
सराब कसरी पिउनु माँतै नभए पछि ।
टाढा बसेर रुनु किन साथै नभए पछि ।
सपनीमाँ सँधैभरि बिउँझाएर के काम
शिर दुख्दा दबाइदिने हातै नभए पछि ।
तिम्रो घर्को दैलो नाघ्न सारै गार्हो भयो
तिमीसंग मिल्ने मेरो जातै नभए पछि ।
सुख दुःख भए सबै पोख भन्छौ सँधै
कसो गरौँ मसंग कुनै बातै नभए पछि ।
हुरी आएर निमोठे झै लाग्छ जिन्दगी यो
डाली बनु म कसोगरी पातै नभए पछि ।
लमही, दाङ
शुष्मा थापा
रात थियो बात गर्न, तिमी भन्छौ म एक्लै थिए ।
साथ थियो घात गर्न, तिमी भन्छौ म एक्लै थिए ।
को रूदैन र रुवाउने साथैमा रहिरहँदा
विश्वास, भरोसा थियाे तिमी भन्छौ म एक्लै थिए
चिप्लेर लडे पो रूनु लडाउने साथैमा रहिरहँदा
खास थियो आस गर्न तिमी भन्छौ म एक्लै थिए ।
पछ्याउने उही छलाउने उही साथैमा रहिरहदा
सास थियो पश्चाताप गर्न तिमी भन्छौ म एक्लै थिए ।
पोखरा

सुरिलो भावमा गीत गाएरै तिमी चम्कियौ ।
चुम्दा ती ओठले शब्द गीत जीवन्त पार्दियौ ॥१॥
गाएका कण्ठले तिम्रा जति छन् गीत नै यहाँ ।
सदाबहार छन् ती ता शब्द कालजयी जहाँ ॥२॥
राम्रा शब्द हुँदा मात्र गायकी हुन्न सुन्दर ।
कला जो गाउने तिम्रो प्रतिभा अति अद्भुत ॥३॥
स्वर जादूमयी तिम्रो मन्त्रमुग्ध भए जन ।
जुनै प्रकारका गीत सुनिँदा भुल्दछन् जन ॥४॥

सबै शब्द तिमी तौली गाउँथ्यौ पूर्ण भावले ।
प्रेम-प्रकृति या पीडा हियाका सब ढङ्गले ॥५॥
तिम्रा गायनका स्रोता बाल वृद्ध सबै भए ।
तिम्रै भाव सुसेलेर कति ता गायकै बने ॥६॥
तिम्रै गायन सुन्छन् है जनले सुख-दुःखमा ।
चाहे स्वदेशमा व्यक्ति चाहे होस् है विदेशमा ॥७॥
गीतका स्वरसम्राट नेपाली स्वर नायक ।
तिमीलाई उछिन्ने क्वै जन्मेको छैन है अझ ॥८॥
हे नारायण गोपाल ! स्मृतिका शब्द यी चुनेँ।
प्रीतिले भावले श्रद्धा अर्पिँदै कविता उनेँ ॥९॥
छन्दः अनुष्टुप्
१९ मंसीर २०७९
स्वरसम्राट नारायण गोपाल स्मृति दिवस
बुटवल हाल कम्बोडिया
सुमित्रा सुमी
तिमी निसास्सिएर,
सिकार खोसिएको बाघले झैँ झम्टन्छौ,
आफ्ना क्रुर पन्जाले मलाई चिथोर्छौ,
मेरो मुलायम छाती गिद्धले झैँ लुछ्छौ ,
लाखेका झैँ डरलाग्दो आँखाले हेर्छौ ,
सजिलै मेरो भावानाको निर्मम हत्या गर्छौ,
आफ्नो मनको सारा भोक मेट्छौ,
अनि
निर्विवेक मेरै निर्दोष मुटुमा
लात बजार्दै फर्कन्छौ ,
बस् …..
यत्ती सहनकै लागि,
म स्वास्नी बन्न सक्दिन ।
ज्यूँदो भएर पनि मैले
ज्यूँदो हुनुको पराकाष्ठा त्याग्नुपर्छ,
आफैँलाई तिलान्जली दिएर बाँच्नुपर्छ,
तिमीलाई निर्विरोध जवानी पिलाएर,
हरपल मैले आँसुले तीर्खा मेट्नुपर्छ ,
यदि यस्तै-यस्तै नियत स्वीकार गर्दै,
तिम्रो आरामदायी बिछ्याउना मात्र
बनिदिनुपर्ने हो भने …..
