- सुरेन उप्रेती
कसैले चश्माको नालिबेली बारे सोध्यो भने मलाई अँह वाक्य पनि फुट्दैन । यसका नातागोता, आफन्त कोहि थाहा छैन । कसले र कहिले यस सान्सारिक माया मोहमा यसलाई पार्यो । त्यो पनि थाहा छैन । तर पनि यसलाई मैले सानो छँदै देखि देख्दै आएको छु । ठ्याक्कै तीथि मिति थाहा नभए पनि पहिलो पटक ज्योतिषिबाका कानमाथि डोरिले बाँधेर राखेको देखेको हुँ ।
लात्तिहान्ने गाई दूहुँदा डोरिले खुट्टा तन्काएर किलामा बाँधे जस्तै देखिन्थ्यो गुरुवाका कानमाथिको चश्मा । दुबै तिर नाकका डाँडीमा टेकेर आँखालाई छोपेर उभिएको हुन्थ्यो चश्मा । आजकालका सपिङमहलका पर्खालको रूपमा उभिएका बाक्ला शिसा जस्तै चश्माका लेन्स पनि वाक्ला थिए । मेरो दिमागमा भने ज्योतिषिबाको चश्मा देखे पछि चश्माले मान्छेका ग्रह दशा, भविश्य सबै देखाउँदो रहेछ भन्ने पर्यो ।
केहि दिन पश्चात जीवनको पहिलो दिन दाजु दिदिसँग झुण्डिदै स्कुल जाँन पाँए । त्यस बेला अस्ती ज्योतिषीबाको भन्दा अझ राम्रो राता खुट्टा भएको चश्मा गुरूजिका कान समातेर नाकमाथि बसेको देखेँ । त्यो झन राम्रो थियो । अहा ज्योतिषिबाको चश्मा भन्दा पनि राम्रो । गुरूजीले चश्मालाई नाकको टुप्पातिर सारेर चश्मा माथिबाट मलाई चिहाए । मरो ध्यान गरूजीमा भन्दा पनि उनले लगाएका चश्मामा थियो । मेरो चश्मा प्रतिको जिज्ञाशा झन बढ्दै गयो । अब त बाटो हिंड्दा पनि कसले कस्तो चश्मा लगाएको छ भन्नेमा मेरो ध्यान केन्द्रित हुन थाल्यो ।
एक दिन जिल्लाबाट विधालय निरिक्षक आएका थिए । उनका पुक्क परेका खाइलाग्दा गालाका विचमा चुरेपहाड जस्तै नाक ठडिएको थियो । त्यही नाकमाथि कालो चश्मा हिंउदका दिनमा घाम तापेर बसेका भैंसी जस्तै भएर डम्म बसेको थियो । बेला बेलामा त्यो चश्मालाई टाउको तिर सारेर हेयरबेण्ड जस्तै गरेर अड्काउँथे । यो देखे पछि चश्माहरू पनि विभिन्न रंगका हुँदा रहेछन भन्ने मैले लख काटें । अब मलाई चश्माको भूत नै चढ्यो ।
जसरी पनि एउटा चश्मा चैं धडेरै छोड्ने अठोट गरें । तर मलाई थाहा थिएन । चश्मा कहाँ फल्छ । चश्माको कत्रो रूखहुन्छ । काँचै टिपेर लाउनेहो की पाकुन्जेल पर्खनु पर्छ । टिप्न सकिने हो कि हैन नाना प्रश्नहरू खेल्न थाले मनमा ।जहाँ इच्क्षा त्यहाँ उपाए भनेझैं मैले चश्मा लगाउन धेरै कुर्नु परेन । स्कूलबाट र्फिकंदा गल्लिमा सिमालीको बार थियो । त्यहाँ पँहेलै भएर पँहेलेका लहरा लहरिएका थिए । कसैले अमरलता पनि भन्थे । त्यसलाई टिपेर भक्का भक चश्मा बनाउन लागें । एउटा त बनाएर धडी पनि हालें ।
मेरो चश्मा देखेर अरू केटा केटीले पनि चश्मा बनाई माग्न थाले । मेले थुप्रै चश्मा बनाएर अरूलाई पनि लगाई दिंए । चश्मा लगाए पछिको त दृश्य नै बेग्लै । सोचाईनै बेग्लै हुने । शान नै बेग्लै । शिर नै उच्च भए जस्तो लाग्ने । यसरी पहिलो चश्माको अनुभव बटुलें । विस्तारै चश्माका बारेमा बुझ्दै र जान्दै लगें ।
चश्मा त बिभिन्न रंगका जातका ,थरका,धर्म र र्पािटका हुँदा रहेछन । तपाईलाई अच्म्म लाग्न सक्छ चश्मामा पनि यती धेरै विविधता र प्रकार हुन्छन भन्दा । हो मलाई पनि अचम्मै लाग्यो । तर हुँदो रहेछ । चश्मा भन्ने अचम्मकै हुँदो रहेछ । तपाई कस्तो चश्मा लगाएर हेर्नु हुन्छ त्यस्तै विचित्रको दृश्य देखाइ दिँदो रहेछ चश्माले । आनीको गीत जस्तै फूलको आँखामा फूलै संसार काँडाको आँखामा काँडै संसार तपाईले पनि सुनेकै हुनुपर्छ ।
नेपालमा एक जमानामा कुनै महाराजका सन्तानको चश्माको निकै ठूलो चर्चा थियो । उनको चश्माले जस्तै बाक्ला लुगाले छोपेर राखेका बस्तुहरू पनि छर्लङ्गै देख्थ्यो रे । त्यही चश्मा लगाएर कलेज वाहिर गाडी रोकेर दृश्यपान गर्थे रे । रेका कुरा हुन । त्यो त कि उनका आत्मालाई थाहा होला कि त उनका मतियारहरूलाई थाहा होला । अव गएको दोश्रो संविधान सभाको निर्वाचन ताकाको कुरा गरौं । त्यसबेला जुन पार्टीको चश्मा लगाएको मान्छे भेटिन्थ्यो ।
उसले सबै त्यही पार्टीका समर्थक र भोटर्स देख्थ्यो । नेताले समेत सबै संसारै आफ्नै पार्टीका देखेर सयौ पटक सम्म बहुमत र दुइतिहाईका भाषण ठोके । जनजातिको चश्मा लगाएर हेर्दा सबै जनजाति नै मात्रै देखिने । जता पनि आफ्नै मान्छे देखन थाले पछि आफ्नो शक्तिको अट्क्लनै भएन उनीहरूलाई । नेताका चश्माले जसलाई हेर्दा पनि आफ्नै क्याडर देखे पछी बर्वाद भएन त । यो चश्माले कसै कसैलाई अर्कोर्पािटका मानिसहरूलाई आफ्नो क्षेत्रमा छिर्नै नदिने कुरा वोल्न लगायो । कसैलाई सबै तिर आफ्नै क्याडर मात्रै देखाइ दियो र चुनाब बहिष्कार गर्ने भन्दै अर्कोलाई हराउमा केन्द्रित भयो । तराई पहाड मानिसको सागर उर्लन थाल्यो ।
तर त्यो सागर नेताको भाषण सुन्न थियोकी कलाकारको नृत्य हेर्न र गीत सुन्न आएको थियो । चश्मालले थाहा पाउनै दिएन । सबैलाई धोका दियो । । कुनै नेतालाई त आफ्नो चश्माले धोका मात्र दिएन । जहाँ जाँदा पनि जनसागर देखाइ दिने । ल अव त नेपाल नै आफैं मय भयो भनेर ढुक्क बनाइ दियो ा तर नतिजाले पुल्टुङ बाजी खेलाई दियो । मार्ने मर्ने खेल खेलेर आएकाले दरो मुटु भएर मात्रै नत्र भिमशेन थापाको उपाय अवलम्वन गर्न बेर थिएन । यो सबै चश्माको खेल त हो नी ।
कसैलाई यही चश्माले ढाडश दिन्छ र कसैले नेपाल राजतन्त्रात्मक हिन्दू राष्ट्रहुने पक्का भो भनेर भाषण पड्काउँछन ।
सोझा र राष्ट्रवादी भनिने र गनिने नेतालाई पनि प्रमको चश्मा लाउना साथ टनकपुर भारतकै हो भन्न सिकाएको थियो । कुनै नेतालाई टनकपुरले खरव खरव नाफा गर्छ भन्दै सम्झौता गर्न लगाएर भाषण खोक्न लगायो । । यहि चश्माले हौडा,लौडा काण्ड,बब्फर काण्ड मच्चाउन प्रेरित गर्र्यो । हतार हतार विप्पा सम्झौतामा सहि जोत्न उक्सायो । सोझो मान्छेले लगायो भने पनि त्यसै जस्मरीको मोतीकोहारले झैं नराम्रो सँग मान्छे बदल्छ यो चशमाले । कसरी तस्कर सँग र डन सँग सम्वन्ध गाँस्ने भनेर तरिका सिकाउँछ ।
