पानीमा डुबेर हुने मृत्यु एक गम्भिर र मौन विपद्को रुपमा देखा परिरहेको छ। अहिले वर्षाको समय छ। बाढी पहिरोको जोखिम बढिरहेको छ। खोला, नदीहरु उर्लेका छन्। ताल, पोखरी, कुवा, कुलो, खोल्सा, ढल, खाल्डाखुल्डी आदि पानीले भरिएका छन्। दिनहुँजसो नदी, खोला, पोखरी, ताल, इनार, खाल्डाखुल्डिमा डुबेर तथा नदिमा हामफालेर डुबि मानिसको मृत्यु भएका समाचार आइरहेका छन्। खासगरी बालबालिकाहरुको अन्जानमा डुबेर मृत्यु भइरहेको छ भने वयस्कहरुले पनि नदि पार गर्दा, पौडि खेल्दा, माछा मार्न जाँदा वा बाढि पहिरोको विपद्मा परी ज्यान गुमाइरहेका छन्।
विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विश्वभरी प्रति वर्ष ३० लाख भन्दा बढी मानिसहरुको पानीमा डुबेर मृत्यु हुने गरेको छ। जस अनुसार प्रत्येक एक घण्टामा विश्वमा ३० जना मानिसहरुको पानीमा डुबेर मृत्यु भइरहेको छ।ती मध्ये २४ प्रतिशत ५ वर्ष मुनिका बालबालिका रहेका छन्। तसर्थ यो १ देखि ४ वर्ष उमेर समूहका बालबालिकाहरुको मृत्युको चौथो कारण बन्न पुगेको छ। पानीमा डुबेर हुने मृत्यु मध्ये करीब ९२ प्रतिशत मृत्यु नेपाल जस्ता कम र मध्ये आय भएका देशहरुमा भएको तथ्याङ्क छ।
नेपाल भू-परिवेष्टित देश भएतापनि यहाँ प्रसस्त मात्रामा नदी, ताल, प्राकृतिक तथा मानव निर्मित पोखरी, कुवा तथा अन्य जलस्रोतहरु रहेका छन्। हाल पौडी पोखरी/स्विमिङ पुलको निर्माण र प्रयोग पनि फेसन जस्तै भएको छ। यीनै नदी, खोला, कुलो, कुवा, सिंचाइ नहर, खुला इनार, खाल्डाखुल्डी, स्विमिङ पुल तथा आकस्मिक बाढीमा डुबेर धेरै मानिसको मृत्यु हुने गरेको छ। नेपालमा पानीमा डुबेर हुने मृत्यु सम्वन्धी विस्तृत अध्ययन तथा अनुसन्धान हुन सकेको छैन। जसले गर्दा यसका विश्लेषणात्मक तथ्याङ्क एवं मृत्युका कारणहरु सम्वन्धी विशेष प्रतिवेदनहरु छैनन्। तर नेपाल प्रहरीको तथ्याङ्क अनुसार आ.व. २०७१/७२ मा ५ सय ५० जनाको पानीमा डुबेर मृत्यु भएको थियो भने आ.व. २०८०/८१ मा ८ सय ६७ जनाको मृत्यु भएको थियो। विश्व स्वास्थ्य संगठनको सन् २०२४ को प्रतिवेदनले नेपालमा वार्षिक एक हजार ६ सय जनाको पानीमा डुबेर मृत्यु हुने प्रक्षेपण गरेको छ। जस अनुसार प्रत्येक दिन ४ जना भन्दा बढी मानिसहरुको पानीमा डुबेर मृत्यु भइरहेको छ। यसलाई अकाल मृत्यु भनिन्छ। जसलाई सामान्य रोकथामका विधि अपनाएमा बचाउन सकिन्छ।
