नेपाल सगरमाथाको देश, वीर गोरखालीहरुको देश, कृषि प्रधान देश, गौतम बुद्धको देश भनेर चिनिने गरेको कुरालाई ब्याख्या गरिरहनुपर्ने देखिंदैन । पछिल्लो घटनाक्रम सँगै यस्ता कुराहरु बिद्यालय र बिश्वबिद्यालयका पुस्तकहरु, चर्का भाषणहरु र बिस्तारै ईतिहासमानै सिमित हुने होकि भन्ने कुरा हरेक सजक नेपालीको मनमा उठ्ने अनुत्तरित ज्वारभाटा हो भन्दा अतियुक्ति नहोला ।
अहिलेको श्रम आप्रवासन, असुरक्षित बसाई सराई, केहि अपवादलाई छाडेर हरेक परिवारमा दैनिक रोजीरोटीको लागि बिदेशिनुपर्ने बाध्यता, युवापुस्ताले स्वदेशमा काम गर्ने सम्भाव्यता र भविष्य देख्न नसक्ने अवस्था, लगानीको उचित वातावरणको अभाव लगायत कयौं कारणहरु श्रम आप्रवासनमा उत्प्रेरित गर्ने आधारहरु बन्न पुगेका छन् । बिभिन्न बाध्यता, परिस्थिति र दूरदर्शीताको अभावमा यस्तो अवस्थालाई मुकदर्शक भएर हेरिरहेको सरकार र सस्तो तलबमा नेपालि यूवा बिदेश पठाउन गरिका अदूरदर्शी श्रम सम्झौतालाई हेर्दा नेपाल छिटैनै युवा विहिन वा युवाकाे उपस्थित नगन्य भएको मुलुकको रुपमा चिनिने परिस्थिति नहोला भन्न सकिन्न ।


नेपाली समाज र अर्थतन्त्रमा आप्रवासन एक गहिरो प्रभाव पार्ने प्रक्रिया हो । बसाइँसराइ मानव सभ्यताको सुरुदेखि नै हुने घटना भए पनि पछिल्ला दशकहरूमा श्रम आप्रवासन आर्थिक अवसरको प्रमुख बाटोको रूपमा स्थापित भएको छ (जोशी, सिंखडा र प्रिष्कोट, २०११) । सन् १९९० पछि उदार अर्थतन्त्र र रोजगारीको खोजीका कारण वैदेशिक रोजगारीको औपचारिककरण तीव्र गतिमा अगाडि बढेको तथ्यांङ्कले देखाउँछ (वैदेशिक रोजगार विभाग, २०१४ र २०२२) । वैदेशिक रोजगार विभागका तथ्यांकअनुसार दैनिक सरदर १ हजार ७ सय नेपाली विदेश गइरहेका छन् । सन् २०२१ को राष्ट्रिय जनगणना अनुसार करिब २२ लाख नेपाली विदेशमा रेहेका छन् । जसमा ८१.२८ प्रतिशत पुरुष र १८.७२ प्रतिशत महिला रहेका छन् । एउटा विकाशोन्मुख राष्ट्रको लागि यो संख्या निकैनै ठूलो हो । बैदेशिक रोजगार बिभागलृे हालसम्म ११० देशमा श्रम आप्रवासनको अनुमति दिएको देखिन्छ । अन्य केहि राष्ट्रसँग श्रम सम्झैताको तयारीमा पनि रहेको देखिन्छ ।
सन् २०१९ देखि २०२३–२०२४ को अनुमानित तथ्याङ्कमा नेपालमा श्रम स्वीकृतिको प्रवृत्ति विश्लेषण गर्दा