सालीपटिका सातपुस्ते र भिनाजु पटिका नौपुस्तेलाई पुग्ने धनबटुल्न लगाउँ छ । सुनको व्यपार , वोइङमा लेनदेन, योजनाहरूको कमिसन र शेयरको कारोवार गराउँछ । सरूवा ,बढुवाबाट कोसेली थपाउँछ, यो सबै चश्माकै कमाल त होनी । मह खाएकालाई मात्रै त महको श्वाद थाहा हुन्छ नी भने झैं एक पटक चश्माको श्वाद पाएकाले त मरे पनि चश्मा नपाउनजेल छोड्दैन । संविधान बनाउन गएका र्पािटहरू एउटा गृहको विवादले झण्डै महिना दिन सम्म झूण्डिनु ।
त्यसैको उदाहरण हो । त्यो गृहको चश्माको मज्जा चाखिसकेका चश्माहरूले के मान्थे त्यो पदनपाउन्जेल । लासामा सुन छ मेरो पार्टी बुच्चै भन्ने उक्ती माहुरी खान पल्किएका मल्साप्राहरुलाई राम्रै थाहा थियो र बार्गेनिङ गरेका थिए । सुन आउने र जाने बाटो गृहमन्त्रीको चश्मालगाए पछि मात्र क्लियर हुन्छ भन्ने राम्रै अनुभव छ ।
यो चश्मालगाए पछि को सँग बोल्ने ,कसको हितमा काम गर्ने, कसलाई खुशि तुल्याउने । यसैले निर्णय गर्छ । कसैले प्रधानमन्त्रीको चश्मालगाएका वेला सँगैका सहयात्री भोक सहन नसकेर आत्महत्या गर्न समेत विवश बनाउने यहि चश्मा हो । सँगै जेलबसेका साथिहरूको महल,गाडी र शान हेर्दा कहिलै पेट भरिएन । छोराहरूको स्कुलजाने रहर मेटिएन । शाहुको रिणघटेन । त्यो भोको साथिको चश्माले जिउने अरर्को उपायनै ठम्याउन दिएन । जेल जीवनका उर्जासिल दिनहरूले झन झन घोच्न र रोप्न थाले । समयले व्यंग्य गर्न थाल्यो ।
शहिद भएका साथिहरूले पनि गिज्याएको अनुभूति गरायो र बाध्य पारेर पार्टी कार्यालयकै प्राङगणमा रुखमा फलेको लौकोले इहलिला समाप्त पार्यो यही चश्माले । यो चश्मा अति निर्दयी,क्रूर र बिश्वास गर्न नसकिने खालको छ । कहिले स्वार्थका लागि एउटा सँग लगन गाँठो जोड्छ र अर्कालाई धुलो चटाउँछ । कहिले उग्र राष्ट्रबादी बन्छ र नाला पानी देखि कालापानी सम्म विरोध गर्दै मार्चपास गराउँछ । कहिले लगेर नदि नाला त के सगरमाथा नै विदेशिलाईचढाउँछ ।
भाइ भाइ लडाउँछ । सज्जनलाई सडाउँछ । तस्करलाई कुईन्टलको माला चढाउँछ । दुइचार करोड खाँदा भ्रष्ट भन्न पाँइदैन । हाम्रा नेता महान छन । भ्रष्टचार गर्नु नेताको अधिकार हो भन्दै जुलुशमा उतार्छ । नैतिकतालाई निमिट्यान्न पारेर विवेक सून्य बनाइ दिन्छ । कालोलाई सेतो देख्ने बनाउँछ । विद्वतबर्गलाई चाकरी गर्न सिकाउँछ । घमण्डको पगरी गुथेर फणउठाएर गजधम्म भएर बस्न अर्डर दिन्छ र मरिच झैं आफ्ना पिराले आफैं चाउरिने बनाउँ छ । यो चश्माको महिमा भनौ या छुल्याई भनौ । न जानेर जान्न सकिन्छ न बुझेर बुझ्न सकिन्छ । चोरलाई चौतारी र साधुलाई सुली चढाउने यो चश्मा । यो विचित्रको चश्मा ।

- शम्भुप्रसाद भट्टराई
सरल जीवन
छन्द: मालिनी
सरल मन सफा होस् शान्तिले बास गर्छ
जटिल जति बनायो चित्तको शान्ति हर्छ
निहित गुण बिचारी सिर्जना गर्नुपर्छ
नित दिन अविकारी प्रेरणा भर्नुपर्छ ।१।
मन बचन दिएमा गर्नसक्ने गरिन्छ
सहजसित लिएमा चाहना नै भरिन्छ
मन‚ समय दिएमा विश्व रच्ने गरिन्छ
प्रतिदिन पढिएमा चेतना त्यो भरिन्छ ।२।
चहुदिक मन लाए सत्य देखिन्छ भन्छन्
गुण यदि छ विवेकी सत्य लेखिन्छ भन्छन्
विकट छ यदि यात्रा होसले चल्नुपर्छ
धिपधिप किन नै होस् जिन्दगी बल्नुपर्छ ।३।
कर कदम मिलेमा पुग्दछन् सोच‚ आस
शिखरतिर बढेमा विश्व देखिन्छ खास
मन दुषित भएमा व्यक्तिको हुन्छ नास
खुससित श्रम गर्दा लक्ष्मीको हुन्छ बास ।४।
जब जब मनभित्रै द्वेषले बास गर्छ
लयमय दुनियाँ त्यो भत्किदै गर्र झर्छ
सरल क्षण सजिलै दृष्टिले दोषी बन्छ
नबन न अविवेकी सृष्टिले ठ्याक्क भन्छ ।५।
गतिमति जति राम्रो जिन्दगी हुन्छ राम्रो
सुगम‚सुपथ हिंड्दा जिन्दगी बन्छ हाम्रो
युग‚ समर यही हो ब्रम्हले देख्छ लेख्छ
सरल पथ समाए चेतले शान्ति देख्छ ।६।
विजेता हुने गर्दछन् कर्मयोगी
छन्द: भुजङ्गप्रयात
विजेताहरुले समाधान खोज्छन्
समस्या‚ चुनौती खुसी साथ रोज्छन्
कुनै हुन्न त्यस्तो नगर्ने बहाना
सधै व्यस्त हुन्छन् दरो योजनामा ।१।
कमै बोल्दछन् यी गरी काम धेर
प्रतिज्ञा र मौका कुनै जान्न खेर
हुने के छ देख्छन् भविष्यत् र प्राप्ति
सकारेर जान्छन् भए जे छ गल्ति ।२।
म केही हुने हो भनी स्वप्न देख्छन्
भयो के ? हुने के खुलाएर लेख्छन्
भई नम्र यी तर्कना पेश गर्छन्
समस्या परेमा समाधान गर्छन् ।३।
सधै दृढ हुन्छन् सही मान्यतामा
निधो गर्दछन् काम सक्ने कुरामा
ज-जस्ले खटून् ध्येय त्यो हुन्छ साझा
यिनी रोकिइन्छन् निभाएर वादा ।४।
सधैं व्यस्त हुन्छन् चिताएर सोझो
स-साना कुरामा कुनै छैन अल्झो
अरु भन्दछन् के? बढी ध्यान दिन्छन्
खुला चित्तले कर्मको मोल किन्छन् ।५।
कहीँ अल्झिदैनन् कसैका कुरामा
सधै राख्दछन् व्यक्तिका वीच सीमा
हुदैनन् यी विश्राममा काम रोकी
विजेता हुने गर्दछन् कर्मयोगी ।६।
द्वन्द्व र देश
छन्दः उपजाति
प्यारो मलाई छ यही स्वदेश
जन्में यहीँ मर्नु यहीँ छ बेश
अस्तित्व हो देश जपेर मर्छु
जे गर्छु त्यो देश निमित्त गर्छु ।१।
आफूँ अनेकौं रुप जातमा छु
जे जे भए तापनि साथमा छु
पहाड मेरो अनि मै मधेशी थेप्चे
म आफै अनि मै हुँ चुच्चे ।२।
मैले गरेका नमिठा कुराको
विद्रोह मेरै ननिका कुराको
हुतू र तुत्सी गरी दुई भाग
मैलाई बाँडूं कसरी म आज?।३।
आस्था र सिद्धान्त खुदै भिंडाई
मारुँ खुदैको कसरी मलाई
जुध्दा दुबैतर्फ हुनेछ हार
बद्लिन्न हाम्रो कहिल्यै मुहार।४।
मेरो अझै कोमल अङ्ग बेची
लुछ्ने म आफै अनि मै स्वदेशी?
