मकवानपुर । हेटौंडामा बस र ट्रक एक आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ । हेटौंडा १९ नेवारपानीमा शुक्रबार बिहान बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पूर्व पश्चिम राजमार्गकाे हेटाैडा नारायणगढ सडकखण्ड अन्तरगत नेवारपानीमा काठमाडाैंबाट सर्लाही जाँदै गरेको ना ६ ख १०८५ नम्बरको रात्री बस र हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको ना २ ख ७५३८ नम्बरको मालवाहक ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएकाे मकवानपुर प्रहरीले जानकारी दिएकाे हाे ।
दुर्घटनामा परी सर्लाही चक्रघट्टका अन्दाजी ४० वर्षीय राजकिशोर रायको मृत्यु भएको हो । दुर्घटना हुँदा घाइते भएका उनको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। मकवानपुर प्रहरीले दुबै सवारी चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
मकवानपुर । हिन्दुहरूकाे दोस्रो महान चाड तिहार अन्तर्गत शुक्रबार कागको पूजा गरी यस बर्ष तिहारकाे सुरूवात भएकाे छ ।
यमदूत मानिने कागलाई भोजन गराइ कागप्रति श्रद्धा प्रकट गरिँदै अाएकाे छ । यमराजले यसै दिनदेखि मत्र्यलोकमा पाँचदिनसम्म विचरण गर्न आएका हुन्छन् भन्ने जनविश्वासमा यो पाँचदिनलाई यमपञ्चक भन्ने गरिन्छ । यमराजको दूतको रुपमा लिइने कागलाई काग तिहारकाे दिन मनपर्ने खाना खान दिने र पूजा गर्ने चलन छ । कागले यमराजसम्म राम्रो सन्देश पुर्याइदिने विश्वासका साथ कागको पूजा गर्ने चलन रहि आएको छ ।
काग तिहारकाे दिन कागप्रति श्रद्धा प्रकट गर्दै पूजन गरेमा पितृले सोझै पाउँछन् भनिन्छ । अन्य दिन पनि कागलाई भोजन गराउँदा पितृ खुशी हुन्छन् भन्ने मान्यता छ । कागलाई चतुर पन्छीका रुपमा लिइन्छ । फोहर कसिङ्गर र सिनुसमेत खाने भएकाले वातावरण स्वच्छ राख्न कागले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
यसैबीच आयुर्वेदका प्रवर्तक धन्वन्तरी जयन्ती काग तिहारकै दिन मनाउने गरिन्छ । यो दिन आरोग्य दिवस पनि परेकाले आयुर्वेद क्षेत्रका सङ्घसंस्था उद्योग पसललगायतले धन्वन्तरीको पूजा अर्चना गरेर आरोग्य दिवस मनाउँछन् ।
तिहार हिन्दुहहरुको एक विशेष चाड हो । यो पर्व कात्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारबाट सुरु भएर कात्तिक शुक्ल पक्षको द्धितीया तिथिको भाइटिकासम्म पाँच दिन मनाइन्छ । यो पर्व पाँच दिन सम्म मनाइने भएकोले यस चाडलाई विशेष रुपमा हेरिन्छ । हिन्दु धर्मालम्बीहरुले यस पर्वलाई दिपावली गरेर धुमधामसँग मनाउँछन् ।
यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि नै सुरु भए पनि काग तिहार भने २८ गते परेको हो । यसैगरी धनवन्तरि जयन्ती, धन त्रयोदशी र धनतेरस पर्व पनि आजै परेको छ । तिथि घटबढका कारण यस्तो भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
यसैगरी कात्तिक २९ गते बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । अपराह्न १ः४९ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंसी तिथि लाग्ने समितिले जनाएको छ । सायंकालमा औंसी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय विधान छ । औंसी तिथिमा गरिने स्नान र दान भने कात्तिक ३० गते बिहान गर्नुपर्नेछ ।

गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक ३० गते गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आइतबार बिहान ११ः२७ बजेसम्म औंसी तिथि छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपूजा यसै दिन गर्नुपर्ने समितिले जनाएको छ ।
यस्तै नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष मंशिर १ गते परेकाे भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे रहेकाे जानकारी दिएको छ ।
भाइटिकाकाे दिन मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिका अध्यक्ष प्रा डा. रामचन्द्र गौतमले जानकारी दिए ।
यसरी सुरु भयो तिहार मनाउँने प्रचलन
पौराणिक कथा अनुसार सुर्यको छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्विकार गरी बहिनीको घरमा गई रमाइलो गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो । यसरी यमुनाको घरमा बस्दा यमराजले बहिनी यमुनालाई ‘जे मन लाग्छ वर माग’ भनेपछि उनले ‘हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदी–भाई दाजु–बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाईको आयु, कीर्ति सदा बृद्धि होस्’ भन्ने वरदान मागेकी थिइन् ।
यमराजले पनि ‘तथास्तु’ भन्दै मनसा, वाचा, कर्मणा र शुद्धचित्तले पुजा गर्ने गराउनेहरुको सधै उन्नती हुने तथा कीर्ति पनि फिँजिने वर दिई बहिनीसँग बिदा भई गएका थिए । त्यस समयबाट यो पर्व मानिदै आएको छ । तिहारले पशुपक्षी तथा मानवबीचको प्रगाढ सम्बन्धको चित्रित गर्छ भने अर्कोतिर दाजुभाई तथा दिदी बहिनीबीचको आत्मीय र पवित्र स्नेर्ह वं सम्बन्धलाई पनि उजागर गर्छ ।
तिहारकाे पाँच दिनमा साँझमा घरको मुलढोकामा यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वासले घर–घरमा बत्ती बालेर दिपावली गर्ने गर्छन् ।जुन घरमा यसरी दिपावली हुन्छ त्यसघरमा कहिल्यै अपमृत्यु र अल्पमृत्यु हुँदैन भन्ने मान्यता चलिआएको छ । यमपञ्चकमा काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाई पुजा गरिन्छ । तिहार पिङ खेलेर, देउसीभैलो खेलेर र दीपावली गरी मिष्ठान्न भोजन गरेर रमाइलो गरी मनाइन्छ ।
मकवानपुर । बारा जिल्लाको जितपुरमा भएकाे भेट्रान्स फुटबल प्रतियोगिताको उपाधी हेटौंडा भेट्रान्सले जीतेको छ ।
सिमरामा विहीबार भएको प्रतियोगिताको फाइनल खेलमा जीतपुर भेट्रान्सलाई ४–१ को गोल अन्तरले हराउँदै हेटौंडाले जीत हाँसिल गरेको हो । जीतका लागि हेटौंडाका खेलाडी कबिन साँगामी, नबराज बज्राचार्य, बिजयलाल श्रेष्ठ र निमा लामाले एक/एक गोल गरे ।
प्रतियोगिताको उपाधीसंगै हेटौंडाले नगद ४० हजार रुपैंया हात पारेको छ । प्रतियोगितामा हेटौंडाका निमा लामाले म्यान अफ दी म्याच र म्यान अफ दी सिरिजको उपाधीसंगै नगद ७ हजार ५ सय रुपैंया प्राप्त गरेका छन् । बाराको जितपुरमा सोमबारदेखि सुरु भएको प्रतियोगितामा ८ ओटा टिमको सहभागीता रहेको थियो ।
मकवानपुर । मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका भूकम्प पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (भवन) मकवानपुरमा कार्यरत कर्मचारीको परिवारलाई कार्यालयका कर्मचारीहरुका तर्फबाट आर्थिक सहयोग गरिएको छ ।
