मकवानपुर । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान नेपालले ६ जना व्यक्तित्वलाई पुरस्कृत गर्ने भएको छ । प्रतिष्ठानले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरी पहिलो चरणमा विभिन्न क्षेत्रबाट पुरस्कृत हुने ६ जना व्यक्तिको नाम र प्रादेशिक पुरस्कर सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएका ब्यक्तिलाई पुष ९ गते शनिबार एक समारोहकाबीच पुरस्कृत गरिने प्रतिष्ठानका महासचिव केशवलाल श्रेष्ठले जानकारी दिए । प्रतिष्ठानले तुलसीमाया शिवकुमारी सिर्जनशील नारी पुरस्कारबाट मकवानपुरे साहित्यकार भावना सापकोटालाई पुरस्कृत गर्ने भएको छ । सापकोटालाई १० हजार रुपैयाँ राशिसहित पुरस्कृत गरिने भएको छ । सरकारी शिक्षक पेशामा आवद्ध रही साहित्य सिर्जनामा क्रियाशील सापकोटा आँचल साहित्य कला पुञ्जकी अध्यक्ष समेत हुन ।
यस्तै भीम–मथुरा बाल प्रतिभा पुरस्कारबाट हेटौंडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलकी छात्रा सुविज्ञा सुवेदी पुरस्कृत हुने भएकी छिन । बालसाहित्यमा सक्रिय सुवेदीलाई प्रदान गर्न लागिएको पुरस्कारको राशी ७ हजार ५ सय रुपैयाँ रहेको छ ।
यसैगरी विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार मकवानपुरका लोक गायक रविन्द्रकुमार चेपाङलाई प्रदान गरिने भएको छ । सरिखेत पलासेका स्थायी बासिन्दा चेपाङ रेडियो नेपालबाट ५० को दसकमा लिइएको स्वर परिक्षामा समेत सफल गायक हुन । चेपाङलाई २० हजार रुपैयाँ राशीसहित पुरस्कृत गरिने भएको हो । यता चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार साहित्यकार बासुदेव गुरागाईँलाई प्रदान गरिने भएको छ । साहित्यमा पिडालु पण्डितको उपनामले चिनिने गुरागाईँलाई १५ हजार रुपैयाँ राशीसहित पुरस्कृत गरिने बताइएको छ । गुरागाई हेटौंडा १८ हर्नामाडीका स्थायी बासिन्दा रहि नेपाल सरकारको सह सचिबबाट सेवा निवृत कर्मचारी हुन । हाल काठमाडौ गोंगबु निवासी गुरागाईका लघुकथा कबिता हास्यब्यङ्य सग्रह प्रकशित छन।
यसैगरी मंगलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कारबाट स्वास्थ्यकर्मी बेला वैद्यलाई पुरस्कृत गरिदैछ । बैद्यलाइ पुरस्कृत गरिन लागेको पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ । बैद्य स्वास्थ्य सेवामा स्थायी कर्मचारीको रुपमा कार्यरत रही सेवा निवृत कर्मचारी तथा हेटौंडाकी सफल स्वास्थ्य ब्यबसायी समेत हुन ।
अजित सेन गुप्ता स्मृति भिन्न क्षमता पुरस्कारबाट हेटौंडा–५, पिप्लेस्थित बालज्योति माविमा कार्यरत दृष्टिविहिन शिक्षक विदुर अधिकारीलाई पुरस्कृत गरिने भएको छ । दृष्टिविहिन विद्यार्थीलाई नै पढाउँदै आउनुभएका अधिकारीलाई १० हजार रुपैयाँ राशीसहित पुरस्कृत गरिने बताइएको छ ।
