मकवानपुर । आसन्न स्थानीय चुनावी सभालाई सम्बोधन गर्ने नेपाल कम्युनिस्ट पार्टी एमाले अध्यक्ष केपी शर्मा ओली भोली आइतबार हेटौंडा आउने भएका छन् ।
नेकपा (एमाले)ले हेटौंडा उपमहानगरपालिकामा आयोजना गर्न लागेको चुनावी सभालाई सम्बोधन गर्न उनी हेटौंडा आउन लागेका हुन् । १८ बैशाखमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका -४ स्थित हुप्राचौर परिसरमा उपमहानगर स्तरीय अन्तिम चुनावी सभा गर्ने एमाले मकवानपु जिल्लाका अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिए ।
‘पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा ४० हजारभन्दा बढि जनसहभागितामा चुनावी सभा गर्ने तयारी छ’, श्रेष्ठले भने । त्यसअघि हेटौंडा उपमहानगरका विभिन्न चार वटा नाकाबाट पैदल र्याली गरि हुप्राचौरमा जम्मा भएर १२ बजे कार्यक्रम शुरु गर्ने र १ बजे पार्टी अध्यक्ष केपि शर्मा ओलीले कार्यक्रमलाई सम्बोधन गर्ने तयारी भएको अध्यक्ष श्रेष्ठले बताए ।
प्रचार समितिका संयोजk धुब्रप्रसाद चौलागाईका अनुसार कार्यक्रममा पार्टी प्रवेश कार्यक्रमसमेत हुनेछ । उनले कार्यक्रममा तीन सय जनाको स्वंयमसेवा परिचालन गरिने जानकारी दिए । चुनावी सभामा १० वटै स्थानीय तहका नेता कार्यकर्ताहरु सहभागि हुने मकवानपुर एमालेले जनाएको छ ।
यता एमालेको मुख्य प्रतिस्पर्धि सत्तारूढ गठबन्धनको भने चुनावी सभाको टुङ्गो लागेको छैन ।
एमालेबाट हेटौंडा उपमहानगरपालिकामा मेयर पदको लागि अनन्त पौडेल चुनावी मैदानमा छन् भने उपमेयरमा सुमित्रा काफ्ले । पौडेल र काफ्लेले संयुक्त रुपमा चुनावी घरदैलो गरिरहेका छन् । घरदैलो कार्यक्रममा सहभागीले मेयर उपमेयर, वडा अध्यक्ष तथा सदस्यहरू घरघर पुगेर कार्यक्रममा सहभागिताको लागि समेत निमन्त्रणा गरेका छन् ।
एमालेसँग प्रतिस्पर्धाको लागि चुनावी तयारीमा रहेको सत्ताधारी गठबन्धनले पनि आगामी २२ वा २३ बैशाख आमसभा गर्ने तयारी गरेको बुझिएको छ । गठबन्धनमा नै छलफल गरेर आमसभाको टुङ्गो लगाउनु पर्ने भएकोले यसको आन्तरिक तयारी हुदै गरेको र हाल घरदैलोमा लागेको नेकपा एकीकृत समाजवादी बागमती प्रदेश सभा सदस्य मुनु सिग्देलले बताइन् । “मिति र अतिथिबारे टुङ्गो लागेको छैन, लगभग २२/२३ मा आमसभा गरिने तयारी भएको छ” वडा अध्यक्षको उम्मेदवार समेत रहेका नेपाली कांग्रसका सबिन न्यौपानेले भने ।
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई १ सय १० थान ज्याकेट सहयोग गरेको छ । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको नेतृत्वको टोलीले जिल्ला प्रहरी कार्यालय परिसरमा ज्याकेट हस्तान्तरण गरेको हो । टोलीमा संघका उपाध्यक्ष प्रमोद सिंह रानाभाट, कोषाध्यक्ष सन्तोष कुमार अर्याल, सचिवद्वय राजाराम कार्की, श्रीकृष्ण कर्माचार्य र कार्यसमिति सदस्य तेजराज अधिकारीको सहभागिता रहेको थियो ।
यसैगरी संघले बस्तुगत संघका नव निर्वाचित कार्यसमितिलाई स्वागत तथा सम्मान समेत गरेको छ । दामोदर प्रसाद अटलको अध्यक्षतामा रहेको हेटौंडा अटोमोबाइल एशोसिएशन र राजु नेपालको अध्यक्षतामा रहेको मकवानपुर मुद्रण उद्योग संघलाई स्वागत तथा सम्मान गरिएको हो ।

बस्तुगत संघहरुको उत्साह बढाउन र आपसी सम्बन्ध सुमधुर बनाउन स्वागत कार्यक्रमको थालनी गरिएको अध्यक्ष गुप्ताले बताए । त्यसैगरी बस्तुगत संघका अध्यक्षहरुले स्वागत ग्रहण गर्दै स्वागत तथा सम्मानको लागि धन्यवाद ज्ञापन गर्दै बस्तुगत संघका समस्यहरु हल गर्न मउवासंघले पहल गर्ने विश्वास लिएको बताएका थिए । कार्यक्रममा मउवासंघका अध्यक्ष कृष्ण कुमार गुप्ता, बस्तुगत संघका अध्यक्ष दामोदर प्रसाद अटल र राजु नेपाल, संघका उपाध्यक्ष राजु अधिकारी, सचिव माधव ज्ञवाली र कार्यसमिति सदस्य प्रदिप अर्यालले मन्तव्य राखेका थिए ।
मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गराएका मकवानपुरको ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
फिर्ता लिनेमा हेटौंडा उपमहानगरपालिकामा मेयरमा मनोनयन दर्ता गरेका ३ जना, उपमेयरमा मनोनयन दर्ता गरेका २ जना सहित सहित ४९ जना छन् । मेयरमा मनोनयन दर्ता गरेकी जसपाकी दीपा लामा, नेपालका लागि नेपाली अभियानका सुकुन्दप्रसाद आचार्य र स्वतन्त्र उम्मेदवार सुरक्षा रिजालले मेयरबाट आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उपमेयरमा नेकपा समाजवादीकी मखकुमारी तिमल्सिना र जसपाका हरिहर खतिवडाले उम्मेदवारी फिर्ता लिएका छन् ।
उनीहरुसँगै गाउँपालिका अध्यक्ष, नगर र गाउँपालिकाको वडा अध्यक्ष र सदस्यमा गरी ४९ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । नेपाली कांग्रेस (वीपी) समूहबाट उपमेयर बनेकी जानुकी लामाले भने उम्मेदवारी फिर्ता लिइनन् ।
जसपाबाट हेटौंडा उपमहानगरपालिको मेयर र उपमेयर पदमा उम्मेदवारी दिएका दिपा लामा र हरिहर खतिवडाले उम्मेदवारी फिर्ता लिँदै आफुहरुको समर्थन गठबन्धनको आधिकारिक उम्मेदवारलाई भएको प्रतिक्रिया दिए । मनोनयन दर्ताको दोस्रो दिनसम्म पनि गठबन्धनमा सहमति जुट्न नसकेपछि जसपाले हेटौंडाको मेयर र उपमेयर पदमा उम्मेदवारी दर्ता गराएको थियो । हेटौंडाको मेयरको लागि राप्रपाका उम्मेद्वार दिपकबहादुर सिंहलाई समर्थन गर्दै नेपालका लागि नेपाली पार्टीका उम्मेद्वार सुकुन्द प्रसाद आचार्यले मेयर पदमा दिएको उम्मेद्वारी फिर्ता लिएका छन् ।
मकवानपुरका दश वटै स्थानीय तहमा बागमी उम्मेदवारी दिएकाहरु मध्य आज धेरैले उम्मेदवारी फिर्ता लिएका हुन् । मकवानपुरको हेटौंडा, मनहरी, बकैया, मकवानपुरगढी, भीमफेदीलगायतका स्थानीय तहमा गठबन्धन भित्र पनि बागी दिएकाहरु धेरै जना र एमालेबाट पनि बागी दिएकाहरु मध्य केहिले उम्मेदवारी फिर्ता लिएका हुन् । स्वतन्त्र उम्मेदवारी दिएकाहरूले समेत उम्मेदवारी फिर्ता लिएका छन् ।
पार्टीको केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहको दवाबका कारण र कार्बाहीमा परिने भएका कारण गठबन्धनमा रहेका दलहरुका बिचमा बागी उम्मेदवारी दिएकाहरुले आफ्ना उम्मेदवारी फर्ता लिएका हुन् ।
पार्टी भित्रबाट र स्वतत्त्र रुपमा उम्मेदवारी दिएकाहरुले उम्मेदवारी फिर्ता लिएका हुन् । उम्मेदवारी फिर्ता लिन बिभिन्न आश्वासन दिइएको छ । पार्टीभित्र र बाहिर लाभको पद दिएर उम्मेदवारी फिर्ता लिन बाध्य बनाइएको पाईएको छ ।
मकवानपुर । नेकपा एमालेबाट मनहरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले गाउँपालिकाका विभिन्न क्षेत्रमा चुनावी प्रचारप्रसार एवम् घरदैलो कार्यक्रम गरेका छन् ।
शुक्रबार मनहरी गाउँपालिका वडा नं ६ लोथर बजारमा घरदैलो गरेका उम्मेदवारहरु आज ६ नम्बरकै बाँकी ठाउँमा पुगेका हुन्। मनहरी गाउँपालिकामा एमालेका अध्यक्षका उम्मेदवार एकराज उप्रेती र उपाध्यक्षको उम्मेदवार सुजिता थिङ, पार्टी गाउँपालिका कमिटीका अध्यक्ष नवीन सुवेदी, वडाका उम्मेदवारहरुसहितको टोलीले मनहरी–६ को विभिन्न क्षेत्रमा जनतासँग भेटघाट गरेका हुन् ।
