मकवानपुर । हाम्रो आवाज मानव बेचबिखनबाट मुक्त समाज भन्ने नाराका साथ माइती नेपाल मकवानपुरले किशोरीहरूलाई नेतृत्व विकास तथा जीवन कलाको प्रशिक्षण कार्यक्रम गरेको छ ।
सामाजिक अभियानमा सकृय, आर्थिक सशक्तीकरण सहित किशोरीहरू सक्षमता हासिल गर्न सहयोग पुग्ने गरि प्रशिक्षण कार्यक्रम गरिएको बताइएको छ । किशोरीलाई बेचबिखन, हिंसा जस्ता घटनाबाट बच्न र बचाउन पनि सिप प्राप्त भएको प्रशिक्षणमा सहभागी एक प्रशिक्षार्थीले बताइन् ।
मकवानपुर जिल्लाको बकैया, बागमती, राक्सिराङ्ग, कैलाश मकवानपुरगढि गाउँपालिका र बारा तथा पर्सा जिलाका समेत गरी२० जना किशोरीहरू प्रशिक्षणमा सहभागी भएको माइती नेपाल मकवानपुर प्रमुख माया लामाले बताइन् ।
५ दिनसम्म चलेको प्रशिक्षण कार्यक्रममा प्रशिक्षण बच्चुराम बस्नेतले सहजीकरण गरेका थिए । यस्ता तालिमले किशोरीहरूलाई आफू र आफ्नो समाजमा बारम्बार आईपर्ने, अपर्झट आईपर्ने समस्यासँग मुकाविला गर्न सिप र शक्ति प्राप्त हुने प्रशिक्षक बस्नेतले बताए ।
माइती नेपालको बार्षिक स्वीकृत कार्यक्रम अन्तर उक्त कार्यक्रम गरिएको लामाले बताइन् ।
मकवानपुर । नेकपा एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष माधबकुमार नेपालले चुनाव लक्ष्यित गठबन्धनको उदेश्य पुरा भएपछि पार्टीका कार्यकर्तालाई अब संगठन बलियो बनाउन निर्देशन दिएका छन् ।
गठबन्धनसँगको जितलाई हेरेर मख्ख नपार्न आग्रह गर्दै उनले भने “आफ्नो संगठन निर्माण गर्न लाग्नु होस्” । उनले भने “गठबन्धन हैन, संगठन बनाऔ, शक्ति निर्माण गर्नुस्, एक औलाले केही गर्दैन मुठ्ठी बनाउनु होस् ।”
चुनावमा जहा जहाँ गठबन्धन भाँडियो त्यहाँ आफ्ना पार्टीको उम्मेदवारहरुले टिकट फिर्ता गर्न चाहेको प्रसंग कोट्याउँदै उनले भने “हामीले आफैं जित्ने छौ, हामी बलियो भए सबै हाम्रा हुन्छौ, हामीले संगठन बलियो बनाउन सक्नेछौं ।” गठबन्धनमा सहभागी दलको हैसियत मतपरिणाममा देखिएको भन्दै उनले आफूहरु बलियो शक्ति बनेको दाबि गरे ।
हेटौंडा उपमहानगरपालिकालगायत मकवानपुर जिल्लाको ८ वटा स्थानीय तहमा जित प्राप्त भएपछि विजयीहरुलाई बधाइ दिन हेटौंडा आइपुगेका नेपालले नेकपा एकीकृत समाजवादीले आफ्नो आधार तय गरेको भन्दै अब तल्लो तहसम्म पुगेर संगठन बलियो बनाउन ध्यान दिनुपर्ने बताए ।
जनतामाथिको विश्वास जित्न सकेकोमा आफूहरु उत्साही रहेको उनले बताउँदै उनले भने “जनताको बिचमा भिजेकै कारण, जनताको पिर र मर्कामा साथ भएकै कारण हामीले जित हासिल गर्न सफल भयौ ।”
जितेको कारण आफूमा अभिमान नराख्न निर्देशन दिंदै उनले भने “जितिसकेपछि नमात्तिनु होला, हारेपछि पनि नआत्तिनु होला ।” कार्यकर्तालाई सेवाको भावनाबाट प्रेरित हुन उनले आग्रह गरे । कार्यकर्तालाई चुनावमा जितेको ठाउँ र हारेको ठाउँमा मुल्याङ्क गर्न उनले निर्देशन दिए । “जितेको ठाउँमा भन्दा हारेको ठाउँमा मसिनो गरी मुल्याङ्क गर्नुहोस्” उनले भने “यसले अब कसरी अघि बढ्ने भन्ने बाटो देखाउँछ ।”

