मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर –१४ मा रहेको भृकुटी माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा राजकुमार मोक्तान सर्वसम्मत चयन भएका छन् ।
उनी दोस्रो कार्यकालको लागि चयन भएका हुन् । व्यवस्थापन समिति सदस्यहरुमा वडा प्रतिनिधिबाट १४ नम्वर वडा सदस्य विना थिङ , विद्यालय प्रतिनिधिबाट विद्यालयका प्रधानध्यापक अच्युत कृष्ण रिजाल, निशा गुरुङ, जगत बहादुर सिन्तान, राम बहादुर भ्लोन, पार्वती लोप्चन, सुनामाया पाख्रिन सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी, विद्यालय व्यवस्थापन समितिको सल्लाहकारहरुमा रामबहादुर रुम्बा र विजयी थिङ् चयन भएका छन् ।
वि.स २०७७ सालमा अध्यक्ष भएका अध्यक्ष मोक्तानले दोश्रो कार्यकालसम्म जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालय बनाउन र विद्यालयलाई देशकै उत्कृष्ट विद्यालय बनाउने अभियानमा लागि पर्ने प्रतिवद्धता ब्यक्त गरे । अध्यक्ष मोक्तानले यसअघिको पहिलो कार्यकालमा कोभिडका कारणले गर्न नपाएका कामहरु दोश्रो कार्यकालमा गर्ने समेत बताए । कक्षा १० सम्म पठनपाठन हुने यस विद्यालयमा ३ सय ३० भन्दा बढि विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।
मकवानपुर । बागमती प्रदेशमा मन्त्रालय भागबन्डाको विषयमा भएको आपसी खिचातानी केन्द्रीय नेतृत्वको दबाबमा मिलाइएको छ ।
प्रदेश तहमा दलहरुको मागलाई सम्बोधन गर्दै भागबण्डा मिलाउन नसकिएपछि विहीबार दिउँसो नेतृत्वलाई केन्द्रीय नेतृत्वले काठमाण्डौ बोलाएको थियो । काठमाण्डौमा राती अबेरसम्म चलेको छलफलपछि भागबण्डा मिलाइएको बुझिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा यो विषय मिलाइएको हो । भागबण्डा विवाद नमिल्दा माओवादी नेतृत्वको बागमती सरकार निरन्तर दबाबमा परेपछि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेशका नेताहरूलाई बालुवाटार बोलाएका थिए ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा र नेकपा एकीकृत समाजवादीका नेता तथा निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनाललाई राखेर प्रधानमन्त्री प्रचण्डले विवाद मिलाएका हुन् ।
अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सरकारका उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको बालुवाटार बैठकमा प्रचण्डले लामा र खनाललाई मिलेर जान सुझाएका थिए ।
गठबन्धनका शीर्ष नेतृत्वको निर्देशनअनुसार भागबन्डा विवाद मिलेको नेता खनालले जानकारी दिएका छन् । खनाका अनुसार यससंगै झण्डै २ महिनादेखि मन्त्रालयको विषयमा भएको विवाद टुङ्गीएको छ ।
उनका अनुसार एकीकृत समाजवादीले २ र काँग्रेसले ३ वटा मन्त्रालय पाउने पक्का भएको छ । यस अघि मंगलबार पनि मोटामोटी यही सवालमा सहमति मिलेपछि आपसी विद्रोह कायम रहेको भन्दै अन्तिम प्रयासको लागि काठमाण्डौ बोलाइएको थियो । नेतृत्वले अबको ३ दिनभित्र सरकार विस्तार गर्नेगरी निर्देशन दिएको छ । “आइतबारसम्म सरकार विस्तार गर्नुपर्ने छ” खनालले भने “अब चाँही विवाद सकियो ।” सत्तासिन दलहरुको मन्त्रालय भागबण्डाको विवादले प्रदेश सरकार आफ्नो गतिमा अघि बढ्न सकेको थिएन ।
यसअघि नेपाली कांग्रेसले ६ वटा र एकीकृत समाजवादीले दुईवटा मन्त्रालय नलिई नछोड्ने अडानका कारण विगत ५४ दिनदेखि सरकार पूर्ण हुन सकेको थिएन । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मंगलबार कांग्रेसलाई पाँचवटा र एकीकृत समाजवादीलाई दुईवटा मन्त्रालय भागमा पर्ने गरी भागबन्डा लगाइदिएपछि विवाद आपसी तिक्तता अझै बढेको थियो । मुख्यमन्त्री जम्मकट्टेलले लगाएको भागबण्डाले चित्त नबुझेपछि एकीकृत समाजवादीले सरकार छोड्नेसम्मको चेतावनी दिएको थियो ।
प्रदेश सरकारमा खटपट हुने संकेत पाएपछि प्रधानमन्त्री प्रचण्डले नेताहरूलाई बालुवाटारमा बोलाएर मन्त्रालयको भागबण्डा मिलाएका हुन् ।
बागमती प्रदेशसभामा नेपाली कांग्रेसको ३७, एमालेको २७, माओवादीको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ साँसद छन् ।
मकवानपुर । मकवानपुरमा रहेर अनलाइन मिडियामा आवद्ध पत्रकारहरुकाे छाता संगठनकाे रुपमा अनलाइन मिडिया एशोसिएसन नेपाल (ओमान)को तदर्थ समिति गठन गरिएकाे छ ।
अनलाईन मिडिया सञ्चालकहरुको छाता संगठनको रुपमा ओमान गठन गरिएको हाे । हेटौंडामा आयोजित अनलाइन सञ्चालकहरुको भेलाले खबरब्रेक अनलाइनका सञ्चालक धर्मेन्द्र दाहालको अध्यक्षतामा समिति गठन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा रवीन्द्र गौतम (हेटौंडा खबर), उपाध्यक्षद्वयमा सुनिता विष्ट (पालिका डायरी) र रुपक कालिराज (हजुरको खबर), महासचिवमा उज्वल अधिकारी (नेपाल कलम), सचिवद्वयमा मनोज देवकोटा (हेटौंडा टुडे) र राजेश थापा ( रातोसमाचार) र कोषाध्यक्षमा प्रवेश धिताल (साझापत्र) चयन गरेको हो ।
त्यस्तै सदस्यहरुमा दीपेश दाहाल (अखबार हव), गोविन्द तिमल्सिना (शुभसमय), भूपेन्द्र राना (थाहापाना) चयन भएका छन् । आवश्यकताको आधारमा थप केही सञ्चालकहरुलाई कार्यसमितिमा ल्याइने अध्यक्ष दाहालले बताए । स्वरोजगार अनलाइन मिडियालाई स्तरीय र विश्वसनीय बनाई टिकाउने वातावरण बनाउन संस्थाले पहल गर्ने उनले बताए ।