मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ५६१ ग्राम सुन जस्तो देखिने पहेलो धातु बरामद गरेको छ । सुनको मुल्य अन्दाजी ५४ लाख रहेको छ ।
प्रहरी उक्त धातुसंगै एक जनालाई नियन्त्रणमा लिएको छ । हेटौंडा उपमहानगरपालिका १५ रातोमाटे चेक पोष्ट अगाडी सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरु जाच गर्ने क्रममा धातु सहित अबैध कपडा समेत बरामद गरेको छ ।
बिरगंजबाट पोखरा तर्फ जादै गरेको ग २ ख ६९२ नं. को यात्रु बाहक बसको डिक्की भित्र लुकाई ल्याएको अवस्थामा साडी १०० पिस, सल ६०० पिस गरी अन्दाजी १० लाख ५ हजार मुल्य बराबरको अबैध कपडा बरामद गरेको हो ।
कपडा र धातु थप अनुसन्धानको लागि राजस्व कार्यालय पथलैया पठाइने प्रहरीले जनाएको छ ।
प्रहरीले काठमाण्डौबाट आउदै गरेको प्रदेश २-०३-००१ ख ०१५९ नं. को यात्रु बाहक बसमा सवार बिरगंज महानगरपालिका वडा नं. १६ बस्ने बर्ष २२ को किशन साहलाई नियन्त्रणमा लिएको हो ।
निजले लगाएको जुत्ताको नोक भित्र ३ थान सुन जस्तो देखिने पहेलो धातु ५६१ दशमलव ३० ग्राम बरामद गरेको हो ।
मकवानपुर । चुनावकाे अगाडि अर्काे पार्टीकाे पक्षमा मत माग्ने कुरा राजनीतिक रूपमा घातक हुनसक्ने विश्लेषण पार्टीले गरेको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन् ।
“प्रकारान्तरमा त्यसले पार्टीप्रतिकाे विश्वास डगमगाउने र घात हुनसक्ने अवस्था बन्दाे रहेछ” उनले भने “अब यसो नगर्ने निधोमा नेपाली काँग्रेस पुगेको छ ।”
आगामी भदाैमा कांग्रेसले नीति अधिवेशन गर्न लागेको र नीति अधिवेशनबाट यस्तो सवालमा संकल्प गर्नुपर्ने उनले बताए । “अब कांग्रेसकाे जीनमा बरु ५ पटक चुनाव हारे हारिन्छ, वडादेखि केन्द्रसम्म, राष्ट्रपतिदेखि प्रधानमन्त्रीकाे चुनावमा जस्ताेसुकै अफ्ठ्यारो परे पनि, नेपालकाे तमाम् पार्टी मिलेर एउटै पार्टी बनाए पनि कांग्रेसले तालमेल गर्दैन” उनले भने ।
नेपाली कांग्रेस क्षेत्र नम्बर २ र २ ‘ख’ काे साेमबार हेटाैंडा-१९ बस्तीपुरमा भएकाे भेलालाई सम्बाेधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
आगामी निर्वाचनमा कांग्रसले कुनै पनि पार्टी वा शक्तिसँग तालमेल नगर्ने नीति लिने स्पष्ट पारेका हुन् । नेपाली कांग्रेस विचार प्रधान पार्टी भएकाले सत्ताका लागि कसैसँग सम्झाैता नगर्ने उनले बताए ।
तालमेल मात्र नभई कांग्रेसले सत्ताका लागि विचारसँग सम्झाैता नगर्ने उनले स्पष्ट पारे । बरु सरकार छाेड्नुपरे छाेड्ने तर, कांग्रेसकाे लागि विचार र सिद्धान्त सबैभन्दा महत्वपूर्ण कुरा भएकाे भन्दै त्यसलाई स्थापित गरिनुपर्नेमा थापाकाे जाेड थियाे ।
चुनावअघि नै गठबन्धन गर्दा पार्टीप्रति गलत धारणा बनेकाे भन्दै उनले बरु कांग्रेस चुनाव हार्न र सत्ता बाहिरै बस्न तयार रहने स्पष्ट पारे ।