आफन्त मारी सुख-राज्य भोग
गरूँ म आफै कसरी अहो हँ!।५।
बिर्सेर माटो हिडिदैन बाटो
के नै यहाँ हुन्छ र मृत्यु साटो
म मृतिकाको कण हुँ । सुबास
छर्नु छ मैले सब माझ आज।६।
विध्वंशले हुन्न भलो कसैको
देखिन्छ मात्रै प्रतिशोध धोको
सकिन्न बाधाहरु खप्नलाई
भर्ने र गर्ने सबको भलाइ।७।
बिराटनगर
- डीग बहादुर तामाङ्ग
एक त जातै लाहुरे, दोस्रो लाल सिंहको नाति, बीरध्वजको नाती लाल बहादुरको छोरा तेश्रो कमाउने बहादुर अब मैले नकमाए कस्ले कमाउने ? त्यस माथि पनि सगरमाथा र कन्चंजङ्गा तिरको बासिन्दा । कमाउनेको पनि परिभाषा छन ।
गाँउघरमा छदाँ मैले खोपि खेलेर खोपि बहादुर भन्ने नाम कमाएको थिए भने, काठमाडौंमा पसे पछि तासको म्यारिज खेल्ने भएकोले पद्धोनति भएर तास बहादुर भएको थिए । छोइला चिउरा र मम खान्थे उधारो, समयमा साहुको ऋण तिर्न नसकेकोले खुचा भनेर बोलाउने हुँदा, साथिभाईहरु साहुनी बोलाएको नाम आफैले व्याख्या गरेर खुम बहादुर हु भनेर भन्थें ।
बीस धाराहरु र बाइसे धारा पनि सबै सुकेर खहरे भै सकेकोले, जनै र भित्री कपडाको जुम्राले म माथि दशबर्षे जनयुद्ध गरिएको बेला, अमेरिकन दूताबासबाट द्रुतगतिमाआएर मेरो हातमा एउटा खाम थमाएर कुलेलाम ठोके एउटा पिउन । बिहानको भोजन केही नपाएकोले, घरभेटीकी छोरी शारदालाई “ ओला हिसीचा मैचा अले बजि चकन्ची, छमोइ छोइला, छोइला बिउ” भनेर सानसंग उपरखुट्टे लगाएर पलङको डिलमा बसेर भरखरै पाएको खामले अनुहारलाई पंखाका काम लिएर बसेकै बेला एक चौथाइ चिउरा र एक मोहरको साधेको मासु रिकापी आएको संकेत रिकापीको बजेको ध्वनीबाट चाल पाए ।
हत्तारिएर एक करुवा पानी ठाडो घाँटि लगाएर सुरक्याई दिएपछि भोकबाट बिश्राम लिएर, मंगलम् भगवान बिष्णु भनेर खाम खोलेको मात्रै के थियो । पहिलो “पंक्तिमा लेखिएको थियो, यू ह्याब बिन सेलेक्टेड डिभी लटरी २०१४ भनेर लेखेको अक्षर देखे पछि मेरो मनले स्वर्गमा पाइलो टेकेको अनुभुति गरे ।
आफ्नो अंग्रेजी भनेको त्यस्तै हो नामै कमाउने बहादुर त्यसैले एसएस नोनो भन्ने बाहेक नजानेकोले बल्लबल्ल संस्कृत पढाउने हरि प्रसादको मा गएर माई नेम इज कमाउने बहादुर आइम फ्रम ताप्लेजुङ्ग,मेनथेवा भिलेज भन्ने सम्मको भाषा टुपीलाई निधारमा झुन्डाएर बोल्ने सम्म भएर मंगलबारको दिन भए भरको लुगाफाटोलाई फ्यालेर, तिन पिप्लेको १५ पाथी बिउ जाने खेतलाई बेचेर पाँच लाख जति रुपैयाँ लिएर पुन कान्तिपुर नगरिमा पैसाको कुम्लो बोकेर फर्के गाँउबाट ।
बिरध्वजको नानी लालबहादुर नातीले कत्राकत्रा युद्धा लडेर बीरता देखाउन सक्नेको सन्तानले नाथे खेत बेचेर पाँल लाख नलिई अमेरिकामा किन पस्नुनि भनेर बीरता देखाउन भनेर तोलारामको पसलमा गएर १५ हजारको कालो सुट सेतो कमिज पहिलै गाँठो पारेर राखेको रातो टाइ किने । मतलब टाइ घाँटिमा मिलाएर बाँध्न नसक्ने भएकोले यसरी किने नि ।
बाडुले साहुको पसलमा गएर एक जोर बाटा कम्पनीको जुत्ता र मोज प्रसाद साहुको पसलमा गएर एक जोर मोजा खरिद गरेर डेरामा फर्किन मात्रै के आँटेको थियो । गाँउभरिका पहिले त बाटोमा भेट हुँदा मुख बंग्याएरअर्कै बाटो छलेर हिंडने गाँउघरका चेलीहरु अमेरिकामा आउने बेलामा त सबैजना सोल्टी भएर साँइनो बनाएर बाटो छेक्न थालिन । मलाई पनि लानोस न, के म त्यति नराम्री छु र ?
भन्ने आवाजले कानै दुख्ला जस्तो भयो, म पनि बिरध्वज बाजेले १९६२ भारत र चीनका लडाइँमा बीरगति प्राप्त गरि पाएको पैसाले बाबुले जोडेको खेत बेचेर ल्याएको पैसाले अमेरिकमा जानै लागेको बेला यसरी बाटोमा मुसुक्क हाँसेर बाटो छेक्नेहरुलाई कुन मनले हुन्न भन्ने ?
कमाउने बहादुर पनि के कम, “उसो भए तिमीहरु सबैलाई लान्छु तर अमेरिकनहरुले भिसामा खिर मिसाएर दियो भने । एक त कस्ले भिसा दिनु र अर्को खिरखाना अमेरिकनहरुले जानेकै छैन । त्यसै गरि छलेर । निस्के नेपालबाट । भिसा पाएर, आफूलाई अंग्रजी त्यति नआउने, हिन्दी चाहि बोल्ने भएकोले, काठमार्डाै डिल्ली नेपाल बायूसेवा दिल्ली न्यूयोर्क भारती सेवाको हवाई जाहज चडेर अमेरिका पूगियो ।
न्यूयोर्कमा सोहन कुमार थापा लिन आएका थिए । केहि दिन उनैको डेरा बाल्टिमोरमा बसेर, कमाउने नाम भएकोले सुइभिल कन्टक्की रोज्ने कि हराउनेभिल कनेक्टीकट रोज्ने भनेर एउटा हमकुरले सुनाए । काम के हो भनेर सोध्दा गिलबार्को कम्पनीले बनाएको छलकपट गर्न नमिल्ने मेशिन चलाउने काम अथवा मिशिन चलाउने । मैले सोचे सफ्टवेयर भन्ने सुनेको थियो तर गिलबार्को भनेको थाहा थिएन ।
कम्पनी पाकिस्तानीको हो । तामिल भरि पैसा नपाउने तर तालिम सकेर पाँच दिन पछि, प्रति घण्टा डलर आठ पाउने रे । उसो भए किन नजिकैको कनेटिकटमा किन नजाने । बिहान ६ बजे पुगेर बाहिरको फोहोर फ्याल्नु पर्ने तामिल एक हप्ता पछि सकियो, त्यस पछि बाथरुम सफागर्ने र कफि बनाउने तामिल एक हप्ता पछि बल्ल पालो आयो । क्यासिएरको पछाडि उभिएर कसरी गिलबार्को मिशिन चलाउने चलन हेर्ने ? अर्को हप्ता भरि पहिलेको मेशिन चलाउनको पछाडि बसेर चलाउन सिक्ने ।
बल्लबल्ल ३ महिना बेतलबी काम गरे पछि, एक दिन साहु आएर, “तु काम करेका न ?” कमाउनेले मुन्टो हल्लाएर गर्दहुँ भने पछि । भोलिपल्ट बिहान ३ तिन उठेर, चारवटा बस फेरेर काममा पुगेँ । बाटोमा हाप्सिलोहरुले मेरो अनुहार “ह्वाट अफ” भन्ने आवाजले सात्तो गयो । पहिलो दिनमै, गिल्बार्को मिशिनले नचिनेर हो वा आफुले चलाउन नजानेर हो ३५डलर नपुग देखियो, खल्तिबाट झिकेर सोधभर्ना गरें । कामउनेले फकाँउदा पनि मिशिन रिसाएको जस्तो भान भयो।
ग्यास रिलिज गर्न जानियो, मालबोरो चुरोटमात्रै उन्चासिल प्रकारका हुँदो रहेछन, त्यो पनि जानियो, बिस्तारै सबै काममा प्रबिणता गरेपछि, साहुले नाम कमाउने बहादुर भए पनि आफुूलाई कमाउन सहज हुने भएकोले दैनिक १८ घण्टा काम दिए, साहु खुसि कमाउने त झनै खुसि । एक हप्ता १ सय २६ घण्टा काम गरे पछि एक महिनामा ५ सय ४ घण्टा काम गरे सके पछि, महिनाको करिब चार पाँच हजर डलर कमाउने भयो ।
कमाउने बहादुर, घरमा महिनाको एक हजार डलर पठाउने गर्थ्यो । बाकि पैसा सिरानीमा राख्थ्यो । यसो नेपाली भेट्यो भने, “ म सफटवेर इन्जिनियर हुँ भन्थ्यो” कमाउने बहादुर, नेपालबाट कोहि पार्टीका मानिसहरु आई पुगे चार पाँच सय डलर खर्चेर लिमोजिनमा घुमाउन पठाउथे । दिनदिनै कमाउने पैसा पनि कमाइयो नाम पनि संगै कमायो । कमाउने बहादुरबाट कमरेड नाम थपियो र नामको पछाडि बिशेषण थपियो । तर सधै सुदिन मात्रै कहा आउँछन र ? एक दिन बिरामी नराम्रो संग भयो ।
