मकवानपुर । मकवानपुरमा शनिबार काेराेना संक्रमण पुष्टि भएका ३ जनाकाे मृत्यु भएकाे छ ।
शनिबार बिहान १ जना तथा बेलुका २ जना गरी ३ जनाकाे काेराेना संक्रमितकाे मृत्यु भएकाे हाे । शनिबार विहान थाहा नगरपालिका ५ का काेराेना संक्रमित ६५ वर्षीय पुरूष सैनिक अस्पताल छाउनी काठमाडाैं उपचारकाे लागि लगिएकाेमा मृत्यु भएको हो । बैशाख २० गते गरिएको एन्टिजेन परिक्षणमा उनलाइ कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसैगरि शनिबार साँझ थप २ जना काेराेना संक्रमितको मृत्य भएको छ । काेराेना संक्रमण पुष्टि भइ हेटौंडा अस्पतालमा उपचारत हेटौंडा ५ का ६५ वर्षीय पुरुष र बाराका ३४ वर्षीय पुरुष रहेको हेटौंडा अस्पतालले जनाएकाे छ ।
यसैगरि शनिबार जिल्लामा थप १ सय ६१ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टीजेन गरेर २ सय ३३ जनामा गरिएको परीक्षणमा १ सय ६१ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
शनिबार पुष्टि हुनेमा १ सय ३७ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । यस्तै ११ जना थाहा नगरपालिकाका, ६ जना मनहरी गाउँपालिकाका, ४ जना मकवानपुरगढीका, २ जना बागमती गाउँपालिकाका र १ जना राक्सिराङ गाउँपालिका रहेको स्वास्थ्य कार्यलयले जनाएको छ । यो संगै मकवानपुरमा हालसम्म कोरोना पुष्टि हुनेको संख्या ५ हजार २ सय ८४ जना पुगेको छ ।
यस्तै शनिबार थप ९ जना संक्रमित संक्रमण मुक्त भएका छन् । हेटौंडाका ६ जना आइसाेलेसनमा उपचार पछी र ३ जना हाेम आइसोलेसनबाट कोरोना संक्रमण मुक्त भएका हुन् । यो संगै मकवानपुरमा कोरोना संक्रमण मुक्त हुनेकाे संख्या ३ हजार ९ सय ३७ पुगेको छ ।
मकवानपुर । हेटौंडाको राप्ती खोलामा १ जना प्रहरी मृत अवस्थामा फेला परेका छन् । हेटौंडा-१० राप्तिखोलामा डुबेको अवस्थामा प्रहरी सहायक निरीक्षक ४७ वर्षीय केशवबहादुर खत्री मृत फेला परेका हुन् ।
खत्री उच्च अदालत पाटन हेटौंडा इजलासमा कार्यरत रहेका थिए । शनिबार बिहान गोरक्षश्वर मन्दिर नजिक राप्ती खोलामा डुबेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवपानपुरले जनाएको छ ।
मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालयको मुख्यालय भवनको शनिबार शिलन्यास गरिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेशका सचिव मदन भुजेलले एक कार्यक्रमवीच भवन शिलन्यास गरेका हुन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोगमा बागमती प्रदेश प्रहरी कार्यालयको परिसरमा भवन निर्माण गर्न लागिएको हो ।
नेपाल प्रहरी समायोजन भई निकट भविश्यमा प्रदेश प्रहरीको रुपमा रहने भएकोले हालको संरचना अपुग हुने र बागमती प्रदेश प्रहरीको प्रधान कार्यालयको रुपमा विकास गर्नुपर्ने भएको हुँदा उक्त भवनको निर्माण कार्य सुभारम्भ गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ । बागमती प्रदेश प्रहरी हाल संघ अन्तर्गत रहेता पनि बागमती प्रदेश सरकारले भवन निर्माण लगायत शान्ति सुरक्षासंग सम्बन्धीत प्रत्यक्ष सरोकार राख्ने विषयहरुमा सहयोग गर्दै आईरहेको बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राज कुमार सिलवालले बताए ।
