रिता लामा
१.
नत मेरो हार भयो नत उस्को जित भयो
दुँनिया सामु अट्टहास मात्र हाम्रो प्रित भयो
थाहा थिएन प्रेममा एकदिन रुनुपर्छ भन्ने
हेरन आज भुल्नै नसकिने अतीत भयो ।
२.
भिजेका परेली सुकाउँदा सुकाउँदै
अनुहारमा पीडा लुकाउंदा लुकाउंदै
पलभरमै सकिनेछ जिन्दगी हरे
दैव ऋण यो चुकाउँदा चुकाउँदै
३.
खुसि खुसि सुनाउँदा कथा बन्नेछ
आँसु लिई सुनाउँदा ब्यथा बन्नेछ
लेख्दैछु जिन्दगीको पानामा जिवनी
लाग्छ एकदिन ईतिहास कै गाथा बन्नेछ ।
४.
ठुला शहर डर लाग्छ कतै हराई पो हाल्छौ कि ?
पापि पेट यो भर्न कतै ईमान पो फाल्छौ कि ?
लागेर लत तड्क भड्क यो रँगिन दुनियाँको
अहो कही कतै कदम गलत पो चाल्छौ कि ?
भरतपुर चितवन
मकवानपुर । नेपाल मुक्तक प्रतिष्ठानले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । नेपाली मुक्तकको उन्नयनमा लागिपरेको प्रतिठानको आयोजनमा असोज ८ गते साँझ विजया दशमी र दीपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रतिष्ठानका बेलायत, दक्षिण कोरिया, अमेरिका र प्रदेश १ शाखाको भर्चुअल सहभागिता थियो । केन्द्रीय सदस्य यादव भट्टराईको सूत्रधारीमा सञ्चालित कार्यक्रममा बेलायतबाट प्रतिष्ठानका सल्लाहकार डा. रुपक श्रेष्ठ, अध्यक्ष दुर्गाप्रसाद पोख्रेल, उपाध्यक्ष प्रतिमा परदेशी, सदस्य कुमार के.सी. द. कोरियाबाट शाखाका अध्यक्ष आर. एन. अधिकारी, कोषध्यक्ष आर. पी.सी. संगम, सहकोषध्यक्ष रुशन सुवेदी, प्रदेश नं. १ बाट अध्यक्ष बाबुराम पोख्रेल, कोषाध्यक्ष राधा भट्टराई, अमेरिकाबाट आचार्य प्रभा प्रतिष्ठनको केन्द्र काठमाडौबाट कोषध्यक्ष निशा के.सी. सदस्यद्वय गुप्तबहादुर श्रेष्ठ र दिव्य गिरीको सहभागिता थियो ।
प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रामकाजी कोनेको सभापतित्त्वमा भएको कार्यक्रममा कार्यक्रममा सहभागी सबैले ३/३ वटा मुक्तक सुनाएका थिए । महासचिव रमेश पौडेलले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रतिष्ठानका शाखाको समेत संयोजनमा नियमित कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको पौडेलले जानकारी दिए ।
सम्झना थापा मगर
खै कहाँ छ ? हत्यारालाई कारागार सरकार ।
देशमा भइरहेको छ हत्या बारम्बार सरकार ।
महिलाले आफ्नो इज्जत ढाक्न मुस्किल भयो
खुल्लम खुल्ला भइरहेको छ बलात्कार सरकार ।
न्याय किन अन्धो हुँदै गएको होला आजभोलि
किन गरेनन् अधिकारको प्रचार प्रसार सरकार ।
बलत्कारीलाई छाडा भएर हिड्न दिनाले झन्
महिलाहरु माथि अति भयो अत्याचार सरकार ।
नेपालमा के वेथिति आयो यस्तो बुझ्न नसकीने
नदिएसम्म हरेक कामहरु हुँदैन पार सरकार ।
कसरी हुन्छ कु- कार्यहरु रोक्ने उपायहरु खोज्नुस्
नत्र भइरहने छ एक अर्कोमा काटमार सरकार ।
स्याङ्जा
मकवानपुर । साहित्य संगम मकवानपुरकाे ३ सय २३ औं साहित्य सन्ध्यामा खुला निबन्ध प्रतियोगिता भएकाे छ । विश्व मुटु दिवसकाे अवसरमा संगमकाे आयोजना भएकाे सन्ध्यामा विजया दशमीको शुभकामना आदानप्रदान एवम् खुला निबन्ध प्रतियोगिता भएको हो ।
शनिबार भएको खुला निबन्ध प्रतियोगितामा मकवानपुरे कवी चिरञ्जीवी लामिछाने प्रथम भएका छन् । सय पूर्णाङ्क रहेकाे प्रतियोगतामा ७८ अंक प्राप्त गर्दै लामिछाने प्रथम भएका हुन् । यस्तै ७६ अंक प्राप्त गर्दै प्रतिमा पौडेल द्वितीय, ७४ अंक प्राप्त गर्दै गरिमा थापा तृतीय र ७३ अंक प्राप्त गर्दै गौरी कँडेल सान्त्वना भएका छन् ।
प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः ५ हजार रुपैयाँ, ३ हजार रुपैयाँ, २ हजार रुपैयाँ र एक हजार रुपैयाँसहित पुरस्कृत गरिएको छ । प्रतियोगितामा १४ जनाको सहभागिता रहेको थियो । निमेष निखिल, सुवास खनाल र भवानी तिमल्सिनाले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।
संगमकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्ष तथा नेपाल हृदय रोग निवारण प्रतिष्ठानका केन्द्रिय सदस्य भगिरथ शर्मा खरेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । नेपाल हृदय रोग निवारण प्रतिष्ठान मकवानपुर शाखाले कार्यक्रममा प्रायोजन गरेको थियो ।
एसके ज्ञवाली
भन्न त मन थियो-
बा! तपाईं त खत्तम मान्छे
तर
मर्यादाको कसम, नैतिक शिक्षाले रोक्यो।
बा गुनासो गर्नुहुन्छ :
चाडपर्वको महत्त्व हराउँदै गयो रे
कुनै खुशी र उमंग देखिदैन रे आजकाल
दशै त दशै जस्तो नै भएन रे
बा भन्नुहुन्छ :
रोटे पिङ्मा चचहुईई गरिन्थ्यो र पो दशै दशै हुन्थ्यो
नयाँ नयाँ लुगामा रमाईन्थ्यो र पो दशै दशै हुन्थ्यो
लङ्घुर बुर्जा खेलिन्थ्यो र पो दशै दशै हुन्थ्यो
कौडा चाके दाउ हालिन्थ्यो र पो दशै दशै हुन्थ्यो
आह !