नेपालमा छँदा बिरामी हुँदा बीर अस्पताल सम्म नपुग्ने । रातदिन, सित्तै पाएको कोकाकोला र आलुचिप खाएर छाक टार्न पल्लकेका कमाउनेलाई सित्तैमा सुक्र्याउन पाउने कोक र आलुचिपले एक दिन अस्पतालमा पुर्याए । चार दिन अस्पतालमा बस्दा झण्डै ३० हजार डलर स्वाहा भयो ।
साहुले काम त दिउँला तर पहिले जति समय नदिने भन्यो । तै पनि काममा गयो, पैसा बिस्तारै जम्मा भयो । यतिन्जेल पाँच बर्ष पनि लाग्यो । अमेरिकन हुँन पाउने मौकामा किन चौका नहान्ने भनेर अरुलाई फाराम भर्न लगाएर धेरै मेहनत पछि जाँच पास गरेर अमेरिकन राहदानी लिएको के मात्रै थियो ।
एक जना नेताकी बहिनी २५ बर्षकी मास्टर पढेकी विवाह योग्य छिन । तुरुन्त आउन प¥यो भनेर खबर आयो घरबाट । उसो भए म कमाउनेबाट कामरेड भै सकेको के कम ? फेसटाइम अन गरेर कुरा गरे सुकन्या संग “मसक्क मस्केर हजुर सारै ह्याण्डसम” आफू पैंतालिस काटेर छयालीसमा उक्लेको बेला । दुइ बिसे पाँच बर्षेकीलाई त तहलाउन सक्छु भन्ने आटले “तिमी पनि सारै राम्री रहेछौ नि सायरा बानु जस्ती”। राम्री पाए पछ्याउनेहरु मध्ये म पनि एक हुँ ।
पाँच बर्षपछि कमाउने नाम बाट कामरेड भएर विवाहको लागि फर्किने समयमा, सारा नातागोता हरुबाट तारन्तार फोन आउन थाले । बाबु र आमालाई आईफोन आठ ल्पस दुइ हजार, बहिनीहरुलाई आइफोन सात ल्पस एक ल्यापटप तिन हजार, माइज्यू र मामालाई आईफोन पाँच ल्पस, एक हजार, काका र काकीहरुलाई आइफोन छ ल्पस एक हजार । वेहूलीलाई गरगहना लुगाफाटा र आईफोन दश ल्पस गरि जम्मा २५ हजार डलरको सामानहरु खरिद गरेर नेपाल जान तयार भएर के बसेको मात्रै के थियो ।
अन्तरे मितको फोन आयो “ ए हजुर सवारी भएको बेला एक थान घडी र एउटा आइफोन भन्ने देख्न सम्म पाएको छैन, हजुर सवारी भएको बेला पाए हुन्थ्यो । कसरी नाइ भन्ने । बजार गएर खरिद गरि ल्याइयो । जेएफके बाट (जोन एफ केनेडि) एयरपोर्टबाट इमिरेट एयरको फ्लाइटबाट दुवै पुगियो, इन्टरनेशनल टर्मिनलबाट डोमेस्टिक टर्मिनलमा पुगेर १० कार्टुन चुरोट पाँच घैलो कालो लेबल स्कच खरिद गरियो ।
बुधबार पुगियो शुक्रबार कमाउने र कामरेड जन्ती अन्मनाएर बालाजुको गोठारमा खाउन्नेको घर बाट बेहुली अन्माएर ल्यायो । जग्गेमा खोपै रमाइएकी दुलही जब जन्तीबाख्रो ख्याएर साँझ पर्न थाल्यो अनुहारमा एक किसिमले चमक हरायो । स्वागरातको दिन नछुने भो भनेर टारिन । कमाउनेको कामरेडहरुसंगको भेटघाटले र अमेरिकन दुतावासको श्रीमतीलाई ल्याउने भिसाको लफटाले दिन त्यसै गयो ।त्यति राम्रोसंग सम्बन्ध कायम नगरि अमेरिका फर्के ।
हरेक हप्ता अनुहार किताबमा र अनुहारै देखिने गरि सम्बाद भै नै रहेको थियो । मिठो कुरा नगरेर खाली औपचारिक संवादलाई मलाई पटक्कै मन पर्दैन थियो र भन्छु भनेर नामर्दको ओखती हयुस्की भनेर पिएर फोनमा बस्यो कि उनि परै बस्थिन । साहित्यकार कलाकार अबलम्बन गरेको यो सिद्धान्तलाई पनि अपनाए तर कमाउने बहादुर असफल नै बने ।
आजको आर्थिक युगमा हेर्ने हो भने पनि कमाएको जति सबै सकियो । एउटै आशा बाँकि थियो, अब आफनी श्रीमती भिसा पाएर आँउछे दुवैजना मिले कमाउला भन्ने आशामा रमाएर बसेको बेला । नेपालबाट फोन आयो लौ दुलही नानीले भिसा पाइन कहिलेको टिकट मिलाएर पठाउ भनेर आमाले फोन गरिन । बैशाख महिनाको ४ गते अप्रिल महिनाको १९ तारिखको दिन उनि आइ पुगिन अमेरिका ।
मैले एयरपोटबाट ल्याएर हाम्रो कोठामा सामानहरु राखेर खाना पकाउने तरिका र चुलो कसरी चलाउने भनेर सिकाएँ । म संग अप्ठ्यारो मानि ओछ्यानमा पसिन, उनि त्यति खुसि नभएको अनुहारले प्रष्ट बताउथ्यो चौबिसै घण्टा मेसेन्जरमा कुरा गरेर बस्थिन ।
मैले नजिकैको सेभेनलेभेनमा काम लगाए दिएको थिए । काममा जान्थिन, तलब आफैसंग राख्थिन । यसरी तिन चार महिना गुजारा चल्यो । जब ग्रिनकार्ड आइपुग्यो उनि बौलाउन थालिन । म त अब तिमीसंग सुत्तिन, आजदेखि म साथीसंग बस्न जान्छु भन्छे ।
कमाउने बहादुरबाट कामरेड भएको मानिसले चिच्याएर बोल्न पनि नहुने भरबल अव्युज भन्ने । भएभरको बलनिकाले मुडकीले दिउँ भने पनि फिजिकल अब्युज ठान्ने घोसे मुन्टो पारेर पुर्पुरोमा हात राखेर बसें । उनि अब आफनो मन परेको केटोलाई ल्याएर रामाएकी छिन ।
छोडपत्रको कागजपत्रमा सहिछाप गर्ने बेलामा उन्लाई मैले जीवन भरि मैले कमाएको आधा दिनु रे ।
जिन्दगीमा आफू समानकी संग नाताजोडेको भए यसरी तरुनीकी ज्वाई कुना बसि रोइ हुन्न थियो होला । बीर धव्जको साँइनोले केही सीप लागेन, छट्टु बेमानको अगाडि ।
मेरिल्याण्ड, अमेरिका
- पुण्य खरेल
गुणग्राही जहाँ छैन बेकम्मा छ उहाँ गुणी ।
कौडीमा पनि मिल्कन्छ भील्लका देशमा मणि ।।
कवि शिरोमणि लेखनाथ पौड्यालको यो कवितांशले मलाई घच्घच्याइ रहन्छ । भील्लहरूमध्येका भील्ल जस्तै भएर काँकरभिट्टा मा.वि.का १२ जना शिक्षकहरूले हाम्रो देशको कौडीमा मिल्किएको मणि हेर्न जाने निधो ग¥यौं । जाँदाजाँदै पुग्दापुग्दै म आफूलाई भील्ल नै भने पनि कुनै दुःख नमान्ने ठाउँमा पुगें ।
प्रसङ्ग अन्तु डाँडामा पुगेर उदाउँदो घामको मनमोहक दृश्य हेर्ने रहर पुरा गर्ने हाम्रो योजनाको हो । उसै त हामीले सानो गाडी लिने, त्यसै दिन विहान दुई बजे प्रस्थान गर्ने, फिक्कल भएर छिरुवा हुँदै पाँच बज्दा भञ्ज्याङ पुग्ने र साढे पाँचसम्ममा जसरी तसरी अन्तुको त्यो दृश्यस्थल पुग्ने योजना बनाएका थियौं । लोकतन्त्र पनि बोकालाई कुभिण्डो जस्तो हुन पुगेका हामी नेपाली भील्लहरूलाई स–साना निहुँमा पनि बन्द गरेर प्राप्त लोकतन्त्रकै हुर्मत लिन तँछाड–मछाड छ ।
बन्दको यही महामारीका कारण हामीले हाम्रो योजना बदल्नु प¥यो । बदल्नु त प¥यो तर भरे भरे त लाटोबुङ्गोको कथामा लाटाबुङ्गाले झैं ‘बन्द भयो’ भन्दा पनि ‘बेसै भयो !’ भने जस्तै भयो हाम्रो टोलीलाई । २०६५ कातिक २९, सुकबार अपरान्ह १.३० बजे सानो नानीको ठुलो आची भने जस्तै एउटै सुमो गाडीमा बाह्र जनाको जम्बो टोली प्रस्थान ग¥यो । नेपालको बाटो बन्द छ । भारतीय नम्बर प्लेटको सुमो गाडी पूर्व विद्यार्थी अर्जुन बस्नेतको हँकाइमा हामीले अपरान्ह १.५० मा नक्सलबाडी पूर्वपट्टि सतभइयामा इन्धन भ¥यौं । तेल भर्दै गर्दा कुरो चल्यो– ‘यहाँ त राम्रो तेल पाइन्छ होला नि !’