‘हाम्राे इमेज कस्ताे बन्याे कि सरकारमा पुग्नका लागि चुनावअघि एउटासँग घाँटी जाेड्न पनि पुग्छ, त्याे सरकारमा पुगेन भन्ने रिसमा चुनावपछि अर्काेसँग घाँटी जाेड्न पनि पुग्छ । सत्ताका लागि जस्ताेसुकै सम्झाैता गर्छ भन्ने छवि बन्न पुग्याे, गल्ती जहाँबाट भएकाे छ, त्यहिँबाट सच्याउनुपर्छ ।’ थापाले भने ।
आम नागरिकमा राजनीतिप्रति वितृष्णा जागेकाे र आत्मविश्वास र आशा गुमाइरहेकाे भन्दै कांग्रेसले जनताकाे निराशालाई चिर्ने थापाले प्रतिवद्धता जनाए । ‘हामी निराश हुनुहुँदैन, कांग्रेस आफू जित्न आएकाे पार्टी हाेइन, कांग्रेस देशलाई जिताउन आएकाे पार्टी हाे ।’ थापाले भने । नेपाली कांग्रेस प्रगतिशील समाजकाे कल्पना गरी कार्यान्वयन गराउने पार्टी भएकाे भन्दै थापाले जनभावनालाई निरन्तर सुन्ने प्रतिवद्धता जनाए । ‘कांग्रेस उत्तेजित शक्ति पनि हाेइन, कांग्रेस यथास्थितिवादि पनि हाेइन । कांग्रेस त प्रगतिशिल शक्ति हाे, कांग्रेस प्रश्न हाेइन, उत्तर हाे ।’ थापाले थपे ।
चुनावकाे बेला उम्मेद्वार छान्ने कुरा सबैभन्दा जटिल बनेकाे भन्दै थापाले वडाकाे टिकट चुनावकाे ६ महिनाअघि त्यसै वडा तथा पालिका वा क्षेत्रका कार्यकर्ताले सर्वसम्मत वा निर्वाचनमार्फत छान्ने गरी नीति बनाउनुपर्ने धारणा राखे ।
कांग्रेस सक्किएर हाेइन सच्चिएर र परिवर्तन भएर अघि बढ्नुपर्ने भन्दै उनले भने -‘कमजाेर कांग्रेसकाे महामन्त्री हुनुभन्दा बलियाे कांग्रेसकाे साधारण सदस्य मञ्जुर छ तर, कांग्रेस सच्चिएर जान जरुरी छ ।
कार्यक्रममा बाेल्दै नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले कांग्रेस एकजुट भएर जनताकाे हितमा लाग्नुकाे विकल्प नभएकाे बताए । नागरिकमा छाएकाे निराशा चिर्न काम गरेर देखाउनुपर्ने उनकाे भनाइ थियाे ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, पूर्व सभापतिहरु माइकल रामचन्द्र अर्याल, रघुरमण न्याैपाने, पार्टी जिल्ला उपसभापति आनन्द कठायत, सचिव ईश्वर पाठक, सहसचिव इन्दिरा न्याैपाने प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सभापति दामाेदर खनाल, चितवन क्षेत्र नम्बर १ का सभापति किरण वली, महासमिति सदस्य राजकुमार मल्ल, राजेश भेटवमल, मकवानपुर १ (क) का सभापति सुशान्त श्रेष्ठ, मकवानपुर २(ख) का सभापति रन्जन कालाखेती, थाहा नगर सभापति प्रमाेद जाेशी, मनहरी ८ का सभापति भिमसेन लामालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
मकवानपुर क्षेत्र नम्बर २ का सभापति लाेक मुक्तानकाे सभाध्यक्षतामा कार्यक्रम भएकाे हाे ।
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आगामी ३२ गते बस्ने भएको छ । प्रदेश सभा बैठक ३२ जेठमा बस्ने गरी आज आह्वान गरिएको छ ।