भूकम्प पुनर्निमाण सम्बन्धी तीनवटै कार्यालय (भवन,शिक्षा र अनुदान) मा कार्यरत कर्मचारीबाट संकलन भएको ३ लाख १३ हजार ३ सय ७६ रुपैयाँ रकम विहीबार परिवारलाई हस्तान्तरण गरिएको हो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुखसहित जिल्ला आयोजना कायान्वयन ईकाई (भवन) का कर्मचारीहरु स्वर्गीय अधिकारीको चितवन स्थित घरमै पुगेर परिवारलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
जिसस प्रमुख खुलालसहितको टोलीले अधिकारीको आमा सिता अधिकारीलाई ३ लाख १३ हजार ३ सय ७६ रुपैयाँ बराबरको चेक हस्तानतरण गरेका छन्। रकम हस्तान्तरण कै अवसरमा प्रमुख खुलालले स्वर्गीय अधिकारीको परिवारजनमा समवेदना व्यक्त गरेका थिए ।
सव ईन्जिनियर स्वर्गीय अधिकारीको परिवारलाई विहीबार कार्यालयका कर्मचारीहरुको एकदिन बराबरको तलब संकलन गरेर सहयोग गरिएको हो । पीडाको समयमा सहयोग रकम पर्याप्त नभएपनि परिवारजनलाई सहानुभूति मिलोस् भन्ने उद्देश्यले सहयोग गरिएको भूकम्प पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कायान्वयन ईकाई (भवन) का प्रमुख तुलसिराम खर्बुजाले बताए ।
२०७३ साल जेठ १३ गते भवन कार्यालयमा नियुक्त भएका अधिकारी जिल्लाको बकैया गाउँपालिकामा भूकम्प पुननिर्माण सम्बन्धी प्राविधिककाे रूपमा काम गर्दै अाएका थिए ।कोरोना संक्रमण भई चितवन स्थित घर जाने क्रममा गत असोज ३ गते अधिकारीकाे मनहरीमा मोटरसाईकल दुर्घटनामा परि ज्यान गएको थियो ।
रकम सहयाेग हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका सदस्य देवराज रिमाल, भूकम्प पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कायान्वयन ईकाई (भवन) का प्रशासन प्रमुख विष्णु प्रसाद अर्याल, लेखापाल दिपक गजुरेल, ईन्जिनियर रविन पाठकलगायतको उपस्थिती थियो ।

यस्तै मृतक सव-इन्जिनियर अधिकारीकाे परिवारलाइ बकैया गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुबाट संकलन गरिएको १ लाख २८ हजार ६ सय ३ रुपयाँ बराबरकाे चेक हस्तान्तरण गरिएकाे छ । मृतक अधिकारीको बुवा भुवानीप्रसाद अधिकारीलाई विहीबार एक कार्यक्रमबिच गाउँपालिकाका अध्यक्ष दामोदर खनालले उक्त रकमकाे चेक हस्तान्तरण गरेका हुन् ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखे, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनी लगाएतको सहभागिता रहेको थियो ।
मकवानपुर । मकवानपुर प्रहरीले ८० किलो लागू औषध गाँजा सहित कार बरामद गरेको छ । प्रहरीले बिहिबार बिहान हेटौंडा उपमहानगरपालिका वडा नंबर १० बाट उक्त गाँजा सहित कार बरामद गरेको हो ।
प्रहरी चौकी भुटनदेवीबाट गस्तीमा रहेको प्रहरी टोलीलाई देखेर भागेको बा ६ च १४७६ नंबर को कार शंका लागि खोजतलास गर्ने क्रममा उक्त कार भुटनदेवी मन्दीर जाने सडकमा कार पार्किङ गरी राखेको अवस्थामा भेटिभएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
स्थानिय जनप्रतिनिधिको रोहवरमा कारको लक तोडी चेकजाँच गर्दा उक्त कारको डिकीमा लुकाई छिपाई ल्याएको लागु औषध गाँजा ८० किलो फेला परेको हुँदा गाँजा, कार र केही कागजात बरामद गरी जिल्ला प्रहरी कार्यलय मकवानपुर ल्याईएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता ईन्द्र बहादुर रानाले जानकारी दिए ।

कार जिल्ला प्रहरी कार्यालयमा ल्याईएको र फरार व्यक्तिको खोजि कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।