नेपालमा कोको आप्रवासनमा जाने गरेका छन् भनी तथ्यांकलाई ससर्ती हेर्दा नेपाली श्रमिक आप्रवासीहरूमा प्रायः २५ देखि ३५ वर्ष उमेर समुहका युवा बढी छन् (वैदेशिक रोजगार बोर्ड, २०२२) । दक्ष श्रमिक (जस्तै डाक्टर, नर्स, इन्जिनियर) मुख्यतः यूरोप, अमेरिका र अस्ट्रेलिया जस्ता विकसित मुलुकमा जाने गरेको देखिन्छ । त्यस्तै, अर्धदक्ष श्रमिक प्रायः एसियाली मुलुकहरूमा, र अदक्ष श्रमिक भारत तथा खाडी मुलुकमा रोजगारका लागि जाने गरेको पाईन्छ । त्यस्तै गोरखा सैनिक भने भारत र बेलायतमा जाने गरेको पाईन्छ । नेपालमा वैदेशिक रोजगारीको प्रमुख कारणमा रोजगारी अवसरको कमी, कमजोर आर्थिक अवस्था, सामाजिक सुरक्षामा सीमित पहुँच, र बालबालिकाको शिक्षा आवश्यकता जस्ता कुराहरु प्रमुख रुपमा पर्ने गरेको पाईन्छ (आई.एल.ओ २०२०, वैदेशिक रोजगार बिभाग, २०२२) ।
रेमिट्यान्स नेपालको अर्थतन्त्रको मेरुदण्ड बनेको छ भन्ने कुरा जग जाहेरनै छ । हरेक वर्ष करिब ८ अर्ब अमेरिकी डलर बराबरको रेमिट्यान्स नेपाल भित्रिने गरेको जस्ले कुल जसले कुल ग्राहस्थ उत्पादन (GDP) को करिब २५ प्रतिशत योगदान पुर्याएको तथ्थांकले देखाएको छ । यसले शिक्षा, स्वास्थ्य, ऋण तिर्ने क्षमता र उद्यमशीलता (व्यवसाय सुरु गर्ने) मा सकारात्मक प्रभाव पार्छ । करिब ३ मध्ये १ नेपाली घरपरिवारले रेमिट्यान्स पाउँछन्, जसले जीवनस्तर सुधारमा सहयोग पुर्याएको छ । (नेपाल राष्ट्र बैंक, २०२१ र विश्व बैंक २०२२) तर आर्थिक लाभसँगै यसले मानसिक स्वास्थ्यमा गहिरो असर पार्ने चुनौतीहरु पनि संगसंगै ल्याएको छ ।
तथ्यांकहरुलाई केलाउंदा विदेशमा रहेका नेपाली आप्रवासीहरूमा चिन्तानै मानसिक स्वास्थ्य समस्याको प्रमुख कारणको रुपमा रहेको पाईन्छ (महत एट. अल, २०२०; भाइटल साइन, २०२०) । त्यस्तै चिन्ता, डिप्रेसन, टाउको दुखाइ र आत्महत्या प्रयासहरू खाडी सहयोग काउन्सिल (जि.सि.सि) देशहरूमा पुरुष आप्रवासी कामदारहरूले सामना गर्ने प्रमुख स्वास्थ्य सम्बन्धी जोखिमहरूको रूपमा चिनिने गरेको छ (रेग्मी एट.अल, २०१९) । यस्तो हुनुको प्रमुख कारक तत्वहरुमा परिवारको उच्च अपेक्षा, काममा अनुचित व्यवहार, गरीब जीवन अवस्था, एक्लोपन, सामाजिक सहयोगको कमी र विदेशमा गरीब सामाजिक जीवन, मानसिक स्वास्थ्य सेवाहरूमा उचित पहुँचको अभाव जस्ता प्रमुख कारणको रुपमा रहेका छन् (रेग्मी एट.अल, २०२०) ।
त्यस्तै श्रम आप्रवासनले महिला, परिवार र समुदायमा बिषेशगरी यसले पारिवारिक संरचना, घरायसी कामकाज, हेरचाह, प्रजनन, र उत्पादन सम्बन्धी क्रियाकलापहरुमा प्रत्यक्ष प्रभाव पारेको पाईन्छ । त्यस्तै गैर–आप्रवासी जोडीहरूमा २६.३ प्रतिसत डिप्रेसनको ब्यापकता देखिन्छ भने र आप्रवासीहरुको श्रीमतिहरुमा ७९ प्रतिसत डिप्रेसन व्याप्त छ । यसको प्रमुख कारकहरूमा एक्लोपन, बढ्दो जिम्मेवारी र आर्थिक बोझ रहेको छ । त्यस्तै स्वदेश फर्किएका आप्रवासीहरूमा पनि केहि ब्यक्तिहरुमा मानसिक स्वास्थ्य समस्या रहेको अनुसन्धानले देखाउँछ । उनीहरूमा २९ प्रतिशत डिप्रेसन र २५ प्रतिशत चिन्ता हुने गरेको छ । जोखिमपूर्ण वा असुरक्षित काम र कार्यस्थल, पारिवारिक बिछोड, सामाजिक सञ्जालको अभाव र तोकिएको काम भन्दा फरक काम गर्नुपर्ने बाध्यता जस्ता प्रमुख कारणहरु रहेका छन् । विदेशमा स्थायी बसाइँ सरेका छोराछोरीका वृद्ध आमाबाबुले समेत उच्च स्तरको तनाव र चिन्ता अनुभव गर्ने गरेको तथ्यांकले देखाउंछ ।

