मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मगलबार मकवानपुरमा २ वटा पुलकाे उद्घाटन गरेका छन् । मकवानपुरको बकैया गाउँपालिकाकाे २ वटा पुल उद्घाटन मुख्यमन्त्री पाैडेल गरेका हुन् ।
पुलको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले अब विकासको युग प्रारम्भ भएकाे बताए । अहिलेकाे सरकारले देशैभरी विकासको काम गरेको तथा बागमती प्रदेश सरकारको साढे ३ वर्षको कार्यकालमा मात्र हालसम्म ४६ वटा पुल निर्माण भएर सञ्चालन भैसकेको पाैडेलले बताए ।
उद्घाटन कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सांसद कृष्ण प्रसाद दाहालले बकैया गाउँपालिकामा विकासको मुहान फुटेको बताए । बकैया नदि प्रणालिलाई उचित तटबन्धन गरेर हजारौ विगहा जमिन खेतियोग्य बनाउन सकिने कुरालाई मध्यनजर गर्दै यो पटकको बजेटमा संघीय सरकारले पनि तरकारी भण्डारणको लागि बकैयामा बजेट विनियोजन गरेको उनले बताए ।
मुख्यमन्त्री पौडेलले वकैया वडा नंबर ३ बकैया खाेलामा निर्माण भएकाे र ५ ठाँटी खाेलामा निर्माण भएकाे २ वटा पुलको उद्घाटन गरेका हुन् । २६ दशमलब २५ मिटर लम्बाई तथा ७ दशमलब २० मिटर चौडाई रहेकाे बकैयाको श्रीपुर र रातदमार बिचमा रहेको ठाँटी खोलाको पुल बागमती प्रदेश सरकार र स्थानीय सरकार बकैया गाउँपालिकाको संयुक्त १ करोड रुपैँयाको लगानीमा निर्माण भएकाे हाे । पुल निर्माण पछि बकैया वडा नंबर ४,५ र ६ का वासिन्दाहरुलाई सहज भएको छ ।
यसैगरी मगलबार नै बकैयाको हात्तिसुडेबाट बसन जोडने झोलुङ्गे पुलको पनि उद्घाटन भएको छ । संघीय सरकारको आर्थिक सहयोग, राडो नेपाल तथा टीभीएसयुको प्राविधिक सहयोगमा पुल निर्माण भएको हो । पुल निर्माण पछि बकैयाको ठाँटी खोलाले गर्दा हुने धेरै समस्याको निराकरण हुनुको साथै पुलको अभावमा खोलाकाे कारण बर्षेनी हुने धनजनकाे क्षती कम हुने स्थानीयहरु बताउँछन् ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य जुनेली श्रेष्ठ, बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे सहित स्थानीय राजतीतिककर्मी, वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।
मकवानपुर । हेटाैडाअस्पतालबाट प्रदान गरिदै आएका अन्य सेवा बन्द गरेर कोरोना भाइरसका संक्रमितको उपचारका गरिदै आएकाेमा अब अन्य सबै सेवा सुरु हुने भएकाे छ । कोभिड अस्पताल बनाइए पछी विगत २ महिनाबाट बन्द रहेका सम्पूर्ण सेवा असार २४ गते विहीबारबाट सुचारु गर्न लागिएको हेटौंडा अस्पतालले सूचना निकाले जानकारी दिएको छ ।
अस्पतालले तत्काल जनरल आइसीयू सेवा बाहेकका अन्य सेवा सूरु गर्न लागेको हो । अझैपनि कोरोना संक्रमितको उपचारको लागि आइसीयू सेवा प्रयोगमा आइरहेकोले अन्यका हकमा आइसीयू सेवा तत्काल उपलब्ध नहुने अस्पतालले जनाएको छ ।

मकवानपुर । मकवानपुरमा अन्य पार्टी परित्याग गरी ३५ जना कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा एमाले र माओवादी पार्टी परित्याग गरी हेटौंडा उपमहानगरपालिकाका ३५ जना युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
हेटौंडा १५ मा साविक चुरियामाई ६ का पूर्व वडा अध्यक्ष मन्तसिं योञ्जन र युवा व्यवसायी सञ्जयकुमार लामाको नेतृत्वमा हेटौडा १२ र १५ का एमाले र माओबादीका ३५ जना सोमबार कांग्रेसमा प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले टीका लगाएर पार्टीको सदस्यता दिई नवप्रवेशीहरुलाई स्वागत गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता बानियाँले कांग्रेसमा लागेर कसैले पनि पछुताउन नपर्ने बताए ।
नेता बानियाँले नेपालमा बेरोजगारी संख्या बढिरहेकाले आफू अहिले रोजगारी बढाएर युवाहरुलाई उद्यमशिल बनाउन लागिरहेको बताए ।