बैठक अपराह्न २ बजे बस्ने गरी आह्वान गरिएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
प्रमुख सचिव खड्का अनुसार, आगामी आर्थिक वर्ष २०८०।०८१ को आर्थिक संवेक्षणमाथि छलफल गर्न प्रदेश सभा बैठक आह्वान गरिएको हो ।
उक्त बैठकका लागि कार्यसूची तयार पार्न जेष्ठ ३१ गते अपराह्न २ बजेको समयमा कार्यपरामर्श समितिको सर्वदलीय बैठक पनि आह्वान गरिएको प्रमुख सचिव खड्काले बताए ।
प्रदेश सभाको बैठक यसअघि गत जेष्ठ १९ गते सरकारको नीति तथा कार्यक्रम पारित भएपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको थियो । नीति तथा कार्यक्रममा अत्यावश्यक कार्यक्रमहरु छुटाएको भन्दै प्रमुख प्रतिपक्ष रुष्ट छ ।
मकवानपुर । मकवानपुरको हेटौंडामा बागमती प्रदेश युवा सम्मेलन २०८० हुने भएको छ । बागमती प्रदेश युवा परिषद्ले आगामी ११ र १२ असारमा हेटौंडामा प्रथम प्रदेश युवा सम्मेलन आयोजना गर्न लागेको हो ।
यसकाे लागि परिषदकाे कार्यालयमा सचिवालयकाे स्थापना समेत गरिसकिएकाे छ । सम्मेलनमा प्रदेशका १३ जिल्लाबाट समावेशीताको आधारमा युवाको सहभागिता रहने युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले बताए ।
युवा पुस्तालाई मुलुक र समाजप्रति जिम्मेवार बनाउन, नवप्रवर्तन, उद्यमशीलता र उच्च व्यक्तित्व विकास गर्न प्रेरित गर्ने उद्देश्यले युवा सम्मेलनको आयोजना गरिएको चौलागाईले बताए ।
सम्मेलनमा युवालाई अभिमुखीकरण र अभिप्रेरित गर्ने गरी ख्यातीप्राप्त व्यक्तित्व, सम्बन्धित क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तित्वलाई स्रोतव्यक्तिकोरुपमा सहभागी गराइने छ ।
सम्मेलनमा सहभागी युवाले आफ्ना अनुभव, अपेक्षा र योजना प्रस्तुत गरेर अन्तरक्रियात्मक सहभागीता जनाउने छन् ।
दुईदिन हुने सम्मेलनमा ५ वटा महत्वपूर्ण सत्रको आयोजना गरिनेछ। सम्मेलनमा नवप्रवर्तन र नवीनतम् सोंचको विषयमा कारखाना समूहका प्रमुख कार्यकारी अधिकृत पवित्रबहादुर गौतमले युवासँग अन्तरक्रिया गर्नेछन् । कारखाना समूह विद्यालय तहको गुणस्तरीय शिक्षाका लागि गैरसरकारी तवरबाट क्रियाशील संस्था हो ।
यसैगरी सूचना प्रविधिका विषयमा गिरिराज त्रिपाठीले सम्मेलनमा सहभागी युवासँग अन्तरक्रिया गर्नेछन् । त्रिपाठी युवा वैज्ञानिक कोषका सदस्य हुन् ।
यसैगरी सामाजिक र सार्वजनिक जीवनमा युवा सहभागिताका विषयमा टेलिभिजन पत्रकार टिकाराम यात्री र विद्या चापागाईंसँगै लेखक तथा विश्लेषक केशव दाहालले अन्तरक्रिया गर्नेछन् ।
उद्यम एवम् व्यावसायिक सुरुवात र उद्यमशीलताका विषयमा डाक्टर सुयश कार्की र पूर्वमिस नेपाल अनुष्का श्रेष्ठले अन्तरक्रिया गर्नेछन् ।