तथ्यांकलाई हेर्दा प्रत्येक वर्ष करिब १ हजार नेपाली कामदारहरुको विदेशमा मृत्यु हुने गरेको देखिन्छ । जस्मा करिब १२ प्रतिशत आत्महत्या कारण मृत्यू हुने गरेको पाईन्छ (वैदेशिक रोजगार विभाग, २०२२, आई एल ओ २०२०) । सन् २०१९ देखि २०२१ सम्मको तथ्यांक लाई हेर्दा मलेशियामा ८०, साउदी अरेबियामा ७८, कतारमा ५० र संयुक्त अरब इमिरेट्समा ५८ आत्महत्या भएका छन् । मृत्युका अन्य कारणमा कार्यस्थल दुर्घटना, हृदयघात, खराब जीवन शैली र मानसिक स्वास्थ्य समस्या पर्छन् (वैदेशिक रोजगार विभाग, २०२२, विश्व स्वास्थ्य संगठन २०२१) ।
तिनै तहका सरकारले आप्रवासी श्रमिक र उनीहरूको परिवारको मानसिक स्वास्थ्य सुनिश्चित गर्न र सुरक्षित श्रम आप्रवासनको लागि बहुआयामिक नीति र दीर्घकालीन योजना तयार गर्न आवश्यक देखिन्छ । विदेश जाने व्यक्तिहरूलाई प्रस्थानपूर्व मानसिक स्वास्थ्य प्रशिक्षण प्रदान गर्नु, गन्तव्य देशमा सजिलो पहुँच हुने परामर्श तथा उपचार सेवा उपलब्ध गराउनु, र आप्रवासीमैत्री सामुदायिक समूहको निर्माण गर्नुपर्ने हुन्छ । साथै, लामो समयको पारिवारिक बिछोडले सिर्जना गर्ने तनाव कम गर्न परिवारसँग नियमित सम्पर्कको लागि डिजिटल माध्यम र सञ्चार सुविधा सुनिश्चित गर्नुपर्छ ।

आर्थिक सुरक्षा र श्रमिक अधिकारको संरक्षण पनि मानसिक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले बीमा, कानुनी सहायता र सुरक्षित रोजगार सुनिश्चित गर्न आवश्यक छ। यसका साथै, सरकारले मानसिक स्वास्थ्यको महत्त्वलाई वैदेशिक रोजगार नीतिहरू, अन्तर्राष्ट्रिय श्रम सम्झौता, र सामाजिक सुरक्षा कार्यक्रमहरूसँग समन्वय गरेर लागू गर्नु पर्दछ, जसले गर्दा आर्थिक लाभका साथसाथै आप्रवासी श्रमिक र उनीहरूको परिवारको मानसिक सुखसमृद्धि पनि सुनिश्चित गर्न सकियोस् ।

सन्दर्भहरुः
माथि प्रकासित बिवरण तलका सन्दर्भ सामाग्रीहरुको अध्ययन गरि तयार पारिएको हो ।
• Bhatt, D. C. (2023). Why do Labour Migrants Cross their Border? A comparative analysis between Nepal and India. Journal of Tikapur Multiple Campus. Available at https://journals.sagepub.com.
• Bossavie, L., & Denisova, A. (2018). Youth Labor Migration in Nepal. World Bank Discussion Papers. Available at https://worldbank.org.
• Aryal, G. (2021). Labor Migration and Social Development in Nepal. Journal of Population and Development. Available at https://nepjol.info.
• Mishra, M. (2020). Impact of International Labour Migration of Nepal. Pragya Journal of the University. Available at https://researchgate.net.Maystadt, J. F., Mueller, V., & Sebastian, A. (2014).
• Environmental Migration and Labor Markets in Nepal. Journal of Environmental and Resource Economics. Available at https://academic.oup.com.Kunwar, L. (2021).
• Foreign Labor Migration Causes and Impacts in Nepal. Patan Pragya Journal. Available at https://nepjol.info.Kathmandu Post. (2023). Nepal receives highest-ever remittances in a month. Kathmandu Post. Available at https://kathmandupost.com.
• Chapagai, M., et al. (2017). Psychiatric morbidity among repatriated Nepalese labor migrants. Journal of Institute of Medicine. Available at https://researchgate.net.