भयो,
म स्वास्नी बन्न सक्दिन ।
शब्दकोषमा स्वास्नीको अर्थ सुवासिनी लेखिएजस्तै,
प्रेमले बोलिने प्रेमिका र शास्त्रमा मानिने अर्धाङ्गिनीजस्तै,
जिवनको आवश्यकता जीवनसाथी,
तर..
जो साथै भएकाबाट पनि
पाउनुपर्ने सहारा मिल्दैन भने,
भो महासय,
तिम्रो कामुकता मेटाउन मात्र …
म स्वास्नी बन्न सक्दिन ।
हर कोही नारीको जिन्दगी तयारी चाउचाउ होइन
भोक लागेको बेला काँचै खान,
र होईन पनि बाँदरको सिरानी ….
निद पुर्याएर च्यात्ने फाल्ने ,
त्यसैले त ,
मलाई स्वयं म हुनुको अर्थ खोज्नुछ ,
भयो अब
खोक्रो तिम्रो देखावटी रक्षाशास्त्र आफैंसँगै राख ,
जर्जर समाजको सामन्ती बकपत्र सुन्नुछैन मलाई ,
निदाउनकै लागि स्लीपिङ ट्याब्लेट खानुपनि छैन,
मलाई त केबल,
निर्दयी मान्छेका बन्द आँखा खोलेर,
अन्धो धृतराष्ट्रलाई,
नारीभित्रकी आमा, प्रीया, छोरी चिनाउनु छ,
प्रेम, आफ्नोपन र मानवीयता पढाउनुछ ,
त्यसैले ….
माफ गर प्रीय
म कोही कसैको भोक र मृगतृष्णा मेटाउन मात्र
स्वास्नी बन्न सक्दिन ,
जरुर, म स्वास्नी बन्न सक्दिन।
नुवाकोट
हेटौडामा अग्रज साहित्यकार तुल्सी थापालाई अभिनन्दन
Tags: No Comments
मकवानपुर । मकवानपुरका अग्रज साहित्यकार तुल्सी थापालाई हेटौडामा अभिनन्दन गरिएकाे छ । बुढ्यौली साहित्य समाज मकवानपुरकाे बार्षिक उत्सवमा थापालाई शनिबार नगद २ लाख रुपैयाँसहित अभिनन्दन गरिएकाे हो ।
साहित्यका कथा, कविता, दाना कविता र नाटकमा विशेष कलम चलाउनु हुने थापाले शिक्षा, स्वास्थ्य र सामाजिक सेवाको क्षेत्रमा योगदान पुर्याएकाेमा मकवानपुरका १७ वटा साहित्यिक संघ, संस्थाले संयुक्तरुपमा अभिनन्दन गरेको हो । यस्तै कार्यक्रममै अभिनन्दन ग्रन्थको रुपमा तुल्सी थापाकै विषयमा विभिन्न व्यक्तिकाे लेख समेटिएको पुस्तक पनि सार्वजनिक गरिएको छ । अभिनन्दन ग्रन्थमा थापाको व्यक्तित्व, कृतित्वका साथै उन विषयमा तयार पारिएका रचनासहित ३६ वटा लेख समेटिएको छ ।
लामाे समय शिक्षण सेवामा सेवारत थापा निवृत्त भएपछि साहित्य लेखनमा क्रियाशील थापाकाे सम्मानमा बुढ्यौली साहित्य समाज मकवानपुरले २ लाख रुपैयाँ बराबरको अक्षयकोष समेत स्थापना गर्ने भएकाे छ । अक्षयकोष स्थापना गरेर समाजले तुल्सी सरको सम्मानमा साहित्यकारलाई पुरस्कृत गरिने अध्यक्ष आरसी रिजालले जानकारी दिए ।
भक्तपुरका साहित्यकार कविराज घिमिरेको बुढ्यौली खण्डकाव्य समेत विमोचन गरिएकाे कार्यक्रममा सुदर्शन अधिकारी, निमेष निखिल, प्रताप विष्ट र पुरुषोत्तम आचार्यले थापाको कृतित्व तथा व्यक्तित्वबारे चर्चा गरेका थिए ।
बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आरसी रिजालको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हास्यव्यङ्ग्यकार एवम् एजिङ नेपालका अध्यक्ष कृष्णमुरारी गौतम (चट्याङ मास्टर) को विशिष्ट आतिथ्य रहेकाे थियाे ।