मनहरी–६ को घुल्चोक, खयरघारी, जोगिताल, चौकीटोल, बगर टोल क्षेत्रका सबै जनताको घरमा पुगी उम्मेदवारहरुले मत अपिल गरेका थिए । सबै उम्मेदवारसहितको टोलीले घरदैलो कार्यक्रम गरेको थियो । कार्यक्रममा स्थानीयले उम्मेदवारलाई बधाई र शुभकामना दिएका थिए । अध्यक्षका उम्मेदवार एकराज उप्रेती जनताको आवश्यकता र भावना अनुरुप नै आफुले काम गर्ने बताए । घरदैलो अभियानमा जनताको सुझाव समेत संकलन गरिएको उनले जानकारी दिए ।
हेटौंडा /आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार बिदुर हुमागाईंले बितेको पाँच वर्षमा भएका विकासका विषयमा विपक्षहरुले पनि प्रश्न उठाउन नसकेको बताएका छन् ।
२०७४ मा निर्वाचन जितेर पाँच वर्षीय कार्यकाल चलाएका हुमागाईंले समाजिक, आर्थिक र भौतिक क्षेत्रमा भएका विकासका सम्बन्धमा विपक्षहरुले पनि भएन भनेर भन्न नसक्ने अवस्था नभएको दावी गरेका छन् । हेटौंडाको रेडियो थाहा सञ्चारसँग शुक्रबार बिहान अन्तर्वार्तामा बोल्दै हुमागाईंले भने, ‘मकवानपुरगढी गाउँपालिकामा विपक्षले पनि यो काम गरेन, यो काम भएन भनेर बोल्न सकेका छैनन् ।,’
पाँच वर्ष काम गर्दा जनताले कसरी परीक्षण गरेका छन् र, तपाईंलाई कस्तो महशुस भएको छ भन्ने प्रश्नमा उनले भने, ‘मैले पाँच वर्षसम्म काम गर्दा जनताले सीमित स्रोत साधन, अभावैअभाव र असहजिलोका बीचपनि तपाईंले जसरी काम उठाउनु भयो, माथिल्ला निकाय र साझेदार निकायको समन्वयमा जसरी काम गर्नसक्नु भयो अबको पाँच वर्षपनि तपाईको आवश्यकता अपरिहार्य छ भनेर भनिरहनु भएको छ ।,’ जनताको अपेक्षाका कारणपनि आफ्नो उम्मेदवारी जरुरी भएको उनले दावी गरे ।
विकास कतैबाट बजेट ल्याएर गरौंला भन्दापनि जनता र सरकारकै अन्य निकायसँग साझेदारी गरेर अगाडि बढेकोले विकासमा उल्लेख्य काम गर्न सकिएको उनको भनाई थियो । उनले बितेको पाँच वर्षमा स्थानीय सरकारको आधार तयार गरिएको बताएका छन् । नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार हुमागाईंले स्थानीय सरकार जनताको नजिकको सरकार भएकोले हरेक गतिविधि जनमुखी बनाउनु पर्छ भन्ने ढंगबाट पाँच वर्षमा काम गरिएको बताएका छन् । जन अपेक्षा अनुसार काम गरिएको भन्दै उनले आर्थिक, सामाजिक र भौतिक विकासका काम धेरै भएको उनले बताए ।
सुशासन प्रवद्र्धनका क्षेत्रमा गाउँपालिकाले उल्लेख्य काम गरेको उनको भनाई छ । पाँच वर्षमा कतिपय महत्वपूर्ण कामले पूर्णता पाइसकेको तर, केही महत्वपूर्ण योजनाले पूर्णता नपाइसकेको भन्दै उनले अधुरा कामलाई पूरा गर्नका लागि र सुशासनसहितको समृद्ध मकवानपुरगढी गाउँपालिका निर्माण गर्नका लागि थप नयाँ योजनासहित प्रस्तुत हुनुपर्ने भएकोले पुनः अध्यक्षको उम्मेदवारका रुपमा पार्टीले आफूलाई सिफारिस गरेको बताए । गाउँपालिकाको सामाजिक र आर्थिक विकासलाई गाइडलाइन दिने महत्वपूर्ण पाटो भौतिक पूर्वाधार विकास भएकोले पाँच वर्षमा भौतिक क्षेत्रका काम गरिएको उनले बताए ।
विगतमा मकवानपुरगढीबाट बसाईं सरेर जाने क्रमलाई रोक्न कृषि तथा पशुपालनसँगै भौतिक विकासका क्षेत्रमा धेरै महत्वपूर्ण काम गरिएको उनले जनाए । शिक्षा क्षेत्रमा पनि गुणस्तरीय पठनपाठनको लागि गाउँपालिकाले बितेको पाँच वर्षमा काम गरेको उनले बताए । मकवानपुरगढीमा बसोबासका लागि उपयुक्त छ भन्ने सन्देश दिइएको उनको दावी थियो ।
सिचाईं, खानेपानी, सडक, पुलपलेसा बनाएर स्थायित्व दिइएको उनको भनाई छ । लक्षित वर्गका कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरेको भन्दै हुमागाईंले मकवानपुरगढीलाई बालमैत्री स्थानीय अबलम्ब गर्ने गाउँपालिकाको रुपमा घोषणा गर्न सफल भइएको जानकारी दिए ।