स्थापनाकालदेखि नै साहित्य, संगीत, सँस्कृति र कलाका क्षेत्रमा १२ वटा पुरस्कारको व्यवस्थापन गर्दै आएको प्रतिष्ठानले दोस्रो चरणको ६ वटा पुरस्कार आगामी माघ महिनामा दिइने बताइएको छ । पुरस्कृत ब्यक्तित्व र पुरस्कार सार्वजनिक गरिएको पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष ह्यग्रीव आचार्य, निवर्तमान अध्यक्ष उज्ज्वल शर्मा भण्डारी, उपाध्यक्ष विष्णुगोपाल महर्जन, सहयोगी मुक्तिगोविन्द वैद्यको उपस्थिति थियो ।

सरस्वती पौडेल
हाम्रो गाउँ तिर पनि अचेल बजार बन्दै छ
यहीँ बजारमा रहर थुन्ने कारागार बन्दै छ।
जीउँदै सपना सडाउने बेकुफहरुको भिडमा
यो रहर,केबल कमिसनमा ब्यापार बन्दै छ।
सँस्कार चल्दैछ जिउँदो लाई मरेको बनाउने
यहीँ भिडमा अर्को मुर्ख गजलकार बन्दै छ।
नैतिकताका आदर्शहरु बेला बेला तेर्साएरै
अचेल शहरमा एउटा मुर्दा इमानदार बन्दै छ।
डसिदिन्छ यसरी नै बेलगाम को तिम्रो यादले
लाग्दै छ यो याद पनि मुटु रेट्ने तरबार बन्दै छ।
भरतपुर चितवन

गंगा दाहाल
झर्न लाग्दा आशुलाइ रोक्ने हात छ र पो ।
छट्पटीलाई शान्त पार्ने त्यो बात छ र पो ।
चङ्गा जस्तै मनलाई माथी उडाउझै लाग्छ
कदम कदममा तिम्रोअसीम साथ छ र पो ।
नौलो अनुभुतीको आभास भैरहन्छ तनमा
स्वच्छ,सौम्य अटुट प्रेमको सौगात छ र पो ।
कलात्मक रङ्गले भरी मनमा इन्द्रेणी खुल्छ
जोख्न न भर्न मिल्ने मायाको खात छ र पो ।
हुँदा तिमि समिपमा कठिन लाग्दैन दिनहरु
सगै सपना देख्ने जून, ताराको रात छ र पो।
मकवानपुर । मुक्तक मञ्च मकवानपुरले ३ जनालाई पुरस्कृत गर्ने भएको छ । बिहीबार मुक्तक मञ्च मकवानपुरको तेस्रो बैठकले ३ जनालाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
मञ्चको आगामी पुष १६ गते वार्षिक साधारणसभामा २ जना मुक्तककार र माध्यमिक विद्यालयस्तरीय प्रतियोगिताबाट उत्कृष्ट १ जना गरी ३ जनालाई पुरस्कृत गर्ने भएको छ । मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डीबी बर्तौलाले पिताको सम्झनामा स्थापना गरेको ७ हजार ७ सय ७ रुपैयाँ राशीको ‘बहादुरानन्द स्मृति मुक्तक पुरस्कार’ बाट सिन्धुलीका मुक्तककार लोकेन्द्र डहरे सम्मानित हुने भएका छ्न ।
यस्तै मुक्तक मञ्च मकवानपुरले ‘तारा स्मृति मुक्तक पुरस्कार’ मकवानपुरका अग्रज मुक्तककार देवराज खरेललाई प्रदान गर्ने भएको छ । साहित्यकार किसन पौडेलले स्थापना गरेक सो पुरस्कारको राशी ५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ । त्यस्तै मुक्तककार तथा गजलकार श्रीराम अधिकारीले स्थापना गरेको ‘इन्दिरादेवी अधिकारी मुक्तक पुरस्कार’ मकवानपुरभित्रका माध्यमिक विधालयस्तरीय ९ देखि १२ कक्षाका विद्यार्थीबिच प्रतिस्पर्धा गराई उत्कृष्ट १ जना विद्यार्थीलाई ५ हजार रुपैयाँ प्रदान गरिने भएको हो ।
मञ्च अध्यक्ष बर्तौलाको अध्यक्षतामा सल्लाहकारसहितको कार्यसमितिको बैठकले पुरस्कारको निर्णय गरेको थियो ।
मकवानपुर । नेपालको चर्चित नेपथ्य ब्याण्डले १० बर्षपछि मकवानपुरको हेटौँडामा सांगितिक प्रस्तुति प्रदर्सन गरेको छ । नेपथ्यले हेटौँडा ४ स्थित भुटनदेवी चौरमा मानवताका लागि सागितिक यात्रा प्रस्तुति गरेको हो ।