खसी काटेर केराको पातमा भाग लगाएको हेर्नुको मजा
गाउको कोटमा सराय नाच मेला हेर्नुको मजा
निधार भरी टीका थाप्दै गाउँ डुल्नुको मजा
मामा घर गएर गोजिभरी दक्षिणा बटुल्नुको मजा
अहिले कहाँ पाईन्छ र खै!
भन्न त ,भन्दिउ जस्तो लागेको हो:
मेरा बा,
छोरो हुन नजानेको बा बन्न नसकेको खत्तम मान्छे हुन
तर मर्यादाको कसम,नैतिक शिक्षाले रोक्यो।
बालाई स्पष्ट थाह छ
I hardly managed to pass
तर
दशैमा घर आएको पहिलो रातमै रिजल्ट सोध्नुहुन्छ
र गधालाई जस्तै घाँस हाल्नुहुन्छ
ए+ल्याएको भए
दशैमा साईकल किनिदिन्थे
तैले भने जस्तै ड.मार्टिनको जुत्ता हालिदिन्थे
बाले फिटिक्कै देख्नु हुन्न,
डि+बाट सि + मा उक्लिन मैले गरेको प्रयास
मात्रै आक्रोश युक्त गुनासो गर्नुहुन्छ
तैंले जिन्दगीमा केही गरि खादैनस
नाथे सि + ले के लछारिन्छ?
खाते बन्छ्स खाते,
गाउँ बाट झरेर मैले दुखले जोडेको
यत्रो घर ,जग्गा गाडी बेचेर खान्छ्स
र अलपत्र पार्छ्स तैंले हामीलाई बुढेसकालमा ।
बाले जत्ती फुर्ति लाएनि
मेरा बा का बा अर्थात बुढो हजुर बा गाउमै हुनुहुन्छ
यसैले जुरुक्क उठेर
भनिदिउ जस्तो लागेको थियो :
यत्रो बर्ष सहरमा बसेर
बा अटाउन सक्ने जाबो घर पनि बनाउन नसक्ने
तपाईं त खत्तम मान्छे हो
तर
मर्यादाको कसम , नैतिक शिक्षाले रोक्यो।
कहिलेकाही त
भत्काई दिउ जस्तो लाग्छ मर्यादाको पर्खाल
च्यातिदिउ जस्तो लाग्छ नैतिक शिक्षाको पाठ
र सोध्न मन लाग्छ:
बाल्यकालमा तपाईं जस्तै म रमाउन पाउने कि नपाउने ?
तपाईं सानो हुँदाको जस्तै दशै मलाई आउँछ कि आउदैन?
हजुरबुबाले तपाईंलाई हालिदिएको जस्तै पिङ
तपाईंले मलाई हालिदिने कि नदिने?
कोट र सरायको कथा-
मैले सुन्ने मात्रै हो कि हेर्न पनि पाउछु?
अझै भनौ तपाईं बा बन्ने कि नबन्ने?
मात्रै भने,
म होस्टेल बस्नेलाई किन चाहियो साईकल ?
स्कुल जुत्ता छदै छ किन चाहियो ड. मार्टिन ?
किताबमा दशै पढेकै छु किन जानू पर्यो गाउँ ?
तपाईं हरु जानुस , म होस्टेल फर्किन्छु
यसपटक
बाले मलाई केही भन्नू भएन
आमालाई गाली गर्नु भो-
“तैंले छोरो बिगारिस,मुखमुखै लाग्न थाल्यो
यसलाई श्रावण कुमारको कथा पढ्न भन “
झोक चल्यो म चिच्याय:
मैले पढ्ने नैतिक शिक्षा बाले पढ्नु पर्छ कि पर्दैन ?
बाले थप्पड हान्दै सोध्नु भो ” तैले खोजेको के ?”
मैले भने ” म श्रावण कुमारको छोरो हुन चाहन्छु।”
हेटौडा