हाम्रो ड्राइभर भाइले मुख बिगारेर भने– ‘ए ! यसको लाइसेन्स पन्ध्र पन्ध्र दिनमा खोसिन्छ, फेरि ल्याइन्छ ! यसलाई पेट्रोल चाहिं राख्ने अनुमति छैन तर उऽ भित्र हेर्नू त ! भुल्टुङका भुल्टुङ छन् । के गर्नु र ! बागडुग्रा पुग्नुपर्छ अलिक भरपर्दो तेल हाल्न !”
हाम्रो देशमा तेलमा भएको मिसावटका कारण प्लेगले मुसा मरे झैं भुटभुटेहरू भक्रन्न भएर एउटा आतङ्क मच्चिएको छ । राम्रो तेलको कुरा अहिले बिरालाको सिङ जस्तै भएको छ । त्यसैले हाम्रो टोलीले राम्रो तेलको चासो गरेको हो । इन्धन भरेपछि हाम्रो गाडी टुइक्क फिर्ता आयो र पानीघट्टाको बाटो लाग्यो । तुलसी निरौलाजीले मलाई सङ्केत गरेर भन्नुभयो– “सर ! त्यहाँ गाडीको डायलमा किलोमीटर नोट गर्नुहोस् ल ! कति किलोमीटर गइने रहेछ ?”
“हुन्छ हुन्छ !” मैले भनें, र गाडीको स्टेयरिङछेउको घडीजस्तामा आँखा लगाएँ । त्यहाँ घटढण्द्ध कलिोमीटर लेखिएको हेरें र सबैले सुन्ने गरी भनें– “नौसय चार छ है ! सबैले याद गरौं !”
अहो ! सुमोगाडीले भेटेको खुल्ला बाटो । आँखा झिमिकमा लालपुल, निरपाने हुँदै पानीघट्टा पु¥यायो । दूधे खोलो भन्ने कि बालासन भन्ने ? त्यसमाथि बनेको पुल तरेर त्यस्तै राम्रो कालोपत्रे सडकमा गाडी फुत्त निस्कियो र देब्रेतिर हुइँकियो । के हुइँकिन पाउनु ? फुत्रुक्क चिटिक्कको बजार अर्थात दुधिया बजारमा निस्कियो । साथीहरूले ड्राइभरलाई भने– “अर्जुन ! अलिक राम्रो खाजा पाइने होटेल हेरेर रोक ल ! भोक मारेर उकालो लागौं ।”
‘शारदा स्वीट एवम् स्नेक्स कर्नर’, मिरिक रोड, दुधिया बजारमा खाजा खान भित्रिंदा अढाइ बजेको रहेछ । मम एक–एक प्लेट धोक्रामा हालेपछि अनि फेरि हाम्रो यात्रा सुरु भयो । हाम्रो टोलीबाट खाजा खाने ठाउँमा ‘मैले त भर्खर भात खाको !’ भन्दै जय निरौलाजी कता लुसुक्क हुनुभयो । गाडी चल्न लाग्दा ठीक आइपुग्नुभयो । गाडीले अघिकै खोलालाई अलिक माथिबाट तरिफर्कायो र उकालो बाटो समायो ।
उकालो बाटो अलिक माथि पुगेर तलको बालासन खोलो, खोलाका गडतिरका बनभोजेहरूका समूहहरू, अघि हामीले तरेका र तरिफर्काएका पुलहरू, टिलिल्ल टल्किएको दूधे बजार हामीलाई सारै राम्रो लाग्यो । गाडी रोकी मागेर हामीले एक–दुई फोटोहरू खिच्यौं । बालासन खोलालाई अलिक भावुक भएर हे¥यौं । नेपालका प्रशिद्ध बामपन्थी नेता निर्मल लामाले केटाकेटीमा माछा मारेर केराका दाम्चामा माछा पोली खाएको त्यहीं हो कि ? त्यहीं हो कि ? जस्तो गरी मैले हेरें ।
मैले उनको संस्मरण पढेको थिएँ । मित्र जय निरौलाजी पनि केटाकेटीमा हरेक शनिवार–आइतवार बालासनमा पौडी खेलेको, माछा मारेर बाँसका ढुङ्ग्रामा पोली खाएको सुनाउनु हुन्छ । म त माटीगाडा छेउमा घर बनाउनका लागि गिट्टी र बालुवा झिक्ने गरेको त्यो बालासनलाई यहाँ देख्ता ती मानिसले बेल्चा र कोदालाले बनाएका खतहरू हेर्न खोज्दो रहेंछु । मैले धेरैवेर बालासनको पानीमा माछा पौडी खेलेझैं मनलाई पौडी खेलाउन पाइएन । साथीहरूले हतार लगाइ हाल्नुभयो । फेरि गाडी कुद्दै ग¥यो ।
अहो ! कति राम्रो बस्ती ! हामी मोहित हुँदैथ्यौं । ‘गोर्खाल्याण्ड तपाईंको स्वागत गर्दछ !’ लेखिएका प्रवेशद्वारहरू पानीघट्टा, दुधिया बजारदेखि नै हामी बाक्लै देखिरहेथ्यौं । घैयाबारी भने पनि, मकैबारी भने पनि सबै चियाबारी थियो । अहिले त सबैले गुडरिक वा अग्र्यानिक चिया उत्पादन गर्ने, चियाको खेतीले सबै मानिसका थाप्लामा छैटीले लेखेका किर्मिरे अक्षर पनि राम्रा र छापा बनाए झैं थियो, ‘पिचिरी’ मेटेर ‘श्री’ बनाए झैं थियो, दुःखी मेटेर सुखी बनाए झैं थियो । कुरूप मेटेर सुन्दर बनाएको थियो ।
अहा ! राम्रैराम्रा मान्छेहरू । कान्लाहुँदो सुन्तलाका बोटहरू, लटरम्म सुन्तला । सुन्तलाको बोट पनि एकोहोरिएर हेर्नुभयो साथीहरूले । गाडी अनेकका राम्रा र सुन्दर ठाउँहरू थपीथपीकन देखाउँदै भकुण्डोमाथि सानो कमिलो खिरिरिरि कुदे झैं गरी कुदीरह्यो । फुवागडी पुग्यो । दाहिनेपट्टि प…र मञ्जुश्री देखियो । टिङलिङ देखियो । टिङलिङको त्यो दृश्यस्थल पुग्दा त हाम्रा साथीहरू मेडुसाको टाउको हेरेको जस्तै हुन पुग्नुभयो ।