कार्यक्रममा कांग्रेस जिल्ला सदस्य दोर्जे लामा स्याङतान, प्रतिनिधिसभा १ का संघीय सभापति दामोदर खनाल, प्रदेश सभापति लोक मुक्तान, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, नगर सदस्य गणेश ब्लोन, हेटौंडा १५ का कार्यबहाक सभापति नवराज घलान, हेटौंडा १५ का वडाअध्यक्ष महारत्न लामा जनजाति महासंघ नगर सभापति हर्करत्न लामालगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका ३ सय घरपरिवारलाई खाद्य सामाग्री सहयाेग गरिएकाे छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले हेटौंडा उपमहानगरपालिका १५ का विभिन्न टोलमा बसाेबास गर्ने ३ सय घरपरिवारलाई आइतबार खाद्य सामाग्री सहयाेग गरेका छन् ।
कोरोना माहामारी र वर्षातका कारण समस्यामा परेका हेटौंडा उपमहानरपालिका १५ चिप्लेडी, भोर्ले र कमानेका ३ सय घरपरिवारलाई नेता बानियाँको विषेश पहलमा आईतवार खाद्यान्न वितरण गरिएको हो । नेता बानियाँले प्रतिपरिवार २५ किलो चामल, नुन, तेल, दाल, मस्यौरालगायतका खाद्य सामाग्री सहयोग गरेका हुन् ।
कांग्रेस हेटौंडा १५ का कार्यबहाक सभापति नवराज घलानको सभाध्यक्षतामा भएको सहयाेग वितरण कार्यक्रममा कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, हेटौडा उपमहानगर सभापति आनन्दराम पराजुली, हेटौंडा–१५ का वडाअध्यक्ष महारत्न लामा , कांग्रेसका स्थानीय नेताहरु गणेश भ्लोन, मिना लामा, लालबहादुर लामा, हर्क लामा, रोहित श्रेष्ठ, हरि लामालगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । बागमती प्रदेशसभाको बैठक आइतबार पनि अबरुद्ध पारिएको छ । बैठक शनिबार पनि अबरुद्ध गरिएको थियो। आइतबार बैठक अबरुद्ध भएपछि सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
आईतबार बिहान ११ बजे बोलाइएको बैठक अपराह्न ३ बजेका लागि सारिएको थियो । सो बैठक विशेष कारण भन्दै सोमबारको लागि स्थगित गरिएको बागमती प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशसभाको यसअघि शनिबार बसेको बैठकमा प्रमुख प्रतिपक्ष र प्रतिपक्ष दलहरुले अवरुद्ध गरेका थिए । उनीहरुले विनियोजित बजेटमाथि छलफल गर्ने क्रममा आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि माग गरिए अनुसारको योजना र बजेट वितरणमा पक्षपात गरेर आफ्नो दलका नेताहरुलाई लक्षित गरेको आरोप लगाँदै प्रदेशसभा बैठक अवरुद्ध गरेका थिए ।
अवरुद्ध प्रदेशसभा बैठक संचालन गर्न बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको सक्रियतामा आज हेटौँडामा बसेको सर्वदलीय बैठकले विनियोजित बजेटमाथि छलफल गर्न प्रदेशसभा बैठक पुनः सुचार गर्ने निर्णय गरेको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले जानकारी दिए ।
उक्त बैठकमा सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री केशवराज पाण्डे, नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेल, नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ, साझा विवेकशील दलका नेता रमेश पौड्याल र सत्तारुढ दलका प्रमुख सचेतक दीपक निरौला सहभागी थिए ।
सोमबार बस्ने प्रदेशसभाको बैठकमा सरकारको तर्फबाट एक जना मन्त्रीले सरकारले ल्याएको बजेट विनियोजनमा भएका सत्यतथ्य विवरण सार्वजनिक गर्ने, प्रतिपक्ष दलहरुले उठाएको सरोकारको विषयमा स्पष्टिकरण दिने र प्रतिपक्षहरुले व्यक्त गरेको भावनालाई कदर गर्दै विनियोजित बजेटमा फेरबदल हुनसक्ने सम्भावना रहेको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक निरौलाले बताए ।
बजेटमा चित्त नबुझेको भन्दै विपक्षी दलले सभा अबरुद्ध गर्दै आएको छ ।