आ.व. २०७१/७२ देखि आ.व. २०८०/८१ सम्मको दश वर्षको नेपाल प्रहरीको तथ्याङ्कलाई हेर्ने हो भने नेपालमा ७ हजार ३५ जनाको पानीमा डुबेर मृत्यु भएको देखिन्छ। यो त नेपाल प्रहरीमा दर्ता भएका र प्रहरीको अनुसन्धानमा आएका घटनाहरु मात्र हुन। नेपालमा पानीमा डुबेर हुने मृत्युको संख्या सबै भन्दा बढी मधेस प्रदेश र त्यसपछि लुम्बिनी प्रदेशमा देखिन्छ। खास गरी बालबालिका, जलासय नजिक बसोबास गर्ने समुदाय, माछा मार्ने, पौडि खेल्ने, मदिरा र लागू पदार्थ सेवन गरी नदी, खोला,खोल्सा तर्न खोज्ने ब्यक्तिहरु डुबेर मृत्युहुने जोखिम समूहमा पर्दछन्।
डुबेर हुने मृत्यु रोकथामबारे विश्व स्वास्थ्य संगठनको महासभाबाट सन् २०२१ मा संकल्प प्रस्ताव पारित भएको थियो। जस अनुसार १२ वटा कानूनी प्रावधानहरु पास गरिएका थिए। तर नेपाल सरकारले हालसम्म ती मध्ये कुनैलाई पनि पारित गरेको छैन। नेपालमा हालसम्म पानीमा डुबेर हुने मृत्यु रोकथामको लागि ऐन, नियम, नियमावली, रणनीति एवं कार्यनीतिहरु बनेका छैनन्। यसबाट प्रष्ट हुन्छकी नेपाल सरकारले यसलाई समस्याको रुपमा स्विकार गरेको छैन। यस सम्वन्धी सरकारी स्तरमा ब्यापक रुपमा बहस एवं पैरबी भएको छैन। नेपाल सरकारले तयार गरेको “विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४” एवं राष्ट्रिय विपद् प्रतिकार्य कार्यढाँचामा समेत पानीमा डुबेर हुने मृत्युको समस्यालाई प्रष्ट रुपमा समेटिएको देखिंदैन।
नेपाल जलस्रोतको धनी देश भएतापनि नेपालीहरुको पौडि खेल्ने सिप र क्षमता निकै कम देखिन्छ। यस सम्वन्धी समेत अध्ययन भएको पाईंदैन। पानीमा डुबेर हुने मृत्युलाई भवित्वय भनी पन्छिने प्रवृति छ। यो निकै गैर जिम्मेवारीपन हो। तसर्थ यसको मूल कारण पत्ता लगाइ रोकथामका उपायहरु अपनाउनु अपरिहार्य देखिन्छ। खास गरी विकास निर्माण वा अन्य कारणले खनिएका खाडलहरु वर्षायाम भन्दा अगाडी नै पुर्ने, विद्यालयको वरिपरि नदि, तलाउ, पोखरी आदि छन् भने घेरावारा लगाउने, नदिका पुलहरुमा बार लगाउने, विद्यालय स्तरदेखि नै पौडि खेल्ने सिपको विकास गराउने, उद्दार र उपचारको लागि विभिन्न तालिमहरु प्रदान गरी जनशक्ति तयार गर्ने, जनचेतना अभिबृद्धिका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने, जल सुरक्षा नीति तर्जुमा गर्ने, डुबेर हुने मृत्यु रोकथामका लागि रणनीति एवं कार्यनीति बनाइ कार्यान्वयन गर्नु जरुरी देखिन्छ।