साँच्चैको जादुगरी मोहकता त्यहाँ वरिपरिको टिङलिङ–फुवागडी बगानहरूको थियो । त्यो दृश्यस्थलमा बसेर वरिपरिका ती थुम्का–थुम्का, बगानले ढाकेको पहाडी बनोट, मनमोहक हरियाली, सिपालु कालाकारले भरेको रङ्गिन दृश्य झैं देख्ता भोकतिर्खा हराउँथ्यो । बालासन तरेर उकालो लागेपछिदेखि जयजीका हँस्यौली र उहाँका उत्साहले हामी सबैले नास्ता गर्दाखेरि उहाँ लुसुक्क हराएको कुराको गोपनीयता फुत्काउँथ्यो । यसै पनि उहाँ हँस्यौलीकथा (पिस) भन्न एक नम्बरी नै हुनुहुन्छ ।
आज त उसै चल्ने घडी त्यसमाथि दम पनि थपेको जस्तै भयो । पारिपट्टिको आफ्नो गाउँ देखाउँदै बाल्यकालका हँसिला र मार्मिक कुराहरू सुनाउनु भयो । पारिको आमबोटे गाउँलाई देखाउँदै भन्नुभो, “उ…त्यो पारि, त्यो उतापट्टि सेतो टल्किने ठुलो घर देखिएन ? हो, त्यो कटहरे साइँलाको घर हो । त्यहींदेखि मास्तिर, त्यो मधुरो मधुरो देखिएन ? हो त्यो हाम्रो घर हो ।
… अहा ऽ! त्यो आमबोटेको स्कुलको ग्राउण्ड ! हामी फुटबल खेल्न कस्तो आसक्त हुन्थ्यौं । केटाकेटीको कुरा ! यहाँ, यो टिङलिङमा, मास्तिर सौरेनीमा, तलतिर फुवागडी, घैयाबारी एकै घण्टामा आइपुग्थें म ! यसो माइक बजेको सुन्यो कि धाइफल तोडेर आइपुग्थें म ! मादल बजोस् या ढ्याङ्ग्रो बजोस् कुदिहाल्थें म !” देब्रे हात मुठी पार्दै भन्नुभयो । अलिक पर्तिरको गाउँ देखाएर हतार हतार भन्नुभयो उहाँले नै– “उ… त्यो मञ्जुश्री हो । सुवास घिसिङ जन्मेको गाउँ त्यही हो ।”
हामीले गाडीबाटै सुवास घिसिङको गाउँको झल्को देख्यौं । टिङलिङबाट पूर्वपट्टि पारिको कस्र्याङ बजार, सोनादा, घुम र तलको आमबोटे, पर्तिरको कैलापानी हेर्न पायौं । वरिपरिका ती रहरलाग्दा र मनलुट्ने दृश्यहरूमा अतृप्त नै भए पनि गाडीभित्र खादिइरह्यौ । अघिल्ला सिटमा ड्राइभरका लाइनमा म र दिलिप सर, बीचका सिटमा हरि न्यौपाने, तुलसी निरौला, मोहन पाठक तथा जय निरौला हुनुहुन्थ्यो ।
पछाडिका सिटमा गुन्द्रुक झैं खाँदिएर ६ जना साथीहरू हुनुहुन्थ्यो । चूडामणि बराल, गणेश खनाल, माधव राउत, कृष्ण पौडेल, पूर्ण भेटवाल तथा झनक न्यौपाने । गुन्द्रुक झैं खाँदिएर बस्ता भएको अफ्ठेरोलाई बिर्सनका लागि व्यङ्ग्यपूर्ण र बाङ्गा कुराहरूलाई गाडी नै थर्कने गरी सुनाउँदै हाँस्नुहुन्थ्यो । शिक्षक स्टाफमा भएका आजसम्मका हाँसो उठ्ता कुराहरू, क्षणहरू, कार्यहरू त्यसबेला चटनी जस्ता भए ।
सौरेनी पुग्न लाग्दा हामीले दायाँतिर रविन्द्रनाथ हाई स्कुल देख्यौं । त्यो स्कुलको नाम पढेर साथी गणेश खनालजीले भन्नुभयो– “अर्कोपल्ट आउँदा त्यो स्कुलको नाम बदलिएर ‘विमल गुरुङ हाई स्कुल’ भएको हुनेछ, नभए पनि ‘प्रशान्त तामाङ हाई स्कुल’ हुनेछ हुनेछ ।” यस कुराले राजनीतिक फेरबदलले ल्याउने विकृतिको पनि व्यङ्ग्य ग¥यो । मलाई रुसमा भएको बोल्सेविक क्रान्तिपछि त्यहाँको ‘सेन्ट पिटर्सवर्ग’को नाम बदलेर ‘लेलिनग्राद’ राखेको र सन् १९९०को प्रतिगमनपछि फेरि ‘सेन्ट पिटर्सवर्ग’मै परिणत गरेको घटनाको स्मरण पनि भयो ।
नेपाल अहिले नाम बदल्ने र सालिक बदल्ने हैजा पनि विकास गर्दैछ । मेरो मनमा के–के कुराहरू चल्दैथे, तर चिन्तन गहिरिन नपाउँदै हाम्रो गाडी टुरिष्ट लज अगाडिको गोब्रेसल्लाको घारी नजिक पुगिहाल्यो । टुरिष्ट लजलाई डाँडामा, गोब्रेसल्लाको जङ्गलमाझ मनमोहक देख्यौं तर त्यहाँ पुग्ने समय थिएन हामीसँग । हामी ४ बजेतिर कृष्णनगर पार गरेर मिरिकको तालछेउ पुग्यौं । पहिलोपल्ट त्यहाँ पुगेको मलाई त्यो स्थानले पारेको मोहितपन र त्यसले लोभ्याएको कुरा शब्दले भन्न सक्तिन । त्यस तालले मिरिकलाई कति धनी पा¥यो होला ? मिरिकबाट यो सुन्दर ताल घटाइ दिने हो भने मिरिक कति बाँकी रहन्छ ?
