तरता नहुने भएकाे छ । हेटाैडा उपमहानगर सहित मनहरी गाँउपालिका थाहा नगरपालिका र भिमफेदी गाँउपालिकामा लगाइएकाे निषेधाज्ञा नहुने तर अत्यावश्यक सेवाकाे अादेशकाे निर्णय भएकाे हाे । निषेधाज्ञाकाे भन्दा व्यवसाय, कार्यालय, बैंक लगायत संस्था संचालनकाे स्वरुप भने परिवर्तन गरिने भएको छ ।
हेटौंडा उपमहानगरपालिका सवै क्षेत्र र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा साउन २६ गतेदेखि जारी निषेधाज्ञा भदाै १६ गते नहुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताए । साेमबार बिहान बसेको कमाण्ड पोष्टको बैठकले निषेधाज्ञाकाे स्वरूप खुकुलाे वनाउने तर दिउँसोको समयमा बजार र यातायात भने बन्द राख्ने निर्णय भएको प्रजिअ नेपालले बताए । यसै गरी मकवानपुरको थाहा नगरपालिका र भीमफेदी गाउँपालिकामा लगाइएको निषेधाज्ञा पनि हटाईने उनले बताए ।
निषधाज्ञाकाे हालकाे स्वरुपलाई भोलिबाट भने केही सहज बनाइने भएको छ । विहान १० बजेसम्मका लागि सबै प्रकारका व्यवसाय संचालन गर्न दिइने तर यातायात भने विहानकाे समयमा बन्द नै गरिने भएको छ । बैठकले निषेधज्ञा हटाउने निर्णय गरेको भएपनि बजार सञ्चालन भने बिहान १० बजेसम्म मात्र गर्न दिने निर्णय गरेको छ । यो निर्णय भदौ २५ सम्म लागु हुनेछ ।
बैकहरु भने बिहान १० वजेदेखि दिउँसाे ३ बजेसम्म खुल्ने भएकाे छ । बैंक तथा सहकारी सस्थाहरु भदौ १६ गतेबाट सञ्चलनमा आउने भएको छ । बैंक तथा सहकारीको लागि बिहान १० बजेदेखि ३ बजेसम्मको खाेलिने बताइएकाे छ । एकै भवनमा रहेका बैंक तथा वित्तिय सस्थाले भने अालाेपालाे आफ्नो बैंक तथा वित्तिय सस्था सञ्चालन गर्नपर्ने छ । एकै भवनमा धेरै सस्था भएकोले भिड हुने भएपछि यस्तो नियम बनाइएकाे प्रजिअ नेपालले बताए ।
बिहान बजार सञ्चालन भएपनि सबारीसाधन भने रोक लगाईएको छ । दिउँस १० बजेबाट भने टिफर सञ्चालन गर्न पाईने छ भने लोड सबारीहरु साँझ सातबजेपछि मात्र सञ्चालन हुनेछन् । उद्योगको हकमा भने मजदुरलाई क्वारेन्टिनको ब्यवस्थापन गरेर मात्र सञ्चालनमा आउनुपर्नेछ । सार्वजनिक यातायात भने सञ्चालनमा पूर्ण रोक लगाईएको छ ।
हेर्नुहाेस निर्णय
मकवानपुर । कोरोना संक्रमितहरुले आफूलाई होम आइसोलेशनमा सुरक्षित राख्ने भनेेेको तर जथाभावी हिडेको गुनासो छिमेकबाट आएपछि मकवानपुरको हेटौंडा उपमहानगरपालिका भित्रका संक्रमितको फोन ट्रयाकिङ सुरु गरिएको छ ।
छुट्टै कोठा, शौचालयलगायतको सबै प्रकारको भौतिक व्यवस्था तथा भौतिक दुरी कायम राख्दै होम आइसोलेशनमा बस्ने भनेर सामुदायिक आइसोलेशनमा नगएका संक्रमितहरुले न्युनतम मापदण्ड पुरा नगरेको गुनासो टोलका छिमेकबाट आएपछि होम आइसोलेसनमा बसेकाको ट्रयाकिङ थालेको छ ।
संक्रमितको सम्पर्कमा पुगेकाको हेटौंडा अस्पतालबाट मोवाइल एप मार्फत ट्रयाकिङको काम सुरु गरिएको हो । फोनबाट ट्रयाकिङको काम सुरु गरिएको हेटौंडा अस्पतालका सुपरीटेण्डेन डाक्टर प्रविण श्रेष्ठले बताए । हेटौंडाका सबै वडामा एप मार्फत संक्रमितको अवस्था पत्ता लगाउनका लागि ट्रयाकिङ सुरु गरिएको बताइएको छ । सुपरीटेण्डेन डाक्टर श्रेष्ठका अनुसार उपमहागरको वडा ४, १ र ६ मा यो काम सुरु भैसकेको छ ।
यसै बिच उपमहानगरमा कोरोना संक्रमित बढ्दै गएपछि सचेतना अभिवृद्धि गर्नको लागि हेटौंडा उपमहानगरले सबै वडामा टोली परिचालन गरको छ । दैनिक रुपमा संक्रमणको दर बढ्दै गएपछि वडा स्तरमै टोली परिचालन गरेको उपमहानगरका मेयर हरीबहादुर महतले बताए । वडा स्तरबाटै जनचेतनाका जानकारीसँगै संक्रमितको र परिवारको अवस्था बुझने र आवश्यक सहयोगको लागि वडा अध्यक्षको नेतृत्वमा जनप्रतिनिधिको टोली परिचालन गरिएको मेयर महतले बताए । ‘उपमहानगरभित्र संक्रमित भएर होम आइसोलेसनमा रहेकाको मनोभावना बलियो बनाउन र हौसला बढाउनका लागि घरघरमा जानका थालेका हौं’ मेयर महतले भने । वडाका प्रतिनिधिहरु घरमै पुगेर दुरी कायम गरेर भेट्न भनिएको उनले बताए ।