प्रत्येक वर्ष जुलाई २५ तारिखलाई विश्व स्वास्थ्य संगठनले “विश्व डुबेर हुने मृत्यु रोकथाम (World Drowning Prevention Day)” को रुपमा विश्वव्यापी रुपमा मनाउने गर्दछ। नेपालमा पनि जनचेतना र पैरवी सम्वन्धी विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ। यस वर्षको दिवस मनाउनको लागि “डुबेर हुने मृत्यु रोक्न एकजुट होऔं (Unit to turn the tide)” भन्ने नारा तय गरिएको छ। तथापि, एकदिन दिवस मनाएर मृत्युलाई घटाउन सकिंदैन। यसको लागि ठोस कदन चाल्न ढीला भैसकेको छ। तसर्थ, सम्पूर्ण सरोकारवाला निकायहरु र तीनै तहका सरकारहरुको संयुक्त पहलबाट सन् २०३५ सम्म पानीमा डुबेर हुने मृत्युलाई ३५ प्रतिशतले घटाउने लक्ष्य प्राप्त गर्न सकिन्छ र अकालमा हुने मृत्युलाई कम गर्न सकिन्छ।
अन्तमा, पानीमा डुबेर हुने मृत्यु व्यक्तिगत एवं पारिवारिक समस्या मात्र नभै सामाजिक समस्या हो। यो एक प्रकारको जनस्वास्थ्य विपद् हो। सरकार वा नीजि क्षेत्रले विभिन्न प्रयोजनका लागि खनेका खाल्डाखुल्डिहरु समयमा नपुरेका कारणले त्यहाँ पानी जम्न गई बालबालिकाहरु अन्जानमा त्यस्ता खाल्डामा जमेको पानीमा डुबेर मर्नु एक प्रकारको सामाजिक अपराध हो। नदिमा हामफालेर डुबेर मर्नु विभिन्न सामाजिक निर्धारक तत्वहरुको नकारात्मक प्रभाव हो भने बाढीमा परेर, नुहाउने क्रममा पौडि खेल्दा, मदिरा सेवन गरी नदिमा जाँदा, माछा मार्न जाँदा, नदि पार गर्दा, स्विमिङ पुलमा पौडि खेल्दा डुबेर मर्नु असावधानी एवं पौडि खेल्ने सिपको अभाव हो। यसको लागि सरकारले जल सुरक्षा नीति तयार गरी विद्यायल स्तरदेखि नै डुबान सम्वन्धी सावधानी, पौडि खेल्ने सिप विकास, जनचेतना र सुरक्षा कवचमा लगानी गर्नु पर्दछ।
विद्यालयको अतिरिक्त क्रियाकलापमा जलसुरक्षा सम्वन्धी विषय समावेस गर्ने, विद्यार्थी र अभिभावकहरुलाई पानीमा सुरक्षित रहने उपायबारेमा जानकारी दिने, पौडि तथा उद्दार सम्वन्धी सामुदायिक तालिम सञ्चालन गर्ने, डुवानको प्राथमिक उपचार सम्वन्धी तालिमहरु सञ्चालन गर्ने आदि गरेमा मृत्युलाई कम गर्न सकिन्छ। यति गर्न सजिलो र व्यवहारिक पनि छ। यसको लागि स्थानी, प्रदेश र संघीय सरकार एवं विकास साझेदार निकाय र गैर सरकारी एवं नीजि निकायहरुबीच समन्वय र सहकार्य हुनु पर्दछ।
स्थानीय सरकारहरुले कम्तिमा जनचेतना अभिवृद्धि र डुबेर हुन सक्ने मृत्यु रोकथामका लागि वार्षिक कार्यक्रममा केही आर्थिक स्रोतको सुनिश्चितता गर्नु पर्दछ। विपद् व्यवस्थापनमा पानीमा डुबेर हुने जोखिम तथा मृत्युलाई समेत समावेस गर्नु जरुरी देखिन्छ। तसर्थ, पानीमा डुबेर हुने मृत्यु बिरुद्धको अभियानमा हातेमालो गरौं र डुबेर हुने मृत्यु रोकथाम गर्न एकजुट बनौं। डुबेर हुने मृत्यु रोकथाम दिवसको शुभकामना।
लेखक जनस्वास्थ्य विज्ञ हुनुहुन्छ