मैले त्यो हिसाब किताब गर्ने फुर्सद निकाल्न सकिन । त्यहाँ एक छिन गाडीबाट ओर्लिएर त्यस तालका माछालाई वनरोटी च्यातेर दिँदा माछाहरू धुर्रिएको दृश्य र माछालाई दिनका लागि आहार बेच्न हारालुछ गर्ने त्यहाँका व्यापारी बहिनीहरू धुर्रिएको दृश्य मलाई उस्तै उस्तै लाग्यो । उनीहरू आफ्नो सामान बिकाउन ग्राहकका हात समाउन वेर लाउँदैन थे । मिरिक छाडेर उकालो लाग्दै गर्दा आफूहरू साँच्चै भील्ल भएको लाग्दैथ्यो । आफ्नो देशमा कति छन् घैयाबारी, फुवागडी, टिङलिङ वा सौरेनीहरू ? तर, काहीं कालोपत्रे पुगेन, काहीं चिया बगान पुगेन ।
मलाई महाकवि देवकोटाको भनाइ सम्झना हुन्छ– ‘यहाँ सान्डोले दाउराका भारी बोक्छन्, हेलेन केलरहरू गीत गाउँछन्, यहाँ शेक्सपियर हलो जोत्छन् टिसीयन–टर्नरहरू भेडा चराउँछन् !’ अहा ! हाम्रोमा ‘दार्जिलिङ’ र ‘कस्र्याङ’हरू नागी पल्टिन्छन् । मिरिक र टिङलिङहरू खैराँते पाखो बन्छन् । हाम्रो गाडी छब्बीसेबाट नेपाल प्रवेश ग¥यो । नेपाल प्रवेश गर्ने बितिकै हामीहरूको राष्ट्रियता कुहिएको फर्सी झैं भत्याक–भुतुक भयो, पानीको फोको झैं फुुट्यो ।
छब्बीसेबाट नेपाल प्रवेश गर्नासाथ हामी एक्कासी एउटा समृद्ध देशबाट एउटा गरिब देशमा प्रवेश गर्दा झैं, यूरोपबाट एक्कासी नेपालको गाउँमा पाइला राख्ता झैं भयौं । सबैभन्दा बढी देशभक्त ठानिने पनि बिरक्त भयौं । डर भयो, कतै हाम्रो ड्राइभर भाइ अर्जुनले– “अब गाडी जान सक्तैन !” भन्ने हो र गाडीबाट ओर्लिएर अँध्यारो हुन लागेका बेलामा नौलो ठाउँमा घुँडा ठोक्तै पैदल मार्च गर्नु पर्ने हो कि ? भनेर ।
ढुङ्गा ओछ्याएर बनाएको बाटो भत्केपछिको दुर्गतियुक्त बाटामा, भुईँ नमिलेका ठाउँमा गुड्दा उफ्रने भकुण्डो जस्तो उफ्रँदै, थतर्किंदै पारेर अर्जुनले गाडी धैर्यसाथ हिडाइ रहे । अब त अलिक सजिलो आउला कि ? अब त आउला कि ? हाम्रो आसआसै रहिरह्यो । थतर्किंदो गाडीमा नेतालाई र मन्त्रीलाई गाली गर्ने काम पनि भए । “ल है जेपी सर ! यो बाटो बनाउन प्रचण्डजीलाई भन्नुप¥यो !” जेपी सरलाई माओवादी सम्झेर कसै साथीले भन्नुभयो ।
जेपी सरले पनि कुरा भुईंमा खस्न नदिईकन भन्नुभयो– “प्रचण्डले के गरुन् ? हामी सबैले बनाउनु पर्छ ! अब सबै नागरिकहरू लाग्नुपर्छ !” ठट्टा गर्दै रह्यौं हामी । एक घण्टा त्यस्तै बाटामा ढक्ढकिंदै दायाँबायाँ अगाडि पछाडि माथि र तल हुत्तिंदै थतर्किंदै हामी छिरुवा भन्ने ठाउँमा साढे पाँच बजे पुग्यौं । साँझ झमक्कै प¥यो । गाडीले आँखा उघारे झैं ग¥यो तेजिलो दृष्टि अगाडि फ्याँकेर । मैले छिरुवामै एक जोडी ब्याट्री किनें । टर्च लाइट बोकेर पनि ब्याट्री थिएनन् त्यसमा । अब अँध्याराले छोपिहाले पनि अलिक ढुक्क भएँ म ।
साँझको ६ बज्दा त हाम्रो गाडी भञ्ज्याङको एउटा घरछेउ पुग्यो । अहो ! वरिपरि प्लाष्टिकका कुर्सी सजाएर चार–पाँच युवाहरू त्यहाँ थिए । गाडी रोक्यौं हामीले र बाटामा पाएको सूचनाअनुसार धनकुमार आले वारे सोध्यौं । हामीलाई अपेक्षित पाहुना झैं गरी एक छिन ती कुर्सीमा आसन जमाउन आग्रह गरियो । ‘के खोज्छस् कानो ? आँखो !’ भयो हामीलाई । परिचयका निमित मैले कुरा उठाएँ । “हाम्रो कार्यक्रम नै छ परिचयको”– उत्तर पाइयो ।
एकै छिनमा एक जना मित्र अविर लिएर अघि सरे सबैलाई स्वागतको अविर टीका लगाइदिनका लागि र एक जना मित्रले फूलका गुच्छा दिँदै हात मिलाए । त्यसपछि परिचय गरागर भयो ।
यही मङ्सिर ९–१५को अन्तु महोत्सवको तयारी चल्दै रहेछ । धनकुमार आले महोत्सव समितिका अध्यक्ष हुनुहुँदो रहेछ भने त्यहाँ उपस्थित तीर्थ घिमिरे उपाध्यक्ष ।
१५१ सदस्यीय महोत्सव समिति बनेको र आगन्तुक दर्शनार्थीहरूलाई खान–बस्न व्यवस्था गर्न त्यो समिति कम्मरतोड लागेको रहेछ । ती सबै आयोजक सदस्यहरूले आ–आफ्ना घरमा पेइङ गेस्टका रूपमा अतिथि सत्कार गर्न तालिका नै बनाएको जानकारी भयो । हामी पहिलो पाहुना टोली प¥यौं आज । हाम्रो स्वागत गर्ने पर्नुभयो अध्यक्ष धनकुमार आलेजीले ।
अन्तुको कुरो चलेपछि धनकुमारजीले भन्नुभयो– “लाप्चे भाषामा ‘अत्तो’ भनेको अग्लो डाँडो हुन्छ । त्यही ‘अत्तो’ बदलिएर ‘अन्तु’ भएको हो । यो डाँडो पहिला त अन्तु गाउँ पञ्चायतमा पथ्र्यो । अन्तु गाउँ पञ्चायत बिभाजित भएर जब अन्तु गाउँ पञ्चायत र समालबुङ गाउँ पञ्चायत भयो, यो अन्तु डाँडो चाहिं समालबुङ पञ्चायतमा प¥यो । पछिबाट अन्तु गाबिस र उता छेउको श्रीबुङ गाबिस मिलाएर श्रीअन्तु गाबिस बन्यो तर अन्तु डाँडो समालबुङ गाबिसकै भागमा छ । नामको यो बेमेलले पनि अन्तु डाँडाको पर्यटन विकासमा केही व्यवधान पारिराखेकै छ ।”
धनकुमार आलेजीबाट यति कुरा थाहा लागेपछि आवास निम्ति हामी उहाँकै घरतिर गाडी गुडाउन लाग्यौं । उहाँको घर अन्तु डाँडा जाँदा गाडी गुड्न सक्ने अन्तिम उचाइमा रहेछ । गाडीले काँकरभिट्टाबाट ५८ कीमीको दूरी यात्रा गरेछ । आँगनमा गाडी उभ्याएर हामी उहाँको त्यो सुन्दर घरमा प्रवेश ग¥यौं । चिसो त सिङ तिखारेर र दारा–नङ्रा उध्याएर हामीलाई दार्न र चिथोर्न तम्तयार रहेछ । केही साथीहरू निख्खर घरेलुको मद्दत लिने हुनुभयो, भने केही साथीहरूलाई विदेशी पनि इन्कार नहुने कुरा भए ।
म, मोहन पाठक, हरि न्यौपाने, हेड सर दिलिप अधिकारी तथा सहायक हेडसर चूडामणि बराल यतिकै चिसोसँग भिड्नपट्टि लाग्यौं । अरु साथीहरूले केही–केही लोकल र केहीकेही नलोकलको मद्दतले जाडोलाई पछार्नुभयो । दस बजेतिर खानादाना सकेर “अब बिस्तरातिर पसौं !” भन्यौं ।
बिस्तरामा त पस्यौं तर दुईटा कुराले म अत्यन्त चिन्तित थिएँ । एउटा कुरा थियो– दुई–तीन दिन अघिदेखि पूर्वी आकासमा हाम्रो मिसनको मुख्य प्रतिद्वन्द्वी बनेर उभिदैथ्यो कालो बादल ।
के भोलि बिहानै हामी त्यसलाई लखेट्न सकौंला ? कि त्यसले हामीलाई खल्लो पारेर ओरालो खेद्छ ? अर्को कुरा थियो– बिहान साढे चारतिर सुरु गर्नुपर्ने हाम्रो यात्रालाई साथीहरूको त्यो निख्खर लोकल र नलोकलले कुम्भकर्ण पारेर लडाइ दियो भने के गर्ने ? हामीसँग उहाँहरूलाई ब्यूँझाउने नगरा छैन । यो चिन्ताको जङ्गलका माझमा हरि न्यौपानेजी र मेरा बीच धेरै रात बितुञ्जेल गफको यात्रा भइरह्यो ।