धरानको मेयरमा विजयी भएका हर्क सम्पाङको उदाहरण दिंदै उनले भने “निरन्तर जनताको साथमा हुने मान्छेलाई पार्टी नै नचाहिने रहेछ, हामी भन्दा पनि उनी अघि आए, हामीले उहाँबाट सिक्नु पर्छ ।”
नेकपा एकीकृत समाजवादी यस्तै राम्रा राम्रा व्यक्तिको खोजिमा रहेको बताउँदै उनले भने “हामी यस्तालाई खोजि खोजि पार्टीमा ल्याउने छौ, आठ महिनामा हामीले पार्टीलाई जुन स्थानमा ल्याएका छौ, यो सानो उपलब्धि हैन ।”
गठबन्धनको कारण यो सफलता प्राप्त नभएको दाबि गर्दै उनले भने “गठबन्धनमा सहभागी दलहरुको आ आफ्नै गुनासाहरु छन्, हामी आफैं यहा आएका हो, हामी एक्लै जित्छौ एकदिन भनेर उच्चमनोबलसहित लाग्नु पर्छ ।”
आगामी मंसिरमा हुने निर्वाचनको तयारीमा आजैबाट लाग्न उनले आग्रह गरे । “आजैबाट जनताको बिचमा जानुस्, चुनावमा टिकट पाउने नपाउने कुरामा ध्यान नदिनुहोस्, जो कोही आएपनि पार्टीको मान्छे भनेर लाग्नु होस्” उनले भने “टिकट नपाएको झोंकमा पार्टी छोड्नेलाई हामी पनि हिसाब राख्नुपर्छ ।”
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाको मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा अनियमितताको क्रम अझै रोकिएको छैन ।
प्रतिष्ठान अन्तर्गत फार्मेसी, विपीएच, ल्याब मेडीसिनको स्नातक तहको परीक्षा ब्यक्तिगत समस्याको कारण रोकीएपछि फेरी विद्यार्थीहरू समस्यामा परेका छन् ।
परीक्षा रोकीदा ४० जना बिद्यार्थीको भविष्य अन्यौल बनेको छ । प्रतिष्ठानको परीक्षा बोर्डले जेठ ३ गतेदेखि परीक्षाको समय निर्धारिण गरेको थियो । प्राबिधीक कारण देखाउँदै एकाएक परीक्षा स्थगित गरी शिक्षाध्यक्ष सतिश देब र परीक्षा बोर्ड प्रमुख डाक्टर निती भाट सम्पर्क विहीन भएको बिद्यार्थीहरुको गुनासो छ ।
परीक्षा बोर्ड प्रमुख डाक्टर निती भाट गैरसरकारी संस्थाको प्रोजेक्टमा लाग्दा परीक्षा रोकीएको भन्दै बिद्यार्थीहरु आक्रोशीत बनेका छन् । बिद्यार्थीहरुलाई भर्ना लिँदा परीक्षा शुल्क बाहेक अन्य शुल्क नलाग्ने भनिए पनि शिक्षाध्यक्ष देबको एकल निर्णयबाट बिद्यार्थीहरुलाई अतिरिक्त शुल्क उठाउन थालेपछि बिद्यार्थीहरुले त्यसको प्रतिबाद गरेका थिए ।
शुल्ककै विषयमा बिद्यार्थी र शिक्षाध्यक्षबीच विवाद भएपछि परीक्षा रोकीएको थियो । शुल्कको विषयमा प्रतिष्ठानको सिनेटे बैठकले निर्णय गरेपछि विवाद टुङ्गीने शिक्षाध्यक्ष देबले बताए । शुल्कको विषयले परीक्षा नै स्थगित गर्नुपर्ने आवश्यक नभएको प्रतिष्ठानका पदाधिकारी बताउँछन् ।
शिक्षाध्यक्षले परीक्षा बोर्ड प्रमुख भाटको निजी ब्यस्ततालाई म्यानेज गर्नैका लागि परीक्षा नै स्थगित गरेको विद्यार्थीले बताएका छन् । “उहाँको निजि पारिवारिक समस्या थियो, त्यसको म्यानेज गर्न उहाँ परीक्षा नै स्थगित गरेर सम्पर्क बिहिन हुनुभयो” एक छात्रले भने “हाम्रो परीक्षा र नतिजाबारे के हुने हामी अन्यौलमा छौ ।
मकवानपुर र आसपासका जिल्लाको स्वास्थ सेवामा प्रभाकारीता बढाउंदै आएको हेटौंडा अस्पताल र प्रतिष्ठानलाई अलग गरि प्रतिष्ठान चितवन जिल्लामा सार्ने तयारीमा प्रदेश सरकार लागेपछि यसको तिव्र बिरोध हुंदै आएको छ । प्रदेश सरकारले प्रतिष्ठानका उपकुलपतिलाई निलम्बनदेखि विभिन्न हर्कत गर्दै आएको छ ।