शनिबार साँझसम्म उपमहानगरमा २ सय ८१ जना संक्रमण पुष्टि भएको छ । जोखिमका अवस्था हेर्दा संक्रमितहरु उपमहानगरको ४, ५, १०, ९, ६ बढि मात्रामा छन् । उपमहानगरमा २ सय जना होम आइसोलेसनमा रहेको उनले जानकारी छन् । बिशेषगरी हेटौंडाको बजार क्षेत्रमा कोरोना संक्रमितको अवस्था बुझ्नका लागि वडा अध्यक्षको नेतृत्वमा होम आइसोलेसनमा बसेका संक्रमितको अवस्था, स्वास्थ्यमा परेका समस्या, परिवार, छिमेकले गर्ने व्यावहारका बारेमा बुझ्नका लागि टोलि परिचालन गरिएको उपमेयर मिना कुमारी लामाले बताइन् ।
संक्रमितको दर अनुसार सबै वडामा मेयर र उपमेयर पुग्न संभव नभएपछि वडा तहबाटै टोली परिचालन गरिएको उनले बताइन् । केही बृद्धबृद्धाको अवस्था बुझ्न र हौसला बढाउनका लागि मेयर महत आफै पुग्ने गरेका छन् । मेयर महत, उपमेयर मिना कुमारी लामा हेटौंडाको बसपार्क, टिसीएनरोड, आनन्दटोल लगायतका क्षेत्रमा होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको अवस्था बुझन गएका थिए ।
मकवानपुर। मदन भण्डारी फाउण्डेशन मकवानपुरले हेटौंडामा “फुड बैंक” अभियान सञ्चालन गर्ने भएको छ । कोरोना माहामारीका कारण दैनिक गुजारा चलाउन नसकेर अप्ठ्यारोमा परेका श्रमजिवी तथा विपन्न परिवारलाई लक्षित गरेर फाउण्डेसनले फुड बैङ अभियान संचालन गर्न लागेको हो ।
फाउण्डेशनले भोली सोमबारदेखि हेटौंडाको अटोल्याण्ड चोकमा फुड संकलन केन्द्र रहने गरि फुडबैंक सञ्चालन गर्न लागिएको फाउण्डेसनका जिल्ला अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताए । कोरोना भाइरसका कारण उत्पन्न भएको आर्थिक संकटले धेरैको बिहान–बेलुकाको हातमुख जोर्ने माध्यम गुमेका न्यून आय भएका परिवारलाई लक्षित गरेर फुड बैंक अभियान सञ्चालन गर्न लागिएको खुलालले जानकारी दिए ।
फाउण्डेसनले सोमबारबाट “हुनेले दिएर जाऔं नहुनेले लिएर जाऔं” भन्ने अभियान सुरु गर्न लागेको उनले बताए । फुड बैंकमा हुनेले खाद्यान्न सहयोग गर्नुहुनेछ भने नहुनेले त्यहाँ राखेको खाद्यान्न लिएर जानुहुने छ । ‘काम गर्न नपाएर कोही पनि भोकै बस्नु नपरोस् भनेर फाउण्डेसनले सामाजिक उत्तरदायित्व स्वरुप यस्तो अभियान सञ्चालन गर्न लागेका छौं’ उनले भने–‘अभियानले आवश्यक्ताका आधारमा जिल्लामा सञ्चालनमा रहेका आइसोलेसन, क्वारेन्टाईन, बृद्धाश्रमहरुमा समेत सहयोग गर्नेछ ।’
शनिबार बिहान बसेको फाउण्डेसनको बैठकले पहिलो चरणमा हेटौंडाबाट अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । उक्त अभियान अन्तर्गत कोरोनाका कारण छाक बसेका नागरिकलाई परिवार संख्याको आधारमा सहयोग उपलब्ध गराईनेछ । त्यस्ता परिवारले एक पटकमा एक छाक टर्ने गरि दाल, चामल, नुन, तेललगायत खाद्यान्न उपलब्ध गराईने प्रमुख खुलालले बताए ।
फुड बैंक सञ्चालनका लागि आजको बैठकले ५ सदस्य फुड बैंक व्यवस्थापन उपसमिति निर्माण गरेको छ । फाउण्डेसनका सदस्य उत्तम न्यौपानेको संयोजक्त्वमा बोल बहादुर कार्की, रमिला सापकोटा, शिवहरी दाहाल, भवानी शर्मा सदस्य रहेको ५ सदस्य समिति गठन गरिएको हो ।
उक्त समितिले कार्यविधि समेत तयार गरेर सोमबारबाट काम सुरु गर्ने छ । अभियानमा नगद तथा जिन्सी दुबै सहयोग गर्न सकिने बताइएको छ ।