गफको यात्रामा हामी कोही बेला ताप्लेजुङ दोभानको महादेव टारबाट ठोक्रेपुल तरेर उकालो लाग्यौं । कोही बेला बालसुवोधिनी संस्कृत मा.वि., मेदिबुङ पुग्यौं । कोही बेला ताप्लेजुङ बजारमा ०४८ सालको आम चुनावको सर्वेक्षणमा लाग्यौं । हामीले देवलिङ्गे, तीन बरे, अम्बिटार, बोजे त कतिपल्ट चाहा¥यौं चाहा¥यौं ! हाम्रो यो गफको यात्रालाई निरन्तरता दिन नयाँ ओछ्यानले त मद्दत गरेकै हो, अझ अर्को मद्दत छोटो सिरकले पनि ग¥यो ।
टाउको छोप्यो खुट्टा बाहिर, खुट्टा छोप्यो टाउको बाहिर हुने कारणले । आखिर मैले कुकुर गुँडुलीको तरिका अपनाएँ र हाम्रो गफको यात्रामा क्रमभङ्ग भयो । म एक झप्को निदाएँछु । मेरो एउटा चिन्ता त बिहान अनपेक्षित रूपमा सङ्लियो । उठ्न नसक्लान् कि ? कुम्भकर्ण पारिएलान् कि जस्तो लागेका मित्रहरू त चार बजे नै उठेर बिहानका कर्महरूमा व्यस्त हुनुभयो ।
मैले पनि हतार हतार बाहिर निस्किएर अकासतिर आँखा लगाएँ अर्को चिन्ताको कारण । जून टह टह लागेको देखेर खुसी खुसी पनि थियो मनमा तर कातिकमा ढकमक्क फुलेको सयपत्री फूलका थुँगाहरू आकासभरि देखेर आशंकित पनि भएँ । हामी उद्देश्य अनुसार साढे चारमा उकालो लाग्यौं । गोब्रेसल्लाको बाक्लो जङ्गलभित्र, ओभानो, सजिलो र भिरालो उकालो बाटोमा हाम्रा लाइटहरू पल्याक् र पिलिक् पार्दै कल्याङ् र मल्याङ् गर्दै बढे । मोहन पाठकले भन्नुभयो– “मेरो त उकालो हिड्दा सास बढ्छ ।”
“उकालो हिंड्दा सास नबढ्ने दुनियाँमा एक जना मान्छे भेटाउनु भएको छ ?” मैले सोधें । दिलिप अधिकारी, चूडामणि बराल, हामी सबै जना सँगै उकालिंदै थियौं । अँध्यारामा बाटो बाँडिंदा पनि हामी एक छिन अल्मलिन्थ्यौं । ‘माथि जाने हो, उकालो बाटो जाउँ न !’ भन्दै ग¥यौं । आखिर यथासमयमा अर्थात् पाँच बजे नै हामी दृश्यस्थल पुग्यौं पनि ।
हाम्रो उद्देश्यलाई लल्कार्दै पूर्वी आकासभरि बादल रातो न रातो भएर भेला भएको थियो । हामी घरि उत्तरतिरको कञ्चनजङ्घा, घरि घाम निस्कने ठाउँ पूर्वी आकास, घरि पिठ्यूँपछाडिका गोब्रेसल्लाका बोटमा अपलक आँखा लगाउँथ्यौं । घाम निस्कने बेलामा ती गोब्रेसल्लामा एक प्रकारका कीराहरू खुब सल्बलाउँछन् भनेर धेरै पटक भनिएको सुन्याथ्यौं । हामी परीक्षण गर्दैथ्यौं ।
घाम झुल्किएको हेर्ने त्यो दृश्यस्तम्भको माथिल्लो खुल्ला भागमा उभिँदा धेरै चिसो भएर हामी तल्लो तलामा झ¥यौं । तीन चार जना स्थानीय तामाङ केटीहरूले थर्मसमा ल्याएको मनतातो चिया खुवाए । सुदूरपूर्वको त्यो आकास पातलो बादलले ढाकिएको थियो । अहिले त्यो बादल रातो–पहेंलो देखिन्थ्यो । अब घाम उदाउँछन्, अब उदाउँछन् भनेर हामी सबै जना एकोहोरिएका थियौं । दृश्यस्तम्भ पछाडिका गोब्रेसल्लाका बोटमा एक प्रकारका कीराहरू सगबगाउन थालेको चर्चा हुन थालेथ्यो ।
बायाँतिरको सुदूर उत्तरको कञ्चनजङ्घा सूनको पहाड जस्तो देखियो । ‘अहँ ऽ देखिएनन् घाम ! कस्तो बादल ? नमिठो बिषादपूर्ण कुरा ओकले हाम्रा साथीले ! म आफैं पनि अत्यन्त दुःखित बन्दै थिएँ ।
“पर्खिनू पर्खिनू ! … देखिन्छ देखिन्छ !” पशुपति नगरबाट यही हेर्न आएका एक जना साथीले बढो ढुक्कले भने । अलिक त आस्वासित पनि भयौं हामी ।
“उ ! … झुल्किए घाम !” एक जना साथीले भन्नुभयो ।
अनुमान गरेको भन्दा मुनि बादलका तेर्सा धर्साहरूबीच रातो घ्याम्पा हल्लिंदै गरेको जस्तो, अलिअलि हल्लिदै गरेको जस्तो अलिअलि हल्लिएको पानीमा देखिने आकृतिजस्तो पाराले त्यो गाग्रो उकासिएको देखियो आँखामा । अलिअलि बादलमा लुकामारी खेल्दै, कठिन युद्ध लडेर बादललाई पछार्नु परेझैं गर्दै घाम उँभो उँभो निस्किए ।
बादलमा लुक्ने र अलिक मास्तिर देखिने गरे । एउटा लामो प्रतीक्षालाई हामीले अपेक्षा गरेको दृश्य हे¥यौं । धित मर्न भने पाएन । एक जना साथीले भन्नुभयो– “पास अङ्क पाइयो । डिस्टिङ्सन मार्ने दाउ भने काँचै पल्टियो ।”
- गङ्गा कर्माचार्य पौडेल
नेपाल सरकारले विश्वभरी फैलिरहेको कोरोना भाइरसबाट बच्न देशभर एकसाथ लकडाउनको घोषण ग¥यो । लकडाउनका बेलामा कोही नागरिक भोकै नपरुन् भनि स्थानिय निकाय अन्तरगत ओडा कार्यलयलाई राहत वितरणको जिम्मा दिइयो । कर्मचारीले राहत आवश्यक परेका वडाबासीलाई नाम दर्ता गराउन आह्वान गरे ।
दैनिक ज्याला मजदुरीबाट परिवारको भरण पोषण गर्ने निम्न वर्गका नागरिकहरूले कर्मचारी समक्ष आआफ्ने विवरण टिपाए । त्यही हुलमा आएर चतुरीले पनि नाम टिपाई । उसलाई त्यहाँ देखेर केही मान्छेहरूले घुरेर हेरे र मनमनै भने“छ्या त्यो चतुरी कस्तो लोभी रहिछ । लोग्ने सरकारी जागिरे छ । आफु तरकारी पसलबाट मनग्गे आम्दानी गर्छे । गलामा त्यती मोटो सुनको सिक््रmी । हातका औलामा असर्र्फि लाएर पनि केहि नभाको स्वाङ् पार्छे लाज नभाकि”।
चतुरीलाई भने अरुले त्यसरि घुरेर हेरेको पटक्कै मन परेन । उसले तिनीहरूलाई कर्के आँखाले हेरेर नसुन्ने गरि भनि“मैले तिमीहरूसँग मागेकी छु र ? आ…सरकारको त हो नि लिन्छु । पाए सम्म लिन्छु”।
दिउँसो वडाका कर्मचारीले विहान नाम लेखाएजतिलाई लामबद्य गराई कार्यालय कक्षबाटै प्रतिब्यक्ति( ५ किलोचामल,१किलो दाल, एक पाकेट नुन,आधा लिटर खाने तेल,एक धार्नी आलु आधाकिलो प्याज)राखिएको झोला सहितको राहत वितरण गरे । चतुरीले पनि राहत थापेर बाहिर निस्की । उसले आफनो भन्दा अरूको झोला ठूलो देखी । त्यसपछि ए ! बैनी खै खै तिम्रो झोलामा केके रैछ ? भनेर एउटी महिलाको झोला खोतल्न थालि । अरूपनि दुइचारजना झुरुप्पा जम्मा भए । उसलाई घुरेर हेर्नेहरू पनि त्यहींं आए । चतुरीले आफ्नो र त्यो झोलामा भएको सामान उस्तै देखेर ओठ लेप्राई अनि टिमटिम पर्दै बाटो लागि ।
साँझ चतुरीले राहतमा पाएको सामान बाटै भोजन तयार पारी अनि श्रीमान र बच्चा सँगै बसेर खाना खाँदै गर्दा ट्वाक्क जिब्रो पड्काएर भनि “सामान त गतिलै दिएका रहेछन्”। श्रीमानले पनि श्रीमतीको कुरामा सहमती जनाउँदै टाउको हल्लायो ।
खाइपिइ धन्दा सकेर चतुरी ओछ्यामा जानेबेला लुगा फेर्दा गलामा लाको सुनको सिक््रmी नदेखेर खङ्ग्रङ्गै भई । त्यसपछि ए ! कुमारका बा लौन मेरो तीन तोलाको सिक्m्री हरायो । सिक््रmी चोर पक्रनु प¥यो भन्दै चिच्च्याएर रुन,कराउन,थाली ।
“राहत थाप्न गहना लाएर जाने हो त ? अब कस्लाई पक्रिन जानु ? भनेर उल्टै हकारे श्रीमानले ।
दुईजना मान्छे माथि शंका लागेको छ । विहान देखि उनिहरुले मलाई घुरेर हेरिरहेका थिए । मेरो तीन तोलाको सिक्री….हरायो भन्दै डाको छाडेर ह्वाँ… ह्वाँ…रोइरही चतुरी ।