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरूले कार्यभार सम्हाल्दै गर्दा पहिलो दिन सामाजिक उत्तरदायित्व अन्तरगतको महत्वपूर्ण निर्णय गरेको छ ।
पालिकाले आफ्नो क्षेत्रभित्र बसोबास गर्ने अपाङता भएकाहरूको नि:शुल्क उपचार गर्ने निर्णय गरेको हो । गाउँपालिकाको आज पदभार गर्दै अध्यक्ष हिदम लामाले उक्त निर्णयमा हस्ताक्षर गरेका हुन् । रकमको अभाव भएर उपचार हुने बालबालिकाको पनि उपचार नभएको अवस्थामा गाउँपालिकाले बालबालिकाको हितमा निर्णय गरेको अध्यक्ष लामाले बताए ।
बालबालिकालाई स्वस्थ बनाउन सके गाउँपालिका नै स्वस्थ हुने लामाले बताए । उनले भने ‘अहिलेका बालबालिका भनेका भोलीका देशका कर्णधार हुन, उनीहरुको स्वास्थ्य अवस्थाको विषयमा बालवालिका हुँदाको अवस्थामा ध्यान दिन सकेन भने भालीको कर्णधारहरुलाई अन्याय हुनेछ, तसर्थ हामीले यस्ता फिजिकल्ली डिसेबल’ बालबालिकालाई उपचार गरि शसक्त बनाउने अभियानमा छौ ।’
लामाले सुखि भिमफेदी, समृद्ध भीमफेदी बनाउने अभियानको सुरुवात यो निर्णयबाट भएको उनको भनाई रहेको छ । बालबालिकाको स्वास्थ्य शिक्षा तथा उनीहरुको लालनपालनको सबालमा गाउँपालिका गम्भिर भएको भन्दै उनले अबको पाँच वर्षमा भीमफेदीका कुनै पनि बालबालिका र उनीहरुको अविभावकको अनुहारमा दुखको रेसा नदेखिने दाबी गरे ।
मकवानपुर । मकवानपुर जिल्लाको थाहा नगरपालिका पालुङबाट प्रहरीले ४ क्वीन्टल गाँजा र मिनि ट्रक बरामद गरेको छ ।
थाहा नगरपालिकाको वडा ३ बाट ४ सय २२ किलो लागूऔषध गाँजा मिनि ट्रक नियन्त्रणमा लिएको हो । यसैगरी प्रहरीले हेटौंडाबाट ३३ बोतल लागुऔषध वनरेक्स सहित १ जना नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले बताएको छ ।
ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले सवारी साधन जाँज गर्ने क्रममा थाहा नगरपालिका वडा नं ३ बायोखोला स्थित डाँडाबास जाने पालुङ पक्की सडकको छेउमा बेवारिसे अवस्थामा रोकी राखेको मिनि ट्रक नियन्त्रणमा लिएको हो ।
प्रहरीले ना ६ ख ३२४३ नम्बरको महेन्द्रा कम्पनीको मिनि ट्रकको पछाडी तर्फ सामान लोड गर्ने भागमा सेतो रङ्गको १४ वटा बोराहरु भित्र टेपले बेरी प्लाष्टिकको डोरीले बाधिएको २८ प्याकेटमा ४ सय २२ किलो लागू औषध गाँजा फेला पारेको मकवानपुर प्रहरी प्रवत्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए । प्रहरीले गाँजा बरामद गरी मिनिट्रकलाई नियन्त्रणमा लिएको छ ।
यसैगरी प्रहरीले आजै मकवानपुरगढी गाउँपालिका ४ घर भई हाल हेटौडा १ बस्ने ३९ वर्षिय रामकृष्ण लो लाई पनि नियन्त्रणमा लिएको छ । लोले आफू बस्ने डेराको पलाङ मुनी लुकाई राखेको अवस्थामा लागुऔषध पाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
लो बस्ने कोठाबाट वनरेक्स ३३ बोतल बरामद गरीएको र उनलाई पनि थप अनुसन्धानको लागि नियन्त्रणमा लिएको कार्कीले बताए ।