डा कार्की डाक्टर अन कल अनलाइनका सञ्चालक हुनुहुन्छ भने पूर्वमिस नेपाल श्रेष्ठ नेपाली उत्पादनको प्रवर्द्धनमा सक्रिय छिन् ।
यस्तै सामाजिक सञ्जालका विषयमा सन्तोष सिग्देल र उज्ज्वल आचार्य, राष्ट्र निर्माणमा युवाको भूमिका विषयमा माधव ढुंगेल, महेश दाहाल र सुरेन्द्र बस्नेतको प्रस्तुती रहनेछ ।
सम्मेलनमा १५० युवाको सहभागिता रहनेछ । सम्मेलनमा सहभागी हुन २० देखि ३५ वर्ष उमेर समूह तोकिएको छ । “युवाको सहभागितालाई प्रभावकारी बनाउन जिल्लाको सामुदायिक क्याम्पसका उत्कृष्ट विद्यार्थी, आदिवासी जनजाति, दलित, सिमान्तकृत समुदायलाई प्राथमिकता दिई कम्तिमा २ जना युवा महिलालाई सहभागी गराउने छौ” चौलागाईले भने ।
यसको लागि प्रत्येका जिल्लाबाट जिल्ला युवा समितिमार्फत नै ७५ जना सहभागी सिफारिस गर्नेछ । यसैगरी अनलाइनमार्फत सहभागिताका लागि ६० जना युवा सहभागी हुनेछन् । यस्तै सरोकारवाला निकायको सिफारिसमा १५ जना सहभागी हुनेछन् ।
कार्यक्रमबारे पत्रकार सम्मेलन गर्दै चौलागाईले लक्ष्यित वर्ग र समूदायको व्यक्तिलाई सहभागी गराउन विशेष पहल गरिने बताए । पत्रकार सम्मेलनमा प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले युवालाई स्वरोजगार र आत्मानिर्भर बनाउन यो सम्मेलन महत्वपूर्ण हुने बताइन् ।
कार्यक्रममा सहभागीताको लागि मापदण्ड यहाँ हेर्नसक्नुहुनेछ ।

मकवानपुर । खडेरीकाे समय लम्बिरहेकाे छ । ताताे हावा चलिरहेकाे कारण विद्यालयहरु बन्द छन् बालबालिकाहरुकाे सिकाइ प्रभावित बनेकाे छ । यसैबिच यसवर्ष बाढीपहिरो लगायत मनसुनजन्य प्रकोपबाट उच्च क्षेति हुने अनुमान सार्वजनिक भएकाे छ ।
यसवर्ष बाढीपहिरो लगायत मनसुनजन्य प्रकोपबाट देशभर साढे १२ लाख नागरिक प्रभावित हुने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले मनसुनजन्य जोखिमको अवस्थाबारे जानकारी गराउँदै यस वर्ष १२ लाख ५० हजार नागरिक प्रभावित हुनसक्ने बताएका हुन् ।
प्राधिकरणको विश्लेषण अनुसार कोशी प्रदेशमा तीन लाख एक हजार १४३, मधेशमा चार लाख तीन हजार १८०, बागमतीमा ९६ हजार ८५८, गण्डकीमा ६९ हजार ७४४, लुम्बिनीमा एक लाख ९९ हजार ८६२, कर्णालीमा ३५ हजार ३३३ र सुदूरपश्चिममा एक लाख ४७ हजार १८१ जना प्रभावित हुने आंकलन छ ।
मनसुनजन्य प्रकोपको पूर्वसूचना तथा पूर्वकार्यका लागि देशका ३४ स्थानमा स्मार्ट साइरन जडान, विपद् सामूहिक उद्धार सवारी तथा ‘ए क्लास’ एम्बुलेन्सहरु खरिद गरी सातवटै प्रदेश र काठमाडौं उपत्यकामा एक-एकवटा रहने व्यवस्था मिलाइएको पोखरेलले जानकारी दिए ।
मनसुनजन्य प्रकोपबाट बच्न जिल्ला जिल्लामा समेत पुर्व तयारी गरिनु आवश्यक छ । स्थानीय तहहरुमा पनि यसबारे उच्च तयारी आवश्यक रहेकाे तर हालसम्म यसबारे कुनै तयारी नगरिएकाेमा मकवानपुरगढि गाउँपालिकाका सञ्जय लामाले दुख व्यक्त गरे ।