मानवसेवा आश्रम हेटौंडाको सहयोगको लागि विहीबार बेलुका ६ बजेदेखि निरन्तर २ घण्टा नेपथ्य ब्याण्डका अमृत गुरुङले आफ्नो गीत प्रस्तुत गरेका थिए । गुरुङको प्रस्तुतिले हजारौं हेटौंडेली दर्शकले मनोरञ्जन लिनुका साथै चिसो मौसम तताएकाे थियो ।
यो समेत नेपथ्य हेटौंडामा सातौंपटक प्रस्तुत भएको हो । छैटौं पटक एक दसकअघि ‘शान्तिको लागि शिक्षा’ अभियान अन्तर्गत उसले सन् २०१२ मा हेटौंडामा प्रस्तुत गरेको थियो । दुइपटक ‘सुन्दर, शान्त, नेपाल’ र चारपटक ‘शान्तिको लागि शिक्षा’ अभियानअन्तर्गत आफूलाई प्रस्तुत गरिसकेको नेपथ्यको सर्वाधिक कन्सर्ट गरिएका सहरमध्ये हेटौंडा पनि पर्छ ।
मानवता प्रवर्धनका लागि हेटौँडाको लामसुरेधापमा मुख्य कार्यालय रहेको मानवसेवा आश्रमको बाँकी भवन निर्माण तथा आश्रितको संरक्षण र पालन पोषण सहयोगार्थ भएको सागितिक कार्यक्रममा नेपथ्यका मुख्य गायक गुरुङले लोक/पप गीतहरु प्रस्तुत गर्दा हेटौंडेली दर्शक उत्सहपूर्वक नाचेका थिए । गुरुङले नेपथ्यको छेक्यो छेक्यो देउराली डाडा.. रेशम…शिर फूल शिरैमा..तालको पानी… मै नाचे छमछमी… जोगले हुन्छ भेट.. लगायत दर्जनौ गीत गाउदै माहौल तताएका थिए ।
संगीतका साथसाथै मानवता प्रबर्द्धन उद्देश्यसहित मानवसेवा आश्रमको आयोजनामा यसपटक नेपथ्यले मुलुकभरको यात्रा गर्न लागेको हो । मुलुकका प्रमुख १० शहरमा गर्न लागेको सागितिक कार्यक्रम मकवानपुरको हेटौंडामा तेस्रो हो । यसअघि मंसिर १६ गते विराटनगर र १९ गते वीरगञ्जमा सम्पन्न भइसकेको छ ।
हेटौंडा पछि मंसिर २५ गते भरतपुरको क्याम्पाचौरमा, २९ गते नेपालगञ्जको रङ्गशालामा, पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ रामनगर मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्रमा नेपथ्य गुञ्जिने छ । अन्तिम कार्यक्रमको रुपमा अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात ‘न्यू इयर इभ’ को दिन पौष १६ गते काठमाडौँको भृकुटीमण्डपमा हुनेछ ।
मानवसेवा आश्रमको मुख्य कार्यालयमा हाल मुख्य भवन र लक्ष्मी भवन स्व राज्य थापा स्मृति भवन को निर्माण कार्य सम्पन्न भए पनि बालवालिका आवास, बागबगैँचा, गाइगोठलगायतका कार्यहरु निर्माणको चरणमा नै छन् । हाल मुख्य कार्यालयमा १८ बालक, ३ बालिका, ९४ पुरुष र ७७ जना महिला गरी १९२ व्यक्तिहरु आश्रित छन् ।
संगीतबाट मनोरञ्जन मात्र नभइ लोक कल्याणका हिसाबले पनि नेपथ्यको कार्यक्रम हेटौंडाका लागि महत्वपूर्ण हो,’ मानवसेवा आश्रमको हेटौंडास्थित संयोजक हुमनाथ पौडेलले भने । मानवीयताको बीउ रोपिएको हेटौडाबाटै सडक आश्रित बेसहाराको उद्धार अभियान शुरु भएको थियो । हेटौंडावासीले अत्यन्त उत्साहका साथ सहभागीता जनाएर नेपथ्य संग मानव सेवा अन्तरगतको सागितिक कार्यक्रमलाई भब्य र सभ्य बनाउनु भएको पौडेलले बताए ।