सिलवालका अनुसार ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ कुल लागत ३२ करोड लागतमा भवन निर्माण गर्न लागिएकाे हाे । १ हजार ३ सय १८ स्क्वायर मिटरमा भवन निर्माण हुने छ । चालु आर्थिक वर्षको लागि मन्त्रालयबाट ५ करोड निकाशा भएकोमा टेण्डर प्रकृया सम्पन्न गरी निर्माण कम्पनीसंग सम्झौता समेत भई निर्माण कार्य प्रारम्भ भएको प्रहरी उपरीक्षक सिलवालले जानकारी दिए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको सहयोगमा हालसम्म बागमती प्रदेश (उपत्यका बाहेक) अन्तर्गत ३४ वटा प्रहरी ईकाई निर्माण सम्पन्न भईसकेका छन् । १२ वटा प्रहरी ईकाई निर्माणाधिन र चालु आर्थिक वर्षमा बागमती प्रदेश प्रहरी कार्यालयको मुख्यालय समेत गरी थप २१ वटा प्रहरी ईकाई निर्माणको लागि सम्झौता भई निर्माण कार्य प्रारम्भ भईसकेको छ । हालसम्म ६७ वटा प्रहरी ईकाईहरु निर्माणको लागि आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेशबाट सहयोग प्राप्त भएकाे सिलवालले जनाकारी दिए ।
मकवानपुर। मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर–१ मा बोलेरो दुर्घटना हुँदा १ जनाको घटना मृत्यु भएको छ । बाेलेराे दुर्घटना हुँदा स्थानीय १७ वर्षीय दिनेश स्याङतानको घटनास्थल मै मृत्यु भएकाे हाे भने ५ जना घाइते भएका छन् ।
घाइते मध्य १ जना अवस्था सामान्य र अन्यको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताए । घाइतेहरुमा बोलेरो चालक वर्ष २५ का दिपेन्द्र लो, वर्ष १८ की मन्जु लो, वर्ष १६ को अमृत दोङ, वर्ष २३ की आकृति मोक्तान र वर्ष १७ को दोर्जे गोम्वा रहेका छन् । उनीहरुको हेटौंडा स्थित चुरेहिल हस्पिटलमा उपचार भइरहेको रिमालले जानकारी दिए ।
गएराती साढे १२ बजे राक्सिराङ गाउँपालिका–१ बेलटारस्थित बेसीघाटबाट हेटौँडातर्फ आउँदै गरेको ना १५ च ३९२० नम्बरको बोलेरो जिप आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्याङतानको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ । दुर्घटनावारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताए ।
मकवानपुर । हेटौडा जेसीजले कोरोना महामारी नियन्त्रणका लागि फ्रन्ट लाइनमा खटिएका स्वास्थ्यकर्मीहरुका लागि एक सय काटुन पानी र १० काटुन जुस सहयाेग गरेकाे छ ।
हेटौँडा जेसीजका अध्यक्ष लिसेन बस्नेतसहितको टाेलीले शुक्रबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालका रजिष्ट्रार राजेश प्रसाईलाई उक्त सहयोग हस्तान्तरण गरेको हो ।
कोरोना महामारीका क्रममा २४ सै घण्टा संक्रमित बिरामीको उपचार र संक्रमण नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीहरुका लागि सो सहयोग हस्तान्तरण गरिएको कार्यक्रम संयोजक विजय श्रेष्ठले जानकारी दिए । विभिन्न सामाजिक कार्य गर्दै आएको हेटौंडा जेसीजले आगामी दिनमा पनि यस्ता सहयोगहरुलाई निरन्तरता दिने जनाएको छ ।
आवश्यकता अनुसार अन्य स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्ने हेटौँडा जेसीजका अध्यक्ष बस्नेतले प्रतिवद्धता व्यक्त गरे । हेटौडा अस्पताल संचालक समितिका पदाधिकारी र जेसीज सदस्यहरुको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको थियो ।